जाडोमा मसिना बचपने कथाको आनन्द बेग्लै
बचपने जाडाको सम्झाना
हर्कबहादुर लामगादे ‘रोहित’
दिल्लीमा पुस-माघको कठ्याङग्रिने जाडाले राति सुतेको बेला अठ्याउन थालेपछि कहिलेकाहीँ बचपने जाडाका दिनहरू मानसपटलमा सल्बलाउन थाल्छन् । तब सम्झनाको बर्कोमा गुटुमुटु भएर सुतिन्छ ।
हिमालयका टाकुरा मणिपुर राज्यको पूर्वी सीमामा गएर टुङ्गिन्छन् । यी टाकुराले जाडो महिनामा चिसाको पराकाष्ठालाई चरममा पुर्याउन निकै सहयोग गर्दछन् । ठाउँ-ठाउँमा तुषारो पर्दछ, सेतै ।
भुराभुरीलाई खेल्न पाएपछि अरू के चाहिन्छ र ? भोक-तिर्खासम्मको याद रहँदैन । मङ्सिरमा धान थन्काइएपछि गाईवस्तु छाडा छोडिन्थ्यो । भुराभुरीलाई मेला लागेझैँ हुन्थ्यो खेत खाली भएपछि । हामी पनि गाईवस्तु छाडा छोडिएजसरी खेतमा खेल्न रमिन्थ्यौँ । परालको कुनिउँ र झुसुनेमा उफ्रिन्दा-उफ्रिन्दै घामलाई अस्ताइन्थ्यो । छोटो बोट भएका धानलाई जरैसँग काट्थे । नर्वा छोटा हुन्थे तर लामा बोटे धानका नर्वा लामै हुने । जाडो महिना नसकुन्जेल नर्वा जीवित भइरहन्थे । दिनभरी खेतमा यता र उता कुदेपछि नर्वाले चिथोर्दै म्वाइँ खान्थ्यो । खेलको धुनमा नर्वाको माया पत्तै पाइन्दैनन्थ्यो । पराल, झुसुने र नर्वाले हात, खुट्टा र लुगाले नछोपेको भागलाई म्वाइँ खाएर लामा धर्कामा निसान बनाइदिएको हुन्थ्यो ।
घाम डाँडामा लुकेपछि जाडाले मौका छोप्थ्यो अनि बेस्मारी अठ्याउँथ्यो आफ्नो अँगालोमा । खेलको मैदानबाट घर आएपछि दिदी र आमाले हात-खुट्टा धुनु भन्दै भुत्भुताउँथे तर जाडाको प्रकोपमा कसले धुने ! तातो लुगा जिउमा टाँगेपछि खुट्टा धुन परै जाओस् भात खान हात धुन पनि भुङ्ग्रोमा हात हालेको समान डर लाग्थ्यो । पाँच-छ बजेको बिचमा चारो चेपेपछि पिताश्रीले अँगेठीमा बासका जरा र ठुटा दाउरा बालेर आगो ताप्ने व्यवस्था गर्न लाग्नु हुन्थ्यो । दाउराका ठुटा कसैगरी पनि छिटो नबल्ने । रुखको आँखा परेको ठुटोलाई न चिर्न सजिलो पर्छ न बाल्न । हैरान बनाउँछ । सल्काउनलाई झिरीमिटी बालेपछि बिस्तारी धुवाँ छोड्न थाल्ने, पत्पती । अँगेठीको छेउमा झिरिप्प भएर सबै भाइ-बहिनी बसेका हुन्थ्यौँ । धुवाँले आँखा आँसुआम्मे हुन्थे । सोतेले पालैपालो फूँकीफूँ पार्यो तर ठुटाले बल्ने कुनै सङ्केत नदिने । फूँकून्जेल बल्ने, फूक्न छाडेपछि धुवाँ छाड्न थालिहाल्ने । कसको सास धेरै छ भनी प्रतियोगिता गर्दै मरुन्जेल फुकिन्थ्यो तर ठुटो जस्ताको त्यसतै। जब्बरे ठुटा । सायद ठुटोलाई पनि आगो झोस्दा पोल्दो होला ! हामीले बुझ्न नसकेका थियौँ कि !
सेतो खरानी उडेर सबैका टाउकोमा विराजिन्थ्यो । अर्काका टाउकोमा सेतो खरानी देखेपछि सोतोले फूँ पारेर फूँकिदियो । आफ्नो अर्काले फुकिदिन्थ्यो । घरको धुरीबाट छिरेको हावा जुन दिशातिर जान्थ्यो उतैतिर धुवाँको मुस्लोले बाटो फेर्थ्यो । ‘जसले बाटोमा मुत्छ, ऊतिर धुवाँ जान्छ’ भन्दै एकअर्कालाई गिज्याइन्थ्यो । सारै गिज्याइँदा आफु बसेको ठाउँ सरो अनि अर्कालाई बाटो मुतुवा भन्यो । यही बेला कसैले चाल नपाउनेगरी तातो हावा पिँदको दुलोबाट छोड्यो भने सबैले नाक समातेर कसले पाद्यो भन्दै एकअर्कालाई हेरिन्थ्यो । स्वादिलो कुरा, जसले पाद्ने उहीँ पहिले नै नाक समातेर पद्वा खोज्न लाग्ने । कसैले पादेको निधो नदिएपछि पद्वा भेट्ने श्लोक वाचन हुन्थ्यो । ‘आदे पादे नुनुछादे, तामा-गाग्री ठ्याइँठुस्, जो पहिले हाँस्यो, उसैले पाद्यो’- जसले पहिले हाँसो फुस्काउँथ्यो उसैले पद्वाको उपाधि पाउँथ्यो । पादेर नहाँस्ने चैँ मान्छे मारेर पनि अदालतबाट बरी भएको अपराधी जसरी हाँस्थ्यो ।
बल्लतल्ल अँगेठी सल्किन्थ्यो । आमा-दिदीले ठिर्याउने पानीले धन्दा गरेर हात सेकाउन आउँथे । त्यति बेरसम्म आफ्ना आँखा झुपुझुपु हुन लागेका हुन्थे । ‘खुट्टा धोइस्?’ भन्दा मुन्टो हल्लाउँदै न धोएको जानकारी राखिन्थ्यो । आमाले ठुलो कित्लीमा तताएको पानी र चुठुवा त्यहीँ अँगेठीको छेउमा ल्याएर खुट्टा धोइदिनलाग्नु हुन्थ्यो । तातो पानी भएर जाडो कम्ती लाग्ने तर आँसु झर्नेगरी खुट्टा चर्याउँथ्यो । दिनभरी नर्वा र परालले पासेको परिणाम अहिले तातो पानीले सम्झना गराइदिन्थ्यो । खुट्टा धोइसकेपछि आमाले नौनी घिउ लगाइदिनुहुन्थ्यो । केहीबेर चर्याएपछि सुकिलो र आनन्द लाग्थ्यो ।
सबैका कुर्कुच्चाको हालत हेरिनसक्नु हुन्थे । पट्पट्टी फुटेर कुर्कुच्चाको रानीमासु देखिन्थ्यो । रानीमासु मरेपछि मात्रै मजाले टेक्न मिल्थ्यो । भित्रको मासु मार्नका लागि सुत्ने बेला आमा-दिदीले उपचार गर्थे । बाती मिठातेलमा चुर्लुप्प भिजाउँथे अनि जलाएर झ्याप-झ्याप कुर्कुच्चामा हान्थे । दस-पन्ध्रचोटि हानेपछि उपचारको क्रम सकिन्थ्यो । पोलेर एक्छिन् त सासै अड्किन्थ्यो । पैतालामा काँटी या छेस्का बिज्दा पनि यही उपचार गरिन्थ्यो । यसरी कुर्कुच्चा फुटेकोमा कम्पनीका ‘क्रेकक्रिम’-ले काम काट्दैन्थ्यो । बाती हान्ने गाउँले उपचार विकल्प नै बेस्ट ठहर्थ्यो ।
फेरि सुरु हुन्थ्यो उहिले पहाडका कथा र गाउँ खाने कथा । ‘ठुलो डाँडोमा सानो दुलो के हो?’ भनौँ त ? उत्तर मनमा दिएपछि मात्र उधो पढ्न लाग्नु होला । हाँ ! हाँ !
पुस लाग्दा नलाग्दै फाइनल परीक्षा भएपछि स्कूलको बिदा हुन्थ्यो । खेल्नलाई समय प्रशस्त । एकखुट्टे खेल, सबैले बचपनमा एकचोटि त खेलेकै होला । आँगनमा आठ कोठा बनाएर खेलिन्थ्यो । जुत्ता लगाउँदा खेल्न सजिलो पर्थ्यो । चप्पलमा खेल्दा लोती छिट्टै चुट्टिने डर । जुत्ता लगाएर खेल्दा कर पर्ने अनि खुट्टा धुलोबाट सुरक्षित रहने । खेल खेल्नका लागि नै कसले पो जुत्ता किनिदिने र ! वर्षमा एकचोटि स्कुलका लागि किनेका जुत्ता वर्षभरी लगाउनु पर्ने नियम-कायदा रहन्थ्यो । बाबाले जस्ता जुत्ता किनिदिनुहन्थ्यो त्यसैमा सन्तुष्ट हुने पर्ने । जुत्ता रोज्न विकल्प परै जाओस्, नयाँ जुत्ता किन्ने कुराले नै मन प्रफुल्लित हुन्थ्यो । सदाबहार एउटै जुत्ता हात लाग्थे, टाटा कम्पनीका काला पलास्टिकका जुत्ता । जुत्ताको अनुहार अझै पनि बिर्सिएको छैन । अगाडिपट्टी जुत्ताको अनुहार जिप गाडीको नाकजस्तो चुचो भएको, लेस घुसार्ने ठाउँमा स्टिलको क्लिप । लेस कसेर लगाउँदा, स्टिलको क्लिप फुस्केर जान्थ्यो । त्यहीँ पलास्टिको दुलोमा लेस कसेर लगाउँदा केही दिनमा नाङ्गो दुलोले पनि हार मान्थ्यो । लुगा सिउने सुईले खप्टीखप्टी सिइदिनुहुन्थ्यो आमाले । किनेको केही महिनामै पैतालाबाट फाट्न सुरु हुन्थे जुत्ता । जीपेमुख पाटोतिर पहिले फाट्थ्यो । चाँडै फाट्नेको मुख्यको कारण थियो ‘एकखुट्टे’ खेल । फाटेपछि नयाँ जुत्ता पाइन्छ भन्ने आशा गर्ने नियम थिएन । पुराना जुत्ताको टालो लिएर बाबाको छेउमा गएपछि बाबाले फलाम तताएर जुत्ता टालिदिने जसरी डाक्टरले एक ठाउँको घाउ पुर्न अर्को ठाउँबाट छाला उक्काएर टास्छ । एकचोटि भर्खरै टालेको जुत्ता हतारमा लगाएछु, टाल्दा पघ्लिएर आएको तातो पलास्टिकको पिप खुट्टामा लपक्कै टाँसियो । पोलेर हैरान, पक्क छाला नै काड्यो । वर्षभरी चार-पाँचचोटि जुत्ता टाल्दा जुत्ताको वजन दुई गुणा बढ्थ्यो । अब जुत्ताको आकार जीपको मुखजस्तो कहाँ देखिन्थ्यो र ? न टालेको ठाउँ कतै पनि हुँदैनथ्यो । जुत्ता डिजाइनरले देख्थ्यो भने बेहोस हुन्थ्यो होला !
पुस-माघको जाडोले जुत्तालाई पनि छाड्दैनथ्यो । बिहान उठेर खेल्न जाँदा जुत्ता लगाउन नसकिने । जुत्ता कक्रिएर दाउरोजस्तो भई जुत्ता मालिकको प्रतीक्षामा कतै कुनातिर बसिरहेको हुन्थ्यो । सोच्दै, कि मेरो मालिक आओस्, उसका खुट्टा हालेर मलाई गरम पारोस् । उसको इच्छाअनुसार खुट्टा हालिसक्दा ठिर्याएर चिमोट्दा पनि दुःखाइको अनुभव हुँदैनथ्यो । आधा घन्टासम्म जुत्तामा पसेको खुट्टाको भाग ग्लेसियरमा पसेकोजस्तो अनुभव लाग्थ्यो ।
यस्तो जाडोमा नुहाउने कसको जाँगर चल्ने । हप्तादिन बित्थ्यो । खोलामा नहूँ भने पानी छोइनसक्नु । दिनमा घाम लागेको बेला मौका पारेर कहिलेकाहीँ नहिन्थ्यो । अरू बेला न नुहाए पनि मकर सङ्क्रान्तिमा नुहाउनै पर्छ भन्दै बुढापाकाले अर्तीबुद्धि दिन्थे । ‘मकर नहुने’ भनिन्थ्यो जाडाको छाती चिरेर नहुने यो विशेष परम्परालाई । नुहाउने मात्र कहाँ हो र ? कसैसँग नबोली एकाबिहानै निहाउनु पर्छ भन्थे । परम्पराको सोधी-खोजी कसले गर्ने ? पाप लाग्छ भन्ने भिन्नै पिर । बिहानीको चार बजे अँध्यारोमा सबै उठेर खोलातिर गइन्थ्यो । खोलाको पानी छुदा यस्तो लाग्थ्यो मानौँ खोलाले हिमालयको बरफसँगै बगाएर ल्याएको छ । भगवान्को नाम लिएर एक डुबुल्की लगाउँदा एकचोटि सासै रोकिन्थ्यो । हतार-हतार लुगा लगाएपछि मात्र दोहोरो सास चल्न लाग्थ्यो । घर आएर तातोतातो तरुल-भ्यागुर खाएपछि धार्मिक आनन्द साथै मकर नहेको गर्व गरिन्थ्यो ।
नुहाउन त ठिकै हो, लुगा धुने बेग्लै कथा हुन्थ्यो । जाडाका लुगा विघ्न भए दुई जोडी हुन्थे । कसले नियमित फेरिफेरी धोइदिने । आमालाई घरकै कामले फुर्सत हुँदैनथ्यो । हप्तौँदिनसम्म न नुहाएको जिउमा एउटै लुगा महिनादिनसम्म लगाउने हुँदा कपडा कात्ति हुन्थे । हातका बाहुला, कलर, अगाडिपट्टी मैलाको रेखा प्रस्टै देखिन्थ्यो, कालो । मैला त ठिकै थियो, जुम्राले पनि आफ्नो घर बनाइसकेका हुन्थे । टाउकोमा जुम्रा पर्नु सामान्य कुरा थियो तर लुगामा जुम्रा पुर्न जाडाको कहर भन्दा हुन्छ । जाडाले न नहुन दिन्थ्यो, न लुगा धुन । लुगामा जुम्रा धेरै कहाँ पर्थेभन्दा घाटी र कम्मरमा । कात्ति लुगामा जुम्राका लिखा सेतै हुन्थे । घाम टल्केपछि गुन्द्रीमा बसेर एक्छिन् जीव हत्या नगरी हुँदैनथ्यो । जीवहत्या लाग्ने पो होकी ? अहिले प्रश्चात्ताप हुँदैछ ! हाँ ! हाँ ! जुम्रा मार्ने पनि अर्कै संगीतमय आवाज- पिटिक्पिटिक् । खोई कुन्नि ! किन हो जुम्रा मार्दा मान्छेले मुखको थुक घुटुक्क निल्छन् अनि रहेको थुक्छन् । ख्याक् थूँ !
महिनामा कात्ति कपडा धुने दिन आउँथ्यो । आामा-दिदीले ठुलो भाँडोमा पानी भक्भक् उमालेर एक्छिन् लुका पकाउँथे अनि लान्थे खोलामा पखाल्न । पखालेको ठाउँको पानी कालै हुन्थ्यो ।
गाउँघरमा अहिलेको जस्तो आइसक्रिम खाने चलन फिज्जिसकेको थिएन । बजार जाँदा काला रङ भएका भैयाले बरफ डमरु बजाउँदै बेचेको देखिन्थ्यो तर आफ्ना लागि कसले किनिदिने ? समस्याको समाधान हामीसित थियो । जाडामा राति तुषारो पर्थ्यो । यसको फाइदा बरफ बनाउनमा लिन्थ्यौँ । राति एक थाल पानीमा चीनी घोलेर बाहिर छानामाथि राख्थ्यौँ । बिहान उठेर हेर्दा पानी जमेर बरफ भएको हुन्थ्यो । मिठो बरफ, हाम्रो आइसक्रिम । हाम्रा लागि जाडो मैना आइसक्रिम बनाउने कम्पनी पनि थियो ।
जाडाको आनन्द र जाडाको समयमा मसिना बचपनेकथाको आनन्द बेग्लै हुन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)