विरामीको मृत्यमा डाक्टरको मार्मिक मनोवाद

जीवन डील दर्पण

प्रो. डा. अर्जुन देव भट्ट
वरिष्ट युरोलोजिष्ट

रातीको ८ः५५ बजे । एक्कासी मोबाइलले मेरो ध्यान तान्यो ।

“डाक्टर साब मेरो आफ्नो मान्छेको रक्त परीक्षण गर्दा ४८ हजार सेतो रक्तकोष देखापरे । ती बिरामी पेट फुलेर बस्न, सुत्नसम्म नसक्ने भएकाछन् । स्वाँ-स्वाँले हैरान गर्छ । मानौं, प्रत्येक स्वासमा ती छटपटिन्छन् । के गर्दा उपयुक्त होला ?”

४८ हजार सेतो रक्तकोष भन्नेबित्तिकै मैले उनलाई बिरामीलाई मेडिकेयर वा अरु कुनै अस्पताल लैजान सुझाएँ । यस्तो बिरामी घरमा राख्न कुनै पनि क्षण नराम्रो घटना घट्न सक्छन् । यद्यपि अस्पताल लेगेपछि सबै समस्या समाधान भइहाल्छन् भन्ने ग्यारेण्टी भने होइन ।

आधा घण्टा नबित्दै मेडिकेयर आकस्मिक कक्षबाट फोन आयो । मेरो नाम लिएर ल्याइएको बिरामी ७७ बर्षको पुरुष । पेट ज्यादै फुलेको अस्वथा, पिसाब, दिसा भइराख्छ तर बल गर्नुपर्ने प्रायजसो । पेट ठूलो फुलेको पहिलो दिन होइन, बर्षौ. भयो । तर पहिलो दुई हप्ता स्वासप्रस्वासमा निकै कठिन । बिरामीको सम्पूर्ण शरीर मोटो होइन । हातखुट्टा फुलेका छैनन् । रक्सी, धुमपान कहिले नगर्ने व्यक्ति । खानामा पनि सधै पथपरेजमा बस्ने ।

बिरामीको विभिन्न रक्त परीक्षण, छातीको एक्सरे, पेटको अल्ट्रासोनोग्राफी, पिसाब जाँच सुरु भयो । बिरामी आएदेखि नै अक्सिजन सपोर्टमा छन् । आउँदा उनको शरीरमा अक्सिजन ८० प्रतिशतको लगभगमा । ज्वरो छैन र घरमा पनि पछिल्लो समय तापक्रम बढेको न अनुभव छ न नाप्दा नै ज्वरो देखिन्छ । पेट फुल्नाको कारण तिनका मृगौलामा पानीका फोका भएको उनी स्वयं लामो समयदेखि जानकार छन् ।

दुई घण्टाभित्र सबै परीक्षणका परिणाम आएसकेपछि फेरि मैले फोन पाएँ । रक्त परीक्षणमा ४९ हजार स्वेत कोष । त्यसमध्ये ९० प्रतिशत खण्डी र श्वेत रक्तकोशिका । बाँकी १० प्रतिशत सबै लिम्फोसाइट्स । यसबाट केही हदसम्म प्रष्ट हुन्थ्यो कि यस्तो स्वेत रक्त कोषको वृद्धिको कारण रक्त अर्वुद होइन । यस्तो वृद्धिलाई कुनै अरु रोगका कारण स्वेत कोशिका बहुलता भनिन्छ । बिरामीका मृगौलाकार्य सूचकहरु निकै नराम्रो अवस्थामा थिए । ती सूचक सर्वप्रथम मृगौला प्रोटिनबाट उत्पादित शरीरका लागि विषाक्त पदार्थ पिसाबबाट पूर्णरुपमा निस्काशन गर्न नसकेको दर्शाउँथे । त्यसैले बिरामी मन्द टाउको दुखाइको अनुभव गर्दथ्यो । खाना रुची उसमा थिएन । उल्टै वाकवाकी र बान्ता हुने हुन्थ्यो । कुनैबेला बिरामी चक्कर पनि अनुभव गर्दथ्यो ।

अल्ट्रासोनोग्राफीले बिरामीको दाहिने मृगौलामा अति ठूलो पानीको फोका जहाँ ३ लिटर भन्दाबढी तरल पदार्थ रहेको देखायो । देव्रे मृगौलामा थुप्रै साना फोकाहरु थिए जसमध्ये ठूलोको नाप ३० मिलिमिटर थियो । प्रोष्टेट ग्रन्थि ३० ग्रामको थियो । छातीको दुवैतिर थोरै पानी जमेको फेला परेको थियो । पिसाब जाँचमा पीप र रगत केही फेला परेन । माथि उल्लेखित सबै यथार्थलाई ध्यानमा राखेर बिरामीलाई भर्ना गरियो ।

अर्को दिन फेरि रक्त परीक्षण र अल्ट्रासोनोग्राफी दोहो-याइयो । स्वेत कोषिका बढेर ५६ हजार पुगिसकेका थिए । मृगौलाको कार्यक्षमतामा अरु ह«ास आएको प्रष्टरुपमा देखिन्थ्यो । बिरामीलाई पिसाबको मात्रा नाप्नका लागि नली राखिएको थियो । तर मूत्रबद्र्धक औषधिको प्रयोग दिनको दुईपल्टसम्म गर्दा पनि डेढलिटर भन्दा बढी पिसाब बन्न सकेको थिएन । दोश्रो पटकको अल्ट्रासोनोग्राफी निकै समय दिएर गरियो । पहिलो दिन उसको दर्द र स्वाँ स्वाँका कारण जाँच छोट्याइएको थियो । यो पल्ट पेटको पछाडिको भागमा ठूलो अर्बुदको डल्लो देखाप-यो । त्यसले आन्द्रामा जाने रक्तनसा समेत केही थिचेको देखिन्थ्यो । त्यसैले बिरामीको एमआरआई गराउन व्यवस्था मिलाइयो । चुम्बकीस स्पन्दन चित्रमा मसिनो आन्द्रा पेटको पछाडि भागसँग जोड्ने दोहोरो पत्र आन्त्रयोजनीबाट पैदा भएको डल्लोले पछाडितिर फैलिएर मेजेनटेरिक नसाहरु र मूत्र बाहिनी नलीको सुरुको भागलाई केही हदसम्म बेरेको थियो । त्यसैले सायद दाहिने मृगौलामा थुप्रै पिसाब जमेर यो अङ्गको उतक पूर्णरुपमा पातलिएर मसिनो खोलमा परिणत भैसकेको थियो । बाहिरी चापले पीडित मृगौलाको नाप नै २७×१८×१४ सेन्टिमिटरको थियो । त्यसलाई च्याप्ने अर्वुद १५×१४×१२ सेन्टिमिटरको डल्लो थियो । यस्तो अर्वुद देखा परेपछि त्यसबाट तन्तु निकालेर के हो त्यो भनेर छुट्याउनु अनिवार्य प्राय हुन्छ । यद्यपी बिरामीको गम्भीर शारिरीक अवस्थाका कारण त्यो अर्वुद जे भएपनि त्यसको शल्यउपचार वा किमोरेडियो उपचार तुरुन्त संभव थिएन ।

अल्ट्रासोनोग्राफीको निगरानीमा मसिनो सियो घुसाएर विकृत भागबाट केही पदार्थ परीक्षणको निम्ति निकालियो । तर त्यो परीक्षणले यकिन यो रोग भनेर भन्नसक्ने अवस्था थिएन । किनकि त्यसमा देखा परेका तन्तु मृत थिए । अर्वुदको विभिन्न भागमा रक्तसन्चारमा कमी भएपछि उतक क्षय हुने गर्दछ । तर पनि परीक्षणका अप्रत्यक्ष प्रमाणहरु अर्वुदकै पक्षमा थिए । रोगको यकिन पहिचान गर्न फेरी अर्कोपल्ट अल्ट्रासाउण्ड निगरानीमा सुइरो घुसाएर विभिन्न ठाउँबाट उक्त पदार्थ निकाल्ने काम भयो । दाश्रोपल्ट उतक परीक्षणमा देखापरेको चित्र अनुरुप दुईप्रकारका अर्दुदबारे संका देखियो । पहिलो गहिरो जराहाल्ने मूत्राशय संलग्न इपिथिलियमबाट उत्पन्न छिटो फैलिने क्यान्सर ।

दोश्रो, कत्लाले ढाकेको चेप्टा प्लेटजस्ता कोशिकाहरुजन्य क्यान्सर ।

एकातर्फ बिरामीका मृगौला कार्य गर्न दिनप्रतिदिन असफल हुँदैथिए । वास्तवमा दाहिने मृगौला त छैन भने पनि भयो । देव्रे पनि पानीका फोकाहरुबाट च्यापिदै आएको र पिसाब बनाउने भाग पनि निकै बिग्रिएर अवस्था अति नाजुक भइसकेको । एक्कासी पहिले कहिँ फेला नपरेको अहितकर शरीरका विभिन्न भागमा फैलनसक्ने दुरगुण भएको अर्वुद देखापरेकाले परिवारका सबै सदस्य निकै निरास देखिन्थे । म आफै बिरामीलाई खासै सहयोग गर्न नसक्ने स्थितिमा भेट्दा अति दुखी थिए । प्रत्येक दिन बिरामी पेट बढी फुल्दै गएको महसुस गर्दै थियो । उस्लाई पल्टँदामात्र होइन, बस्दा समेत नाकमा अक्सिजन निरन्तर दिँदादिँदै पनि सास फेर्न गाह«ो अनुभव भइरहेको थियो । बिरामीलाई केही सजिलो गर्न सकिन्छ कि भनी दाहिने मृगौलाको सम्पूर्ण तरल पदार्थ निकाल्न अल्ट्रासाउण्डको निगरानिमा एउटा मसिनो पाइप राख्ने प्रयत्न ग-यौँ । करिब दुई लिटर पराल रङ्गको तरल पदार्थ निकालेपछि बिरामीलाई सास फेर्न र बस्न केही राहत अनुभव भयो । तरल पदार्थ निस्कने क्रम चार घण्टासम्म चलिरह्यो । पाँच लिटर र ४०० मिलिलिटर तरल पदार्थ निस्केपछि पाइपबाट तरल पदार्थ आउन बन्द भयो ।

बिरामी त्यो दिन आफूलाई निकै सहज भएको अनुभव गर्दै थियो । उनी केही हदसम्म पल्टीन पनि सक्ने भएका थिए । केही नभए पनि छोटो समयकै निम्ति भए पनि उनीले अनुभव गरेको त्यो सुखद र आरामदायी क्षणको निम्ति म निकै खुसी थिएँ । तर कति समय यो आनन्दमय अनुभूतिले उनलाई साथ दिनेछ त्यो अझै प्रष्ट थिएन ।

प्रत्येक दिन बिहान रक्तपरीक्षण जारी थियो । उपचारमा संलग्न म, नेफोलोजिष्ट र परिचाकिाहरु नयाँ बिहानीको रक्त परिक्षण परिणाम व्याकुल भएर पर्खिरहेका हुन्थ्यौँ । कतै रक्तस्वेत कोशिकाको संख्यामा गिरावट आउन थाल्यो कि भन्ने हाम्रो पर्खाइमा नयाँ दिनको झन् बढ्दो संख्याले हामीमा निराशा थप्ने गर्दथ्यो । हुँदाहुँदा रक्तकोशिका बढ्ने प्रकृयाले उग्ररुप लिएको देखियो र पाँच दिनको अन्तरालमा ४८ हजारबाट बढेर ती एकलाख नाघ्न पुगे । सेरम क्रेटेनिन ३.८ मि. ग्रा., युरेया बढेर २५० नाघ्यो । क्याल्सियमको मात्रा घटेर ७.५ मा झ¥यो यद्यपी हामी दिनहुँ उसलाई क्याल्सियम नसाबाट दिदै थियौं । उस्को अल्वुमिनको स्तर सामान्य नै थियो । बिरामीको पेट फेरि बढी फुलेर उसलाई सुत्न पनि बसेकै अवस्थामा प्रयत्न गर्नु पर्दथ्यो । मलद्वारबाट वायु कुनै कुनै बेला जाने गरेको उनकी श्रीमतीले चाल पाउँथिन् । दिसा प्रत्येक दिन ज्यादै थोरै भए पनि हुने गरेको थियो । मूत्रबद्र्धक औषधिको प्रयोग बाबजुद पिसाबको मात्रा प्रत्येक दिन घट्दै गएको प्रष्ट देखिन्थ्यो । उसका खुट्टा सुनिएका थिएनन् ।

हात भने बारबारको रक्त परीक्षणको निम्ति छेड्ने गरिएको सुइको कारण निलडामले गर्दा निकै दयनीय अवस्थामा थिए । पिठ्यूतिर छालामुनी सुनिएको देखा पर्दथ्यो । दुवै खुट्टामा तर दाहिने तिर बढी तिघ्रामा बिरामी जलन महसुस गर्दथ्यो । निरन्तर पेट फुलेको र स्वास फेर्न गाह्रो भएको बिरामी महसुस गरिराख्थ्यो । खानामा बिल्कुलै रुची थिएन र प्राय जे खाएपनि ऊ वान्ता गर्दथ्यो । बिरामी मेरो उपस्थितिमा निकै नम्र देखापरेपनि मेरै अगाडि ऊ आफ्ना नातेदारहरुसँग प्रत्येक पल झर्किन्थ्यो, रिसाउँथ्यो र बिना कुनै धैर्यता न सुन्ने र जवाफ दिने गर्दथ्यो । परिचारिकाहरु देख्दा पनि ऊ खासै खुस लाग्दैनथ्यो । दिएको औषधि खान नमान्ने, इन्जेकसन दिँदा अगाडि देखिनै झर्किएर अलिपछि दिनु भन्ने गर्दथ्यो । बिरामीका शरीरमा देखापरेका निलडाम, रगत परीक्षणको निम्ति लिँदा बिरामीले कराएको आवाज सुन्दा नातेदारहरु अब दुइतीन दिन बिराएर मात्र ती परीक्षण गर्न अनुरोध गर्न लागे । रक्त जाँचका उत्तर आएपछि नातेदार ज्यादै खिन्न हुन्थे । हामी उपचारमा संलग्न चिकित्सहरुले केही पनि फरक पार्न नसकेको अनुभूति गर्दथ्यौं । अरु चिकित्सक के सोच्दथे म भन्न सक्दैन । तर म निरन्तर चिन्तित थिएँ । मेरो बिरामीलाई के मैले पु¥याउन सक्ने आराम उपलब्ध गराउन सकिरहेछु ?

बिरामीलाई मैले प्रश्न गरेँ, तपाईलाई अहिले अस्पतालमा भर्ना हुँदा र घरमा के फरक छ ? हुनसक्छ औषधि खाएर केही समय घरमै बिताएर त्यसपछि फेरि देखाउन आउने कि ? मेरो प्रश्नमा किन हो बिरामीले घरको भन्दा यहाँ अस्पतालमा धेरै आराम भएको सुनायो । उस्ले भन्यो, “होइन, अहिले म घर जान चाहन्न केही समय यहिँ बस्छु । घरमा गाह्रो भए के गर्ने ?

यो सुन्दा मलाई लाग्यो, बिरामी अस्पताल आउनाको एउटा मुख्य कारण उस्को आत्मविश्वास हो । उसलाई गाह्रो परिहाले स्वास्थ्यकर्मीबाट सहयोग पक्कै पाउनेछ । रोगको मानसिक र शारिरीक पीडाले गर्दा बिरामी परिचारिका चिकित्सकसँग रिसाउने, झगडा गर्ने, अथवा विभिन्न लान्छना लगाउन सक्छन् । त्यसको निम्ति स्वास्थ्यकर्मीले बिरामीलाई कहीँ कतै दोश लगाउने ठाउँ छैन । स्वास्थ्यकर्मी आफैँ बिरामीको ठाउँमा भए ती पनि त्यस्तै वा त्यो भन्दा बढी नै त्यस्तो व्यवहार गर्न सक्छन् । मैले बिरामीको अनुमति लिएर उसको एउटा फोटो खिचे । एक पलको निमित्त भए पनि बिरामीको अनुहारमा मैले थोरै भए पनि खुशी, उज्यालो देखेँ । तपाइलाईं केहि पनि गाह्रो भए परिचारिका, चिकित्सकलाई भन्न नहिच्किचाउनु होला भने । अनि थपेँ, मेरो मोवाईल नं. तपाइकोे श्रीमती, छोरी र ज्वाइसँग छ । केही सोध्ने मन भए फोन गर्न हिचकिचाउनु पर्दैन भन्दै म निस्किएँ ।

बरण्डामा बिरामीकी छोरीज्वाइँले मलाई प्रश्न गरे, डाक्टरसाब, बुवालाई दुईचार महिनालाई भए पनि केहि निको होला ?

ती प्रश्नकर्ताहरुको आँखा र अनुहारमा नैराश्यता मात्र थियो । ती केही सान्त्वनाका वाणी सुन्न लालायीत थिए । तर म निकै दोधारमा परेँ । झुटो सान्त्वना बाँड्दै हिँड्ने कि कठोर वास्तविकतालाई पस्किने ? अन्ततगत्वा मैले यथार्थलाई नै घुमाउरो तरिकाले भए पनि राख्ने हिम्मत गरेँ ।

म भन्दै गएँ, “कृपया, ननिको नसम्झनु होला तर तपाईंहरुको मुटुमा बस्नुभएको बुवाको स्वास्थ्यबारे मैले भन्नुपर्दा धेरै आशा देखाउने ठाउँ कतै छँदै छैन । उहाँको जीवन यात्राको सीमारेखा यति नगिच छ कि त्यसलाई हामी आँखा चिम्लेर टाढा छ भन्नै मिल्दैन । हामीसँग उहाँको जीवन लम्ब्याउने कुनै उपाय म देखिरहेको छैन । खाली उहाँको पीडा केही कम गर्ने, स्वासफेर्नमा सक्दो सजिलो पार्ने, निन्द्रालाई सम्भव भए सहयोग पु-याउने । हाम्रो संघर्ष ज्यान लम्ब्याउने भन्दा पनि भएको जीवन बढी आरामदायी बनाउन प्रयत्न गर्ने । यद्यपी त्यो सबै पनि न्यून फाइदाका साथ । उहाँको जीवन अब यस्तो किनार छेउमा पुगेको छ कि कुनै पनि पल त्यो अशुभक्षण आउन सक्छ । इमान्दारीसाथ भन्दा प्रत्येक दिन जब घर जानु भन्दा अगाडि उहाँलाई भेट्न आउँछु त्यो कतै पछिल्लो त होइन भन्ने विचार गर्न बाध्य हुन्छु । प्रत्येक बिहान अस्पताल आउँदा जब म उहाँसँग कुरा गर्न पाउँछु लाग्छ, शरीर उहाँको कति संघर्षरत र खुसी छ कि एक दिन भए पनि उसले मृत्यूलाई जितेको छ । हर एक क्षण उहाँले अन्तलाई धकेलेका वीरताका पल हुन् । तर कुनै पनि पल उहाँको शरीरले मृत्यूसँग हार्नुपरे त्यसमा आश्चर्य मान्नुपर्ने ठाउँ छैन । आज बिहानदेखि विभिन्न औषधिको प्रयोग बाबजुद ५० मिलिलिटर पनि पिसाब हुन सकेको छैन । उहाँको एकमात्र बाँकी रहेको काम गर्ने मृगौलाले पनि आफ्नो कार्य पूर्णरुपमा बन्द गरेको छ । मुटु र फोक्सो उहाँको मस्तिष्कलाई जगाएर राख्न कति समय सक्षम हुन्छन् त्यो हिसाब गरेर ठ्याक्कै भन्न सकिने कुरै होइन । तपाईंहरुले कुनै पनि क्षण पछिल्लो अप्रिय घटनाको निम्ति तयार भएर बस्नुस् । प्रकृतिको नियमबिरुद्ध हामी कोहि पनि जान सक्दैनौं । एक दिन जीवन आफ्नो चक्रको अन्तमा पुग्छ । अनि सधैका निमित्त खाली प्रियजनहरुको मस्तिष्कमा मात्र सम्झनामा रहन सक्छ ।”

यति भनेर मैले दुवैलाई कोठाभित्रै जान अनुरोध गरेँ । जब ती दुवै खाली अप्ठ्यारो दुखपूर्णं कूसमाचार पर्खिबसेका बिरामीका नगिचका आफन्त मेरो दृश्यबाट टाढा तर मुटु र मस्तिष्कमा गाडिएर बसे, मैले मेडिकल अफिसर र परिचारिकालाई अनुरोध गरेँ, “यदि बिरामी वा बिरामीका आफन्तले कुनै परीक्षण नगर्ने वा दिनु पर्ने औषधि नदिन आग्रह गरे कृपया उहाँहरुको सम्मान गर्दै त्यो कार्य रोक्नु होला । तर बिचबिचमा बिरामी छेउ गई उहाँको अवस्थाको थप जानकारी लिँदै गर्नुहोला ।”

त्यसपछि बिहान गरेको शल्यचिकित्सा पछिको बिरामी हेर्दै म घर फर्केँ । एक घण्टापछि मोवाइलले मेरो ध्यान तान्यो, मेडिकेयरबाट रहेछ । भरखरै बिरामीको अक्सिजन सेच्यूरेसन घटेर ८० प्रतिशत पुगेको । मुटुको चालमा अनियमितता देखापरेछ । मेडिकल अफिसर बिरामीलाई आइसीयु लग्ने तयारीमा रहेछन् । यदि बिरामीका नातेदारहरुले आइसीयु नलग्न भने कुनै पनि हालतमा कोठाबाट उनीलाई नसार्नु होला । म आफू भने मेरो बिरामीलाई आइसीयु लगेर इन्टुबेट गरेर आधा घण्टा वा एकदिनै किन नहोस् उनलाई जीवनचक्र अन्त गर्न रोक्नमा कुनै ठूलो उपलब्धी ठानिरहेको थिएन ।

आधा घण्टापछि अर्को टेलिफोनले मलाई कूसमाचार प्रवाह गरिछाड्यो जो अपेक्षा अनुरुप नै थियो । जसले मलाई सुरुमा पीडित व्यक्तिलाई पठाएको थियो उनीसँग यो कूसमाचार लिएरै केही कुरा गर्ने मन भयो । तुरुन्तै उताबाट टेलिफोन उठ्यो ।

मैले बिनम्र भएर भनेँ, “हेर्नुस्, मैले तपाईलाई कुनै खुसीको समाचार प्रवाह गर्ने अवसरै जुटाउन सकेन । हाम्रो सम्पूर्ण प्रयत्न फलोत्पादक साबित हुन सकेन । भरखरै तपाईंले पठाएको बिरामीको जीवनचक्र अन्त भयो । उनको पछिल्लो दिनहरु केहि सजिलो पार्न खासै केहि गर्न सकेनौं । तपाईहरु सबैमा हार्दिक समवेदना छ । यो अप्रिय तर सबैले जीवनमा अनुभूति गर्नेपर्ने क्षण सहन धैर्यशक्ति र साहस मिलोस् । यो दुखको घडीमा म कुनै तरिकाले पनि उपयोगी हुनसक्ने सम्झनु भए भन्नुहोला ।”

उताको स्वरले भन्दै थियो, “यो कोभिड–१९ को पाण्डेमिकमा कमसेकम भर्ना गरेर तपाईंहरुले आफ्नो योग्यताले सक्ने सहयोग गरेर जीवनको अन्तिम घडीजस्तोमा बिरामीको आदर गर्नुभयो । हामी सर्वप्रथम त्यसकै निम्ति कृतज्ञ छौं ।” बुझदै जाँदा तीन चार उपचार केन्द्रमा ती बिरामीको भर्नाको निमित अस्वीकार गरिसकेका रहेछन् । सबैको आफ्नै बाध्यता थिए होलान् ।

म अन्वेषण गर्ने माहौलमा हुर्केको चिकित्सक हुँ । चिकित्साशास्त्रको प्रथम बर्षदेखि नै म अनुसन्धान गर्ने विद्यार्थीहरुको समूहभीत्र सम्मिलित भएर काम गर्थें । त्यस्तो पृष्ठभूमिमा सधैं आफूलाई हुर्काएर अगाडि बढाएकोले बिरामीहरुलाई हेर्दा एकातर्फ उसको उपचार कसरी गर्नेमा केन्द्रित हुन्छु भने अर्कोतर्फ त्यहाँ कुन कुराको अनुसन्धान गर्नुपर्नेछ त्यसको खोजमा हुन्छु म । त्यसैले मैले माथि वर्णन गरेको बिरामीको परीक्षण तथा उपचार गर्दा पनि ती दुवैपक्षलाई म सँगसँगै लैजान चाहन्थें । यो बिरामीको अन्वेषण गरिनुपर्ने थुप्रै पक्ष छन् ।

सर्वप्रथम त बिरामीमा देखापरेको स्वेतकोशिका बहुलता आफैमा एउटा ठूलो अनुसन्धानको बिषय हो । बिना संक्रमण, बिना ज्वरो देखापरिरहेको दिन प्रतिदिनको बढ्दो स्वेत रक्तकोशहरुको संख्या नेपालको सन्दर्भमा कसरी बुझ्न र व्याख्या गर्न सकिन्छ ? बिरामीको परीक्षणको सिलसिलामा अर्वुद रोग फेला प-यो । ठीक छ पेटको पछाडि भागतिर देखापर्ने अर्वुदले रक्त स्वेतकोशहरुको बहुलता गराउन सक्छ भन्ने यथार्थ अनुसन्धान भइसकेका छन् । तर त्यो ठाउँमा उत्पति हुने अर्वुदहरु विभिन्न छन् ।

ती वर्षौ लगाएर बढ्ने तर शरीरभरी नफैलिने पनि छन् भने छोटो समयमै जरा फैलाउने केही समयमा शरीरका विभिन्न भाग पुग्ने पनि छन् । मेरो अन्वेषणको इराधा हो, हाम्रो जस्तो स्रोत, साधन र जनशक्तिको अभावको देशमा कुनकुन विशेषता-प्यारामिटरलाई ध्यानमा राखेर रोगको गम्भीरता र गतिबारे अनुमान गर्न सक्छौं ? कुन उपचार विधि थोरै खर्च र कम दक्ष शल्यचिकित्सकबाट छोटो समयमा हाँसिल गर्न मिल्ला ?

हाम्रो देशमा पनि पश्चिमा देशले विकाश गरेको महङ्गा साधन श्रोत भए आधुनिक शल्यचिकित्सा गर्नसक्ने नयाँ पिढी तयार हुँदैछ । तर हाम्रा सबै बिरामी त्यो पहुँचमा पुग्ने क्षमता राख्दैनन् । कसरी सबै बिरामीले समयमै परीक्षण तथा उपचारमा आफूलाई पनि समावेश गर्न सक्छन् ? त्यसको पनि त कुनै उपाय सोच्नै प-यो नि । परिवारको एक सदस्यको उपचारमा आफ्नो चौपाया, एक मात्र टुक्रा भएको जमिन, सानो घडेरी र घर भनौदो सुत्न र ओत लाग्न पनि मुस्किलले पुग्ने चार खम्बा र खर वा टीनको छानो पनि बेचेर कसैको उपचार गरिन्छ भने त्यहाँ के मानवता बाँकी छ भन्न मिल्छ ? जीवन त संघर्ष हो नै । तर कसैले आफ्नो प्रिय बुवा, आमा, लोग्ने वा स्वास्नी, छोरा–छोरीको उपचारमा टीठ लाग्दो सर्वश्व नै बुझाउनु पर्छ भने त्यो समाज, देशलाई हामी मानव समाज भनी कसरी मान्न सक्छौं यो २१ औं शताब्दीमा ?

कहिलेकाहिँ भरखर चिकित्सा क्षेत्रमा प्रवेश गरेका चिकित्सकहरुबाट म सुन्ने गर्छु, “हामी के अन्वेषण गर्न सक्छौं ? प्राय सबै अनुसन्धान भइसकेका छन् । छ हाम्रो देश अभावग्रस्त । अन्वेषण गर्न स्रोत साधन छैन ।”

यो सोचाइमा दम नभएको होइन तर खोज भन्ने कुरा सधैं ज्यादै जटिल र सुविज्ञसँग मात्र भरपर्ने कुरो होइन । मैले एक्कासी सम्झेँ, महान रुसी लेखक र दार्शनिक लेभ टोल्सटोइको किताब “इभान इलइक्षको मृतु” ।

लाग्यो, त्यो पुस्तकमा हाम्रो जस्तो देशमा थुप्रै अनुसन्धान गर्नुपर्ने बिषयहरु परेको छ । चिकित्सक र परिचारिकाहरुले देखाएको व्यवहारमा मृत्यू शैयामा रहेको बिरामीको कति विश्वास छ ? ऊ कतै हाम्रा शब्दलाई स्वार्थपूर्ण हुनेगरी देखाइएको धोकाको रुपमा त बुझिरहेको छैन ? वास्तवमा छोटो अस्पतालको बसाइ वा जीवनको अन्तमा समेत हामीले उसको पीडा कम गर्न आवश्यक औषधिको लोभ गरेर पो दर्द सहेरै पन्चभूतमा मिल्न बाध्य पा¥यौं कि ? अर्वुदले ग्रस्त, मृगौलाको कार्यक्षमता ह«ासले पीडित, मृगौला भित्र एकत्रीत ५ लिटर भन्दा बढी तरल पदार्थबाट पेटभित्र र छातीका विभिन्न अङ्गहरु धकेलिएको अवस्था, पेटभित्र थुप्रिएको तरल पदार्थले आन्द्रालाई सुस्त गतिमा पु¥याएको यथार्थ इत्यादीबाट खोसिइरहेको जीवनप्रति हामीहरुले देखाएको इमान्दारी आवश्यक परेजति र प्रसस्त भन्न मिल्ने थियो त ? यस्ता विरामीहरुको पछिल्ला महिना, हप्ता, दिन, घण्टा मिनेट र पलमा हामी कसरी बढी उदार हुन सक्छौं, त्यस्को समिक्षा गर्न ढिलो गर्न हुन्न कि ? हाम्रो अनुदारताले हुनसक्छ, उसले लम्ब्याएको जीवनको महत्व कति छ, त्यसको निर्णय र फैसला कुन न्यायालयले गर्ने ? के त्यो निर्णय, त्यो अभिमत गर्ने अधिकार बिरामी स्वयमको हुन नपाउने ? जसले जीवन बाँच्नुपर्ने उसको त्यसमा हुनै हैकम हुन नपाउने ? यस्तै थुप्रै अनुत्तरित प्रश्नहरुको जवाफ सायद केही अनुसन्धानबाट पनि खोज्न मिल्छ होला तर सर्वप्रथम व्यक्ति, परिवार, समाज र देशमा आधारभूत आवश्यकताको अवसर प्राप्त त हुनै पर्दछ । सर्वसुलभ शिक्षाको अभाव र कामको खाँचोरुपी मन्द बिषबाट कसैले आफ्नो जीवनचक्र बिना कुनै इज्जत र खुसी बिताउनु पर्छ भने त्यो समाज र देश सय प्रतिशत त्यसका दोसी हुन् । कति धेरै बच्चा र बृद्ध समाजमा छन् । तिनीहरुको संरचनात्मक हेरचाह गर्ने हो भने पनि लाखौंले काम पाउने छन् । कृषिले आधुनिकता प्रतिक्षा र आशा गरेकै ७० बर्ष नाघ्न थाल्यो ।

उत्पादक श्रम र सृजनशील कार्यमा लाखौं मानिस समर्पित हुने मौका पाए स्वास्थ्य क्षेत्रको विकास त्यसकै अंश भएर अगाडि बढ्छ । कर्ममा जुटेका मानिसहरुमाझ रोगव्याधि पनि कम देखापर्दछन् । तर त्यो कर्म युग सुहाउँदो हुनुप-यो । हाम्रो देशको सौन्दर्य र चौतर्फी अपार सम्पत्तिको भण्डारणको उपयोग हुनुप-यो नागरिकहरुका निम्ति !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button