
चराको चिर्बिरमा बा
'ए बा दुख, अपहेलना, अन्याय र अभाव त म एक्लै लडौंला तर मेरो सफलताको पहिलो खुशी तपाईंलाई सुनाउन चाहन्छु तर … ?
बाबा स्मृति
निमा गिरि
अधिवक्ता
जतिबेला बा जीवित हुनुहुन्थ्यो मलाई लाग्थ्यो, ‘मेरा बा मभन्दा पनि दिर्घजिवी हुनुहुन्छ, सधैं मेरा गल्ती कमजोरी औंलाउनुहुन्छ, मलाई सल्लाह सुझाव दिइरहनु हुन्छ ।’ फेरि लाग्थ्यो, ‘म त पढलेख गरेकी छु, बुझकारी छु तर पनि बाले कति सल्लाह दिनु परेको ! अब त म बुझ्ने भैसकेँ ।’
उच्चा शिक्षा अध्ययनको क्रममा साहित्य अनुरागी मेरा साथीहरुको आयोजनामा काठमाडौको वाल्मीकि क्याम्पसमा हरेक शनिबार फरक फरक कविहरुलाई निमन्त्रणा गरी कवि र सहभागीको रचना सुन्ने र सुनाउने गरिन्थ्यो । एक शनिबार कवि मोमिला जोशीलाई सुन्न म त्यहाँ पुगेकी थिएँ । उहाँले आफ्नो बाको सम्झनामा भावुक हुँदै कविता सुनाइरहनु भएको थियो । र, मेरो छेउमा अर्का एक व्यक्ति जिम्मी लामाज्यु आफ्नो ५ बर्षको छोरी साथमा राखेर कविता सुन्दै भन्दै हुनुहुन्थ्यो, ‘हेर निमा, मलाई मेरा २ छोरी भएकोमा निकै आनन्द आ’को छ, मेरा छोरीले यसरी सम्झिनेछ्न् मलाई ।’ त्यस्तै अर्को प्रसङ्गमा रास्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.गोविन्द पोखरेलले ९० को दशकमा पुगेका आफ्नो बाबुको मृत्युपछि निकै भावुक भएर फेसबुक भित्तामा भनाइ राख्नुभयो । जोशी र पोखरेलको भनाइ सुन्दा, हेर्दा त्यतिबेला मलाई लागेको थियो (जतिबेला मेरो बुबा जीवित हुनुहुन्थ्यो), ‘उमेर पुगेका बाबुआमा मरिहाल्छ्न नि । कति धेरै भावुक भएको !’ अहिले मलाई लाग्छ, ‘त्यो भावुकता अनायास अन्तस्करणबाट आउँदो रहेछ ।’
मेरा बा मेरो प्रिय साथी हुनुहुन्थ्यो । बा प्रायगरी भनिरहनु हुन्थ्यो कहिलेकाहीँ हामीले नपढेको देख्दा, ‘तिमीहरुलाई (छोराछोरीहरु) पढाउनु पर्छ भनी मकै फल्ने लोभलाग्दा बारी र पाखो (पुर्ख्यौली थलो) लाई नुन छरेर यो नदिको छेउ (धान मात्र उत्पादन हुने ठाउँ) स्कुल नजिक लिएर राखेको, अहिले पढ्न मन नगर्ने !’ भन्दै लठ्ठी र लात्तीले कुट्नु हुन्थ्यो । आमाले ‘लात्ती नलगाउनु छोरीलाई, पाप लाग्छ’ भन्दा भन्दै हुन्थ्यो ‘नपढ्ने, मेहनत नगर्नेलाइ लात्ती लगाउँदा पाप होइन, धर्म हुन्छ, भोलि पढेर मेहनत गरी आफनो खुट्टामा आफै उभिन सुरु गरेसी बुझ्छन्, बाउले पाप गरेका रहेछ्न कि पोषण ।’ बाको त्यो कारबाही भोग्दा र सुन्दा लाग्थ्यो, ‘म त मेरै खुट्टामा उभिएकी छु । बाको त आफ्नै खुट्टामा छ्न् ।’ कहिलेकाहिँ त कस्तो जन्जीरमा फसे जस्तो लाग्थ्यो ।
९ सन्तानमध्ये १ सन्तानको मृत्यु भएको र बाँकी ८ छौ हामी । बाको अनुशासन निकै कडा र विभिन्न नियम थिए हाम्रो घरमा । उमेर अनुसार बिहान उठ्ने समय तोकिन्थ्यो हामीहरुको । आमाबा बिहान ४ बजे । केहि दिदीदाइ ५ बजे । त्यसपछि अरुको ६ बजेभित्र । सकेसम्म चरा चिर्बिराउनुअगाडि नै उठ्नु पर्छ भन्ने । १० बर्ष मुनिका हामीलाई बा आफैले पिटी खेलाउनु हुन्थ्यो । शारिरिक अभ्यास गराउनु हुन्थ्यो । हामी सबैले एकै स्कुल पढेउँ । सबै जसो कक्षामा दिदीदाइ पढ्नु हुन्थ्यो । हरेक बर्ष बुबाले घरमा पुरस्कार घोषणा गर्नु हुन्थ्यो । स्कुलमा प्रथम हुनेदेखि राम्रो नम्बर ल्याउनेलाई बुबाले बिशेष माया गर्नुहुन्थ्यो ।
बार्षिक परिक्षाको अन्तिम परिणाम आएको दिन हाम्रो घरमा रिजल्ट समीक्षासहित पार्टी हुन्थ्यो । खाना खाने नियम अन्तरगत भान्सा कोठाको चौकामा बा बस्ने र चौकाको सामुन्ने बिपरित आमा बस्ने । आमाको छेउबाट सबभन्दा सानोदेखि बस्न सुरु गरी बाको छेउसम्म आउँदा उमेर अनुसार क्रमशः आफ्नो सिटमा बस्दै बाको छेउसम्म पुगिन्थ्यो । खाना खाने बेला कोहि बोल्यो भने घोघरीको लेउरोले हान्छु भन्ने गर्नुहुन्थ्यो बाले अनि मैले बालाई सोधेको थिएँ, ‘बा ! घोघरीको लौरो कस्तो हुन्छ ?’ काँडैकाँडा भएको भनेपछि सोच्थेँ, ‘काँडैकाँडा भ’को लौरोले हान्दा हात त रक्ताम्य हुन्च होला !’ खाना खाने बेला कसको आँट होस् बोल्ने तर बाले जतिपटक घोघरीको लौरो भने नि अहिलेसम्म मैले त्यो लौरो देखेकी छैन । र, अर्को कुरा खाना खाएसी सबैले आफ्नो थाल अनिवार्य माझ्नु पर्ने र बालाई त्यो माझेको थाल रुजु गराएसी भाडा र्याकमा राख्नु पर्ने । बाँकी रहेको ठुला भाडा बाआमा मिलेर माझ्नुहुन्थ्यो । त्यसपछि हामी सबै छोराछोरीका लागि बाले मैन्टल बाल्दिनुहुन्थ्यो । र, सब चुपचाप पढ्न सुरु हुन्थ्यो । पढ्दापढ्दै बा नभएको मौका पारी कहिलेकाहिँ बैठकको ढोका लगाई हामी आ-आफ्नो कपीमा शून्य मिलाउने खेल खेल्थ्यौं । बाले हामीलाई अनुगमन गर्न ढोकाको बीचमा सानो प्वाल थियो । बा त्यो प्वालबाट हामीलाई अनुगमन गर्नुहुँदो रहेछ । त्यसपछि त बाको कारबाही सुरु भैहाल्ने । बाको अनुशासनभित्र बिठ्याइ चलेकै हुन्थ्यो । जस्तै बलिरहेको मैन्टलमा धेरै दम दिएर मट्टी खसाल्ने, मौन खेम खेल्ने अनेक इत्यादि ।

एक दिन, जतिबेला म कक्षा ३ मा पढ्थे, साथै म माथिको दिदी र म एकै कक्षा २ बाट ३ मा जाँदा प्रथम र द्वितीय भएका थियौ, हामीसँग पढ्ने एक जना केटा साथीले नुन खुर्सानी खान्छौ भनी सोधे । मैले हुन्छ भनेँ तर मैले थापेको हातलाई पछाडिबाट हानेर मेरो आँखाभरी नुन पर्यो अनि उनले हाँस्दै भने ‘बल्ल खाइस्, खुब तेरो दिदी बहिनी मात्र प्रथम द्वितीय हुने, तिमीहरुको मात्र तालुमा आलु फल्ने ।’
त्यसपछि घरमा गइ बुबालाई रुँदै मलाई आँखामा नुन हालिदियो भनेँ । बाबाले ‘तैले गल्ती गरेकी थिस् कि नाइ’ भन्दा ‘मैले थिइनँ’ भनेँ । बाले उल्टै मलाई हकार्दै भन्नुभयो, ‘पिटाइ खाएर रुँदै आउने होइन, पिटेर आउने हो यहाँ ।’ त्यसपछि मैले प्रतिकार गर्न सुरु गरेँ । केही भए बुबा हुनुहुन्छ नि भन्ने लाग्ने । त्यसपछि यति धेरै आत्मविश्वास बढ्यो कि डर नै नलाग्ने । बोल्न, कुरा राख्न सबैमा अगाडी नै बढ्ने म, अन्याय नगर्ने अन्याय नसहने, जहिले बुबाको आधारभुत लाइन थियो । माओवादी सशस्त्र द्वन्दमा मेरो परिवार पनि प्रभावित भयो र मेरो परिवारको राजनितीक आस्था र मेरो दाजु सशस्त्र प्रहरी फोर्समा भएको कारण हामीले युद्धको चेपुवामा पर्यौं ।
कु गरेपछि देशबासीलाई सम्बोधन गर्ने नाममा राजा ज्ञानेन्द्र देश भ्रमणमा निस्केका थिए । त्यो समय ज्ञानेन्द्र कैलाली भ्रमणमा जाँदा सुरक्षार्थ खटिएका मेरो दाइको सुरक्षा फौज टिम एम्बुसमा पर्यो । र, मेरो दाइ सिकिस्त । र, अर्को पटक कुसुम बाँकेमा दोहोरो भिडन्तमा पर्नुभयो । त्यस्तो अवस्थामा आमाले छोरालाई जागिर छोड्न भनौं भन्दा बाले भन्नुहुन्थ्यो, ‘देशलाई चाहिएको बेला सिनामा गोलि लगाउन सक्नु पर्छ मर्दले । भगुवा भएर हुन्छ ? के तेरो छोरो मात्र मर्छ ? देशका तँजस्तै आमाका छोरा मरेका छन् ।’ बाको यी र यस्ता गर्जन सुन्दै हुर्केकी म । बा भन्नुहुन्थ्यो, ‘तैले जति पढ्, जति धनी बन्, जति बिलासी जीवन बिता तर तैले समाजको लागि कुनै योगदान गरिनस् भने तँलाई समाजले सम्मान गर्नु पर्ने कुनै जरुरी छैन । मात्रै तँ मृत्यु कुरेकी हुनेछ्स् ।’ सधै अन्यायविरुद्द बोल्न उत्साहित गर्ने मेरा बा आज हामीसँग हुनुहुन्न ।
जसरी बाले मलाई हुर्काउनु भयो, त्यसरी समाजमा छोरीहरु बिरलै हुर्कांइदो रहेछ । छोरी हाँस्न हुन्न, धेरै बोल्न हुन्न, अपमान सहनु पर्छ, छोरा छोरीबाहिर बराबर हो भनेता पनि समानताको बिषयको कार्यान्वयन र छोराहरुको हुर्काइ निकै कमजोर रहेछ । तसर्थ बोल्ने छोरी कफिडेन्ट छोरीहरुले विद्वान छोराहरूबाटै प्राज्ञिक हिँसा भोग्नु परिरहेको छ ।
एक दिनको कुरा हो, म सांसद गगन थापाज्युको घरमा गएकी थिएँ । उहाँहरुको पति पत्नी आफ्ना २ छोरीहरुलाइ पढाउँदै हुनुहुन्थ्यो । र, भन्नुभयो, ‘सुन निमा ! मैले गार्गीलाइ के भन्दो रहेछ भनेर ‘छोरी अब तिमी यो देशको प्रधानमन्त्री बन्नु पर्छ भन्दा उसले मलाई बाबा पहिला त्यो संविधान लिनु त, त्यहाँ भएको विभेद हटाउ भन्छ’, कसरी यति सानो बच्चालाई संविधानमा विभेद छ भन्ने थाहा भएको ? तर म मेरो छोरीलाई तिमी कमजोर हौ भन्ने कुरा कुनै एङ्गलमा गराउँदिन ।’ आनन्द लग्यो सुन्दा ।
मनमनै सोचेँ, निश्चित उमेरपछि छोरीहरु बासँगै रहन सक्दैनन् । समाज समानताको पक्षमा निकै पछि छ । समाजको बुझाई र छोरीको बुझाइमा तादम्यता नमिल्न सक्छ । हुर्कदै गएपछि आफ्नो करियर पेशागत वृत्तिविकासको हरेक ठाउँमा अन्याय र विभेदविरुद्ध विद्रोह गर्नु पर्छ । त्यसो गर्दा घरीघरी थकाइ लाग्न सक्छ । वितृष्णा लाग्न सक्छ । त्यसैले अहिलेबाट त्यो कुरा पनि सिकाउन पर्छ । बाको साथसँगै हुँर्कैदै गएको मेरो आँटलाई कहिलेकाहिँ मेरो पेशासँग जोडेर हेर्न मन लाग्छ, म कानुन व्यवसायीको रुपमा काम गर्दा विवाह भएको केही समयपछि पति पत्नी स-साना बच्चाहरु दुवै हातले बोकेर सम्बन्ध बिच्छेद गरेर जाने, कोहि बाबुबिहिन कोहि आमाबिहिन । तिनीहरुलाई मानसिक असर पर्ला कि नपर्ला ? राज्यले कसरी अभिभावकत्व दिने होला ? के योजना छ होला राज्यसँग ? निकै गम्न मन लाग्छ ।
बाले हामीलाई छोडेर गएको आज २ बर्ष पुग्छ । अहिले आएर बालाई अहोरात्र सेवा गर्न मन लागेको छ । घन्टौ बासँग गफिन मन लागेको छ । मेरो अनुरोध छ, यदि तपाईंसँग बा हुनुहुन्छ भने सोच्नुस्, तपाईं धेरै भाग्यमानी व्यक्ति हो । बाको निमित्त जे सेवा गर्नु मन छ, आजै गर्नुहोस् । र, भन्न मन लाग्छ, ‘ए बा दुख, अपहेलना, अन्याय र अभाव त म एक्लै लडौंला तर मेरो सफलताको पहिलो खुशी तपाईंलाई सुनाउन चाहन्छु तर … ? बिहान चराको चिर्बिरअगाडि उठेँ भने तपाईं भएजस्तै लाग्छ, म बाको अनुशासनमा छु जस्तै लाग्छ ।
बा गुमाउनेहरु सबैको तर्फबाट मेरा बालगायत सम्पुर्ण स्वर्गबासी बाहरुलाई हार्दिक श्रद्धाञ्जली ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

