
स्मरण क्षमता गुमाए तर सबैको स्मृतिमा बसे राहुल सांकृत्यायन
सुशीला शर्मा
राहुल सांकृत्यायन प्रसिद्ध लेखक र यात्री । केदारनाथ पाण्डे उनको नाम । पछि नाम परिवर्तन गरेर राहूल सांकृत्यायन भए । उनको जन्म भारतको उत्तर प्रदेशस्थित अगमगढमा सन् १८९३ को अप्रिल महिनामा भएको थियो । गौतम वुद्धको छोरा र बुद्धका एक चेला सांकृत्यायनको नामबाट आफ्नो नाम राहुल सांकृत्यायन राखेका थिए । राहूल सांकृत्यायन यात्रा वृतान्तलाई साहित्यिक खाकामा ल्याउने महान अध्येताका रुपमा चिनिन्छन् । राहुल सांकृत्यायनले व्रिटिस शासनविरुद्ध लेखन तथा भाषण गरेको आरोपमा तीन वर्ष जेल सजाँय पाएका थिए ।
राहुल सांकृत्यायन नौ वर्षको उमेरमै घर छोडेर हिँडेका थिए । उनका बाबु गोवर्धन पाण्डे किसान परिवारका थिए । उनको आमाको २८ वर्षको उमेरमा र बाबुको ४५ बर्षको उमेरमा मृत्यु भएको थियो । आमाबाबुको मृत्युपछि उनको लालनपालन उनकी हजुरआमाले गरेकी थिईन् । राहुल ‘नखोजिएको खोज’पत्ता लगाउन हिँडेका थिए । राहूलले बौद्ध धर्म ग्रहण गरिसकेपछि भिक्षु पनि भएका थिए । राहुल सांकृत्यायनलाई बहुभाषा र बृहत ज्ञान र सिकाईका महापण्डित भनेर पनि चिनिन्छन् ।
दर्शन
शुरुमा आर्य समाज, स्वामी दयानन्द सरस्वतीबाट प्रभावित त्यसपछि बौद्ध दर्शनले उनको जीवन परिवर्तन गरिदियो । श्रीलंकामा दिक्षा लिइसकेपछि उनी राहूल भए राहूल बुद्धको छोराको नाम हो । र, गोत्र पनि संकृत्य हुन गयो । त्यसपछि उनी नाम राहुल साँकृत्यायनको नामले सुप्रसिद्ध भए । बुद्ध धर्म अपनाएपछि भगवानको अस्तित्वमाथि विश्वास गर्न छोडे पनि आत्माको अर्को शरीरमा पुनर्जन्म हुन्छ भन्ने कुरालाई चाँहि पछ्याईरहे । कालान्तरमा फेरि उनी माक्र्सको समाजवादी सिद्धान्ततिर आकर्षित भए र पुनर्जन्मको अवधारणालाई पनि अस्विकार गर्न थाले । उनको ‘दर्शन दिग्दर्शन’ भन्ने कृति विश्व दर्शनशास्त्रको संग्रहित भोल्युम हो । थोरैमात्र औपचारिक शिक्षा हाँसिल गरेका राहुलले उनको विषयबस्तुप्रतिको ज्ञान र विषयबस्तुमाथिको दक्षताको कारणले गर्दा लेनिनग्राड युनिभर्सिटीमा प्रोफेसरको रुपमा नियुक्त गरियो । सन् १९३७ देखि १९४७ तथा १९४७ देखि १९४८ सम्म दुईपटक गरेर दुईवर्ष उनले त्यहाँ प्रोफेसरको रुपमा अध्यापन गरे ।
व्यक्तिगत जीवन
राहूलको बाल्यकालमै भएको विवाह उनलाई त्यति सम्झना नै भएन् । बाल्यकालमा विवाह भएकी श्रीमती सन्तोषीसँग उनले आफ्नो चालिसौं वर्षमा भेटेको कुरा उल्लेख गरेका छन् । यो कुरा उनले आफ्नो अटोबायोग्राफी ‘मेरी जीवन यात्रा’मा उल्लेख गरेका छन् । उनी सोभियत रसियामा दोश्रो पटक बुद्धिजम शिक्षणको सिलसिलामा रहँदा लेनिनग्राड युनिभर्सिटीमा एकजना मंगोलियन अध्येता लोला नाम गरेकी युवतीसंग सहकार्य गर्ने मौका मिल्यो । निज लोला फ्रेन्च, अंग्रेजी, रसियन भाषामा बोल्न तथा संस्कृतमा लेख्न सक्थिन् । उनले सांकृत्यायनलाई टिवेटियन—संस्कृत शब्दकोष लेख्ने कार्यमा मद्धत गरिन् । उनीहरुको मित्रता विवाहमा गएर टुङ्गियो । उनीहरुबाट एक सन्तान ईगोरको जन्म भयो । त्यतिबेलाको रसियाको स्टालिन शासनकालमा ती आमाछोरालाई राहुलको कार्यसमाप्तीपछि सँगै भारत जाने स्वीकृति मिलेन् ।
भारत फर्केपछि उनले डाक्टर कमला साँकृत्यायनसंग विहे गरे । उनी बिसौं शताब्दीकी भारतीय लेखक, सम्पादक र हिन्दी–नेपाली अध्येता थिइन् । उनीहरुका एक छोरी र दुई छोरा थिए ।
मृत्यु
राहुलले श्रीलंकन युनिभर्सिटीमा अध्यापन गर्न थाले । त्यहाँ उनी सिकिस्त बिरामी परे । डाईविटिज, प्रेसर र स्ट्रोकले उनी थला परे । सबैभन्दा दुखदायी क्षण यो भयो कि उनले आफ्नो स्मरण क्षमता गुमाए । उनको मृत्यु दार्जिलिङमा सन् १९६३ मा भयो ।
राहुलका तिब्बत यात्राका संग्रह र व्यक्तिगत संग्रहहरु धेरै विश्वविद्यालय तथा म्युजियममा राखिएको छ । पटना म्युजियममा बुद्धको विशाल संग्रह राखिएको छ ।
भारतको दार्जिलिङमा सम्मानस्वरुप उनको सालिक स्थापना गरिएको छ ।
कृति
मेरी लद्दाख यात्रा, भोल्गा से गंगा, घुमक्कड शास्त्र, दर्शना, दिग्दर्शना, मेरी जीवनयात्रा, किन्नर देशमे, सिम्ला सेनापति, दिमागी गुलामी जस्ता कृतिहरु प्रसिद्ध छन् । राहुल सांकृत्यायनले १ सय ५० भन्दा बढी कृतिहरु लेखेका छन् । उनले विशेष गरेर भारतीय सभ्यता, संस्कृति र धर्मशास्त्र, समाजशास्त्र, बौद्ध धर्म तथा तिब्बतीयन शास्त्रको बारेमा अध्ययन गरेका थिए ।
यी विलक्षण प्रतिभाका धनी नियात्राकार, लेखक राहुल सांकृत्यायनको जीवनीबाट हामीले आफूले डुले घुमेका स्थानहरुबाट धेरै ज्ञान हाँसिल गर्न सकिने बोध हुन्छ । साथै जो यात्रामा रुचि राख्छन् उनीहरुलाई राहुलका कृतिहरुको अध्ययनले मार्गदर्शन गर्न पनि सहयोग गराउँछ । (श्रोतः इन्टरनेट)
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



