
आमाको नजरः कसरी जन्माए विशाल भण्डारीले कमेडी च्याम्पियन ?

मातृका भण्डारी मुना
विशाल भण्डारीको जन्म २०३९ साल पुस २८ गते मामाघर बेलबारी मोरङमा भएको हो विशाल र मेरो उमेरमा २० बर्षको फरक छ । ऊ सानैदेखि चन्चले स्वाभावको निकै चतुरो थियो । राम्रो लाउन र मिठो खान सौखिन । ब्रान्डेड जुत्ता, ब्रान्डेड लुगा लगाउन रहर गर्थ्यो । उसको ड्याडी र मैले जतिसुकै आर्थिक अभावको बावजुत पनि हामीले उसलाई कहिले निराश हुन दिएनौ । ऊ पनि जति हुर्किदै गयो, त्यति हाम्रो दुख बुझ्ने भयो ।
फुर्सदमा प्राय कपिल शर्माको हिन्दी कमेडी हेरेर पेट मिचिमिची हाँस्थ्यो । मलाई कहिले त झर्को पनि लाग्थ्यो र गाली पनि गर्थें । त्यतिबेला मलाई विशालले भनेको अहिले पनि ताजै लाग्छ, ममी हजुरले यो सोको अर्थ नबुझेर हो, यस्तो सो नेपालमा छैन, सम्झिराख्नु है, पछि म यस्तै सो चलाउँछु । नेपाली कमेडी खोजीखोजी हेथ्र्यो । मनपराउँथ्यो पनि । सामान्य भाषामा भन्दा नबुझेका कुरा ऊ कमेडीमा भनेपछि बुझेझैँ गर्न थाल्यो । मह जोडीपछि दीपकराज गिरी र दीपाश्री निरौलाको सिरियल खुब मनपराउँथ्यो । विशालले फिल्म हेर्दा पनि प्रायः कमेडी विधाको फिल्म छनौट गथ्र्यो । उसको यो छनौट बाल्यकालदेखिकै हो । हुन त विशाल एकताका गायक बन्न चाहन्थ्यो । गीत पनि गायो । तर उसको स्वर चलेन ।
पछि टेलिभिजनले उसलाई जागिरको अफर गर्यो । त्यहि अफरसँगै सकियो विशालको गायक बन्ने सपना । उसले हिँड्दाहिँड्दै कार्यक्रम चलायो । त्यो कार्यक्रमसँगै विशाल अलि अलि अगाडि बढ्दै चिनिँदै गयो । त्यसपछि पछि नेपाल वान टेलिभिजनमा मा हेल्लो नेपाल, म्युजिक एन्ड मोर र फ्रेस रिलिज आदि कार्यक्रम चलायो । कार्यक्रम प्रस्तोताका रुपमा विशालले ७ वर्ष बितायो ।
एकदिन सुरेश पौडेलले उसलाई प्रस्ताव गरेछन्, बिग रियालिटी शो गर्ने हो ? त्यतिबेलासम्म विशालले धेरै म्युजिक भिडिओहरु निर्देशन गरिसकेको थियो । उसले निर्देशन गरेका म्युजिक भिडिओ चलेका पनि थिए । ऊ म्युजिक भिडिओ निर्देशकका रुपमा स्थापित हुने बाटोमा थियो । उसले सुरेशको प्रस्ताव स्वीकार गर्यो । त्यसपछि सुरु भयो विशालको रियालिटी शोको यात्रा ।
नेपाल आइडलमा असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गर्यो । त्यसपछि उसले फिल्म कोहलपुर एक्सप्रेस बनायो । फिल्म समीक्षात्मक रुपमा असफल भयो । अहिले पनि विशाललाई यही फिल्मको असफलतालाई लिएर उडाउने गरिन्छ । तर फिल्मले लगानी भने उठाएको विशालको दाबी छ । भन्छ, सानो बजेटमा बनेको फिल्म थियो त्यो । फिल्मले लगानीभन्दा डबल कमाइ गरेको थियो । तर समीक्षाका हिसाबले मेरो फिल्म असफल भयो । यो मेरो जीवनको लागि पनि पाठ थियो ।’
फिल्मपछि विशालले ‘द भ्वाइस’को पहिलो सिजनमा काम गर्यो । काम गर्दागर्दै विशाललाई लाग्यो, कति अर्काको मात्रै काम गरेर बस्ने ?’ त्यही प्रश्नले विशाल बारम्बार झस्किन थाल्यो । त्यसपछि उसले रियालिटी शो गर्ने सोच बनाएछ । त्यो समय गायनमा दुई रियालिटी शो स्थापित भैसकेका थिए । विशाललाई फरक गर्नु थियो। उसले फरक कमेडी रोजेछ । कमेडी रोज्नुको पनि कारण छ ।
‘मानिसहरुको दुःख बिर्साउने भिजन के हो ? मजाकका माध्यमबाट जटिल कुरा पनि सजिलै बुझाउन सकिन्छ भन्ने विशाललाई राम्रोसँग थाहा थियो । त्यसपछि उसले कमेडी च्याम्पियन सुरु गर्ने सोच बनाएछ ।
काम गर्न सोचेजस्तो सजिलो थिएन । रियालिटी शो गर्न ठूलो रकमको जोहो गर्नु पथ्र्यो। त्यो मेरो छोरा विशालको लागि भयंकर ठुलो चुनौती थियो । ऊ कामचलाउ शो गर्न पनि चाहदैँन थियो । उसलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै कमेडी शो गर्नु थियो ।
भन्थ्यो, लामो समय दीपक–दीपा, जितु र माग्ने बुढाहरुले खाएको कमेडीको मार्केटमा सक्किगोनीको टिम र सन्दीप क्षेत्रीपछि कोही कमेडियन मार्केटमा आएका छैनन् । सन्दीपपछि लामो समय नयाँ कमेडियन देखा परेका छैनन् । त्यसैले नयाँ कमेडियन छैनन् कि भन्ने भइरहेको छ ।’
त्यो समय विशालले अन्तर्राष्ट्रिय कमेडीको ट्रेन्ड अध्ययन गर्यो । विशालमा कमेडी शो गर्ने आँट थियो। तर सुरुमा उसको आँट र प्रस्ताव हेरेर मानिसहरु हाँस्थे रे । टेलिभिजनमा शोको प्रस्ताव लिएर जादा उल्टै प्रश्न गर्थे रे, नेपालमा कमेडीको रियालिटी शो पनि चल्छ र ?
कमेडियन छन् र विशाल भनेर’ हाँस्थे । स्पोन्सर खोज्न जाँदा स्पोन्सर हाँस्थे । विशाल निराश भएर फर्कन्थ्यो । ऊ हतास पनि भयो । ऊ एक्लै बस्थ्यो र सोच्थ्यो अरे, मैले गल्ती नै गरेँ कि क्या हो ?’ फेरि उसलाई लाग्थ्यो, कलाकारका रुपमा स्टारडम बनाएका मदनकृष्ण, हरिवंशदेखि दीपक–दीपा हुँदै सन्दीप क्षेत्रीसम्मको जेनेरेसन आर्थिक हिसाबले पनि राम्रो जीवन बिताइरहेको देशमा चल्ने कन्सेप्ट कमेडी नै हो ।’
उसलाई आफूलाई उत्प्रेरित गरेर कार्यक्रम सुरु गर्न समय लाग्यो । जे होस्, उसले कमेडी च्याम्पियनको पहिलो सिजन गर्यो । आर्थिक रुपमा घाटा बेहोरे पनि दर्शकको माया अत्यधिक पायो । पहिलो शो सकिँदा विशालका बारेमा मानिसहरुले बनाएको छवि पुरै परिवर्तन भयो ।
पछिल्लो समय विशालको कमेडी क्लब विथ च्याम्पियन लोकप्रिय छ। यो शो असारसम्म चल्ने छ । कमेडी क्लबमा सबैभन्दा धेरै मजाक उसैमाथि हुने गरेको छ । विशाललाई सबैभन्दा असफल निर्देशकका रुपमा चित्रित गरिन्छ । विशाल भने गर्वका साथ समर्थन गर्दछ । तलब नदिने निर्माताका रुपमा रोस्ट गरिन्छ । विशाल हाँसेरै समर्थन गर्दिन्छ ।
कमेडी च्याम्पियन होस् अथवा कमेडी क्लव, दुवैमा विशाल सफल सावित भैसकेको छ । विशालले अझै बारम्बार भनिरहेको छ, सबैभन्दा धेरै मेरा कमिकम्जोरीहरु औंल्याईदिनुहोस् । मैले तपाईंहरुको सामु सतर्क हुनुछ र मैले अझै धेरै सच्याउनु पर्ने छ ।
अन्तिममा आमाको तर्फबाट छोरा विशालको बारेमा बाल्यकालदेखि आजसम्मको लेख माग्नुभएकोमा सम्पादक अशोक सिलवालसहित नेपालनाम्चा परिवारमा आभार व्यक्त गर्दछु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)