योगमार्फत समाधिमा कसरी पुग्न सकिन्छ ?
राधिका पन्त
योग प्रशिक्षक, पतञ्जली योग समिती, भक्तपुर
योग भनेको जीवनशैली हो, स्वास्थ विज्ञान हो र जीवन जीउने कला पनि हो । योग शव्द विभिन्न धार्मिक ग्रन्थहरुमा प्राचिनकालदेखि उल्लेख भए तापनि अभ्यासमा आउन सकेको थिएन । सामान्य अर्थमा योग भनेको जोड हो । संयमपूर्वक साधना गर्दैगर्दा आत्मालाई परमात्मासँग जोडेर समाधिको आनन्द लिनु योग हो । योग भनेको साधना हो । साधनाको माध्यामबाट समाधिमा पुग्न सकिन्छ । योग भनेको अप्राप्तिलाई प्राप्ति गर्नु हो । ज्ञानिन्द्रिय र इन्द्रियहरुको नियन्त्रण गर्नु योग हो । गीतामा योगेश्वर श्रीकृष्णले अनुकुलता, प्रतिकुलता, सिद्धि, असिद्धि,सफलता, असफलता, जय, पराजय आदि सम्पूर्ण भावहरुमा सम रहनुलाई योग भन्नु भएको छ । साथै कुशलतापूर्वक कर्म गर्नुलाई योग मानिएको छ ।
महर्षि पतञ्जलीका अनुसार चित्तका वृत्तिहरुलाई रोक्नु योग हो । सूत्रमा यसरी लेखिन्छ, योगश्चित्तवृत्तिनिरोधः।
योगको माध्यमबाट मनलाई आनन्दित गराइन्छ । अष्टचक्र जागृत गराइन्छ । एक पटक जगाएपछि अग्नी झैँ जागा भइरहन्छ । मन पवित्र पार्दछ । मनबाट विचारहरु जन्मन्छन् र त्यो जन्मेको विचार पनि पवित्र हुन्छ । पवित्र विचारबाट अपवित्र कार्य हुन सक्दैन ।
हामी आठौँ राष्ट्रिय योग दिवस २०७९ माघ १ गते माघेसंक्रनान्तिको दिन विभिन्न कार्यक्रमहरु गरेर मनाउँदैछौँ । गत वर्षको नारा सर्वाङ्गिण विकासका लागि योग भन्ने थियो । यस वर्षको नारा छ, स्वस्थ जीवनको चाहना, योग शिक्षा र साधना । सधैँ काठमाण्डौँका विभिन्न स्थानमा योग साधकहरुको वृहत भेला गराउने गरेकोमा यस वर्ष त्यो जिम्मेवारी भक्तपुरले पाएको छ । भक्तपुरको सानोठिमीमा खुल्ला चउर भएको र यस जिल्ला पहिलो योग जिल्ला घोषणा भएकोले हामी योगप्रेमी भक्तपुरबासी निकै हर्षित भएका छौँ । नेपाल सरकारलाई धन्यवाद ।
पतञ्जली योगमा शारीरिक तथा मानसिक दुवै प्रकारका व्यायम तथा ध्यान प्राणायामहरु हुने गरेका छन् । गत वर्ष जुम अनलाइनबाट पनि पूरै चार घण्टाको समय व्यायमको पूर्ण व्यायम सूर्य नमस्कार गरेर बिताएका थियौँ । १००८ राउण्ड सूर्य नमस्कार गरेर आफुलाई अव्वल साबित गर्नुहुनेहरुमध्ये भक्तपुरबाट लक्ष्मी अधिकारीजीले पूर्ण गर्नु भएको थियो । देशका अन्य स्थानबाट थुप्रै साथीहरुले एक हजार आठ सूर्य नमस्कार पूरा गर्न भयो । यस पटक राष्ट्रले देशभरि एउटै समयमा योगका गतिविधिहरु, १०८ सूर्य नमस्कार, हवन र प्रभातफेरी संचालन गर्ने भएको छ । राष्ट्रिय योग दिवसको अवसरमा सातै प्रदेशमा रक्तदानदेखि विभिन्न प्रतियोगिताहरु सम्पन्न गर्ने निर्णय भए अनुसारकार्य सम्पन्न हुँदैछ ।
योगका आठ अङ्ग हुन्छन् । योगका आठ अङ्गको अनुष्ठानले क्लेशरुपी शरीर तथा अन्तःकरणको अशुद्धि हट्दछ । त्यसपछि ज्ञानको प्रदीप्त हुन्छ र यसको अन्तिम सिमा हो विवेक ख्याति । योगको आठ अङ्गहरुमध्ये यम, नियम, आशन वहिरंग योग हो । यसले मानिसको बाहिरी वातावरण संगप्रतक्ष प्रभाव पार्दछ । व्यक्तिको खानपान, रहनसरन र व्यवहारमा प्रभाव पार्ने भएकोले अनुशासन, दायित्व र जिम्मेवारीपूर्ण कार्य गर्नसक्ने बनाउँदछ ।
धारणा, ध्यान र समाधी अन्तरङ्ग योग हो । व्यक्तिको बाहिरी आचरण शुद्ध गरिसकेपछि सामजिक सामान्जस्यता कायम गर्न अरु आठै अङ्गको आवश्यक पर्दछ । जसले गर्दा प्राणायामद्वारा भित्र पवित्रता, आत्मा शुद्धता कायम गर्न मद्धत गर्दछ भने प्रत्याहारले ईन्द्रियहरुको नियन्त्रण गर्दछ ।
यम, नियम, आसन, प्राणायाम, प्रत्याहार ,धारणा, ध्यान र समाधि यी योगका आठ अंगहरु हुन् ।
यमः हिंसा नगर्नु, सत्य बोल्नु, चोरी नगर्नु, ब्रह्मको आचरणमा रहनु, अनावश्यक सामग्रीहरु नराख्नु यम हो । यो हाम्रो बाहिरी व्यवहारमा देखिने कुरा हो ।
नियमः बाह्य तथा आन्तरिक पवित्रता, सन्तोष, तपस्या, स्वाध्याय शास्त्रको वा शरीरको अध्यायन तथा ईश्वरमा समर्पित भावले शरणागति हुनु नियम हो ।
आसनः स्थिर भावले लामो समयसम्म सुखपूर्वक बस्नुको नाम आसन हो ।
प्राणायामः आसन सिद्धि भएपछि श्वास र प्रश्वास दुबैको गतिलाई रोक्नु प्राणायाम हो ।
प्रत्याहारः जहिले इन्द्रियहरुले आफ्नो आफ्नो वाह्य वृतिलाई छाडेर चित्तको स्वरुपको झैँ अनुकरण गर्न थाल्छ, त्यो स्थितिलाई प्रत्याहार भनिन्छ ।
धारणाः शरीरको माथिल्लो भागको कुनै स्थानमा वा कुनै एउटा चक्रमा मनलाई एकाग्रता बनाई राख्नु धारणा हो ।
ध्यानः धारणामा हामी जुन स्थानमा हुन्छौँ त्यहाँबाट मनलाई कतै भट्किन नदिई एकाग्रताका साथ सच्चिदान्द स्वरुपमा मग्न हुनु ध्यान हो।
जसरी भर्याङ्गका खुट्किलाहरु क्रमैसँग चढेपछि घरको धूरीमा पुगिन्छ, त्यसरी नै अष्टाङ्ग योगका आठै अंग क्रमैसँग चढ्नु पर्दछ । एक्कासी कोरा व्यक्तिलाई ध्यानमा राख्नु भनेको दुर्घटना निम्त्याउनु जस्तै हो ।
समाधिः जब ध्यानमा ईश्वरको स्वरुप वा स्वभावलाई प्रकाशित गर्ने खालको आफ्नो स्वरुपबाट शून्य जस्तो प्रतित हुन्छ, तब त्यसलाई समाधि भनिन्छ ।
समाधि धेरै माथिको कुरा हो । व्यक्तिले बहिरंग योगबाट आफूलाई पूर्ण आत्मानुसाशीत गराई सकेपछि मात्र अन्तरंग योगमा छिर्न सक्दछ । अन्तरंग योगबाट पूर्ण लाभ लिईसकेपछि अन्तिम चरणमा पुग्नु वा पूर्ण शून्यतामा डुब्नु समाधि हो । अविध्या, अस्मिता, राग, द्वेष र अविनिवेशबाट माथि उठिसकेको व्यक्तिले मात्र अन्तरङ्गयोगमा डुबुल्की मार्न सक्दछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Rastriya Yog diwas ko hardik mangalmaye shuvakamana .