
राष्ट्रपतिको सवारीमा प्रहरीबाट पिटाइखाएका डाक्टर भन्छन्, ‘टुक्रिएको एयरफोन सजाएर राख्छु’
भरत शर्मा
राष्ट्रिय ट्रमा सेन्टरको युनिट १ को कोठा नम्बर १ मा हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिरामी जाँच कक्षमा खटिन्छन् डा. जनिथ सिंह । शुक्रबार शल्यक्रिया कक्षमा र अन्य दिन बिरामी रेखदेख, एमडी पढ्ने विद्यार्थी चिकित्सक मित्रहरुसँग ट्रमा सेन्टरमा घुमिरहने डा सिंहसँग एक महिना अगाडिदेखि म साताका एक दिन नियमित भेटघाटमा थिएँ ।
सवारी साधन चलाउन अप्ठ्यारो भएर पाखुरामा दुखेपछि उपचारको लागि म बुधबारको दिन पारेर डा. जनिथको युनिट १ को कोठा नम्बर १ मा पुगेको थिएँ । सरकारी नियमअनुसार बिहानैं पुगेर टिकट लिएँ, पालो कुरेर बसेँ र पालो आएपछि उनको कार्यकक्षमा प्रवेश गरेँ । त्यति नै बेला एकजना बर्दी लगाएका प्रहरी उपचारमा लागि आएका रहेछन् । उनी सरासर प्रवेश गरेर डा. सँग समस्या बताउन लागे । डा. जनिथले भने मलगायत अन्य एकजना विरामीभन्दा पहिले प्रहरीको समस्या सुने, औषधि लेखे र एक्सरे गर्न पठाइहाले ।
त्यसपछि डा. जनिथले भने, ‘सरी है भरतजी, प्रहरीहरुलाई अलि धेरै काममा खटिनु पर्छ । बर्दी नैं लगाएर आएका छन् । त्यसैले म जहिले पनि प्रहरीलाई अन्य विरामी भन्दा उपचारमा पहिलो प्राथमिकता दिन्छु ।’
बर्दी लगाएको प्रहरीलाई छिटो उपचार सेवा दिने डा. जनिथलाई गत शुक्रबार आफनैं अस्पताल अगाडि तिनैं बर्दी लगाएका प्रहरीले शल्यक्रिया सकेर घर फर्कन लाग्दा हात र कठालो समातेर टाउकोमा लौरोले हाने । राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा सम्बोधन गर्न जाँदा डा. जनिथ साइकल चढेर घर फर्कन लागेका थिए । उनले आफ्नो परिचयपत्र देखाएर म डाक्टर हुँ भने पनि प्रहरीले साइकल चढेर आएका उनलाई गर्ने व्यवहारमा फरकपन देखियो ।
प्रहरीले डा. जनिथलाई हात हालेपछि उनले प्रतिरक्षा गर्न खोजे तर प्रहरीको हुल जम्मा भएपछि केही लागेन । उनले गीत–संगीत सुन्ने र टेलिफोनमा कुरा गर्ने घाँटीमा राखिएको ब्राण्डेड एअरफोनलाई दुई टुक्रा बनाइदिए । हात, पाखुरा, घाँटी, टाउकोमा कुटनसम्म कुटे ।
प्रहरीले डाक्टर कुटेको खबरपछि तत्काल, वीर अस्पताल र ट्रमामा चिकित्सकहरु सडकमा ओर्लिए । प्रहरीले डा. जनिथलाई कुटेको विरोधमा सडकमा उत्रिएका अन्य चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि लाठी हाने । शुक्रबार साँझ यो समाचार सञ्चारमाध्यममा देशब्यापी भयो ।
डा. जनिथ कुटिएको समाचार सुन्ने वित्तिकै विश्वास लागेन । त्यसपछि चिकित्सक मित्र र पत्रकार सार्थीहरुलाई सोधखोज गरेँ । डा जनिथका मित्र डा. उत्सवमान श्रेष्ठलाई फोन गरेँ । उनले भने, ‘हो नि. डा. जनिथलाई प्रहरीले टाउकोमा हानेछ, अहिले ट्रमाको आइसियुमा उपचार शुरु भएको छ । म अस्पताल जाँदैछु ।’

म पनि आउँछु नि भन्दा डा.उत्सवले भने, ‘त्यहाँ भीड होला । तपाई बिरामी मान्छे अहिले नआउनुस् । त्यहाँ केके हुँदैछ म खबर गर्छु ।’
मित्र डा. जनिथले एक महिनाअगाडि मेरो हातको शल्यक्रिया गर्ने काममा आफै खटिएर, आफ्ना सहकर्मीलाई अनुरोध गरेर उनले गरेको सहयोग सम्झदै दुःख मानेर डाक्टर कुटिएको समाचार पढेर बसेँ ।
डा. उत्सवले अस्पताल पुगेर खबर गरे, डा. जनिथको टाउको, हात, पाखुरामा चोट लागेको छ, उपचार जारी छ । प्रहरीका प्रमुख र हातपात गर्ने प्रहरीले माफी मागेका छन् । तर, डाक्टरहरु आक्रोशित छन् । आन्दोलनको कार्यक्रम तय हुने संभावना छ । सञ्चारमाध्यमका के कस्ता समाचार आएका छन् ?’
मैले भनेँ, ‘डा. कुटिएको खबर छाएको छ ।’
शनिबार विहान डा. जनिथलाई भेट्न म आफै अस्पताल पुगेँ । ट्रमा सेन्टर सुनसान थियो । इमरजेन्सीमा प्रवेश गरेँ, डा.जनिथका सहयोगी डा. नविनलाई जनिथ डाक्टर कहाँ हुनुहुन्छ भनेर सोधेँ ।
उनले भने, ‘आइसियुमा हुनुहन्छ ।’ केही समय अगाडि अप्रेसन गरेको तपाई जनिथको साथी होइन भनेर उनले मेरो नाम समेत लिए ।
मैले भनेँ, ‘हो, हो ।’
त्यसपछि डा.उत्सवलाई फोन लगाएँ । उनी पनि अस्पताल आउँदै रहेछन् जनिथलाई भेट्न ।
‘मलाई २० मिनेट जति लाग्छ होला’, उनले भने ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यरत डा. उत्सव अर्का एकजना न्यूरो सर्जनलाई लिएर ट्रमा आउँदै रहेछन् ।
अस्पतालमा इमरेन्सीमा रहेका विरामीहरु डाक्टरलाई कुट्ने प्रहरीलाई सराप्दै थिए । प्रहरीका परिवारका पनि एकजना उपचारमा रहेछन् । उनी मौन थिए । १० मिनेट जति इमरजेन्सीभित्र डा. जनिथका सहयोगी डाक्टरसँग कुराकानी गरेर बाहिरिएँ ।
डा. उत्सव अस्पतालको पुगेको खबरपछि हामी सिधै आइसियुमा गयौं । ढोकामा सुरक्षाकर्मीले रोके । नाम, पद र परिचय मागे । डा. उत्सवले नाम र आफू कार्यरत भक्तपुर क्यासर अस्पतालको परिचय बोकेर सुरक्षाकर्मी डा. जनिथलाई खबर गरेपछि म पनि उत्सवको पछि लागेर डा. भेटन पुगेँ ।

उपचारकक्ष बाहिर डा. जनिथको बुबासँग परिचय गरियो । काका र आफन्तहरु एकहुल नैं रहेछन् । सबैंको अनुहार मलिन तर आक्रोशले भरिएको देखेँ । डा. जनिथको बुबाले ‘भित्र नेपाल मेडिकल एशोसियनमा प्रमुखसँग कुराकानी हुँदैछ, एकछिन है’ भनेपछि हामी रोकियौं ।
पाँच मिनेटपछि कुरा सकिएपछि हामी भेट्न भित्र प्रवेश गरेपछि डा. जनिथले मलाई देख्ने वित्तिकैं नामै लिएर अलिकति खुसी भएको महसुस गरे । कक्षमा डाक्टरहरुको हुल थियो । छोटो कुराकानी भयो घटनाबारे । अस्पतालमा कान्तिपुर टेलिभिजनलगायत अन्य टेलिभजिन र पत्रकारहरु आएका थिए । तर डा. जनिथ कुनै पनि सञ्चारमाध्यम र टेलिभिजनसँग केही कुरा नगर्ने अडानमा थिए । मैले पनि भनेँ, ‘तपाई अहिले केही नबोल्नुस् । यो घटना राष्ट्रिय विषय बनिसकेको छ ।’
फर्कने बेलामा डा.जनिथले भने, ‘भरतजी सारैं पीडा हुने गरी कुटे प्रहरीले, प्रतिकार गर्न खोजेँ तर प्रहरीको हुल जम्मा भएपछि मेरो के लाग्ने ?’
घाँटीमा भिरेर हिँड्ने ब्राण्डेड एअरफोन दुई टुक्रा बनाएको देखाउँदै भने, ‘तानातान हुँदा यो टुक्रा–टुक्रा हो । यो घटना स्मरणको लागि सजाएर राख्छु यो एअरफोन ।’
सबै डाक्टर बाहिर निस्केपछि म पनि जान्छु भनेर बाहिर निस्कन लाग्दा डा. जनिथले सोधे, ‘तपाईको स्वास्थ्य र हातको अवस्था कस्तो छ ? अब विस्तारै हातहरु चलाउन सक्नुहुन्छ ?’
मैले भनेँ, ‘९० प्रतिशत सुधार भएको छ ।’
आफै विरामी हुँदा पनि विरामीको स्वास्थ्यबारे चासो दिने डा. जनिथलाई मनमनै धन्यवाद भनेँ ।
काठमाडौं रैथाने डा. सिंह मिजासिला, फरासिला र विरामीलाई औषधिसँगै गफ दिएर उपचार गर्ने, आफूभन्दा बरिष्ठबाट सिक्ने, कनिष्ठलाई सिकाउने काममा लागिरहने सक्रिय सहयोगी हुन् । उपचारको क्रममा ट्रमा सेन्टरमा शल्यक्रिया गर्दा, तीनदिन अस्पताल बस्दा आफैले अनुभव गरेको थिएँ ।
डा. जनिथले आफूलाई कुट्ने प्रहरीले अस्पतालमा आएर माफी मागेपछि माफ गरिदिए । आफूलाई कुट्ने प्रहरीलाई अन्याय हुनुहुँदैन भन्ने माग राखेका डा. जनिथले भविष्यमा सवारीका नाममा सडक बन्द हुँदा विरामी उपचारमा अवरोध हुनु नहुने, प्रहरीले लाठी हान्दा जहिले पनि टाउकोमा हान्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।
शनिबार साँझ नेपाल चिकित्सक सँघले आइतबार देशभरका अस्पतालबाट इमरजेन्सीबाहेक अन्य सेवा बन्द गरेर आन्दोलन गर्ने घोषणा गरेको खबर आयो । अस्पताल बन्द गर्ने संघको निर्णय गलत भएको भन्ने कुरा पनि आयो । आइतबार बिहान प्रधानमन्त्री कार्यालयमा वार्ता शुरु भयो, ६ बुँदे सहमति भयो । सहमतिको ४ नम्बर बुँदामा विशिष्ट व्यक्तिको सुरक्षा व्यबस्थापन कार्यविधि २०७७ परिमार्जन गरिने, सवारी सुरक्षा व्यबस्थापन गर्दा प्रहरीले स्वास्थ्य संस्था, विद्यालय र संवेदनशील संस्था तथा क्षेत्रलाई सहज हुने गरी कार्यविधि बनाउने सहमति गरिएको छ ।
आइबार दिउँसोबाट चिकित्सकहरुले काममा फर्किएका छन् ।
प्रहरीको उपचारमा प्राथमिकता दिने डा.जनिथले प्रहरीबाट कुटाइ खाए, प्रहरीलाई माफी दिए । अहिले उनी आफै उपचारपछि आराम गर्दै छन् । काममा रमाउने डा. जनिथ आइतबार र बुधबार ओपीडीको कोठा नं १ मा विरामी जाँच गर्ने काममा खटिने छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)