
राज मेरो खास विद्यार्थी थियो
मार्मिक
अम्बिका घिमिरे
ममीले मेरा हातका औँलाहरु देखाउँदै कुन औँला काट्दा बढी दुख्छ भनेर सोध्नुहुन्थ्यो । म जुन काटे नि उत्तिकै दुख्छ भन्थेँ अनि ममी भन्नुहुन्थ्यो, एउटी आमाको लागि आफ्नो सन्तान र एउटा गुरुका लागि आफ्ना चेलाहरु हातका औँला जस्तै हुन् । तर, ममीको त्यो कुरा मलाई कहिल्यै चित्त बुझेन ।
म सोच्थेँ, ममीले मेरो दिदीलाई, बहिनीलाई र भाइलाई भन्दा मलाई धेरै माया गर्नुहुन्छ । आज पनि मलाई त्यहि लाग्छ, म नै ममीको खास सन्तान हुँ । जब म शिक्षिका बनेँ, तब पनि सबै विद्यार्थी बराबर हुन् भन्ने मलाई लागेन, कोही खास हुँदा रहेछन् । राज मेरो खास विद्यार्थी थियो, ऊ यति मिठो हाँस्थ्यो कि उसको एक हाँसोमा म मेरा सबै दुख बिर्सिन्थेँ । साह्रै मिठो बोल्थ्यो । सबैसँग राम्रो ब्यवहार गर्थ्यो । शिक्षक शिक्षिकाहरुलाई एकदमै सम्मान गर्थ्यो । पढाईमा उत्कृष्ट थियो । ऊ सर्वगुण सम्पन्न बच्चा थियो । पारिवारिक अवस्था राम्रो थियो । बुवाआमाको एक्लो सन्तान थियो । मलाई लाग्थ्यो, राज भविष्यमा धेरै ठुलो मान्छे बन्नेछ । म सोच्थेँ, ऊ मेरो छोरा भैदिएको भए । म राजको आमाको भाग्यसँग जल्थेँ । म पनि त्यस्तै सन्तानको आमा बन्न चाहन्थेँ ।
म कक्षा पाँचको कक्षा शिक्षिका थिएँ । कक्षामा पस्ने बित्तिकै आँखा राजतिरै पुग्थे । त्यो दिन राजबाहेक सबै थिए । राज थिएन । आज राज किन आएन भनेर सोच्दै थिएँ । एक जना म्याम आएर राजको आमाको सवारी दुर्घटनामा मृत्यु भएको अत्यन्तै दुखद खबर सुनाउनु भयो । टेकेको जमिन भासिएजस्तै भयो । साह्रै नराम्रो लाग्यो । धेरै दिनसम्म दिमागमा त्यहि कुराले डेरा जमायो । केही दिनपछि राज स्कुल आयो । तर, त्यो मुस्कान लिएर आएन, त्यो चन्चलता लिएर आएन । राज त राज नै होइन जस्तै भएर आयो ।
म उसलाई सम्झाउन चाहन्थेँ, पुरानै अवस्थामा फर्काउन चाहन्थेँ । उसको खाटो बसेको घाउ फेरि आलो बन्ला कि भन्ने डरले त्यस्तो गरिनँ । आमा बितेको दुई महिना नपुग्दै राजको बुवाले दोस्रो बिहे गर्नुभयो । राजको अवस्था दिनप्रति दिन दयानीय जस्तै बन्न थाल्यो । खासै कसैसँग नबोल्ने, एकोहोरो टोलाइरहने, गृहकार्य पनि नगर्ने गर्न थाल्यो ।
मैले ऊसँग नजिक हुने, आन्तरिक कुरा बुझ्ने र उसलाई सम्झाउने धेरै असफल कोशिस गरिरहें । उसको अवस्थामा सुधार आएन । अचानक राज स्कुल आउनै छोड्यो । उसको बुवाको नम्बरमा फोन गरेर राजको बारेमा सोधेँ, राज घर छोडेर भाग्यो भन्ने अति गैरजिम्मेवारीपूर्ण जवाफ पाएँ । म राजलाई एउटी आमाले जत्तिकै प्रेम गर्थें तर खोइ त ऊप्रति मेरो अधिकार ? बिना अधिकारको भए पनि कर्तब्य निभाउन उसलाई खोज्न चाहन्थेँ ?
पुल्चोकसम्म जाने काम थियो । लगनखेलबाट माइक्रो चढें । सहचालक लेखिएको हरियो पातलो ज्याकेटभित्र एउटा चिनेको अनुहार देखेँर झस्किएँ । उसले मलाई देखेर टाउको निहुरायो । उसले पेशेवार सहचालकले जस्तै भरिएको माइक्रोभित्र थुप्रै मान्छे कोच्यो । माइक्रो पुल्चोक पुग्यो तर मलाई झर्न मन लागेन । सहचालकसँग दुई जना दिदीहरुको कुन्नि के विषयमा भनाभन भयो । ती दिदीहरुले सहचालकलाई भन्नु नभन्नु गाली गरे । यी खलासीका जातै यस्तै हुन् पनि भने । कुनै आमाले आफ्नो सन्तान खलासी बनाउन जन्माएकी होइनन् । कुनै खलासीहरु जन्मजातै खलासी भएका पनि होइनन् । ती सहचालक जत्रै बच्चालाई काखमा च्यापेर गारो भयो कि बाबु भनेर बेलाबेला सोधिराख्ने आमाहरु पनि ती सहचालकका पिडा किन बुझ्दैनन््र ? राज भेटिएकोमा थोरै खुशी लाग्यो तर उसलाई त्यो अवस्थामा देख्दा मन एकदमै रोयो ।
राजसँग कुरा गर्न एकान्तको खोजीमा रत्नपार्कसम्म पुगेकी थिएँ । माइक्रो खाली भयो । राजले मलाई नचिनेको जस्तै व्यवहार गर्यो । मैले राजको हात च्याप्प समातेर तानेँ । सरी म्याम भनेर टाउको निहुरायो । सौतेनी आमाको दुर्ब्यबहारले गर्दा घर छोडेको र एकजना चिनेको दाइले यता काम लगाइदिएको लगायत धेरै कुरा बेलिबिस्तार सुनायो । मेरो आँखामा आँसु आयो । ऊ पनि रोयो । ऊ पढ्न चाहन्थ्यो । ठुलो मान्छे बन्न चाहन्थ्यो । स्वर्गबासी आमाको सपना पुरा गर्न चाहन्थ्यो तर घर फर्किन चाहदैनथ्यो । अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था संचालन गरेका एकजना दाइ चिनेको थिएँ । उहाँलाई फोन गरेर राजको बारेमा कुरा गरेँ । उहाँले राजको जिम्मा लिन सक्ने कुरा गर्नुभयो । राजलाई लिन रत्नपार्क आउनुभयो । गैरसरकारी संस्थाको सहयोगमा राज राम्रो स्कुलमा कक्षा दशमा पढ्दै छ ।
मलाई अहिले पनि त्यहि लाग्छ, राज भविष्यमा ठुलो मान्छे बन्छ । आजकल म हरेक सहचालकको पहिरनमा राजको कथा लेखिएको देख्छु ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)