
कति सुन्यौं एउटै कुरा, आज मिल्दैन त्यही कुरा
ब्राह्मणपुत्रको लकडाउन डायरी-६६
भरत शर्मा
कभरमोडलः लीला अनमोल
अब सबै किसिमका परीक्षा सञ्चालन हुने ।
काठमाडौंको जोरबिजोर हट्यो, पर्सिदेखि सबै सार्वजनिक यातायात खुल्ला ।
माथिका दुई समाचार शीर्षकले यही भन्छ– अब नेपालमा लकडाउन खुल्ला भयो । तर, प्रशासनले त असार मसान्तसम्म निषेधाज्ञा भनेको छ । यो कस्तो खालको लकडाउन हो ? बजार सबैजसो खुलेको छ । पहिलोको अवस्थामा सडकमा मोटरहरु चल्न थालेका छन ।
स्वास्थ्य मन्त्रालयले आज मात्र भनेको छ, कोरोना संक्रमण दर कम भएको छ । परीक्षण कम गरेर कम भएको हो कि साँच्चै कोरोना कम भएको हो ? जे होस् यो खुसीको कुरा हो । कोरोना संक्रमण दर कम हुनु राम्रो हो ।
साताको पहिलो दिन आइतबार गर्ने योजनाले शुक्रबारसम्म काम गर्न उत्साह भर्ने गर्दछ । आइतबार सूर्यको प्राथना गर्ने दिन हो । ज्योतिष शास्त्रअनुसार आइतवारका दिन विहान सूर्य दर्शन गर्दा दिन मात्र होइन, हप्ता नै फलदायी हुने मान्यता छ ।
तीन दिनदेखि परेको झरीपछि आइतवार राजधानीमा चर्को घाम र गर्मीको चाप बढेको छ । यो मौसम पनि विचित्रको छ । कहिले वर्षा, कहिले घाम, कहिले जाडो त कहिले गर्मी । प्रकृतिको नियम एउटा छ तर हामी प्रकृतिको रक्षा होइन, विनास गरिरहेछौं ।रुख रोप्न खोज्दैनौं तर हामीलाई शीतलता चाहिएको छ ।
आइतबार ब्यापारिक मित्र उमेश भन्दै थिए, ‘अब लकडाउन खुल्यो अब ब्यापार हुने आशा राख्नु पर्छ ।’ ‘अब पर्यटन व्यवसाय पनि शुरु हुन्छ कि ?’, उनले भने, ‘विदेशबाट खोप लगाएका यात्रीहरुलाई त आउन दिनुपर्ने । सरकारले के गरेको छ ? मैले त समाचार पढ्न हेर्न छाडेको हप्ता दिन भयो भन्दै प्रश्न गरे ?’
समाचार हेर्न मन लाग्दैन । मानिसहरु किन बैचैन भएका छन् । हिजो करिव ६५ दिनको लकडाउन पछि राजधानीको एउटा कफीसपमा बसेर मित्रसँग कफी पिउँदाको आनन्द आफैले अनुभव गरेँ । कफीको स्वाद नैं बेग्लै लाग्यो ।
हरेक मानिस अतालिएका छन् । कति बस्नु घरभित्र, घरभित्र बस्दा मानिस अल्छी, मोटा र रोगी भएका छन् । हेर्नुस्, लकडाउन खुलेपछि पेटका विरामीहरु निकै बढ्ने छन् । कतिलाई घोडा दुख्ने, कम्मर दुख्ने समस्याले सताउने भएको छ । महामारीले मानिसलाई रोगी बनाएको अनुभव हरेक पात्रहरुले गर्न थालेका छन् । यसो मित्रमण्डलीसँग कुरा गर्छु, हरेक व्यक्तिभित्र कथा देख्छु ।
जन–जन आफ्नो रोजीरोटी, दैनिक आम्दानी र कामको चिन्तामा छन् । तर, सत्ता र प्रतिपक्षका नेताहरुलाई सत्तामा पुग्ने खेल शुरु गर्नु पर्ने छ । राजनीतिमा ‘तत्व’हरुको भूमिका निकै धेरै हुन्छ । राजनीतिमा शत्रु र मित्रु दुवै हुँदैनन् भन्ने कुन्नी कसले भनेको हो, यो भनाईमा निकै सार्थकता छ ।
लकडाउन भरी जनता घरभित्र बसे पनि राजनीतिक खेल रोकिएन । देशभरका जनता बाढीपिडीतको चपेटामा परेका छन् तर सरकारलाई कुनै वास्ता नैं छैन । देशका राजनीतिक दलहरु यतिसम्म विधर्मी होलान् भनेर जनताले सोचेका पनि थिएनन होला । जनताको मतबाट सत्तामा पुगेका यी नेताहरुको अपराध कर्म अक्षम्य छ । क्षमा दिन नसक्ने खालको अपराध गर्ने यस्ता नेताको बारेमा लेख्नु अर्को अक्षम्य काम हो । त्यसैले त नेपालनाम्चाका सम्पादक भन्छन्, ‘कोरा राजनीतिक कुरा होइन, जन–जनका ससाना कुरा लेख्नु पर्छ ।’
कुरा
कति सुन्यौं एउटै कुरा
नेताले हिजो भनेको कुरा
आज मिल्दैन त्यही कुरा
कस्तो कुरौटे रहेछ नेताको कुरा
किन्न सुन्ने हामीले नेताको कुरा ?
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)