
माई डेज अफ कोरोना
सुशीला शर्मा
कोरोनाले खुम्चिएर भित्रै बस्दा निम्न ‘डे’ हरु मनाइदै आइएको छ ।
पोहोर (सन् २०२०) निम्न डे मनाइयोः
१. पुराना फोटाका एल्बम हेर्ने, स्मरणीय लागे फोटो खिचेर फेसबुकमा पोस्ट गर्ने डे ।
२. त्यही पोस्ट गरेका फोटोमा भएका साथीहरुसँग यसो वातचित गर्ने डे ।
३. एसो ३,४ वटा किताबहरु निकालेर एक दुई पेज पढ्ने डे ।
४. चैत्र महिनासम्मका वित्तिय कागजातहरु बटुल्ने अनि बाकीको हिसाब निकाल्ने डे ।
५. बाआमा लगायत इष्ट मित्रलाइ फोन गर्ने डे ।
६. नियमित भेटघाट गरिने साथीहरुलाई ल अब यो दिन भेटौ भनेर योजना बनाउने तर भेट्न चाहिँ बाहिर निस्कन डराउने डे ।
७. कामकाज, घाटा, छोराछोरीका पढाइ, बिरामी पर्दा औषधि उपचारको भबिष्य सम्झेर खुम्चेर बस्ने डे ।
८. देशका नयाँ नयाँ दुखदायक घटनाहरु, अव्यवस्थाहरु,आ न्दोलनहरुको समाचारमै डुबेर बस्ने डे ।
९. यसो भिन्न केही पकाउने अनि खाइरहने अनि भोलिपर्सी खाने कुरा नै सकियो भने भनेर चिन्ता गर्ने डे ।
१. कोरोना संक्रमित तथा मृतक कति जना पुगे भन्दै चनाखो भै रहने र आ अब कोरोनासँग भिड्नुपर्छ भन्दै मन बुझाउने डे ।
१०. यस्तै मनमा लाग्ने मन्थनहरु फेसबुकको भित्तामा टाँसिरहने डे ।
११. नहाँसेको धेरै भो भन्दै हाँस्नको लागि कमेडी सोहरु हेर्ने डे ।
यसपाली (सन् २०२१) निम्न डे मनाइयोः
१. अब कोरोना गयो भन्दै दुई चार ठाउमा घुम्ने डे ।
२. अब केही न केही आर्थिक काममा संलग्न हुनुपर्छ भन्दै आफूले सक्ने र जानेका काममा अग्रसर हुन शुरु गरेको डे ।
३. कोरोनाको पहिलो डोज चाइनिज भ्याक्सिन लगाएको डे ।
४. फेरि कोरोना तीब्र गतिमा बढेर अस्पतालमा बेड नै पाउन मुश्किल र दिन दिनै चिनजानका थुप्रै मानिसहरुको म्र्त्यु सुन्नुपरेको डे ।
५. आफै पनि कोरोनाको संक्रमणमा परेर धेरै लक्षणहरु सहित न्युमोनियाले पनि थलिएका डे ।
६. जसो तसो घरमै डाक्टर र नर्स बोलाउन सफल भएर उचित औषधिको (स्टेरोइड)सहित प्रयोगले कोरोना जित्न सफल भएको डे ।
७. मजस्तै संक्रमित साथीहरुले आफ्नो पनि कोरोना पीडा सुनाउँदा दुइतर्फी अनुभवहरु सुनाएर मन हल्का बनाएका डे ।
८. देश र भैरहेका घटनाहरुबारे, बाढीपहिरो र क्षतिबारे समाचारले चिन्तित भएको डे ।
९. सरकार र राजनीतिक दलहरुको अस्वस्थ कृयाकलापले उनीहरुप्रति बितृष्णा पलाएको डे ।
१०. बालबालिकाको शिक्षा क्षेत्रबारे चिन्ता पलाएको डे ।
११. विभेद,बलात्कार, आन्दोलनको घटनाले झकझ्क्याएको डे ।
१२. अनि दिक्दारीहरु ब्यवस्थापन गर्न दिमागमा आएका कुराहरु लेख्दै अनलाइनमा पठाउने गरेको डे ।
तपाईहरुको डे कस्तो कस्तो छ कुन्नी ! थप्न सक्नुहुन्छ है ।
जे जसो भए पनि काम गर्नुपर्छ, जीवनमा आशा भर्नुपर्छ, अझै धेरै बाच्नुपर्छ,धेरै कुरा देख्नुपर्छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

