
यसपाली धान भित्र्याउने गरी पक्कै पनि नेपाल फर्कने छु
देशबाहिर
जीवन भुजेल
दोहा, कतार ।
मेरा प्रिय पुजनीय आमा बुवा नमस्कार,
यो पत्र लेख्दासम्म मलाई आराम छ । आशा छ, सपरिवार मंगलकुशल हुनुहुन्छ होला । मेरा ममतामयी आमा अनि पुजनीय बुवाको सुस्वास्थको कामना गर्दैछु । थाहा छ, अहिलेको शताब्दीमा पनि पत्रबाट आफ्नो सन्चो बिसन्चो लेख्न खासै उपयुक्त हुँदैन । तर, मानिस चन्द्रमा अनि मंगल ग्रहमा पुगे पनि मेरो गाउँ दोलखा जिल्लाको विकट पहाडमा छ भनेर मलगायत मेरा गाउँलेबाहेक केही मानिसलाई मात्र थाहा छ । पत्र खासै लेख्न मन त थिएन तर माथिल्लो गाउँका पुस्कर दाजु घर फर्कदै गर्दा यसो सन्चो बिसन्चो अनि मनका भावनाहरु पत्रमार्फत राख्न चाहन्छु ।
प्राय सबै मानिस विदेश जाने अनि मनग्य धन आर्जन गर्ने अनि आफ्ना सपना साकार पार्ने सपना देख्ने गर्दछन् । त्यहि सपनाको हुलमा म पनि सपना बुन्दै यो खाडी मुलक कतारमा आएको छु । यहाँ खासै गाह्रो हुँदैन । बिहान बेलुका त ठिकै हुन्छ तर दिउँसो भने ५० डिग्रीको तापक्रमले भने ठुलै परिक्षा लिने गरेको छ । बेला बेलामा शरीरमा पसिनाले भिजेको कपडा निचोर्नु पर्दो रहेछ । अनि छ नि आमा यहाँ हाम्रो गाउँ पूरै अटाउने ठुलो चौर पनि छ, पर परसम्म पनि स्पष्ट देखिन्छ । ठुलो लामो घाटी भएको घर पालुवा जनावर पनि छ । यहाँ यसलाई ऊँट भन्दा रहेछन् ।
यहाँ हजुरको धेरै सम्झना आउने गरेको छ । खासगरी हजुरले पकाएका खाने कुराहरू । यहाँको खाना पनि खै कस्तो कस्तो ? खान मनै नलाग्ने ।
मेरो बारेमा खास्सै चिन्ता लिनु पर्दैन । अनि बुबाको अवस्था कस्तो छ ? खोकी बढेको छ भन्ने सुनेको थिएँ । औषधी समयमा दिनु होला अनि चुरोट बिँडी खान नदिनुहोला, खोकी बढ्न सक्छ । यो पत्र बुवा पनि सुन्दै हुनुहुन्छ होला, यो अभागी छोराको विनम्र अनुरोध कृपया ! पालना गर्नु होला । अँधेरी खोला बलाबेदामा उर्लेर आउने गरेको छ । देशमा बाढी पहिरो आइरहँदा अँधेरी पनि नआउला भन्न सकिन्न । कृपया ! त्यसमा पनि ध्यान दिनुहोला । अबको आउने दशैमा पक्कै आउने वाचा गर्दछु । यसपल्ट कार्की दाइको ब्याजसहित ऋण तिर्ने गरी आउँदै छु ।
खेतमा धान लहलह झुलेका अनि लेकबेसी गरेको ती पलहरु अझै मेरा स्मरणमा अझै ताजा छन् । यसपाली धान भित्र्याउने गरी पक्कै पनि नेपाल फर्कने छु । अनि सदाको लागि मेरो प्राणभन्दा पनि प्यारो जन्म भुमिमा आफ्नो सीप र कलालाई आफ्नै देशमा बसी रमाएर काम गर्ने छु ।
बाकी अंश नेपालनाम्चामा क्रमशः
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

