बहिनी, दिनचर्यामा ध्यान दिए खुसी बाँड्न सकिन्छ

प्रिय बहिनी,
धेरै धेरै आशिर्वाद !

आज सूचना प्रविधिको समय, तिमीसँग कुराकानी गर्ने अनेक माध्यम हुँदाहुँदै पनि म आज पत्रको सहारा लिदैछु । मनका गन्थनलाई पत्रमार्फत तिमीसँग पोख्दैछु ।

विशेष कुरा त होइन, यस धर्तीमा भएका धनी मुलुक तथा गरिबीले पछाडि परेका सबै ठाउँमा बस्ने मानिसहरूको स्वास्थ्य स्थिति बिग्रँदै गएको कुरा मेरो मनमा गढेर बसेको हुँदा यो पत्रमा सो कुरा समेट्ने प्रयास गरेको छु ।

तिमी अहिले सुविधासम्पन्न मुलुकमा छौं । सुनेको छु, त्यहाँ धूलो, धुवाँ छैन, खानेकुरा सन्तुलित छ, सरकार जनताप्रति उत्तरदायी छ, समय समयमा स्वास्थ्य जाँच हुन्छ, मेशीन, औजारको प्रयोगले शारीरिक परिश्रम कम पर्दछ । सुख छ, मानिसहरू अति भौतिकवादी बनेका छन्, मानसिक शान्ति नहुँदा मानसिक रोगी बढिरहेका छन् ।

हाम्रो यहाँ धूलो, धुवाँले गर्दा प्रदूषण छ । पोषणको बारेमा चेतना छैन, खानेकुराहरु स्वस्थकर छैनन्, खानेकुरामा विषादीको अत्यधिक प्रयोग छ । बढी नाफा कमाउने होडमा खानेकुरामा अखाद्य तत्वको मिसावट हुन्छ ।

बहिनी, हामीले प्राथमिक तहमा स्वास्थ्य तथा शारीरिक शिक्षा पढ्ने क्रममा पढेका थियौँ नि Health is wealth भनेर । त्यतिखेर कुरा बुझेको थिइनँ, वास्तवमा अहिले यसको व्ववहारिक ज्ञान प्राप्त भएको छ । शरीरमा तागत छउन्जेल रोग लागेको, कमजोर भएको महसुस हुन्थेन जब उमेर ढल्किँदै जान्छ, प्रतिरोधी क्षमता घट्दै जान्छ, सामान्य खानपिनमा तातो चिसो फरक पर्यो कि शरिरलाई असजिलो हुन्छ । नयाँ नयाँ रोगहरु आइरहेका छन् । मान्छे बिरामी पर्यो भने आफ्नो सबै सम्पत्ति सकिन बेर लाग्दैन । उपचार पद्धति महँगो छ । दवाइले रोगलाई दबाइदिन्छ फेरि बल्झेर निस्कन्छ । दबाइको साइड इफेक्ट पनि हुन्छ । विभिन्न थरिका रोगहरु निस्कन्छन् ।

बहिनी, तिमीलाई थाहा नै छ, भगवानको सर्वोत्कृष्ट सृष्टी मानिस हो भनिन्छ तर हामीले रोग आफैं निम्त्याएका छौं । हाम्रो आहार, विहारको कारणले अङ्ग सम्बन्धित रोग लाग्दछ । खान नपाएर रोग लाग्दछ, खान नहानेर पनि रोग लाग्दछ । ज्यादै परिश्रम गर्नु पनि ठिक होइन, परिश्रम नगरे पनि रोगी भइन्छ । त्यसैले शहरमा बस्नेहरूले शारीरिक श्रम कम गर्ने भएकोले योगा, ध्यान, कसरत गरी शरीरलाई सन् ल्याएका हुन्छन् । मानिस पशुपक्षी, किटपतङ्ग, वनस्पति सबैमा चेतना हुन्छ । मानिसले अझ जुक्ति लगाउने, खुब वुद्धि भएकोले उच्च श्रेणीको मानिन्छ । अहिले मानिस नै सुखी र खुसी छैन । लोभ, लालच, मोह, इर्ष्याको कारणले दु:खी भएको छ ।

चराहरु खुशी छन्, निरोगी छन्, त्यसैले सुखी छन् । बिहान सबेरै गाउँदै उठ्छन् । आफ्नो पेटलाई चाहिने आहारामात्र खान्छन्, भोलिको लागि सङ्ग्रह गर्दैनन्, दिनभर डुल्छन्, साँझ नपर्दै गुड फर्कन्छन् । आफ्नो काम आफै गर्छन्, आफ्नो परम्परागत खानेकुरा खान्छन्, प्रकृतिले दिएको खानेकुरा मात्रै खान्छन्, खानेकुरा बिगारेर खाँदैनन् । अण्डा पार्ने समयमा अण्डाबाट बच्चा कोरल्छन्, बच्चालाई माया गर्छन्, खानेकुरा ल्याएर खुवाउँछन्, उड्न सिकाउँछन्, बच्चा उडाएपछि आफूहरुले त्यो गुँड छोड्छन् । बच्चाले आफ्नो जीवनयापन निर्वाह आफै गर्दछ ।

हामी दु:खी किन भयौ सोच त बहिनी ।

माया मोहजालमा परेर, छोराछोरी, नातिनातिनाको लागि ठिक, बेठिक सबै तरहबाट सम्पत्ति आर्जन गर्नाले मानसिक तनाव बढ्न गयो । समयमा खानु छैन, शरीरले कति, कसरी खाने हो वास्ता छैन । जिब्रोको स्वादका लागि खानेकुराको मौलिक स्वाद नष्ट गरी तारेर, भुटेर, मरमसलाले भरेर खाना बिगारेर खाने चलन आयो । सूर्ती, चुरोट, गाँजा, भाङ, रक्सी, शरीर लठ्याउने औषधीहरुको सेवन बढ्यो ।

चराजस्तै खुशी हुने, खानेकुरा ठिक खाने गरेमा रोग लाग्दैन । हामी चरा चुरुङ्गीभन्दा पनि तल्लो स्तरको भयौं । त्यसैले चराबाट पनि सिक्नुपर्छ । जिब्रोको पूजा पेट धुजाधुजा भनेझैं रोग त हामीले नै निम्त्याएको हो ।

शाहाकारी र मांसाहारीको बारेमा मैले सुनेको छु । मांसाहारी र शाकाहारी प्राणीको शारीरिक बनोटमा फरक हुन्छ । मांसाहारीको दाह्रा, नङ्ग्रा हुन्छ जसले आहारा समात्न र खान चपाउन सजिलो होस् । पेटको आन्द्रा छोटो हुन्छ ताकि । खाएको मासु पाचनप्रणालीबाट छिट्टै निस्कासन होस्,रातीमा आँखाले देख्छन्, पानी जिब्रोले चाटेर पिउँछन् ।

बाघ, बिरालो, कुकुर, सिंह सबै मांसाहारी हुन् । मानिस, हात्ती, घोडा, गाइ, साकाहारी रहेछन् । मासु नखाए पनि हात्ती मोटो र बलियो छ । घोडा बलियो छ । जिब्रोको स्वादको लागि मासु खाइयो । मासु खाएको दिन र नखाएको दिन शरीरको अवस्था भिन्न हुन्छ । पाचनप्रणाली अलि असजिलो, आलस्य हुने, रिस उठ्ने स्वभाव मासु खाएको दिन देखिन्छ । खानाले मानिसको विचार, स्वाभावमा प्रभाव पार्दछ । अमिलो, पिरो, मासु खाएको दिनको स्वभाव र दुध, दहीलगायत हल्का फलफूल, साकाहारी खाना खाएको दिनको स्वभाव, विचार र कर्ममा भिन्नता पाउँछौ । मासुमा भन्दा गेडागुडीमा धेरै प्रोटिन, क्यालोरी पाइने तथ्य आएको छ । नजानेर, थाहा नभएर, मिठो हुन्छ भनेर मासु खाने बानी पर्यो अहिले मानिस मांसाहारी होइन भन्ने जानकारी भएकोले साकाहारी बन्ने प्रयास गरेको छ ।

प्रिय बहिनी, हाम्रो दिनचर्या र आहारामा ध्यान दिएमा सुखी र खुसी बाड्न सकिनेछ । तिमीलाई सधै खुसी देख्न पाइयोस्, शुभकामना ।।

माया गर्ने दाजु
बालकृष्ण शर्मा
मणिग्राम


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button