
महामारीमा खुसीको खोजी
ब्राह्मणपुत्र लकडाउन डायरी–३२
भरत शर्मा
कभर मोडलः रेखा लिम्बु
आज खुसीको कुरा गरौं । खुसीका कुरा गर्दा मन चङ्गा हुन्छ ।
’सरकारले एक बर्षको राष्ट्रिय बजेटमा सबैलाई खुसी बनाउन खोजेको छ’, सत्तापक्षले भनेको छ । विपक्षीले भने ‘बजेट ठीक छैन’ भन्दै छन् । व्यापारीहरुले बजेट त ठीक छ तर त्यसको उपयोग र कार्यान्वयन हेर्ने हो भन्दैछन् ।
जेठ २० गतेसम्म अझै कडा लकडाउन जारी छँदैछ । एक महिनाको बीचमा हरेक दिन साँझ डायरीमार्फत नेपालका तीर्थस्थल, देवस्थल छिमेकी देश भारत र चीनसम्मका कुरा लेखेर समयको सदुपयोग गरियो ।
लकडाउन भएको एक महिना पुरा भयो । लकडाउन महिना दिन पुगेको उपलक्ष्यमा डायरीमा खुसीमन्थन गर्न चाहन्छु ।
अहिले संसारका मानव जाति दुःखी छन् । विश्वको जनसंख्याको १० प्रतिशत मानिसको मनमा सुख र खुसी छैन । कोरोना महामारीबाट मुक्त भएको कुनै देश छैन । विश्वमा भएका लगभग २०० देशमा महामारीले पाइला टेकेकै छ । धन्य ! महामारीले कसैलाई भेदभाव चाहिँ गरेन है । धनी भन्नेहरु होस् वा गरिव ।
दुई बर्ष भयो, मानिसभित्रको खुसी र सुख एकैपटक खोसिएको । किन यस्तो भएको बेला भनेर मैले सनातन शास्त्रका मर्मज्ञहरुलाई सोधेको त उनीहरुले भने, ‘मानिसमा द्वेष, अहङ्कार, घमण्ड, अत्याचार, पापाचार दुराचार बढेपछि मानिस भित्रको सुख र खुसी जति सबै रुद्र अर्थात् भगवानले हरण गरेर लगेका छन् रे ।’
कतिले भन्न सक्छन्– यो कुरामा कुनै बैज्ञानिक आधार र तर्क छैन । जीवन त आधार र सिद्वान्तले मात्र चल्दैन । त्यसो हो भने त्यो खुसी कहाँ हरायो त ?
संसारका मानिस दुःखी मात्र छन् । मानिसमा जीवनमा बाँच्ने सम्पूर्ण आधारहरु हुँदा समेत मानिस किन सुखी र खुसी हुन नसकेका होलान ?
त्यसो हो, भने सुख र खुसी कहाँ छ ? स्वर्गमा खुसी होला त ? आइतबार विहान देवघाटस्थित महेश संन्यास आश्रमका स्वामी रमणानन्द गिरिले उपनिषद्को भाष्यको दार्शनिक पक्षको ब्याख्या गर्दै भने, ‘सबैभन्दा सुखचाहिँ मनुष्यलोकमा छ ।’
धन्यवाद स्वामीज्यू, हामी बसेको धर्ती नैं स्वर्ग हो भनेर किटान गरिदिएकोमा ।
स्वर्गमा गएकाहरुको जीवन निकै अशान्ति छ । न, भोक छ, न शोक छ, न निन्द्रा छ, केवल अप्सराको नृत्य हेरेर स्वर्गमा बसेका छन् । स्वर्गको सुख क्षणिक छ । त्यसैले धर्तीमा दुःख भए पनि सुख, खुसी र स्वर्ग यहीँ छ ।
मनुष्य लोकमा बस्नेहरुले सुख र खुसीको बारेमा नबुझेर मात्र हुन् । ‘सुख त यहीँ छ, सुख पाउनका लागि पहिले दुःख भोग्नु पर्छ’, सनातन शास्त्रले भन्छ । अहिले हामीले दुःख भोगिरहेका छौं, अब फेरि केही समय धर्तीमा सुख, खुसीको दिन आउँछ ।
धर्तीमा रोग छ, भोक छ, वेदना छ, तिर्खा छ, छटपटी छ, मानिस–मानिसबीच कलह छ, तर पनि मानिस सुखको लागि जीवनभर दौडिरहेको छ । विपत्ति आए पनि मानिसले त्यसलाई स्वीकार गदैं सामना गर्नु परेको छ ।
धर्तीमा विपत्ति परेको छ तर सूर्य त समयमा उदाएको छ, आफ्नो समयमा अस्ताएको छ, पानी परेको छ, घाम लागेको छ । ऋतु अनुसारको जाडो, गर्मी, प्यास, भोक र निन्द्राले त मानिसलाई छोडेको छैन ।
त्यसो हो भने, मानिस किन खुसी र सुखी हुन सक्दैन ?
संसारमा धनी, गरिव, रोगी भोगी, गृहस्थ छन् । सन्यासी छन्, योगी कसैले पनि खुसी र सुखी भएको बताएका छैनन् ।
कारण एउटै छ, मानिसको ‘मन’ असन्तोषले भरिएको छ ।
मन चञ्चल छ, लकडाउन भएर घरभित्र बस्दा पनि मानिसभित्रको छटपटी कायम छ । हरेक व्यक्ति कुनै न कुनै ‘समस्या’मा फसेको छ । रोग, भोक, शोक मित्र बाँच्नु परेको छ मानिस ।
यसको उपचार के हो ? मानिस विरामी हुँदा औषधि उपचार हुन्छ तर ‘मन’को विरामीको उपचार नैं छैन संसारमा । चिकित्सा शास्त्र, आयुर्वेदमा पनि मनको उपचार गर्ने विधि छैन ।
कोरोना महामारी पछि त खोप भनेको छ । अब खोप लगाइयो भने महामारीसँग लड्न सकिन्छ भन्ने मनोबल बढ्दो छ । सरकारले हिजो मात्र देशभरका नागरिकलाई निशुल्क खोप दिने घोषणा गर्दा पनि कयौं नागरिकहरु कोरोना लागे पनि खोप लगाएर निको हुने आशामा छन् ।
तर, ‘मन’को रोग निको पार्ने र ‘सुखी र खुसी’ हुने कसरी ?
धन भएन दुःखी, धन कमाए पनि दुःखी, गरिव हुँदा नि दुःखी जीवन बाँच्ने आधार नहुँदा पनि दुःखी,आधार सबै भए पनि दुःखी ।
यस्ता महामारी अझै कति आउने हुन् । प्राकृतिक विपत्ति, भूकम्प आदि दोष हामी सबैले भोग्यौं नि होइन र ? अझै अगाडिका दिनहरुमा कयौं विपत्ति भोग्न बाँकी छ ।
यस पटक त संसारका मानिसले एकैपटक सबैले महामारी भोग्यौं । महामारी भएको बेला लकडाउन पालना गरेर सुख र मनको औषधि खोज्यौं कि खोजेनौं ?
‘सुख’ र ‘मन’को औषधि तपाईं हामी भित्रै छन् । अब खोजौं ?
हाँसेर खुसी हुने भन्छन्, यो सिद्वान्त मात्र हो, कोही हाँसेर सुखी भएको देख्नुभएको छ ? मैले त देखेको छैन ।
‘सुख’को औषधि हामीभित्रको संस्कारभित्र लुकेको हुन्छ ।
‘मन’को औषधि मनैभित्र हुन्छ । यो दार्शनिक कुरा भयो । व्यवहारिक कुरा भएन । तपाईंलाई र मलाई पनि लागेको यही हो ।
‘सुख त भौतिक सुविधामा छ, भौतिक सुविधाले मात्र मानिसको ‘मन’ खुसी हुन्छ’, कतिले भन्छन्, ‘सुख अध्यात्मभित्र छ, अध्यात्म मार्गमा हिँड्नेहरुको ‘मन’ सधै खुसी हुन्छ ।’
अहिले मानिसले रोज्ने दुई मार्गबाहेक तेस्रो कुनै मार्ग छ ? छैन, तर दुवै मार्गमा लागेका मानिस किन सुखी र खुसी हुन नसकेका हुन् ? यसको व्यवहारिक पक्ष के हो ?
लकडाउनको नियम पालना गरेर घरभित्र बसेर सोच्दै छौं । आफूलाई हे¥यो दुःखी, अर्को पनि दुःखी । यस्तो बेला आयो, मानिस–मानिस भेट्दा पनि भौंतिक दुरी राख्नुपर्ने । सबै दुःखी ।
यस्तो समयमा सुख र खुसी कसरी ल्याउनु ?
सनातन शास्त्रले भन्छ, ‘हरेक व्यक्तिको परीक्षा संकटको बेला हुन्छ, आपदा परेको बेला खुसी र सुखी हुन सिक्नु नै भौतिक र आध्यामिक मार्गमा हिँडेकाहरुको परीक्षा हो । यो परीक्षामा हामी पास हुन अर्थात रोगसँग लड्नका लागि चिकित्सकले भनेको जस्तो आत्मबल, मनोबलका लागि खुसी र सुखी हुनुपर्छ ।’
हामी त अहिले ‘यता न उता’का भयौं । त्यसैले दुःखी भयौं । सुख पनि भएन । खुसी पनि कता कता ? हरायो ।
हामी सनातनी हौं, पूर्वीय संस्कार भुल्यौं, पश्चिमा संस्कार सिक्न खोज्यौं, अल्पज्ञान भयंकर भनेजस्तो हामीले सिकेको कुराले हामीलाई हानी पु-यायो ।
हामी खुसी पनि हुन सकेनौं । सुखी पनि हुन सकेनौं ।
लकडाउन भएको बेला स्वामी, गुरुका प्रवचन सुनेर मात्र के गर्ने ? हाम्रो संस्कार हामीले नै त्यागेपछि दुःख परेका बेला कहाँ खोज्ने ? त्यसैले हामी गरिव देशका निमुखा भयौं ।
किन यस्तो दार्शनिक कुरा लेखेको, हामीले त केही बुझ्न सकेनौं भनेर प्रश्न गर्नसक्नु हुन्छ तपाईंहरुले ?
यो प्रश्न तपाईंको लागि पनि हो, मेरो लागि पनि हो ?
मैले ३० दिन लकडाउनका दिन विताउँदा भागेको र देखेको मुल समस्या यही हो । हामी आफू खुसी, सुखी हुन नसक्दा अरुलाई पनि त्यही अवस्थामा देख्यौं ।
यो सबैको साझा समस्या हो, मात्र अभिव्यक्ति गर्न नसकेको हो । मैले मात्र विषयको उठान गरेको हुँ ।
एकपटक सोचौं त, सुख र खुसीका लागि त श्रीमद्भगवतगीताले एउटै शब्दमा भनेको छ, ‘कर्म गर ।’
कर्मयात्रामा खुसी र सुख पाउने छौं । के हामीले गरेका कर्मका आधारमा तपाईं र हामीले आफ्नो मनलाईं खुसी र सुखी बनाउन सकेका छौं ? यो प्रश्न पनि आफैले आफैलाई सोध्ने हो । उत्तर पनि कुनै महापुरुषबाट होइन, आफैले खोज्ने हो ।
कुरा लामो छैन, शास्त्र, ग्रन्थ र महापुरुषका महानवाणी, धनीका कुरा, गरिवका कुरा सुनेर होइन, आफूले आफैलाई प्रश्न गर्ने र आफैले उत्तर दिन सकियो भने मात्र सुख, सुखी, आत्मबल, मनोबल, इच्छा, आकांक्षा र योजना पुरा गर्न सकिन्छ ।
‘अप्पो दीपो भवः’ यो तीन शब्दको व्याख्या आफैले गर्नु होला ।
हामी सबैले आफनो जीवनमा चाहिने, सुख, खुसी र मनको दियो आफैले बाल्ने हो । अझैं कयौं महामारी आउने छन्, हामीले महामारीभित्र मनलाई दरो बनाएर सुख र खुसीका लागि जीवन यात्रामा दौड्नुपर्छ । अर्को विकल्प छैन, जन्म र मृत्यु शास्वत सत्य हो ।
थाहा छ, तर हामीले धर्तीमा बाँच्नु पर्छ, स्वर्ग भनेको हाम्रोे धर्ती नैं हो ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)