भाग्यमानी सम्झेकी कजिनीसाब संसारकै अभागी

मनका कुरा

अम्बिका घिमिरे

तरकारी किन्न चोकमा निस्केको थिएँ । बाटो क्रस गर्नै लाग्दा एउटा बेस्सरी हाकिएको मोटरसाइकल आएर ठक्कर दियो ।

होसमा आउँदा हस्पिटलको बेडमा रहेछु । जिउँदै छु भन्नेमा ढुक्क भएँ । तर, बेस्सरी जिउ दुखेकोले शरीरका २०६ ओटा हड्डी भाँचिएर ४१२ ओटा जति भयो कि भन्ने भान् भइरहेको थियो । शरीरका सबै अङ्ग छामछुम गरेँ । खुट्टा गरुङ्गो भएको जस्तो लाग्यो । प्लास्टर गरिएको रहेछ । नजिकैको अर्को बेडमा नर्सलाई देखेँर बोलाएँ । ‘खुट्टा भाँचिएकोबाहेक अरु भित्री चोटपटक नभएको र धेरै आँतिएकोले बेहोस भएको’ कुरा नर्सबाट सुनेँ ।

बाहिर श्रीमान र उहाँका साथीहरु रहेछन् । नर्सले बोलाएपछि भित्र आए । सबैजना खुशी भए । अप्रेसन थियटरबाट वार्डमा सारियो । अर्को बेडमा छिमेकी दिदी कजिनीसाब हुनुहुँदो रहेछ । उहाँ चार दिनअघि कार दुर्घटनामा पर्नुभएको कुरा थाहा थियो । घरमा पाँच जना जति नोकरचाकर भएकी, राजदरबारजस्तै अलिसान महल भएकी, महँगा कार फेरीफेरी चढ्ने र बाटोमा हिड्ने मान्छेलाई मान्छे नै नगन्ने स्वभाव भएकी कजिनीसाबको हैसियत अरु बिरामी सरह नै देखेँ ।

अस्पताल र मसानघाटमा सायद कसैको हैसियत मापन गरिदैंन क्यारे ! रात छिप्पिदै गयो । दुखाई बढ्दै गयो । सबैलाई निन्द्राले छोप्दै गयो । सन्नाटा छाउँदै गयो अनि कजिनिसाबको ‘अईया अईया’ भन्ने आवाज बढ्दै गयो । बिरामी कुर्न घरमा काम गर्ने कमला बहिनी बसेकी रहेछिन् । उनले न त कजिनिसाबको ‘आइया आत्था’ सुनिन् न त ‘कमला कमला’ भन्दै बोलाएको सुनिन् । मस्त निदाइरहिन् ।

चिनजान भए पनि खासै बोलचाल हुँदैनथ्यो । मैले आफैँ सोधेँ, ‘दिदी साह्रै दुख्यो हो ?’ उहाँले ‘साह्रै दुख्यो बहिनी पानी खान पाए हुन्थ्यो भनेको कमला निदाइसकिछिन्’ भन्नुभयो । अनि मेरो श्रीमानले उहाँलाई उठाएर पानी खुवाईदिनुभयो । पानी खाइसके पछि उँहाले रुँदै भन्नुभयो, ‘दुखमा साथ दिने श्रीमान पाउनुभएछ बहिनी । तपाई त साह्रै भाग्यमानी ! मेरो श्रीमान अस्ति आएर यसो हेरेर जानुभाथ्यो अनि अहिलेसम्म घरका कोही फर्केर आएका छैनन् । घरमा काम गर्नेहरु पालैपालो आउँछन् । यी यस्तै गरी सुत्छन् । सौताका छोराछोरी भए नि आफ्नो जस्तै गरी माया गरेर राखेकै थिएँ । यस्तो बेलामा फर्केर हेर्नसम्म नि आएनन् । सात पुस्तालाई मोजमस्ती गर्न पुग्ने सम्पति छ । तिमीले महारानीजस्तै सुखसयल पाउँछौ भनेर बाआमाले फकाए । सम्पति मोहले गर्दा आफुलाई भन्दा धेरै मलाई माया गर्ने मेरो प्रेमीलाई धोका दिएर दुइटा बच्चाको बाउसँग बिहे गरेँ । धनसम्पति भनेको सुखशान्ति होइन रहेछ । सुनकै महलमा बसे पनि, पैसाकै डसनामा सुते पनि, सुनकै भाँडामा अमृत नै खाए पनि सुखशान्ति मनमा हुनुपर्ने रहेछ । न श्रीमानको माया पाएँ, न त आमा बन्ने सौभाग्य पाएँ । सुख न महँगा पहिरनमा हुन्छ न त आरामदायी कारमा हुन्छ । सुख त सिर्फ सन्तोषी व्यक्तिको मनमा हुन्छ । मसँग सन्तोष मान्ने कुनै चीज छैन ।’

हो, यस्तै के के धेरै कुरा भनेर धेरै बेरसम्म सुक्क सुक्क गर्दै कजिनिसाब रोइराख्नुभयो । हिजोसम्म मैले निकै भाग्यमानी सम्झेकी कजिनीसाब आज संसारकै सबभन्दा अभागी लाग्यो । बाहिर नरिवलजस्तै कडा देखिनेहरुभित्र कति नरम हुँदा रहेछन् ? मान्छे घमण्डले मात्र होइन, पीडाले गर्दा पनि अरुसँग घुलमिल नगर्दारहेछन् । त्यसपछिका धेरै रातहरुमा कजिनीसाबको सुखदुखको जोडघटाउ गरिरहेँ ।

(नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ मनका कुरामा तपाई पनि आफ्ना मनका कुनै पनि प्रकारका भोगाई र भावना लेखेर nepalnamchaha@gmail.com मा पठाउनुस् । नेपालनाम्चा तपाईंकै साथी त हो । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button