समाज धर्मको कोक्रोमा सुतिरहेकोले उसलाई निद्रा प्यारो छ
अल्छी
अर्जुन दाहाल
ऊ राती ढिलो सुते पनि
बिहान ढिलै उठ्दथ्यो
उ राती छिटो सुते पनि
बिहान ढिलै उठ्दथ्यो
निद्रा उसलाई अति नै प्यारो
उसले आफ्नो शरीरलाई आराम गर्न कमै दियो
उठेपछि नसुतुन्जेल
र सदा रमायो नशामा
जब उसले निद्रामा आराम पायो
तब चटक्कै छोडिदियो
चुरोट लगायतका कुलत
पुनः समाजिक बन्न ।
ऊ अहिले पनि अल्छी छ
धेरै सोच्दछ
उसले भूतकाल बारेमा धेरै लेख्यो
अनि ज्ञान हाँसिल गर्न खोज्यो
अज्ञात भूतकाल सरी
थाहा नै नपाई ज्ञानी बन्न खोज्यो
त्यसैले अहिले ऊ आरामको खोजीमा छ
पढ्न थुपारेका पुस्तकलाई थाती राख्दै
ऊ निन्द्राको भक्त भएको छ ।
आफ्नो लेखमा उसले महादेवले हारेको कथा लेख्यो
उसको लेख त्यही भएर सुहाएन
किनकि महादेवले हारेको
कहिल्यै कसैले पढेनन्
अनि धर्मका भक्तले उसको कृति
प्रकाशन गरेनन् ।
ए मुर्खहरु हो
भगवानले छल नगरी जितेको कथा विरलै पाइन्छन्
जसलाई तिमीहरू लिला भन्दछौ
त्यसैगरी
जसरी एउटा ढुङ्गालाई देवता मानेर पुज्दछौ
उसले त्यसैले बोल्यो
धर्मशास्त्र अनुसार
सृष्टिमा पहिल्यै केही थिएन
सुरुमा जो आयो
त्यही भगवान कहलियो
तिम्रा भगवानहरु
सृष्टि रचनाका प्रथम पात्र मात्र हुन्
जसलाई पुजनीय बनाएर
उनको कर्मलाई छुट प्रदान गरियो
शास्त्रले गुणगान थपिदियो
अनि व्याख्या गर्नेले आभुषण ।
उसलाई त्यसैले निद्रा प्यारो छ
किनकि समाज पनि धर्मको कोक्रोमा
अझै पनि सुतिरहेको छ
पात्रको कर्मको व्याख्या होइन
पात्रको प्रशंसामा
त्यसैले ऊ अल्छी भएको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)