भियतनाममा मायाको भाषा

देशबाहिरः आमा खुशी, उनीहरु खुशी अनि त्यो देखेर म पनि खुशी

सरिता शर्मा ‘शैली’

पल्लो कोठामा दुई जना भियतनामी महिला बस्थे । मेरा छिमेकी । म भर्खरै आएकी विदेशी महिला देखेर उनीहरू आपसमा कुरा गर्थें अनि मसँग पनि केहि सोधपुछ । तर, उनीहरूको लोकल भाषा म नबुझ्ने अनि उनीहरू अङ्ग्रेजी पटक्कै नबुझ्ने । तैपनि इशाराबाटै कुराकानी चलिरहन्थ्यो ।

मलाई एक्लै देखेर मेरो कोठामा पनि पस्थे । मैले चिया, तरकारी आदि पकाएको अनौठो मानेर हेरिरहन्थे । कहिलेकाही मौसमी सागसब्जी र फलफूल मलाई पनि दिन ल्याउँथे । म उनीहरुको फोटो र भिडियो खिचेर देखाउँथे । उनीहरु मख्ख परेर हेर्दै हाँस्थे अनि गीत गाउन थाल्थे । म त्यो पनि रेकर्ड गरेर देखाउँथे । उनीहरू दङ्ग पर्दै नाच्न थाल्थे । केहि समयपछि म कम्पनीले दिएको अपाटैमेन्टमा सरे । म दिउँसोको समयमा सरेकोले उनीहरूले थाहा पाएनन् । काममा गएका थिए ।

नयाँ बजार घुम्दै थिउँ । नजिकै कसैले चिच्याएझैं लाग्यो । भाषा नबुझेकाले ध्यान दिइनँ । अचानक कसैले झ्वाम्म अङ्गालो हाल्यो । म झसङ्ग भएँ । तिनै मेरा दुई साथी रहेछन् । दुवैले मलाई च्याप्प समातेर के के सोधे के के । उनीहरूको आत्मीयता देखेर लाग्यो कि म उनीहरुकी बचपनमा बिछोडिएकी दिदीबहिनी हुँ, जसलाई खोज्दा खोज्दा बल्ल भेटिएकी छु ।

सडककिनारमा उभिएर निकैबेर भलाकुसारी भयो । अङ्गालो हालेर माया गरे । यसरी मायाको भाषामा कुरा गरेर हामी बिदा भयौं । मैले धेरै ठाउँमा धेरै पटक यस्तो माया र व्यवहार पाएकी छु । निस्वार्थ सहयोग पाएकी छु । मेरो जात, धर्म, उमेर, भाषा र परिवेशप्रति कुनै आग्रह वा पुर्वाग्रह नराखी मद्धत गर्ने अनेकौं भियतनामीहरु भेटेको छु ।

केही महिनाअघि मेरी आमा तीन महिनाका लागि भियतनाम आउनुभएको थियो मसँग । साइगोनमा मेरो अपाटर््मेन्ट नजिकै पार्कमा हामी बिहान बेलुका भ्रमणका लागि निस्कन्थ्यौं । पार्कमा वाकिंग र एक्सरसाइज गर्नेहरू प्रसस्तै हुन्छन् । आमाको निधारको टीका र नाकको फुली देखेर महिलाहरु नजिकै आएर कुरा गर्न खोज्थे । अङ्ग्रेजी बुझ्नेलाई त म बुझाइदिन्थेँ । नबुझ्नेहरु आमासँग कुरा गर्न थाल्थे, दुवै आआफ्नो भाषामा। त्यहाँ पनि भाषा कहिल्यै बाधा बनेन । तीन महिनाको बसाईमा आमाका थुप्रै साथी बने । आमा खुशी, उनीहरु खुशी अनि त्यो देखेर म पनि खुशी ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button