
सीता काका बिते, डाक्टर छोराले मास्कले अनुहारको लाज छोपे
मास्क महिमा
अम्बिका घिमिरे
सीताराम काकाको घमण्डदेखि दुर्गतिसम्मको यात्राले गाउँका सबैको मनमा ठुलै पहिरो गएको छ । गाउँका ठुलै जमिनदार थिए । कसैलाई गारोसारो पर्दा दुई चार पैसा निकाल्न सक्थे । अरुलाई हेप्ने होच्याउने प्रवृति भए पनि गाउँमा सबैको हाईहाई नै थियो ।
सन्तानको नाममा दुई भाई छोरा थिए तर छोराप्रति दसौँ छोरा भए बराबर घमण्ड थियो । छोरी पाउनेहरुलाई त मान्छे नै नगन्ने स्वभाव थियो । उखाने सीताराम काका ‘जसका छोरा उसका धन, जसका भैँसी उसका बन’ बारबार भनिरहनु हुन्थ्यो । हुन पनि गाउँको जग्गाजमिन बेचेर छोराहरुलाई डाक्टर बनाएका थिए । सहरिया बुहारी बिहे गरेर सहरतिरै बस्थे ।
सबैतिर कोरोनाको महामारी फैलिएको थियो । एक दिन एक्कासी सीताराम काकालाई ज्वरो आयो । सिटामोलले छोएन । सास फेर्न गारो भयो, दम बढ्यो । गाउँका मान्छे कोरोनाको डरले कोही फर्केर हेर्नसम्म गएनन् । काकीले छोराहरुलाई फोन गरेकी छु भन्नुहुन्थ्यो । छोराबुहारी कोही आएनन् । काकालाई दम बढ्दै गयो । ज्वरो बढ्दै गयो न काकाको सम्पतिको काम लाग्यो न डाक्टर भएका छोराहरुको सीपको काम लाग्यो, न ज्वरो नाप्ने थर्मोमिटर पाए, न रोग अनुसारको औषधी पाए । काकालाई हस्पिटलसम्म पुर्याउने कोही भएन । पहिचान नै हुन नसकेको रोगले काकाको प्राण लग्यो । काकाको रोगको चिन्ताले गल्नुभएकी काकीलाई शोकले कहिल्यै नउठ्ने गरी ढलायो । दुवै खम्बा एकै चोटी ढले । बिरामी भएको खबर पाउँदा नआएका छोराहरु मृत्युको खबर पाएपछि मास्कले आफ्नो अनुहारको लाज छोपेर आए । लाश कसैले छोएन । नेपाली सेनाको गाडीले लग्यो । लाशसँगै छोराहरु पनि सहर फर्किए । काकाकाकीले काजक्रियासम्म पाएनन् होला । आज एक हुल मान्छेहरु सीताराम काकाको जग्गा नाप्दै थिए । सायद जग्गा बेचिँदै थियो । काकाको छोराहरुले मुखमा मास्क र फेससिल्ड लगाएर आफ्नो लाज ढाकेका थिए ।
समाजको अगाडि मुख देखाउन लायक नभएकाहरुले लाज छोप्नको लागि मास्कको प्रयोग गर्दा रहेछन् । कोही कोरोनाबाट बाँचे । कोही धुलोधुवाँबाट बाँचे । कोही मौसमी रुघाखोकीबाट बाँचे । कोही अन्य सरुवा रोगहरुबाट बाँचे तर कुरा यस्तो हो, धेरैलाई मास्कले बचायो । मास्क धेरै पहिला नै सर्वव्यापी हुनुपर्ने एकदमै उपयोगी चीज रहेछ ।
जे होस्, ढिलै भए पनि धेरैले मास्कको प्रयोगबारे बुझे ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)