
विश्वेश्वर कालजयी स्रष्टा भए, महेन्द्रको असामयिक मृत्य भयो
२०१७ पुस १ पछि के ?
अरविन्द रिमाल
जीवन त चल्दोरहेछ । आखिर चल्नुको नाम नै जीवन हाे । ऊजस्तै विचारका मानिसका लागि सोभियत संघको विघटनपछि त जीवन चलेको थियो भने २०१७ को काण्डबाट जीवन रोकिने कुरै थिएन ।
यस्तो लेख्दा कांग्रेसीजनहरू राजाको काण्डलाई समर्थन गरेको भन्ने दोषारोपण गर्लान् । १७ सालमा काठमाडौंका मानिसहरूले घरघरमा बत्ती बाले र यहाँका मानिसहरूको घरमा सुनको छाना हालिदियो भने पनि त्यसको भोलिपल्टै कांग्रेसलाई सराप्न छाड्दैनन्, यस्ता कृतघ्नी छन् भनी स्वयं गणेशमान सिंहले लाञ्छना लगाएकै हो, कुनै समय । अनि त्यस्ता मानिसहरूमा कम्युनिष्टहरू भएका आरोप पनि लगाइएकै हो । बाले बत्ती केही मानिसहरूले, निश्चय नै बाले । अनि के गणेशमान सिंहले गत चुनावमा पूरै काठमाडौंवासीहरूको मत पाएका थिए त ?
जेहोस्, बत्ती बाल्ने त्यस्ता मानिसहरूको संख्या उनका तथा पुष्पलालका मतदाताहरूभन्दा कता हो कता कम थियो । फेरि प्रजातन्त्रमा सबैलाई आ-आफ्नो विचार पोख्ने र व्यक्त गर्ने स्वतन्त्रता छ भने कांग्रेसका त्यस्ता विरोधीहरूको विचारले पनि त्यही स्वतन्त्रताभित्रको वस्तुको रूपमा मान्यता पाउनुपर्ने होइन र ? होइन, कांग्रेसीहरू स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकारको सम्बन्धमा सधैँजसो किन एकपक्षीय अर्थात् आफ्नो स्वार्थपक्षीय व्याख्या र व्यवहार गर्नेगर्छन्, हँ ? उसले उदेक मान्दै यस्ताे साेच्न नसकीरहन सकेन !
अब के ? राजाको यस्तो प्रचण्ड प्रहारको क्रममा पनि राजनीतिक पार्टीहरूमाथि किन प्रतिबन्ध नलगाइएको होला भन्ने प्रश्न पनि उसकाे मनमा नउठी रहनसकेन । यसको कारण के देखियो भने राजाले आफ्नो कदमप्रति कुनै न कुनैरूपमा राजनीतिक पार्टीहरूको समर्थनको अपेक्षा गरेका थिए । आखिर उनले पुष १ गतेअघि पनि ‘देशको वर्तमान राजनीतिक परिस्थिति’लाई लिएर सबैजसो पार्टीका नेताहरूसँग व्यापकरूपमा विचार-विमर्श गरेकै हुन् । राजा नयाँ परिस्थितिमा पनि यही सिलसिलालाई चलाइराख्ने साेचमा रहेछन् । सबभन्दा पहिला त, उनी नेपाली कांग्रेसमा चिरा पारेर यो क्रमलाई अघि बढाउन चाहन्थे । कांग्रेसी नेतृत्वको दोस्रो तहमा प्रमुख रहेका तुलसी गिरी, विश्वबन्धु थापा जस्ताहरूलाई राजाले आफ्नो पक्षमा पारिसकेका थिए ।
प्रमुख राजनीतिक पार्टीहरूले राजाको ठाडो शासनको समर्थन त कदापि गर्न सक्तैनथे र गरेनन् पनि तर तिनीहरूमा कांग्रेस शासनप्रतिको वितृष्णा कायम नै थियो । राजा यसको लाभ उठाउन चाहन्थे । तर राजा महेन्द्र कांग्रेसलाई फुटाउन र कांग्रेसइतर दलहरूको राजनीतिक समर्थन पाउन, यी दुबै कुरामा विफल भए । सबै दलहरूले शाही कदम फिर्ता लिइनुपर्ने र संसदीय व्यवस्था बहाल गरिनुपर्ने कुरामा अलगअलग ढङ्गले भए पनि एकैमत व्यक्त गरे ।
२१-२१ दिनको कठोर अभ्यास र प्रलोभन व्यर्थ साबित भएपछि राजाले पुष २२ गतेका दिन सबै राजनीतिक पार्टीहरू र तिनका गतिविधिमाथि प्रतिबन्ध लगाए । राजनीतिक नेता कार्यकर्ताहरू व्यापकरूपमा समातिए र झ्यालखानमा कोचिए । अब राजाको विरुद्ध नेपाली कांग्रेस मात्र नभई समस्त राजनीतिक मूल्य, मान्यता र धारणाहरू भएकाले उनले बुद्धिजीवी तथा छात्र- युवकहरुमाझ साम, दाम, दण्ड, भेद– यी चारवटा नीतिबाट काम लिए । यो नीति निक्कै हदसम्म सफल भएकाे पनि देखियाे । हिजोका विश्वेश्वर, सुवर्णपक्षीय कर्मचारीहरू रातभरिमा ‘राजभक्त’ तथा ‘राष्ट्रसेवक’ बने । तर सेना र प्रहरी पूरै आफ्नो हातमा, निजामती कर्मचारीहरू पनि धेरैजसो आफ्नो प्रभुत्वमा, नेताहरू झ्यालखानमा भएका, प्रतिकार र संघर्षको कुनै अभिव्यक्ति नभएको अवस्थामा राजा महेन्द्र राजदरबारभित्र रहेर पनि पूरै सुरक्षित र सन्तुष्ट अनुभव गर्न सकिरहेका थिएनन् । विश्वभरि नै यो काण्डको, राजाको ठाडो शासनको विरोध भयो । नेपालको लागि सबैभन्दा महत्वको विरोध त भारतकै हो । तर भारत सरकार र राजाबीच कुनै न कुन प्रकारकाेे सम्झौता भएकाे रहेछ । गणतन्त्र भारतले स्यानो छिमेकी मित्रराष्ट्रमा भर्खरै जन्मेको संसदीय प्रजातान्त्रिक बालकको हत्याबाट के लाभ उठायो ? यो रहस्य खुल्न धेरै समय लागेन ।

नेपालमा प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरणभन्दा अस्थिर र एक व्यक्ति शासन नै भारतको रणनीतिक स्वार्थसिद्धिका लागि बढी लाभकारी ठानियो । यता राजा महेन्द्रले मुलुककाे चिनियाँ सिमानामा १८-१८ भारतीय सैनिक चेकपाेष्ट कायम नै रहनदिई महाकाली क्षेत्रको ठूलो रणनीतिक महत्वको भू-भागलाई भारतीय फैजी नियन्त्रणमा रहन दिएर यस सम्बन्धमा गोप्य सन्धि गरेर निजी सत्ता, पञ्चायती व्यवस्थालाई टिकाइरहन सके । यस्तो पृष्ठभूमिमा पनि एउटा सह्राहनीय पक्ष के थियो भने राजाले आफ्नो पहिला नम्बरको प्रतिद्वन्द्वी विश्वेश्वरप्रसाद कोइराला र अन्य कांग्रेसी नेताहरुमाथि शारीरिक दमनचक्र चलाएनन् ।
पछिका वर्षहरूमा नेपाली कांग्रेसको नेतृत्वले भारतीय सीमापारिबाट सशस्त्र संघर्ष चलाउँदा र देशभित्र राजाको ज्यूज्यानै लिने चेष्टामा बम प्रहार गर्दा देशका विभिन्न स्थानहरूमा जुन रक्तपात एवं हत्याकाण्ड भयो, त्यो खुल्लमखुल्ला युद्धको स्थितिले गर्दा भएको थियो भन्ने त मान्नै पर्दथ्याे । त्यसको जुन राजनीतिक प्रत्युत्तरमा स्वयं विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईको ज्यूज्यानमाथि कुनै न कुनै निहुँबाट सजिलोसँग घातक हमला हुनसक्ने स्थितिमा पनि राजा महेन्द्रले संयमता कायम गर्ने जुन उदारता देखाए, त्याे प्रशंसायोग्य थियाे । राजा महेन्द्र र विश्वेश्वरप्रसाद कोइरालाबीच घोर प्रतिद्वन्द्विताको अवस्थामा पनि एक-अर्काप्रति एउटा अनौठो आकर्षण थियो, जुन कुरा विश्वेश्वरप्रसाद कोइरालाप्रति राजाको व्यवहारबाट र केही अंशमा स्वयं विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल जर्नल’बाट व्यक्त हुन्छ ।
दलगत राजनीतिक अभिव्यक्तिको शून्यताबाट देशमा मुर्दा शान्ति आयो, राजाको व्यक्तिपूजा र विश्वेश्वरप्रसाद कोइरालाको चरित्र हत्याले सीमा नाघे जसको फलस्वरूप अवसरवादिता एवं चाटुकारिताको जुवा फुक्दो, बहुदलीय राजनीतिक पद्धति नेपालमा अब बिलाएको र तथाकथित ‘रामराज्य’कै स्थापना हुनभएको ‘उद्घोष’ हुन थाल्यो । जबकि यथार्थमा राजा महेन्द्रको एकलौटि पञ्चायती शासन पछिपछि त चोर फटाहा, घुस्याहा, बेइमान तथा तष्करहरुले ‘मानसम्मान’ पाउने शासन बन्न पुग्यो, जसबाट स्वयं राजा विरक्तिएका कुरा कानूनविद् तथा पञ्चायतकालीन मन्त्री शम्भुप्रसाद ज्ञवाली तथा अग्रज पत्रकार ‘समाज’ दैनिक सम्पादक मणिराज उपाध्यायले पनि खाेलेका थिए । तर राजा राजर्षि भाग्यबाट चुकिसकेका थिए, जसकाे दु:खद मूल्य उनले आफ्नाे असामयिक मृत्युबाट चुकाउनु पर्याे !
राजनीतिक दलहरू देशभित्रैबाट होस् वा भारतभूमिबाट होस् घटनाक्रमकाे सिँहावलोकन र समीक्षा एवम् रणनीतिक हिसाबकिताब गर्नमा लागे । अनि रोचक राजनीतिक पक्षचाहिँ के भयो भने सुख, शान्ति र अमनचैननका साथ आफ्नो शाही जीवन निर्वाह गर्नसक्ने राजा सत्ताको मोहमा परेर अब रातोदिन शासनको बाेझिलाे र अपझसिया कार्षभार बाेक्दै, राजनीतिक तथा कुटनीतिक चालमा फँस्दै निद्रै गूम हुने हुनाले ट्र्याँक्युलाइजरको सेवन गर्नुपर्ने, कविता सिर्जनाको आनन्दमयी बेलाबाट वञ्चित हुनुपर्ने थीतिमा पुगे भने हिजाेसम्म झण्डैझण्डै साेही अवस्थामा भएका प्रधानमन्त्री अब सुन्दरीजलको सुन्दर बन्यक्षेत्रभित्रको सरकारी बङ्गालामा बसेर सापेक्षिक शान्ति र चैनकाे जीवन बिताउँदै डायरी लेख्नमा, साहित्यिक सिर्जनामा तथा आत्ममूल्याङ्कन एवं अनुसन्धानमा लाग्ने अनौठो अवसर पाए । फलस्वरूप ‘सुम्निमा’, ‘तीन घुम्ती’ र ‘नरेन्द्रदाइ’ जस्ता चर्चित साहित्यिक सृजनाहरू, ‘आफ्नाे कथा’ तथा ‘जेल जर्नल’ जस्ता राजनीतिक रचनाहरु प्रकाशनमा आउन सके ।
अब उसले पनि आफ्नो ग्रन्थको शीर्षक बमोजिम आफ्नो लेखनलाई यही बिराम दिनुपर्ने त थियाे । तर १९९७ सालदेखि २०१७ सम्मको राजनीतिक संघर्षका पाँच प्रमुख दिग्गजहरूको शब्दचित्र नकोरिकन र हरेक ‘सृजनशील’ लेखकले गर्ने जस्तै ‘उपसंहार’ नलेखिकन जानु मनासिब नभएको हुँदा यी विषयहरूलाई सविस्तार उठायाे नै । यो उसले ‘अवलाेकन’काे अघिअधिका अध्यायहरूमा ‘उपसंहार’को उल्लेख गरिसकेकोेले गर्दा पनि जरुरी थियाे ।
‘सोभियत संघको विघटन हुनु नै थियो । सर्वसत्तावादी शासन पनि आफ्नै जनतालाई बन्दी बनाइरहँदा थाक्छ । कतिलाई मार्ने ? कतिलाई थुन्ने ? र कति वर्षसम्म यो अत्याचार रहिरहने ? त्यस्तो शासन व्यवस्था नष्ट भएकोमा दु:ख त हुनु नपर्ने हो । समयले सबै साम्राज्य र सम्राटलाई ढालिदिन्छ र माटोबाटो आएकालाई माटोमै मिलाइदिन्छ ।’ उसकाे पुस्तक पूरै पढेपछि उसकाे भतिजी ज्वाँइ शोभाराम भण्डारीले यो अध्यायको प्रारम्भमा सोभियत संघको विघटनबारे उसकाे टिप्पणीलाई लक्षित गरेर उपर्युक्त टिप्पणी लेखिपठाएका थिए । अब उसले आफ्नो तर्फबाट ठाेकुवै गरी भन्नुपर्दा कुनै पनि राजनीतिक एवं सामाजिक पद्धति आफैंमा परिपूर्ण हुँदैन । तथापि, सापेक्षिक एवं संक्षिप्तरूपमा सोभियत व्यवस्थाको विश्लेषण गर्दा सोभियत बोल्शेमिक क्रान्तिले समानता, बन्धुत्व एवं स्वतन्त्रताको नारा उद्घोष गरेको फ्रान्सेली क्रान्तिलाई व्यावहारिक रूप दिएको तथ्यलाई कोही पनि नमानिरहन सक्तैन । सोभियत सत्ताले दुष्ट हिटलरको मानवताविराेधी व्यवस्थाको अन्त्य गर्नमा निर्णायक भूमिका खेल्यो । साम्राज्यवाद तथा उपनिवेशवादविरुद्ध विश्वभरि चलेको स्वाधीनता एवं राष्ट्रिय मुक्ति आन्दोलनलाई निर्णायक विन्दुमा ल्याइपुर्याउन ठोस भूमिका खेल्यो । आर्थिक समानताको ध्येयलाई अघि बढायो, साथै याेजनाबद्ध अर्थतन्त्रको सकारात्कतालाई पनि स्थापित गरी देखायाे । विश्व शक्ति सन्तुलनलाई कायम राख्यो । अनि स्वयं पूँजीवादी पश्चिमी जगतलाई आफ्नाे अस्तित्वकाे लागि ‘जनमङ्गल कल्याणकारी समाज’को स्थापनार्थ अग्रसरता लिन बाध्य गर्याे, जुन तथ्यलाई एक अग्रणी अमेरिकी पूँजीवादी अर्थशास्त्री तथा कुटनीतिज्ञ जाेन ग्यालब्रेथले समेत स्वीकार गरे ।
अन्त्यमा भन्नुपर्दा, विश्वलाई सर्वविनाशकारी तेस्रो विश्वयुद्ध हुनबाट र अन्तर्राष्ट्रिय आतङ्कवादलाई रोक्यो । निःसन्देह, विश्वकाे निष्पक्ष ईतिहास विवेचना गर्दा सोभियत राजनीतिक व्यवस्थाको यस्ता उपलब्धि विशिष्ठ महत्व सदासर्वदा रहने छन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




Good one!!