के बोटमा फल्छ पैसा ?

संसारमा मानिसहरुले दिनहुँ खरबौँ पैसा फलाउँछन्, टिप्छन् ।

योगेन्द्र तिमिल्सिना

हामीले आँपको बोट, सुन्तला र अम्बाको बोट देखेका छौँ । मकै, धान र आलु फलेको पनि देखेकै छौँ । आँप, सुन्तला र अम्बा फलफूल हुन् । धान, गहुँ र मकै अन्न हुन् । त्यस्तै आलु, बोडी, साग, सिमी आदि तरकारीहरु हुन् । किसानहरुले यी सबै वस्तुहरु आ–आफ्ना खेतबारी खनजोत, मलजल र गोडमेल गरी उत्पादन गर्छन् । तर पैसा त्यसरी बोटमा फल्ने वस्तु होइन । पैसा कसैले बोटबाट टिपेको हामीले देखेका छौ त ? त्यसो भए पैसा कहाँबाट आउँछ त ? किसानहरुले परिश्रम गरेर अन्न तथा फलफूलहरु उत्पादन गरे जस्तै अथवा उत्पादकहरुले यन्त्र उपकरण प्रयोग गरी तयारी वस्तु र सेवाहरु उत्पादन गरे जस्तै पैसा जम्मा गर्न पनि परिश्रम गर्नु पर्दछ । पैसाको बोट भनेको मानवीय परिश्रम हो । परिश्रम नगर्ने मानिसले पैसा फलाउन सक्दैन ।

करेसाबारीमा फलेका सागसब्जी टिपेर तपाईंले बजारमा बेच्न लैजानु भयो भने त्यसबाट पैसा आउँछ । शहर बजारभित्र उब्जनी गर्ने खालि ठाउँ छैन । त्यसैले शहरका मानिसहरु गाउँबाट उत्पादन गरेर ल्याएका कृषि वस्तुहरु खरिद गरी आफ्नो आवश्यकता पुरा गर्दछन् । ग्रामीण क्षेत्रका मानिसहरु आफूले उत्पादन गरेका अन्न, फलफूल, तरकारी शहरमा बेच्न लैजान्छन् ।

हामीले थाहा पाएकै कुरा हो, बजारमा किनमेल गर्न जाँदा हामी भाउ सोधेर मात्र आफ्नो आवश्यकताको वस्तु किन्ने गर्छौं । जस्तै तरकारी एक किलोको एकसय रुपैयाँ, चिनी एक किलोको असी रुपैयाँ आदि । तरकारी एक किलोको एकसय रुपैयाँ भनेको के हो त ? यसो भनेको एक किलो तरकारी बराबर एकसय रुपैयाँ भनेको हो । अर्थात् एक किलो तरकारी एकसय रुपैयाँसँग सट्टापट्टा गर्न सकिन्छ । यसलाई विनिमय मूल्य पनि भनिन्छ । एक किलो तरकारीले तरकारीको आवश्यकतालाई मात्र पूरा गर्न सक्छ, तर हाम्रो हातमा एकसय रुपैयाँ छ भने त्यसबाट हामीले आफूलाई चाहिने चामल, चिनी वा अरु कुनै वस्तु खरीद गरी आफ्नो आवश्यकता पूरा गर्न सक्छौँ ।

पैसालाई विनिमयको माध्यम भनिन्छ । त्यसो भनेको कारण के हो भने कुनै देशको पैसालाई त्यस देशका सबै मानिसहरुले सजिलै स्वीकार गर्दछन्, किनभने यस्ता पैसालाई सरकारले मान्यता दिएको हुँदा ती सर्वमान्य हुन्छन् । पैसा भयो भने आफ्नो आवश्यकताका सबै वस्तुहरु खरीद गर्न सकिन्छ, तर आफूले उत्पादन गरेका अन्न, तरकारी, फलफूल आदि मात्र भएर ती वस्तुहरुसँग आफ्ना आवश्यकताका सबै कुराहरु सट्टापट्टा गर्न सकिँदैन । ती वस्तुहरु बजारमा बेचेर पैसामा परिवर्तन गरेपछि मात्र आफ्नो आवश्यकताका वस्तुहरु छानी छानी बजारबाट खरीद गर्न सकिन्छ । नोट र सिक्का गरी दुई किसिमका पैसा चलनचल्तीमा हुन्छन् । पैसाको बन्दोवस्त नेपाल राष्ट्र बैंकले गर्दछ ।

सहरका मानिसहरुले पनि मिल, कलकारखानामा अनेकौँ वस्तुहरु उत्पादन गरी बजारमा पठाउँछन् र ती वस्तुहरु बिक्री गरी पैसा जम्मा गर्दछन्, जस्तै चिनी, लुगाफाटा, जुत्ता, विभिन्न प्रकारका औजारहरु आदि । त्यसकारण चाहे गाउँमा उत्पादन भएका हुन् वा शहरमा उत्पादन भएका हुन्, ती सबै वस्तुहरु विक्रीको निम्ति बजारमा ल्याउनै पर्छ । ती सबै वस्तुहरु बिक्री भएर पैसा संकलन भएपछि मात्र उत्पादकले आफ्ना आवश्यकताका अरु वस्तुहरु किन्न सक्छन् ।

यसरी बुझ्ने हो भने बोटमा फलफूल फले जस्तै पैसा पनि फल्छ । तर, पैसाको बोट भनेको चाहिँ अन्न, फलफूल, कच्चा पदार्थ, मेशिन, औजार आदि उत्पादन गरी विक्री गरिने बजार नै हो । त्यसैले पैसा कमाउनु छ भने हामीले पनि आफूमा त्यो क्षमता बनाउनु पर्दछ । कुशल कृषक, उद्यमी, डाक्टर, इञ्जीनियर, प्राविधिक आदि बन्ने प्रयत्न गर्नुपर्छ । भविष्यमा गएर जुनसुकै पेसा व्यवसायमा लागे पनि सफल हुन सक्ने क्षमता विकास गर्नुपर्छ । बिना मेहनत कसै गरे पनि बोटबाट पैसा टिप्न सकिंदैन ।

पैसा फल्ने कुरा यतिले मात्र पुग्दैन आज बैंक, बिमा र शेयरको कारोवार सबै पैसा फलाउने बाटो भएका छन् । बैंक र बिमा कम्पनीहरुले अरबौँको कारोवार गर्दछन् । शेयर बजारमा दिनहुँ विभिन्न कम्पनीका शेयरहरु किनबेच हुन्छन् । यस्ता कति कारोवारीले कमाउँछन् भने कतिले गुमाउँछन् । यो व्यापारको युग हो । संसारमा मानिसहरुले दिनहुँ खरबौँ पैसा फलाउँछन्, टिप्छन् । पैसाको आविष्कार नहुँदो हो त आज व्यवसायको आकार यति विशाल हुने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button