कखुरा ‘एन्ड’ कौसी करेसा कर्म

शकुन्तला देवकोटा

विभिन्न बहानामा शहरकेन्द्रित बसोबास । सिमित जमिन । असिमित आवश्यकता । शहरमा बस्नेहरुका लागि महत्त्वपूर्ण हुन्छ कौसी करेसाबारी । थोरै जमिन किन्न धेरै पैसा थुपार्नु पर्ने । बल्ल बल्ल एउटा घडेरी किन्यो, घर बनाउँदा सकिन्छ अनि फेरि अर्गानिक तरकारी खान कता रोप्ने ? त्यसपछि सुरु हुन्छ, वरपर बचेका थोरै जग्गा र कौसीमा तरकारी रोप्ने कार्य ।

बाहिरबाट आयतित तरकारी टिपेकै दिन शहरमा आईपुग्न कठिन । दुईचार दिनको लागि नबिग्रने औषधी राखेर ल्याउनु पर्ने बाध्यता । यी आदि कुराको अध्ययन गर्दा मैले सके र भ्याएसम्म आफ्नो परिवारको लागि आवश्यक तरकारी आफै उत्पादन गर्न पाए हुने भन्ने मनमा सधै आउने गथ्र्यो । किसानको छोरी भएर पनि मलाई त्यस्तो लागेको हुन सक्छ ।

आफ्नो घर नहुँदा पनि आफू बसेको वरपर खाली जमिन भए र समयले भ्याएसम्म तरकारी रोप्ने गर्दथेँ । तरकारी खानकै लागि मात्र पनि यसो गरेको होइन । स्कुलमा बच्चालाई दिइने प्रोजेक्ट वोर्कको लागि विभिन्न बोटविरुवा र फलफुलका पात जम्मा गर्नु पर्ने । आफैले रोप्दा बच्चाले पनि बोटविरुवा चिन्ने, फलफूल, तरकारी कसरी उत्पादन हुने रहेछ भन्ने जानकारी हुने, अर्गानिक खान पनि पाइने, आफुले खाएको तरकारी फलफूलबाट मल बनाउन सकिने । अर्को कुरा, बेलाबेला करेसाबारी जाँदा शारिरिक ब्यायम पनि हुने । यसरी सबै कोणबाट हेर्दा मलाई करेसाबारी उपयुक्त लाग्न थाल्यो ।

अब कौसीको कुरा गरौं । घर बनाएदेखि मैले कौसीमा पनि तरकारी र फलफूलको बोट लगाउन थालेँ । किनेर ल्याएको र आफुले रोपेको तरकारीको स्वाद धेरै फरक हुने । बारीमा भन्दा कौसीमा गमला भएकाले अलि बढी मेहनेत गर्नु पर्ने । बारीमा दुईचार दिन पानी नराख्दा पनि हुने । तर गमलामा दिनदिनै पानी राख्नु पर्ने । म दिउँसो नभ्याउँदा राती पनि कौसीमा पुग्ने गथेँ ।

कोभिडपछि लामो लकडाउन भयो । त्यसपछि मैले कौसीमा ब्यवस्थित तरिकाले तरकारी लगाउन थालेँ । प्रशस्त समय हुने भएकोले स्याहार पुग्न थाल्यो । फलेको फुलेको हेर्दा रमाइलो लाग्ने । घरमा बिग्रेको भाडा, चामलको बोरा जे भेटे पनि बिरुवा रोप्न थालेँ । कति साथीहरुले सोध्नु हुन्छ, घरमा माटो थुपार्दा सिपेज आउदैन ? घरमा लोड धेरै हुदैन ? मैले भुकम्पिय मापदन्ड अपनाएर बनाएको घर । छतमा वाटर प्रुफ पनि गरेको छु । फेरि फलामको बेन्च राखेर बेन्चमाथि ग्रोब्याग । त्यसमा सबै माटो पनि राखेको होइन । कोकोपिट (नरिवलको जट्टा)मा थोरै माटो मिसाएर राखेको हो । पातपतिङगर झरिरहन्छ । सफा त गर्नु नै पर्छ ।

मलको लागि केही कुखुरा पनि पालेकी छु । कुखुरा पाल्दा अन्डा, मासु र मल सबै हुने । र, घरमा बढी भएको खाना कुखुराले खाने । दोहोरो फाइदा देखेर पाल्न थालेकी । कौसी करेसा कर्मबाट स्वादिलो तरकारी खाने मात्र होइन, तरकारीमा आत्मानिर्भर बन्ने सोचमा पनि छु ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button