उनलाई कोरोना, मलाई कहर

कोरोनाको कुरा

मिरा गोतामे

कोभिड १९ ले संक्रमित बिरामीहरुका आ–आफ्नै पीडा र चोटका प्रशस्त कथाहरु होलान्/छन् । तर मेरो कथा भने अलि पृथक छ । सौभाग्यले कोरोना भाइरसले म आफैलाई छोएको त छैन आजको दिनसम्म । भविष्यको कुरा भन्न सक्दिन । तर, आफ्नालाई यसले गाल्दा चाँहि सहिनक्नुको पीडा हुँदो रहेछ ।

सरकारी जागीरे मेरा श्रीमानको बुटवल सरुवा भएको थियो माघमा । त्यसयता चैतको अन्तिम साता घर आएका उनी केहि दिन घर बसेर बैशाख ८ गते बुटवल फर्केका थिए । त्यतिखेर लुम्बिनी र बुटवलमा कोरोना संक्रमणको दर उत्कर्षमा पुगेको थियो । डर र त्रासको माहौल थियो । उता पुगेर आफ्नो ख्याल गर्न भनेकी थिएँ ।

सरकारले निषेधाज्ञा शुरु गरेको दिन हामीहरुको कुराकानी भएको थियो । स्वास्थ्य ठीकठाकै थियो उनकोे । अर्को दिन हामीबीच फोन भएन । अघिल्लो दिन कुरा नभएकाले कता कता खल्लो लागेर तेस्रो दिन बिहानै फोन गरें । ‘अलि सन्चो छैन । रुघाखोकी र सामान्य ज्वरो आएको छ’ भन्ने जवाफ आयो । महामारीमा ती लक्षणहरु सुनेपछि मलाई अन्दाज भइहाल्यो । तर, पनि उचित खानपिन र समयमै औषधि लिन सम्झाइरहें ।

दिनदिनै फोनमार्फत जानकारी लिन्थें । आफ्नो दुःख र चोट अरुलाई सुनाउने बानी छैन उनको । मनमै गुम्साएर राख्ने बानी छ । त्यसैले उनले कहिल्यै खुलेर आफूलाई गाह्रो भएको कुरा गरेनन् । मलाईचाँहि जहिले पनि मनका कुरा मुखले खुलेर बोलिदिए हुन्थ्यो झैं लाग्ने ।

मनमा चैन त पटक्कै थिएन मेरो । तर, पनि अरु कसैलाई भनेर तनाव दिन चाहिँन । पीर जति मनमै दबाएर राखें । पाँच–छ दिन जतिपछि एक रात साहै्र नराम्रो सपना देखें । मनमा चिसो पस्यो । बिहानै फोन गरिहालें । नभन्दै त्यो रात उनलाई साह्रै गाह्रो भएको रहेछ । मैले उनको श्वासबाटै थाहा पाइहालें । लामो लामो श्वासले गर्दा बोल्न पनि गाह्रो भएको सजिलै अनुमान लगाएँ ।

उनलाई गाह्रो भएको थाहा पाएपछि फोनमा बोल्नै सकिनँ । फोन काटेर धेरै बेर रोएँ । उनले के सोचे थाहा भएन तर केहि बेरपछि फेरि छोरालाई कुरा गर्न लगाएँ । ती दिनहरुमा मेरो पीडाको एक मात्र साक्षी मेरो छोरा नै थियो । मलाई विचलित देखेर त्यो कलिलो मस्तिष्कले के सोच्यो होला ? ऊ पनि बाबालाई कस्तो छ भनेर सोधिरहन्थ्यो ।

तीन दिन उनलाई धेरै नै गाह्रो भयो । ती तीन दिन मैले आफूलाई शून्यमा पाएँ । कुनै कुरा सोच्नै नसक्ने भएकी थिएँ । जब सोच्थें, नराम्रा कुरा नै दिमागमा आउँथे । टाढा बसेर मैले गर्न सक्ने पनि केहि थिएन । आफ्नै आँखाले नदेखेपछि त तनाव अझै दुुगुना हुने रहेछ । अफिसमै सबै स्वास्थ सुविधा भएकोले समयमै राम्रो उपचार पाए उनले । घरमा भन्दा राम्रो देखभाल त भयो । छिट्टै रिकभर पनि भए ।

तर, सँगै नहुनुको पीडाले सधैं घोचिरह्यो । आफ्नो श्रीमानले कोरोनासँग लड्दै गर्दा आफूचाँहि हातखुट्टा बाँधेर बसिरहनु प-यो । मन उकुसमुकुस भएर आउँथ्यो । त्यस्तो कठिन समयमा पनि छुट्टिएर बस्नु परेकोले आफैंलाई धिक्कारें । बुझेकी पनि थिएँ, उनको जागीरको प्रकृति । कसैलाई गुहारे पनि केहि हुन सक्ने थिएन । धेरै पटक त बरु उनलाई भन्दा आफैलाई कोरोना संक्रमण भएको भए पनि हुने भनेर कामना समेत गरें ।

आफूलाई छटपटी बढेपछि विदेशमा रहेकी आफ्नी माहिली दिदीलाई पीडा पोखेकी थिएँ । त्यो मुश्किल घडीमा सकारात्मक सोच्न अनि बारम्बार प्रार्थना गर्ने उनको सुझावले पनि निकै ढाडस दियो । दिदीलाई बाहेक म आफैले फोन गरेर कसैलाई पनि उनको बिमारीको बारेमा बताइनँ । यद्यपि मैले नराम्रो सपना देखेकै दिन आमाजु दिदीले पनि त्यस्तै सपना देख्नुभएको रहेछ ।

उहाँले फोन गरेर सोधखोज गरेपछि मात्रै बताएँ । उहाँले त्यसपछि पनि फोन गरेर भाइको स्वास्थको बारेमा जानकारी लिइरहनु भयो । श्रीमानलाई अलि निको भएपछि जेठानी दिदीले पनि हालखबर सोध्नु हुँदा सत्य कुरा बताएकी थिएँ । अप्ठ्यारो समयमा ‘के छ ?’ भनेर सोधिदिनु मात्रै पनि ठूलो गुन हुँदो रहेछ ।

अठार दिनपछि स्वास्थ सामान्य हुँदै गर्दा उनी घर आए । अलिअलि खोकी र ध्यारध्यार बाँकी नै थियो । केहि दिनको आरामपछि पुरै सुधार आयो । अहिले उनी आफ्नो कार्य क्षेत्रमा फर्किसकेका छन् ।

गएको दसैंअघि बुबालाई पनि निमोनिया र दम बढेर अस्पताल भर्ना गर्नु परेको नमीठो सम्झना ताजै छ दिमागमा । सबै लक्षण कोरोनासँग मिलेपछि हामी सबै आत्तिएका थियौं । धन्न ! पीसीआर नेगेटिभ आयो । दसैंको मुखमा घरमुली नै बिरामी परेपछि दसैंमा कोहि आफन्तहरु घर नआइदिए हुन्थ्यो जस्तै लागेको थियो । हाम्रा लागि दसैंको टिकाभन्दा हजार गुणा बढी आफ्नो जन्म दिने बुबाको स्वास्थ्य महत्वपूर्ण थियो ।

कोरोनाको त्रासमै बित्यो गएको वर्ष । यो वर्ष त झन् शुरुमै धेरै व्यक्ति यहि भाइरसको चपेटामा परे । चिनजानका व्यक्तिहरुको मृत्युको खबरले हरदम पीर लागिरहन्छ । सशरीर उपस्थित भएर सान्त्वनाका दुई शब्द व्यक्त गर्न पनि पाइएको छैन । कोरोनाबाट कसैले अकालमै ज्यान गुमाउनु नपरोस् । मरेर जानेले पनि सास्ती त पाउँछन् नै, बाँचेका आफन्तहरुले समेत जीवनभर अपुरणीय क्षति भोग्नु परिरहेको छ ।

यो कष्टकर समयको छिट्टै अन्त्य होस् ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button