जब राजा वीरेन्द्रले आफै माइक्रोफोन समातेर प्रश्न गरे
रमा सिंह
२०४५ सालको भुकम्पलगत्तकैको कुरा हो । राजा वीरेन्द्र र रानी ऐश्वर्य भुकम्प प्रभावित क्षेत्रमा भैरहेको उद्धार र राहत कार्यको निरिक्षणको गर्नको लागि झन्डै २ हप्ता पुर्वाञ्चल सवारी भयो । हरेक दिन राहत वितरण कार्यमा आफै सरिक होइबक्सियो । स्वर्गीय बडामहारानी आफै सामाजिक सेवा रास्ट्रिय समन्वय परिषद्को अध्यक्ष होइबक्सिन्थ्योे । सायद त्यसैले पनि होला, राहत वितरण कार्य सरल र सहज तरिकाले हुँदै थियो ।
त्यतिबेला देशको एक मात्र टेलिभिजन नेपाल टेलिभिजनका हामी पनि त्यही रफ्तारमा समाचार बनाउँदै थियौ, दिनभर सुटिंग, साँझ परेपछि बिमानबाट क्यासेट काठमाडौं पठाउन एयरपोर्ट दौडनु र न्यारेसन टेलिफोनबाट रेकर्ड गराउनु (त्यतिबेला इन्टरनेटको सुविधा थिएन)। एक दिन भुकम्प पिडितको अन्तर्वार्ता लिदै थिएँ । राजा वीरेन्द्र हामी नजिक सवारी भई माइक्रोफोन आफै समातेर पिडितसँग आफै २-४ वटा प्रश्न राखिबक्सियो ।
१) प्रशासनले कत्तिको सहयोग गरेको छ ?
२) कसैलाई भेदभाव त गरेको छैन नि ?
३) भत्केका घर निर्माण गर्न सरकारले के के सहयोग गर्न पर्छ ?
४) हामी यहाँबाट फर्किएपछि पनि भुकम्प पिडितको नाममा गैरकानुनी काम भए वा अरुले फाइदा लिन खोजे तत्काल छापा(पत्रिका)मा लेखाउनु । हामी त्यस्तो काम हुन दिँदैनौ ।
(निषेध र प्रतिशोधको भावना नभए नेपाल टेलिभिजनमा यो फुटेज अवश्य हुन पर्छ ।)
र, अर्को प्रसङ्ग ।
बडामहारानी ऐश्वर्यबाट भ्रमणको अन्तिम दिन राहत वितरण गर्ने क्रममा एक महिलाले रानीले लगाएको एउटा सारी मागिन् । बडामहारानीबाट ब्यारेकबाट आफुले लिएर गएका सबै सारी मगाएर त्यो गाउँका सबै महिलालाई एक एक सारी दिइबक्सियो । मौसुफसँग आफुले लगाएको एक जोर सारी मात्रै बाँकी रह्यो, काठमाडौं फर्कंदा । अनि मैले पनि फर्कने क्रममा बिन्ती चढाएँ, ‘मैले त सारी पाइन त प्रभु ?’
‘तिमी भुकम्प पिडित नै हैनौ ।’ त्यति भनेर मौसुफबाट हासिबक्सियो । तर, अचम्म काठमाडौं पुगेको भोलिपल्ट एक व्यक्ति एउटा पोको लिएर नेपाल टेलिभिजन आए र पोको मलाई थमाउदै भने, ‘बडामहारानीबाट हजुरलाई पठाईबक्सेको ।’
पोको खोलेँ । रहेछ सारी ।
यसलाई फेरि ‘आइमाइको सारी-गफ’ नभन्नु होला । यो त सम्झना हो, सधै मानसपटलमा रहने ।
No doubt king birendra was a perfect gentleman n a good king.only that, he could not control his wife n the main cause of massacre was due to his wife.her financial ativities spoiled the nation too n king could not oppose her…