… र त्यो दिनबाट चीनको ‘सर्वहारा’ यात्रा सुरु भयो

ब्राह्मणपुत्रको लकडाउन डायरी–६४
भरत शर्मा

चीनीको सबैभन्दा महत्वपूर्ण दिन हो आज । सय बर्षअगाडि सन् १९२१ जुलाई १ मा केही नयाँ सोच राख्ने चीनी युवाहरुले सर्वहाराको हितका लागि अभियान शुरु गरे । त्यही अभियान विस्तारै चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको बाटोतिर अघि बढ्यो । चीनले सन् २०२१ लाई कम्युनिष्ट पार्टी स्थापनाको एक सय बर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । चीनमा रहेका मित्रहरुसँग शुभकामना आदानप्रदान गरियो ।

एकहप्ता पहिलेदेखि नैं चीनको सरकारी अन्तर्राष्ट्रिय टेलिभिजन ‘सिजीटिएन’ले एकसय बर्षका उपलब्धीहरु देखाइरहेको थियो । सय बर्षअघि र पछिको चीनको कुनै कल्पना गर्न सकिदैन । विकासको काममा चीनले गरेका काम र हाल जारी विकास अभियान लोभलाग्दो छ ।

इतिहासले भन्छ, सन् १९९२ मा सन् यात्सेनको नेतृत्वमा चीनमा राजतन्त्र हटाएर गणतन्त्र स्थापना भएको हो । हामीले अहिले पनि चीनको बारेमा कुरा गर्दा चीनको ठूलो नेता भनेको माओ चेतुङ हो भन्ने गरेका छौं । माओका नाम लिनु भन्दा पहिले सबै चिनी जनताले अध्यक्ष माओ भन्ने गर्दछन् । मैले पनि माओको नाम लिँदा अध्यक्ष माओ भन्ने गरेको थिए ।

विकासको कुरा के गर्नु ? विचित्र विकास गरेको छ चीनले ।

एक अर्ब ४० करोड जनसंख्या रहेको देशमा अहिले सन्तान नीति पनि परिवर्तन भएको छ । अहिले चीनमा तीन सन्तान जन्माउने नीति छ । केही बर्ष पहिले एउटा मात्र थियो । त्यसपछि दुई र हालैमात्र तीन सन्तानको जन्म दिनसक्ने नीति लिएको हो ।

भनिन्छ, चीनको कम्युनिष्ट पार्टी विश्वको सबैभन्दा ठूलो राजनीतिक दल हो । ९ करोड सदस्य रहेको पार्टीले देशको विकास र समृद्धिका लागि सात दशकदेखि निरन्तर एकलब्य नीति अनुसार विकास गरिरहेको छ ।

आज चीनमा राष्ट्रपति सी चिनपिङको सम्बोधनले चिनियाँ जनतामा अर्को खुसी छाएको छ । आज चीन समाजवादी नीति अनुसार आधुनिक र जनताको हितका लागि काम गर्ने मुलुक भएको छ ।

चीनले कुनै देशलाई हस्तक्षेप नगर्ने तर चीनप्रति गलत मनसाय राख्नेहरुको प्रतिकार गर्न पनि तयार भएको सन्देश दिएर जनताको मनोबल उच्च बनाउने सम्बोधन गरेका छन् ।

चीनी जनता नेताहरुलाई गाली गर्दैदन् । राष्ट्रपतिले अघि सारेका योजना सधै हाम्रो हितमा हुन्छ भन्ने जनविश्वास छ । त्यसैले त आज चीन–चीन भएको छ ।

चीनले शान्तिपूर्ण विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र मानव भाग्य समुदायको निर्माण गर्ने योजना अनुसार भन्दै बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) परियोजना अघि सारेको छ । नेपाल बीआरआईको सदस्य देश हो ।

विश्वको सबैंभन्दा ठूलो राजनीतिक पार्टी र विश्वको दोस्रो अर्थतन्त्र भएको चीनले अबको केही बर्षभित्र पहिलो हुनका लागि प्रयास गरिरहेको छ ।

चीन–अमेरिका बीचसम्बन्धमा कटुता आएको छ । चीनले आफना छिमेकी र सीमा जोडिएका १४ वटा देशहरुसँग राम्रो सम्बन्ध विस्तार गर्न खोजेको छ । तर, भारतसँग चीनको सम्बन्ध राम्रो हुन सकेको छैन ।

गतबर्ष गलवान घाँटीमा दुई देशका सेनाहरुबीच घमासान विवाद हुँदा दुवै देशका सीमा सिपाहीहरुको मृत्यु भयो । अहिले पनि चीन–भारत बीच कटुता कायम छ । भारत बीआरआरआई सदस्य र परियोजनामा सामेल भएको पनि छैन ।

आज चिनियाँ राष्ट्रपति सीको सम्बोधनलाई विश्वका सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन र प्रशारण गरिरहेका छन् ।

राष्ट्रपति सीले सम्बोधनमा चिनियाँ सेनालाई विश्वको उत्कृष्ट बनाउने योजना पनि अघि सारेका छन् । चीनले अन्य कुनै देशलाई हस्तक्षेप नीति नलिने तर आफनो देश र जनताप्रति हस्तक्षेपको नीतिलाई सहन नसक्ने कडा अभिब्यक्ति दिएका छन् ।

चीनमा पछिल्लो समयमा गरिएको सर्वेक्षण अनुसार सरकार र नेताहरुले जनताको पक्षमा काम गरेको भन्ने ९५ प्रतिशत जनता छन् । पछिल्लो समय कोरोना महामारीमा एक अर्ब मानिसले कोरोना विरुद्वको खोप लगाइसकेका छन् ।

चीनले विकाससँगै गरिवी निवारणमा पनि ध्यान दिएको छ । केही दिन अघिमात्र चीनको सबै प्रान्तसँग तिब्बतलाई जोड्ने रेलमार्गको उद्घाटन गरिएको छ । विश्वको दोस्रो ठूलो जनविद्युत मात्र होइन, आकाशमा उड्ने रेलमार्ग समेत चीनले बनाइसकेको छ ।

सडकमार्ग, रेलमार्ग, हवाईमार्ग र जनताको आधारभूत आवश्यकता तथा गरिवी निवारणमा चीनले गरेका कामको बखान गरेर सकिदैन । पछिल्लो दुई दशकमा चीनले निकै फड्को मारेको छ । वर्तमान राष्ट्रपति सीको नेतृत्वमा चीनले अकल्पनीय विकास गरेको छ ।

विहीबार विहान चीनको राजधानी फूलले सजाइएको थियो । राष्ट्रपति सीको जोशिलो सम्बोधन सुन्न ब्यग्र चीनी जनताले सय बर्षको इतिहासलाई मूल्याङ्कन गर्दै अघि बढ्ने प्रण गरेका छन् ।

मेरा चीनी छात्र स्याओले भने, ‘आज हामीले सय बर्षको यात्राको समीक्षा र आगामी दिनको योजना बनायौं ।’

आज हाम्रो देश र हाम्रा देशका कम्युनिष्टका कुरा नगरौं होला । हाम्रो देशमा नाम मात्रका कम्युनिष्ट हुन् । सच्चा समाजवादी देशको कुरा गर्दैगर्दा यताका अवसरवादी कम्युनिष्टको कुरा ग¥यो भने सम्पादकले च्वाट् काटिदिन्छन् । म त नेपालका कम्युनिष्ट नेताको बारेमा लेख्दिनँ ।

लौं, यो ऐतिहासिक अवसरमा चीनमा रहेका चीनी मित्र, छात्र, चीनी जनतालाई हार्दिक शुभकामना ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button