छतः कोरोनाको एउटा उज्यालो

सुशीला शर्मा

जब हामी गाउँमा थियौं, छानोमुनि थियौं, जस्तापाता, खर र टायलका छाना । बाहिर निस्केपछि खुला र प्रष्ट आकाश नै हाम्रा लागि छत हुन्थे । त्यही छानामा पनि झ्यालबाट बिस्तारै चढ्थ्यौं । त्यतिबेलै छोरी भएर त्यसरी छानो चढ्न हुँदैन भन्ने पनि सुनेका थियौं । छुट्टै रमाईलो त्यो बालापन अनि किशोरावस्था । समयले कोल्टे फेरेको छ । आजकाल मानिस गाउँमा कम शहरमा बढी बस्छन् । रहर, कर, बाध्यता या सुख सुविधाले । हामी पनि तिनैमध्ये पर्छौं ।

एउटा घरमा दशौं परिवार अटाएर बस्नुपर्ने छ । घरमा बस्नेमध्ये छतसम्म जाने अनुमति नपाउनेहरु पनि छौं । तर घरधनीहरु र केही डेरावालहरुले भने घरको छतमाथिको न्यानोपनको आभास गर्न पाउँछन् । घरैघरको शहर भएपछि छतैछत पनि त हुने नै भए । डेढ वर्षदेखि विश्वमै कोरोना महामारीले मानिसका जीवनलाई खुम्च्याइदिएको छ । निर्धक्क, बिना रोकतोक, स्वतन्त्र विचरण गर्न रुचाउने मानिस घरभित्रको पर्खालभित्र बन्दी जस्तै जीवन जिउँन बाध्य छन् । तर, अवस्था अनुसार मानिसले जीवन जिउने विकल्प पनि त सोचिरहेकै हुन्छ । काठमाडौंमा छत घाम ताप्ने ठाउँको रुपमा र तराईमा गर्मी महिनाको रातमा शीतल खोज्दै निन्द्रा लगाउने ठाउँको रुपमा प्रयोग गरिन्छ । तर, समग्रमा छत बिनाको घरको के कल्पना गर्नु र ! तर, छतलाई निकै मजबुत गरी बनाउनुपर्ने र निकै हेरविचार गर्नुपर्ने रहेछ । सरसफाई गर्नुपर्ने रहेछ । पानी चुहिएको, खिर्ईएको ख्याल गरिरहनुपर्ने रहेछ भन्ने अझ बढी ज्ञान यो महामारीको कहरले दिइरहेछ घरधनीहरुलाई ।

हामी एउटै घरमा बस्ने दुई परिवार साँझ छतमा टहल्छौं, दुई घण्टाजति । छतलाई त्यही घाम ताप्ने रुपमा र लुगा सुकाउने ठाउँको रुपमा नै हेरिन्छ । तर, यो कोरोना कहरमा छतहरु त कस्तो न्यास्रो कम गर्ने ठाउँ जस्तो पो भएछ । साँघुरिएका गल्ली र सानो क्षेत्रफलभित्रका घरका पर्खाल बाहिर र भित्र हेर्ने नै के हुन्छ र ? हामी छतबाट वल्लोपल्लो घरका छतहरुमा नियाल्छौं । प्रातकाल र सन्ध्याकालका हिडाईंहरु पनि छतकै एक कुनाबाट अर्को कुनामा ।

फेसबुकभरी कौशी खेतीको लाईभ देखिन्छ । कसैले सिमी र काँक्रो लटरम्म फलाएका छन्, कसैले त मकै पनि फलाएका छन् । दिनभरी के गर्नु ! बरु यतै अल्मलियो, ताजा तरकारी पनि खान पाइने, आफूलाई अल्झाइराख्न पनि पाइने । एक घरबाट अर्को घरकाहरुसँग अरु बेलामा पनि सौहार्द तरिकाले बोलचाल भएको रहेछ भने त छतबाटै उता फलेका तरकारी चाख्न पनि पाइने । छत उज्यालोको दृश्यावलोकनको लागि मात्र होइन रहेछ । निन्द्रा नलाग्दा या आकाशको तारा या जून हेर्दै गीत सुन्न मन लाग्यो भने पनि सर्वसुलभ ठाउँ रहेछ । तर, बालबालिकालाई खेल्नको लागि भने चारैतिर छेकिएको छत हुँदा मात्र राम्रो । कतिपय छतहरु काठमाडौं उपत्यकामा माथि डिल खुल्लै भएका पनि हुन्छन् ।

छत बगैंचामय पनि हुन्छ । रंगीचंगी फूल फुलेका छतमा तिनै फूलको स्याहार गर्दै आनन्द लिनु पनि मानिसका लागि एक प्रकारको मेडिटेसन नै हो । जे होस्, छतहरुले ओत मात्र नभई मानिसका मनलाई पनि बहलाईदिएका छन् ।

छतमा बसेर मनपर्ने संगीत सुन्नु, चम्किरहेका तारा र चन्द्रमा हेर्नु आहा ! हिन्दीमा एउटा सायरी रहेछः

बहुत गुरुर था छतको छत होने पर
एक मंजिल और बनी छत फर्श हो गयी ।

शहरीकरणले माथि उदृत गरिएको जस्तै स्थिति पनि ल्याइरहेछ । घरसँगै प्रतिष्पर्धामा तलाका तला घर बन्ने प्रकृया निरन्तर नै छ । तर, पनि छतबाट अलिकति आकाश पक्कै देखिन्छ । अलिकति क्षितिज पनि देखिन्छ । केही मानिसहरु देखिन्छ र कसैसँग त भलाकुसारी पनि गर्न सकिन्छ । कोरोना कहरमा महिमा कि आफू बस्ने कोठाको गाउनु पर्यो हैन भने त बाहिर भनेको छत हो, यही छतकै कुरा गर्नुपर्यो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button