यी मित्र छन् र त बुढ्यौली नौजवान छ

प्रकाशप्रसाद उपाध्याय

हाम्रो जीवन अनुभवहरूको मिश्रण हो । सुख–दुख, सफलता–असफलताको पोको हो । जीवनयात्राको यस अवधिमा अनेक किसिम, चरित्र र स्वभावका मानिसहरू भेटिन्छन् । उनीहरूको सम्पर्कमा आउनुपर्ने हुन्छ । कोही साथी हुन्छन्, कोही मित्र, कोही द्रोह गर्ने त कोही खुट्टा तान्ने । जीवनको यस यात्राकालमा भेटिनेहरूमध्ये कोही अपरिचित पनि संकटमोचक हुन्छन् त कोही परिचित संकटकारक । कसैका कुरा रमाइला हुन्छन् त कसैका विरक्तिपूर्ण । मैले आफ्नो जीवनकालमा यस्ता सबै प्रकारका पात्रहरूलाई भेट्ने अवसर पाएको छु । तर यीमध्ये केही मात्र मित्र भए जसको सम्पर्कले गतिमान जीवन रसमय बनाएको छ । कोही मित्र हुन नसके पनि स्मरणीय छन् ।

सबैभन्दा पहिले सेवानिवृत्तिपछि स्वदेश फर्कने क्रमको एउटा घटनाको चर्चा गरुँ । दिल्लीबाट डेराका सामानहरू चलान गराएपछि म विमानबाट फर्केको थिएँ । काठमाडौं आएको चौथो दिन एउटा फोन आयो । फोन गर्ने ट्रकचालक थिए । भन्न थाले– ‘भन्सारले ट्रक निस्कन दिइरहेको छैन । सर नआइ भएन ।’ जनयुद्धको बेला थियो । कति बेला कुन जिल्ला बन्द हुने हो, यकीन थिएन । यसर्थ विमानद्वारा सिमरा हुँदै बीरगंज पुगेँ र भोलिपल्ट बिहान सामान पास गराउँदै काठमाडौंका लागि हिँड्यौँ ।

पथलैया पुग्दा एकजना बटुवाले हात दिए । सुरक्षाका मानिस हुन् कि भनी ट्रक रोक्यौँ । उनी भन्न थाले– ‘मलाई हेटौँडासम्म जानु छ । ४ बजेभन्दा पहिले नपुगी हुँदैन । धेरै बेरदेखि बसको लागि कुरेको, कुनै सवारी आइरहेको छैन । मलाई पु-याई दिनुहुन्छ ।’ नाईं भन्न सकिनँ । बसालेँ । ट्रक गुड्न थाल्यो । केही बेरपछि ट्रकचालक भन्दछ– ‘सर डिजल सकिन थालेको छ । डिजल भर्नुपर्ने भो ।’ मैले भनेँ– ‘रक्सौलमा त्यत्तिका दिन बस्यौ । तेल किन नभराएका ?’ भन्न थाले– सर, केही छट्टुहरूले मेरो सबै पैसा लुटे । मसित एक पैसा पनि छैन ।’

‘हिँड्दै गर, बाटोमा पेट्रोलपम्प अगाडि ट्रक रोके, त्यहाँ डिजल भरौंला ।’ बाटोमा अनेक पेट्रोलपम्प भेटिए, तर सबैबाट ‘डिजल छैन’ भन्ने सुन्नुप-यो । अनि ती सहयात्री भन्न थाले– ‘हेटौँडासम्म पुग्न सकिन्छ भने, डिजल समस्या हुँदैन ।’

धन्य ट्रकमा हेटौँडासम्म पुग्ने डिजल रहेछ । उनले एउटा पेट्रोलपम्प अगाडि गाडी रोक्न लगाए र भने– ‘चाहिएजति डिजल भरे हुन्छ ।’ ट्रकमा डिजल भराएर उनी विदा भए । मैले धन्यवाद दिएँ । तर काठमाडौं पुग्ने हतार र विद्यमान वातावरणको तनाउका कारण मलाई उनको नाउँ सोध्ने होस भएन । तर गाडी अगाडि बढेपछि आफ्नो बेहोसीका लागि ग्लानि भएर आयो, किनभने उनले मद्दत नगरेका भए हामी बाटोमा कता अलपत्र पर्दथ्यौँ, भन्न सक्दिनँ । आज उनीलाई म एकजना देवदूत भेटिए सरह स्मरण गरिरहन्छु, यद्यपि ट्रकमा बसालेपछि उनीप्रति, कस्ता पात्र हुन्, बसालेर समस्या त खडा गरिनँ, भन्ने नकारात्मक भाव उत्पन्न नभएको होइन ।

यसरी उनीबाट प्राप्त यस किसिमको सहयोग र सद्भावले उनलाई स्मरणीय बनाइरहेको छ भने केही अनुज र अग्रज शुभचिन्तकहरूले लगाएका गुन, उनीहरूका सद्भाव र सहयोगका कारण उनीहरूप्रति कृतज्ञताको भाव उत्पन्न गराउने गर्दछ । यद्यपि सेवानिवृत्तिपछि सेवाकालका यी मित्रहरू बसाइसराइका कारण टाढिए, तर सम्झनाको डोरोले सदैव उनीहरूलाई नजिक राख्ने गरेको छ । बेला–बेलामा फोनमा कुराकानी हुने गर्दछ । दिल्ली प्रवासकालमा सन् ६०को दशकमा भेटिनुभएका र हाल काठमाडौंमा पनि सम्पर्कमा रहनुभएका सत्पुरुष अरविन्द रिमालबाट, उमेरमा उहाँ अग्रज हुनु भएपनि, प्राप्त मित्रवत् व्यवहारले सदैव सम्बन्धमा एउटा न्यानोपन अनुभव गराइरहेको हुन्छ ।

नयाँ ठाउँमा बस्न थालेपछि नयाँ–नयाँ व्यक्तिहरूलाई भेट्ने अवसर प्राप्त भयो । यीमध्ये कोही मित्र भए । उमेर बाधक भएन । यसो हुँदा उमेरले कान्छा भए पनि मित्रका रूपमा उनीहरू निकट छन् । कोरोनाकालका कारण भेट्न नसके पनि सम्झनाका पात्र बनिरहेका छन् । फोनद्वारा सम्बन्धको गाँठो कमजोर हुन पाएको छैन । यस्ता पात्रहरूमध्ये पहिलो हुन् कुमार रञ्जित । एकजना युवा राजनीतिक कर्मी एवम् पत्रकार । जससित गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नव जनवादी मोर्चामा भेट भएको थियो । दुवै जना पत्रकार भएकोले होला नजिकिँदै गयौँ र विगत १५ वर्षदेखि मित्रका रूपमा भेटिरहन्छौँ, सुख–दुखका कुरा गर्दछौँ । उनले अनेक नयाँ ठाउँमा पु¥याए, कतै कुनै समारोहमा अतिथिका मञ्चासिन गराए त कतै दर्शकका रूपमा बसेँ । यस क्रममा भेटिएका अन्य राजनीतिक कर्मीहरू शंकरलाल श्रेष्ठ (नव जनवादी मोर्चाका तत्कालिन सचिव) र केन्द्रिय सदस्य डा. मनोजकुमार सिंह (हाल सांसद, २ नम्बर प्रदेश) पनि विगत १५ वर्षदेखि मित्रका रूपमा सम्पर्कमा हुने गर्दछन् । यद्यपि नव जनवादी मोर्चाको विघटन भइसकेको छ । डा. मनोजकुमार सिंह त हालसाल मेरो निवास नजिककै बस्न थालेकाले पारिवारिक मित्र नै बनेका छन् भन्दा अत्युक्ति नहोला ।

पत्रकारिताको क्षेत्रमा क्रियाशील रही विभिन्न पत्र–पत्रिकाहरूका कार्यालयहरूमा लेख पु¥याउने सिलसिलामा पनि अनेक सम्पादक, सहायक सम्पादक, उपसम्पादक र विचार स्तम्भका सम्पादकहरूलाई भेट्ने अवसर जु¥यो । तर यस क्रममा लगभग १५ वर्षअघि राजधानी राष्ट्रिय दैनिकको विचार–स्तम्भका सम्पादक अशोक सिलवालसितको भेटले समय बित्दै जाँदा मित्रताको रूप लियो । विभिन्न प्रतिभाले युक्त सिलवाल राजधानी छाडे । एक जना पत्रकार, केही पुस्तक लेखक र पर्यटनविद्का रूपमा समाजमा स्थापित भइसकेका अशोक सिलवाल त्यति बेला फिलिम निर्माताका रूपमा पनि प्रकट भए, जब उनले भुइँचालोपछि लथालिङ्ग भएको लामटाङ्गिन पर्वतीय क्षेत्रमाथि एउटा सुन्दर र मनोहारी फिलिम बनाए । उक्त फिलिमको प्रदर्शन–कार्यक्रममा मलाई पनि निम्त्याएर मित्रताको परिचय त दिए नै, पुग्न नसकेको पर्वतीय क्षेत्रको सुन्दरतालाई विकृत पारेको भुइँचालोबाट क्षतिग्रस्त भूभागको पुनर्निमाण कार्य, स्थानीय जनताको रहनसहन र संस्कृतिबाट अवगत हुने अवसर पनि प्रदान गरे ।

आफ्नो आत्मवृत्तान्त ‘रेडियो जिन्दगी अल इण्डिया रेडियोमा चार दशक’ को प्रकाशकको खोजीमा घोस्ट राइङ्गिका प्रबन्ध निदेशक कमल ढकाललाई भेट्ने अवसर पाएँ । यसले मेरो जीवनमा त्यति बेला वास्तवमा नै कमल फक्रेर मलाई एउटा सुन्दर फुलको सुवास फैलिएको अनुभव गर्न लगायो जब ढकालले त्यस कृतिलाई सहर्ष छापे र वि.सं. २०७१ मा भृकुटी मण्डपमा त्यसको लोकार्पण गराए । सहृदयी ढकालले तत्पाश्चत मलाई आफ्ना विभिन्न पारिवारिक समारोहमा आमन्त्रित गरी मित्रताका परिचय दिन चुकेका छैनन । कोरोनाका कारण हामीमाझ भेट हुन नसके पनि फोनले हाम्रो मित्रतालाई बासी हुन दिएको छैन । भलाकुसारी भइरहन्छ ।

यस कडीमा एउटा बिर्सन नसक्ने अर्को नाउँ हो जिवेन्द्र सिम्खडाको । जससित एक जना पत्रकारका रूपमा भएको भेटले हामीलाई एकार्काको नजिक ल्यायो । ती दिनहरूमा अन्नपूर्ण पोस्टका सम्पादक रहेका सिम्खडा अहिले रातोपाटी अनलाइनका सल्लाहका सम्पादक छन् । हामीमाझको स्नेह, सद्भाव र सम्पर्क यथावत छ ।

मित्रताका यी बन्धनले जीवनलाई सहज र रमाइलो बनाएको अनुभव हुन्छ । तराई घर भएर पनि सेवानिवृत्ति पछि नौलो ठाउँमा भएको बसाई सहज भएको अनुभव हुने गर्दछ ।

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, ‘साथी सबैभन्दा माथि’ नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ हो । तपाईं पनि आफ्ना साथीबारे लेख्नुस् र पठाउनुस् nepalnamcha@gmail.com मा । यो स्तम्भ तपाईंको हो अनि तपाईंको साथीको हो । धन्यवाद । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button