म मेरै अंगलाई भेदभाव गर्छु, म मेरा आँखाहरुलाई औधी प्रेम गर्छु

तिमी तिम्रो जरुरतले प्रशंसा गर्छौ । म मेरो जरुरतले प्रशंसा चाहन्छु ।

मनको कुरा
अम्बिका घिमिरे

कोही दृष्टिविहिन नहुन् भनेर भगवानले सबैलाई जोर आँखा दिएका छन् नि । सबैले त कहाँ देख्छन् र भित्री आँखा । भन्नेहरुले त रमेश प्रसाईंजीलाई पनि दृष्टिविहिन भन्न छोडेका छन् र ? कोही बाहिरी आँखाले गुलाबको फूललाई हेर्छन् र सुन्दरताको तारिफ गर्छन् । निस्वार्थ भावले फूलको रक्षामा खटिँदा पनि बदनाम भएका काँडाको सुन्दरता देख्न त मनको आँखा खोल्नुपर्छ नि महोदय ।

छलकपटरहित छन्, निश्चल छन्, इमान्दार छन्, दयालु छन्, प्रेमिल छन्, हो, सुन्दर छन् मेरा आँखाहरु । मेरा यी सुन्दर आँखाहरुको तारिफ त गर्यौ तिमीले तर आकार हेरेर गर्यौ । आयतन हेरेर गर्यौ । रङ्ग हेरेर गर्यौ । हो, तिमीले जेजे देख्यौ, त्यसैको तारिफ गर्यौ । तिमी तिम्रो जरुरतले प्रशंसा गर्छौ । म मेरो जरुरतले प्रशंसा चाहन्छु ।

जबदेखि बुझेँ नि प्रेमको परिभाषा म आफ्नै प्रेममा चुर्लुम्म डुबेकी छु । अरुको प्रेमको के भरोसा ? म मेरै अंगहरुलाई भेदभाव गरेर प्रेम गर्छु । म मेरा आँखाहरुलाई औधी प्रेम गर्छु । मलाई मेरा आँखाहरु एकदमै मन पर्छन् । धमिलो पानी हेरेर धमिलिनुपूर्वको कन्चनता देख्न सक्छु । सुकेका पातहरु हेरेर झर्नुअघिका मुनाहरु नियाल्न सक्छु । बुढो चाउरिएको शरीर हेरेर उसको यौवनता पहिल्याउन सक्छु । सुन्दर मुस्कान हेरेर मुस्कानभित्रको दर्द बुझ्नसक्छु । हो, धेरै थोक दिएका छन् मेरा आँखाहरुले ।

मैले तारिफ गर्नैपर्छ मेरा सुन्दर यी जोर आँखाहरुको जसले तिमीभित्रको तिमीलाई अनि मभित्रको मलाई अझ भनौं तितोसत्यभित्रको गुलियो मिठासलाई देख्ने मौका जो दिएको छ ।

(नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ मनको कुरामा तपाई पनि आफ्ना मनका कुनै पनि प्रकारका भोगाई र भावना लेखेर nepalnamchaha@gmail.com मा पठाउनुस् । नेपालनाम्चा तपाईंकै साथी त हो । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button