प्रकृति नै मेरो गुरु

मिरा गोतामे

गुरुपूर्णिमाको पावन अवसरमा मलाई अक्षर चिनाउने गुरुदेखि स्नातकोत्तरसम्म औपचारिक शिक्षा दिनुहुने सम्पूर्ण गुरुहरुमा नमन । जीवन जीउने संस्कार अनौपचारिक रुपमा सिकाउने मेरा आमाबुबामा पनि हार्दिक नमन ।

केहि नजान्ने एउटा शिशुलाई कखरा सिकाउने गुरु साँच्चै नै महान हुन्छ । जीवनका हर कदमहरुका सहि मार्गनिर्देशन दिने गुरुको महिमा शब्दमा व्यक्त गरेर सकिंदैन जस्तो लाग्छ । गुरुले आफ्ना शिष्यलाई नराम्रो कुरा सिकाउँ कहिल्यै भन्दैन । आफ्ना विद्यार्थीहरु सधैं अगाडि बढेकै देख्न चाहन्छन् हरेक गुरुहरु ।

उमेर र समयक्रमसँगै गुरुका परिभाषा भने बद्लिंदा रहेछन् । जीवनका यो कालखण्डमा आइपुग्दा मलाई व्यक्तिभन्दा प्रवृत्ति गुरुजस्ता लाग्न थालेका छन् । अरुका मन नपर्ने आचरणहरु आफूले अनुसरण गर्नु भएन । मन परेका कुराहरुलाई भने गुरु मानेर आत्मसाथ गर्न सक्नुपर्छ ।

हरेक समय, काल र परिस्थितिले केहि न केहि सिकाइरहेका हुन्छन् । समय खेर फाल्ने होइन, लगानी गर्नु पर्दो रहेछ त्यसैले राम्रो प्रतिफल दिंदो रहेछ । सधैं आफूलाई खुशी दिने काम गर्नुपर्छ । सृजनशील र उर्जाशील भएर जीवन बाँच्नुपर्ने कुराहरु सिक्दैछु ।

अहिलेको मेरो परिभाषामा सबैभन्दा ठूलो गुरु भनेकै प्रकृति हो । प्रकृति नै शाश्वत सत्य हो । जीवन र जगतका कुरा सिकाउन प्रकृति जत्तिको क्षमतावान कोहि÷केहि छैन । प्रकृति अघोषित गुरु नै हो परिवर्तनशीलताको पाठ पढाउने । विविधताको पाठ पढाउने । सन्तुलनको पाठ पढाउने । अनवरत रुपमा मानवजातीलाई पाठ पढाईरहन सक्ने क्षमता प्रकृतिमा जति कसैमा छैन ।
व्यक्तिले सिकाएका कुरा दीर्घकालीन हुँदैन रहेछन् । आफैले सिकाएका कुरामा आफैं पनि दृढ हुन सक्दैन मानिस । त्यसैले आफूलाई कसैको गुरु मान्नु उत्तिकै गलत लाग्न थालेको छ मलाई, जत्ति अरुलाई आफ्नो गुरु मान्नु ।

प्रकृतिले समय अनुसार चल्न सिकाउँछ । समयभन्दा अगाडि कुनै कुरा पनि सम्भव छैन भनेर सिकाउँछ । उदाहरणको लागी वसन्त ऋतुमा फुल्ने फूल हामीले जति हतार गरे पनि अरु ऋतुमा फुल्दैनन् । उसले वसन्त ऋतुलाई नै पर्खन्छ ।

प्रकृतिको आफ्नै नियम छ । यसले नियममा चल्नु पर्छ भनेर सिकाइरहेको हुन्छ । नियम उल्लङघन गर्दा विनाश हुन सक्छ भनेर सिकाउने गुरु पनि प्रकृति नै हो । परिवर्तनशील समाजमा बसेपछि समय अनुसार परिवर्तन नभई सुखै छैन ।

प्रकृतिमा विविधता छ । विविध जीवजन्तु, पशुपक्षीं, खोलानाला, पहाड, तराईले नै प्रकृतिलाई जीवन्त बनाएको छ । प्रकृतिको सिकाएको यो विविधताको पाठ हामीले पढ्नै पर्छ । यो विशेषतालाई स्वीकार गर्नै पर्छ । समाजको विविधतालाई जति छिटो स्वीकार गर्न सक्यो, सुखी र खुशी उति नै छिटो होइन्छ ।
जीवनमा हरेक कुरा र सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने पाठ पनि प्रकृतिले हामीलाई पढाउँछ । तराजुको एकापट्टिको तौल ज्यादै भयो भने यो घोप्टिन्छ । असन्तुलित जीवन पनि त्यस्तै हो । जीवनका हरेक पक्षलाई सन्तुलनमा राख्न सक्नु पर्छ । इकोसिस्टममा एउटा प्रजातिको संख्या धेरै भयो भने अर्को प्रजातिको संख्या घटिहाल्छ । अन्ततः पुरै सिस्टम असन्तुलित हुन पुग्छ । यस्तै हुन्छ हाम्रो जीवनमा पनि ।

पोहोरको लकडाउनपछि धेरैभन्दा धेरै समय प्रकृति अनि बोटविरुवा र फूलहरुसँग बिताएर पनि होला मैले प्रकृतिलाई नै आफ्नो गुरु मान्न थालेकी छु । प्रकृति र मानवजीवनका श्रृखंलाहरु उस्तै उस्तै रहेछन् । बोटबिरुवाहरुलाई मात्र होइन, हाम्रो जीवनमा पनि मलजल, गोडमेल अनि हेरविचारको जरुरत पर्ने रहेछ । यी कुराहरु पनि बढी वा कम हुनु भएन । यस्तो सन्तुलनले नै जीवनमा फूल फुल्ने रहेछन् । यदि फुलेका छैनन् भने यी मध्ये के के कुराको कमी भयो भनेर पुनर्विचार गर्नुपर्ने रहेछ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button