कोभिड भन्ठान्यो, मानसिक रोग पनि हुनसक्छ

कसरी छुट्याउने ?

गोपाल ढकाल

कोभिड १९ महामारीको समय सबैको लागि तनावपूर्ण समय हो ।

विपतिको बेला सामान्य डर, चिन्ता, बेचैनी, छट्पटी र तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अवस्थामा मानिसहरुमा देखिने स्वभाविक प्रतिक्रिया नै मानिन्छ । कोरोनाको संक्रमणको बेला मानसिक तनावका विभिन्न लक्षणहरु देखिन्छन् । केही समयपछि धेरैजसोमा तनावका यस्ता लक्षणहरु बिस्तारै आफै कम भएर जान्छन् । तर केहीमा भने मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम बढेर जान्छ ।

तनावको बेला देखिने लक्षणहरु

मनमा कुरा खेल्नु, झर्को लाग्नु, रिस उठ्नु, हातखुट्टा वा जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, शरिर सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको( पेट दुख्नु, घाँटी वा ढाड दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु, शरिरमा थकान महसुस हुनु, श्वास फेर्न गाह्रो भएको महसुस हुनु, छाती भारी हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, दुविधामा पर्नु, चाडै विर्सनु, मन दुःखी हुनु, सामान्यभन्दा बढी डर, चिन्ता, पिर पर्नु, छट्पटी हुनु, निर्णय लिन नसक्नु, डरलाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो वा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरु तनावको बेला देखिन सक्छन् । तनावपुर्ण वा असहज अवस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन् ।

तर, यस्ता लक्षणहरु लामो समयसम्म रहिरहे भने मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम बढ्छ । यस्ता समस्याले आफ्नो दैनिक व्यवहार, व्यक्तित्व, सम्बन्ध, सोच, विचार, भावना आदिमा असर पुर्याउन थाल्यो भने चाहिँ मानसिक रोगको रुपमा लिनुपर्छ ।

मानसिक रोगमा शारीरिक लक्षणहरु

मानसिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगमा पनि विभिन्न किसिमका शारीरिक लक्षणहरु देखिन्छन् ।

कोरोनाको संक्रमणको समयमा एन्जाईटी डिसअडर्स (डर, चिन्ता, बेचैनी), प्यानिक डिसअडर्स (एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास), कन्भर्सन डिसअडर्स (डर, त्रास, तनावको कारणले देखिने मनोवैज्ञानिक समस्या), मानसिक आघात (पिडादायिक घटनापछि उत्पन्न हुने एक किसिमको मानसिक रोग), एक्युट स्टेस डिसअडर्स (तत्कालै देखा पर्ने तनावजन्य समस्या), जाँडरक्सी तथा लागूप्रदार्थको कुलत, एडजस्टमेन्ट डिसअडर्स ( समायोजनको समस्या, परिस्थितिसँग जुझ्न नसकिरहेको अवस्था), डिप्रेसन (नैरास्यता, दिक्दारिपन), सामाजिक संजालको लत, अब्सेसिभ कम्पल्सिभ डिसअडर्स (एउटै सोच वा बिचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्‍याई रहने मानसिक रोग) तथा अन्य चिन्ताजन्य मानसिक रोगहरुको जोखिम बढेर जान्छ । यी मानसिक रोगहरुमा पनि विभिन्न किसिमका शारीरिक लक्षणहरु देखिन्छन् । जस्तोः टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा कट्कटी खाने, झम्झमाउने, रिंगटा लाग्ने, कव्जियत वा पखाला लाग्ने, पेट फुल्ने वा पेट ढुस्स हुने, उल्टी हुने, वाक्वाकी लाग्ने, भोक नलाग्ने, खानाको स्वाद मीठो नहुने, छाती भारी हुने, छाती दुख्ने, छाती पोल्ने, मुटु चस्किने, मुटु ढुक्ढुक हुने, जिउ तात्ने वा चिसो हुने जस्ता शारीरिक लक्षणहरु मानसिक रोगमा देखिन्छन् ।

ढकाल

यसैगरी निन्द्रा नलाग्ने, शरीरमा कमजोरी महसुस हुने, थकाइ लाग्ने, बेहोस हुने, पसिना आउने, सास फुल्ने, स्वाँ स्वाँ हुने, घाँटी खस्खसाउने, सुक्ने, खोकी लाग्ने, हाई हाई आउने, बाडुली लाग्ने आदि शारीरिक लक्षणहरु मनोरोगमा पनि देखिन सक्छन् । अझ प्यानिक डिसअडर्समा त श्वास नै रोकिए झै हुने, श्वास फेर्न कठिनाइ महसुस हुने, अहिल्यै मरिएला जस्तो गरी पीडा र छट्पटीको महसुस हुने हुन्छ ।

यस्ता लक्षणहरु देखिँदा आफुमा कोभिड १९ रोग पो लाग्यो कि भनेर धेरै व्यक्तिहरु भयभित् हुने गरेको पनि देखिन्छ ।

मानसिक रोगका कारण यस्ता लक्षणहरु देखिने भएकाले शारीरिक परिक्षण गर्दा भने शरिरमा कुनै पनि खराबी देखिदैन । तनाव वा मानसिक रोगका कारण हुने यस्ता शारीरिक लक्षणहरु महसुस गरी आफुलाई कोरोना भाइरस संक्रमण भयो भन्दै परिक्षणका लागि अस्पताल धाउनेहरु पनि धेरै हुन सक्छन् ।

एन्जाईटी डिसअडर्स, प्यानिक डिसअडर्स तथा अन्य चिन्ताजन्य मानसिक रोगमा बिरामीलाई एक पटक परिक्षण गर्दा चित नबुझ्न पनि सक्छ । उनीहरु आफु कोरोना भाइसरले संक्रमित भएको आशंमा गरी पटक पटक परिक्षणका लागि अस्पताल पुग्न सक्छन् ।

कोभिड १९ र मानसिक रोगमा देखिने शारीरिक लक्षण उस्तै

ज्वरो आउने, सुख्खा खोकी लाग्ने, सास छोटो हुने वा स्याँस्याँ हुने, श्वास फेर्न कठिनाई हुने, कोरोना भाइरसका केही मुख्य लक्षण हुन् । साथै कोभिड १९ का केही बिरामीमा थकान, कमजोरी, टाउको दुख्ने, मांसपेशी दुख्ने, घाँटी दुख्ने, स्वाद र बास्ना हराउने गरेको पनि पाइएको छ । केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ । साथै आँखा हल्का रातो हुने, पखाला लाग्ने, उल्टी हुने, पेट दुख्ने र पाचन प्रणालीमा गडबडी हुने जस्ता लक्षणहरु पनि देखिन सक्छन् । मानसिक द्धिविधामा पर्ने, निन्द्रा नलाग्ने, स्मरणशक्तिमा कमी, मुटुको धडकन बढ्ने, मुटुको मांशपेशी दुख्ने, पोल्ने, हाँछ्यु आउने, घाँटी खसखस हुने र बेचैनी वा छटपटी हुने जस्ता थप लक्षणहरु नयाँ प्रजातीको कोरोना भाइरस संक्रमितहरुमा देखिएको छ ।

कोभिड १९ मा देखिन लक्षणहरु र मानसिक तनाव वा मानसिक रोगमा देखिने शारीरिक लक्षणहरु झट्ट हेर्दा उस्तै लागेता पनि यी दुई फरक किसिमका रोग हुन् । कोभिड १९ शारीरिक रोग हो भने मानसिक रोग मनसँग सम्बन्धि रोग हो ।

कोभिड १९ वा मानसिक रोगको लक्षण भएको कसरी छुट्टाउने ?

कसैमा कोभिड १९ का जस्ता लक्षणहरु देखिएमा वा आफू संक्रमित भएको आशंका लागेमा सर्बप्रथम स्वास्थ्य परिक्षण नै गर्नुपर्छ । स्वास्थ्य परिक्षण गर्दा कोरोना नेगेटिभ देखिएमा यी लक्षणहरु मनोसामाजिक समस्या वा मानसिक रोगका लक्षणहरु हुन सक्छन् । यस्तो अवस्थामा मनोरोग विशेषज्ञ, मनोविद् वा मनोपरामर्शदातालाई भेट्नुपर्छ ।

कोभिड १९ वा शारीरिक रोग लाग्दा यसका लक्षणहरु सिमित हुन्छन् । कोभिड १९ बाट संक्रमित भएका ब्यक्तिहरुले प्राय समान किसिमको लक्षण महसुस गर्छन् । तर, मनोसामाजिक समस्या वा मानसिक रोगमा देखिने शारीरिक लक्षणहरु असिमित हुन हुन्छन् । सबै अंग वा प्रणालीहरुमा लक्षणहरु देखिन सक्छन् ।

मानसिक रोगमा देखिने शारीरिक लक्षण छोटो समयको लागि हुन्छ र यी लक्षणहरु परिवर्तन भई रहन्छन् । तर, शारीरिक रोगमा भने निरन्तर २४ अ‍ै घण्टाजसो एकै किसिमका लक्षणहरु रहिरहन्छन् ।

कोभिड १९ मा प्राय लक्षणहरु शारीरिक किसिमका हुन्छन् । मनोसामाजिक समस्या वा मनोरोगमा भने शारीरिक लक्षणहरुका साथसाथै मनसँग सम्बन्धि लक्षणहरु जस्तोः डरलाग्ने, चिन्ता लाग्ने, मनमा कुरा खेल्ने, मन दुखी हुने, पिर पर्ने आदि जस्ता लक्षणहरु लेखिन्छन् ।

त्यसैगरी मनोसामाजिक समस्या वा मनोरोगमा व्यवहारसँग सम्बन्धित लक्षणहरुः रुने, एक्लै बस्ने, नबोल्ने, आवश्यकता भन्दा बढी सतर्कता अपनाउने, जाडँ रक्सी तथा लागू प्रदार्थको सेवन गर्न थाल्ने जस्ता व्यवहार देखाउन सक्छन् । यसका साथै मनोरोगमा सम्बन्धसँग सम्बन्धी लक्षणहरु पनि देखिन्छन् । जस्तोः सम्बन्ध बिग्रदै जाने, जिद्दीपना, अरुलाई विश्वास नगर्ने, अरुसँग टाढिँदै जाने आदि ।

निष्कर्षमा शरीर र मन एक अर्काका परिपुरक छन् । मनमा समस्या आउदा वा रोग लाग्दा शारीरिक लक्षणहरु पनि देखिन्छन् । यसैगरी शरीरमा रोग लाग्दा यसले मनमा पनि असर पुर्याउँछ ।

(मनोविद् ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button