
प्रेमलायक प्रिय प्रेमचन्द
प्रेरक व्यक्तित्व
सुशीला शर्मा
सद्गती एक जोडदार सामाजिक फिल्म बनेको थियो । सन् १९८१ तिरको होला । यो हिन्दी सिनेमा हो । युटुबमा हेर्न सकिन्छ । यस सिनेमामा स्मिता पाटिल, ओम पुरीजस्ता होनहार कलाकारले जीवन्त अभिनय गरेका छन् । यस सिनेमाका निर्देशक सत्यजित रे रहेछन् । सद्गती फिल्मलाई यस मानेमा जोडदार भन्न सकिन्छ कि यसमा समाजको वास्तविकतालाई दुरुस्त उतारिएको छ ।
यस सिनेमामा एउटा भोको, गरीब, उत्पिडित ‘दुखी’ नाम गरेको पात्रको परिवार र पण्डितको विषयलाई लिएर कथा शुरु गरिएको छ । पण्डित आफैमा उच्च जातको र सामन्ती विचार र व्यवहारको त छँदैछ, उता दुखी आफ्नो छोरीको विवाहको लागि मालिकसंग विधि विधानको लागि हार गुहार गर्ने र छोरीको विवाहको कर्म गराउनको लागि अनुनय विनय गर्छ । विवाहको विधिको लागि अनुरोध गर्न आएको दुखीलाई अनेक घरायसी काम गराएर अन्तमा भोको र बिमारबाट भर्खर उठेको दुखीको दाउरा चिर्दा चिर्दै परान जान्छ । उसको मृत्युसम्म पनि संवेदनशील नदेखिएको पण्डित जब उसको आँगनबाट दुखीको लास उठाउन उसकै समुदायले मान्दैनन्, बल्ल झस्किएर सुनसान रातमा आफै त्यो लास लगेर अन्य सिनो थुपारेको ठाउँमा फालिदिन्छ र आएर मन्त्र पढ्दै पानी छम्केर आफ्ना घर आँगन चोख्याउँछ ।
मान्छेलाई धर्मान्धताले कतिसम्म अविवेकी र अमानवीय बनाउँछ भन्ने कुरा यस सिनेमामा देखाइएको छ । र, यो कथा हाम्रै समाजका हुन् । यस्तो कथाचाँहि यस सिनेमाका निर्देशक सत्यजित रे ले भारतका प्रसिद्ध साहित्यकार मुन्सी प्रेमचन्दको कृति ‘सद्गती’ बाट लिएका हुन् । समाजलाई ऐनाजस्तै साहित्यको रुपमा उतारेर प्रसिद्ध बनेका भारतका प्रसिद्ध साहित्यकारको बारेमा केही जानककारी राखौं है त यस लेखमा ।
भारतका सुप्रसिद्ध साहित्यकार मुन्सी प्रेमचन्दको जन्म ३१ जुलाई १८८० मा उत्तर प्रदेशको वाराणसीमा भएको थियो । उनको वास्तविक नाम धनपत राय श्रीवास्तव थियो । उनलाई नवाव रायको नामले पनि चिनिन्छ । प्रेमचन्दले आफ्नो पढाईसँगै काम पनि गर्दै परिवारमा आर्थिक सहयोग पनि गर्दथे । प्रेमचन्दको बाल्यकाल निकै दुखदायी बित्यो । उनी नौ वर्षको हुँदा उनको आमाको मृत्यु भयो । प्रेमचन्दलाई यथार्थवादी साहित्यको परम्पराको जग राख्ने साहित्यकारको रुपमा पनि चिनिन्छ ।
प्रेमचन्द गम्भिर लेखक थिए । सचेत नागरिक र दक्ष वत्तला अनि सम्पादक पनि थिए । आफ्ना जीवनका अन्तिम समयसम्म पनि नयाँ सिर्जनाको कोसिसमै लागिरहेका थिए । उनका प्रत्येक उपन्यास, लघुकथा र निबन्धहरुमा केही न केही नविनतम सन्देशहरु हुन्थे र ती जीवनसँग सम्बन्धित हुन्थे । गोदान, बजार ए हुस्न, कर्मभूमि, सतरञ्जके खिलाडी, गवन, मानसरोवर उनका प्रसिद्ध उपन्यास हुन् ।
मुन्सी प्रेमचन्दका कृतिहरु हिन्दी, उर्दू, चाइनिज तथा रसियन भाषामा पनि प्रकाशित छन् र अन्य देशहरुमा पनि लोकप्रिय छन् । प्रेमचन्द आफ्नो जीवनभरी साहित्य सिर्जनामा समर्पित भए । उनी भन्ने गर्दथे यदि समाजको सत्यताको ऐना देखाउनु छ भने लेखन नै सबभन्दा ठूलो माध्यम हुन सक्छ ।
प्रेमचन्दका केही प्रसिद्ध भनाई :
– मानिसका सबैभन्दा ठूलो शत्रु अहंकार हो ।
– जीवन आवेशमय हुन्छ ,जुन क्रोधबाट आगो बन्छ भने दयाभावबाट पानी पनि बन्छ ।
– कुलको प्रतिष्ठा असल व्यवहार र विनम्रताबाट ह्न्छ धाक, तथा रवाफ देखाएर होइन ।
– चाप्लुसीको विषाक्त प्यालाले तपाईलाई तबसम्म हानी नोक्सानी गर्दैन जबसम्म तपाई त्यसलाई अमृत सम्झेर पिउनुहुन्न ।
– खानु र सुत्नु मात्र जिन्दगी होइन, अघि बढिरहने चाहनाको नाम जिन्दगी हो ।
– सम्पन्न व्यक्तिलाई जुन सम्मान गरिन्छ त्यो सम्मान उक्त व्यक्तिलाई गरिएको होइन उसको सम्पतिलाई गरिएको हो ।
– आकाशमा उड्ने चरालाई पनि उसको घरको सम्झना आउँछ ।
– अन्याय सहनु पनि अन्याय गर्नु जस्तै हो ।
ड्ड निराशाले सम्भवलाई पनि असम्भव बनाईदिन्छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)