
सम्पादकले भनेकै लेख्न पर्छ भन्ने के छ ?
सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।
यस्तो पनि लकडाउन !
ब्राह्मणपुत्रको लकडाउन डायरी–६१
भरत शर्मा
दुई महिना पुरा भयो लकडाउन सुरु भएको । सरकारी कर्मचारीले दुई महिनाको तनखा बुझे । निजी कम्पनीमा काम गर्ने कारिन्दाहरुले भने लकडाउनको बाहनामा आधाउदी तलब पाए कि पाएनन् कुन्नी !
प्रशासनले भोलिदेखि फेरि सातदिनको लकडाउन जारी भनेर सूचना आयो । निजी र सार्वजनिक यातायात जोर विजोर प्रणालीमा चल्ने भने पनि भोलिदेखि सडकमा ट्राफिकजाम हुने पक्का छ ।
आज दिउँसो नयाँ सडक क्षेत्रमा एक फन्को लगाउनु प-यो भनेर पैदल यात्रा गरेँ । मानिसले आपसमा भन्दै थिए, ‘लकडाउन खुलेको हो कि होइन भेउ पाउन सकिएन ।’ यस्तो पनि लकडाउन हुन्छ भनेर मानिसहरु आफूलाई आफैसँग प्रश्न गर्दै थिए ।
कोरोना संक्रमण घटेको छैन, सरकारले लकडाउन खुलाएपछि एकहप्ता भित्र संक्रमण दर बढ्ने निश्चित छ । आज पनि दुई हजार चार सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।
आजबाट लकडाउन डायरी समापन गर्ने हो कि भनेर सोच्दै थिएँ । मित्रहरुले भने, अब त लकडाउन खुलेको जस्तो भयो । अब लकडाउन डायरीको नाम परिवर्तन गर्नुप-यो ।
मनमनै सोच्दै पनि थिएँ, अब त लकडाउन सकियो । समापनतिर लाग्नु पर्छ कि ! तर, अझै शहरमा लकडाउन छ ।
पुत्रद्धयले भन्दै थिए, ‘लकडाउन खुल्यो, बाबाले अब डायरी लेख्नु पदैन होला । लकडाउन डायरी यतिका दिनसम्म कसरी लेख्न जाँगर चलेको होला !’ श्रीमतीले भनिन्, ‘लकडाउन खुल्यो । अब त नलेखे पनि हुन्छ ।’
मैले भनेँ, ‘बरु खान्न । व्रत बस्छु । तर, सरकारले लकडाउन खुल्यो भनेर नभन्दासम्म लेखन जारी रहन्छ ।’
‘लौं लेख्नुस्’, ढुस्स (ठुस्स) परिन घरकी । तर, ‘आज कविता लेख्नुस्’, भन्दै शीर्षक समेत घरबाटै प्राप्त गरेँ ।
यस्तो पनि लकडाउन !
हिजो, आज र भोलि पनि लकडाउन
प्रशासनले जारी गरेको लकडाउन
सडकभर सवारी
मानिसको हूल
यस्तो पनि लकडाउन !
महामारी टरेकोे छैन
मानिसको मनमा डर छ÷छैन
प्रशासन भन्छ–
लकडाउन जारी छ
जनता भन्छन्–
लकडाउन खुल्ला छ
पेटभित्र लकडाउन हुँदैन
रोगसँग लडनु छ
झोलिलो खानुपर्ने
समय यस्तो छ
काम बन्द छ
भोक खुल्ला छ ।
भोक, रोग र शोकसँगको लडाई
लकडाउनले के गर्नु !
यस्तो लकडाउन के लकडाउन !
सरकार यता सुन
अब लकडाउन होइन
खुल्ला डाउन गरौं ।
तेस्रो लहर आउने हल्ला चल्दैछ
बीचमा खोलौं
फेरि बन्द गरौं
यसरी कहिलेसम्म
यस्तो पनि लकडाउन !
सम्पादकसँग बिहान छलफल भए अनुसार आज लेख्नुपर्ने विषय अर्कै थियो । तर, सहरमा फन्को लगाउँदा यो शब्द पटक– पटक सुनेपछि जनमनको बोली नलेख्ने हो भने के लकडाउन डायरी भनेर यही लेखेँ ।
यस्तो लकडाउनले महामारीलाई नियन्त्रण गर्न सक्ला जस्तो छैन । सुनिन्छ, संक्रमण दर बढ्दै गयो भने फेरि प्रशासनले कडा लकडाउन गर्ने योजना जारी राखेको छ ।



