
उनी दोस्रो विश्वयुद्धबारे द न्यूयोर्क टाइम्सलाई पत्र पठाउँथे
जीवनीः एलेन गिन्सबर्ग
योगेन्द्र तिमिल्सिना
अमेरिकी कवि, दार्शनिक र लेखक गिन्सबर्गको जन्म ३ जुन १९२६ मा संयुक्त राज्य अमेरिकाको न्युजर्सी प्रान्तमा नेवार्क भन्ने ठाउँको यहुदी परिवारमा भएको थियो । सानै उमेरदेखि उनी दोस्रो विश्वयुद्ध र श्रमिकका अधिकारबारे राजनीतिक मुद्दासँग सम्बन्धित पत्रहरु द न्यूयोर्क टाइम्सलाई प्रकाशनार्थ पठाउँथे ।
हाइस्कुल पढ्दा शिक्षकहरुको प्रेरणाले उनी वाल्ट विटमनका कृतिहरु पढ्थे । सन् १९४३ मा उनले हाईस्कुलको पढाइ सके र मन्टक्लेअर स्टेट कलेजमा भर्ना भए । त्यसपछि मर्चेन्ट मेराइनमा आंशिक नोकरी गर्दै उनले कोलम्बिया युनिभर्सिटीमा छात्रवृत्तिमा आफ्नो अध्ययन पूरा गरे । उनका पिता हाइस्कुलका शिक्षक र कवि पनि थिए । उनी टि. एस. एलिअटलाई क्लिष्ट कविता लेखेर कविताकै हुर्मत लिएको भनी आलोचना गर्थे । उनकी आमा चाहिँ कम्युनिष्ट पार्टीकी सक्रिय सदस्य थिइन् । उनी कहिलेकाहीँ गिन्सबर्ग र उनका दाजुलाई समेत पार्टी मिटिङमा लिएर जान्थिन् । उनी दुःख पाएका श्रमिकहरुका कथा पनि छोराहरुलाई सुनाउने गर्थिन् ।
१९५० को दशकका यी अत्यन्त विवादास्पद र विद्रोही कवि हुन् । यिनको नाउँ बिट्स र हिप्पी संस्कृतिसँग जोडिएको छ । उनी धर्म, संस्कृति, परम्परा, युद्ध, यौनिक दमन, भौतिकवाद र फौजी कारवाही जस्ता बन्धन र नियन्त्रणबाट उन्मुक्त हुने जमातसँग सम्बद्ध थिए । दोस्रो विश्वयुद्धपछि विश्व दुई विपरीत राजनीतिक ध्रुबमा बाँडिन गयो । यो जमातमा आबद्ध सबै सदस्यहरु राज्यद्वारा नियन्त्रित सबैखाले बन्धनहरुलाई शोषणको हतियारको रुपमा लिन्थे । यस समूहका कविहरु सबै खाले परम्परा, नियन्त्रण र सामाजिक मर्यादाको विरुद्धमा उभिई स्वच्छन्दता र उन्मुक्त समाजको पक्षमा वकालत गर्थे । सन् १९५६ मा उनले आफ्नो गर्जन (हाउल्) भन्ने कवितामा यस्तै भाव व्यक्त गरेका छन् । पूँजीवादको ध्वङ्सात्मक चरित्रलाई भत्र्सना गर्दै उन्मुक्त यौन सम्बन्धलाई लिएर लेखिएको उनको यो कविता कृतिलाई संयुक्त राज्य अमेरिकामा अश्लिल भनी रोक लगाइयो । तात्कालीन अमेरिकी सरकारले समलिङ्गी यौन सम्बन्धलाई अश्लिल भनी अपराधको रुपमा लिएको थियो । सनफ्रान्सिसको प्रहरीले सन् १९५७ मा यस कृतिलाई जफत गरेपछि उनी विश्वभर चर्चामा आउन थाले ।
गिन्सबर्ग बुद्धमार्गी थिए र समलिङ्गी थिए । उनले पुर्वीय हिन्दु धर्म र दर्शनको पनि अध्ययन गरेका थिए । उनका अन्य प्रमुख कृतिहरु यसप्रकार छन् :–
१) अमेरिका, २) काद्दिस, र ३) क्यालिफोर्नियाको एउटा सुपर मार्केट
गिन्सबर्गलाई उनको कृति विश्वबन्धुत्व अभिवादनः कविता सङ्ग्रह (कस्मोपोलिटन ग्रीटिङ् १९८६–१९९२) को निम्ति सन् १९९५ को पुलिटजर पुरस्कार प्रदान गरिएको थियो । अमेरिकामा प्रत्येक वर्ष कविताको लागि दिइने राष्ट्रिय पुस्तक पुरस्कार सन् १९७४ मा उनको कविता सङ्ग्रह अमेरिकी पतन (द फल अफ अमेरिका) ले प्राप्त ग¥यो । १९७९ मा राष्ट्रिय कला क्लबबाट उनले स्वर्ण पदक प्राप्त गरे तथा अमेरिकन एकेडेमी एण्ड इन्स्टिच्युट अफ आर्टस् एण्ड लेटर्समा मनोनित पनि भए ।
अप्रिल ५, १९९७ मा इस्ट भिलेज, न्यूयोर्कमा एलेन गिन्सबर्गको जीवनलिला समाप्त भयो ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)