युरोप भित्रिने उजेलीको अध्याँरो कथा

सुशील लामा
लिमासोल, साइप्रस

अगस्ट महिना लागेको छ । गर्मी धेरै बढेर पसिनाको मुहान फुटेको छ शरीरबाट । लगभग खाडी मुलुकको जत्तिकै । मध्याह्नमा ४५ डिग्रीभन्दा माथि पुग्छ तापक्रम ।

ओलोम्पिया पर्वतको छायाँले लिमासोया भिलेजलाई छपक्क छोपेको छ । लिमासोया भिलेजको एउटा विशाल घरको बाल्कोनीमा बसेर उजेली भोगिसकेको छोटो जीवनको लामो आफ्नै कथामा डुब्दैछिन् ।

बाल्कोनीबाट देखिने लेडी स्माईल बीच बैजनी रंगमा परिणत हुँदैछ । डुब्दै गरेको सुर्यको मधुर किरणको कारण । आफु बसेको ठाउँदेखि एक–डेढ माईल टाढाको बीचमा टुरिष्ट रमेको आकृति धमिलो देखिन्छ । आफुलाई पनि त्यही भिडमा मिसाउन पुग्छिन् । फगत कल्पनामा ।

आखिर अदृश्य फगत कल्पना र सपनामा जिउने भनेको हुँदा खाने वर्गको भागमा परेको ब्यन्जन हो । चौरासी ब्यन्जन जस्तै ।

उजेलीको उमेर खासै त्यत्ति धेरै भएको छैन । पुगनपुग दुई दशक भएको छ उनको उमेर । स्कुले शिक्षा सक्काएर उच्चशिक्षा हासिल गर्न राम्रो उच्चशिक्षा हासिल गर्ने विद्यालय, विश्वविद्यालयको खोजी गर्ने उमेरमा, आर्थिक अवस्थाले जरजर भएको बाको जिम्मेवारी बाँडेर आय आर्जनको लागि रोजेको बाटो हो नेपालीको रोजाइमा परेको वैदेशिक रोजगार ।

त्यही सिलसिलामा आएकी हुन् उजेली साइप्रस । साइप्रसले बोलाएको थिएन उनलाई । आफै आएकी हुन् । आफ्नै मर्जीले आएकी हुन् । आफ्नै पैसामा आफै लिलाम भएर आएकी हुन् ।

मान्छे बेच्ने सानदार अफिसहरुको सुन्दर अनि चिप्लो कुरा जान्ने मान्छेले दिलाएको नदेखेको विश्वासको फेरो समाएर आकी हुन् उनी । अझ साइप्रसलाई मात्रै माध्यम बनाएर पठाएको छ । उता सम्पन्न शक्तिशाली युरोपेली मुलुक सजिलै जान पाउने । अनि जीवनलाई भने जस्तो बनाउने । पिआर लिने, बाआमा युरोप घुमाउने । आदि आदि बिराट सपनाहरू … ।

उता आफ्नो देशबाट निक्कै मिठ्ठो सपनाहरूको पोको बाँधेर पठाएको थियो । साथमा आमाको माया । बाको दुखेसो । यता आईपुगेर यहाँको यथार्थसँग ठोक्किएर थाहा पाएको छ सत्यतथ्य ।

बिहान घामभन्दा अगाडि उठ्नु अनि घाम सुतिसकेपछि सुत्नु उनको दिनचर्या बनेको छ । उता आफ्नो मुलुकमा छदा देखेको संभ्रान्त सपनाहरू प्रवासी पसिनासँगै बग्दैछ ।

गरुँगो र गाह्रो जिम्मेवारी त छ्दैँछ । साथसाथै जर्मनी र नर्वे पुग्ने सपना । आउँदा लागेको ऋणको छत्तीस प्रतिशत ब्याजको पिरलो । फेरि साइप्रसदेखि सम्पन्नशाली युरोपेली मुलुक पुर्‍याउने एजेन्ट, एजेन्टलाई भुक्तानी गर्नुपर्ने रकमको जोहो । अल्लारे उमेरमा फक्रदै गरेको तन्नेरी ईच्छा र चाहना ।

थुप्रै छ गर्नुपर्ने तर पूरा गर्न नसकेको कामकुराहरु । अज्ञात छ यात्रा । कसरी कहिले पुग्ने हो सपनाको गन्तव्यमा ? थाहा छैन । उनी घिसार्दैछिन् जुनीलाई । आफ्नो हो भन्ने हक नभएको बिरानो मुलुकमा ।

नेपाल बसेर देखेको सपना । यहाँ आईपुगेर भोग्नुपरेको यथार्थ आकाश–जमिनको फरक छ । आफ्नो घरमा घाम कोठाभित्र पसेसम्म नउठ्ने उनी अहिले घाम उठदा थुप्रै काम सक्काएको हुन्छ । उमेरले आफुभन्दा सानो भए पनि शारीरिक बनावट आफुभन्दा ठुलाठुली बोसको छोराछोरीको लागि खाजा–खाना तयार पारेर दोस्रो लटको काममा सरिक हुन्छिन् ।

विवाश छिन् उनी, सकिनसकी गर्नुपरेको छ काम । बाआमा र परिवारको लाडप्यारमा हुर्केको उनले थकाई बिर्सेकी छिन् । हिजो कापि र कलम च्यापेको हातमा मोप र आईरनको गहिरो प्रेम बसेको छ ।

अकस्मात हुने सानोतिनो गल्तीमा नबुझ्ने भाषाको गाली खानु केहि जस्तो लाग्दैन उनलाई । हन्डरको पहाड छिचोलेर पुग्नुछ उनलाई सपनाको शहरमा ।

प्रयासलाई अंगालेर धैर्यताको साथले आएको दुईबर्षमा आउँदा लागेको ॠण चुक्ता गर्छिन् । संघर्ष अझै जारी छ । मन–मुटु भएको मेसिन बनेर खट्छन् । खटाइको बदलामा आएको रकम जम्मा गरेर बुझाउँछ्न् िएजेन्टलाई ।

अन्जान शहरको अजनवी एजेन्टको विश्वासमा समर्पण गर्छिन् आफुले आफ्नो भाग्य । भाग्यको परिक्षा लिन्छ । उनी आफै अग्नि परिक्षामा उत्रिन्छिन् । एजेन्टले भने बमोजिम साइप्रसबाट ग्रीसको यात्रा तय गर्छिन् । ग्रीसबाट इटाली हुँदै पोर्चुगललाई गन्तव्य बनाएर पठाउने निधो गर्छ साइप्रसबाट । यात्रा सजिलो पक्कै छैन । अवैधानिक भएर जाने हो । कुनै ठाउँमा जंगलको यात्रा हुन्छ भनेको छ एजेन्टले । जीवनलाई जोखिममा राखेर तय गर्दैछ यात्रा उजेलीले ।

आकाश सफा देखिन्छ । कतकतै सेतो बादलको बुट्टा हावासँगै बग्दैछ । त्यही दिनलाई शुभ सम्झेर उजेली इमरजेन्सी नेपाल जान्छु भन्ने बहाना बनाई उता राम्रो देशको यात्रामा सम्मिलित हुन्छिन् ।

साथमा केहिथान डकुमेन्ट, यात्रामा चाहिने आवश्यकता अनुसारको सामाग्री बोकेर पुग्छिन् एयरपोर्ट । अनि उड्छिन् । खुशी भएर गाकी छिन् उनी । आधा बाटोतिर पुग्यो भन्ने खबर पाएको छु। अझै केहि दिनपछि पुग्छिन् रे उनी उनको गन्तव्यमा । अनि फेरि सुरु गर्छिन् रे नयाँ ठाउँमा नयाँ जिन्दगीको सुरुवात ।

धेरै शुभकामना छ, उनको सफल सपनाहरूको लागि ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button