जन्म जन्म हरेक जन्म तिम्रै कोख रोज्ने छु

प्राणप्यारी आमा

प्रियाम्सु पुडासैनी
कक्षाः १०, स्वर्णिम स्कुल, डल्लु आवास, काठमाडौं ।

नौ महिनासम्म गर्भमा बोक्यौ
सन्तति सुख मानेर,
पीडाको पत्थर आँशुले गाल्यौ
म आउने दिन गनेर ।

संसारमा मिल्ने सम्पूर्ण कुरा
जोड्यौ है मलाइ भनेर,
यो मनको कुरा बुझेर हेर्‍यौ
स्नेही माता बनेर ।

तिमी नै मेरो पहिलो गुरु
लेख्पढ गर्न सिकायौ,
अगाडि बढ्ने क्रममा मलाई
असल बाटो देखायौ ।

मनका इच्छा दबाई आफ्ना
अगाडि मेरा राखेर,
कोरेर हेर्‍यौ भविष्य मेरो
चिटिक्क राम्री पारेर ।

नयाँ काम आँट्न सधैँ
हिम्मत धेरै दिलायौ,
लडेकी हुन्थेँ निराश भई
भरोसा तिमीले दिलायौ ।

आफू भोको बसी तिम्ले
पहिले मलाई खुवायौ,
बाहिर खुसी देखाउँदै
भित्र आँसु चुहायौ ।

एकछिन तिमी कतै जाँदा
मन र घर दुबै अँध्यारो,
तर तिमी हुँदा घरमा
घर नै झलमल उज्यालो ।

असल काम गरी मैले
खुसी तिमीमा खोज्ने छु
हरेक जुनी जुनीसम्म
आमा तिमीलाई नै रोज्ने छु
जन्म जन्म हरेक जन्म
तिम्रै कोख यो रोज्ने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button