
अरुन्धतीसँग क्लिक नपाउँदाको चुकचुक
डायरी ५ः जयपुर यात्रा
सुशीला शर्मा
म ठयाक्कै साहित्यकार त होइन । तर, पनि सानैदेखि नै घरमा बुवाले धेरै खालका किताव पढेको, लेखेको देखेर हुर्किएको भने हो । कता कता लेख्ने रहर पनि जागृत हुने गथ्र्यो बेलाबखत । बुवा र उहाँका साथीहरु राजनीति र साहित्यमा गम्भिर भएर लाग्नु भएको थियो । घरमा साहित्यकार अनि राजनैतिक व्यक्तित्वहरुको जमघट भइरहन्थ्यो । ती सबले गर्दा केही न केही सूचना अनि जानकारीको चेत भने पलाएको थियो ।
आर्थिक विषमता, पारिवारिक सदस्यको स्वास्थ्यमा गडबडी आदिमै पनि बुवाले हाम्रो मस्तिष्कमा सामाजिक हुनुपर्ने, देश र जनताको लागि केही गर्नुपर्ने, लेख्नु पढ्नुपर्ने विषयमा सधै हौसला दिइरहनु हुुन्थ्यो । बुवाको टिमले ‘प्रयास साप्ताहिक’, ‘क्रमशः’ जस्ता साप्ताहिक पत्रिका हेटौडाबाट प्रकाशन गर्ने गर्नुहुन्थ्यो । मैले पनि आफू ६ कक्षामा पढ्दाखेरी बरिष्ठ साहित्यकार शान्तदास मानन्धरले सम्पादन प्रकासन गर्नुहुने बालपत्रिका बालकोसेलीमा पहिलो पल्ट आफ्नो कविता छाप्न पठाएको थिएँ । पछिपछि पनि प्रयास साप्ताहिकमा आफ्ना लेखहरु छापिएका थिए ।
समयसँगै अध्ययन र आम्दानीको श्रोतको लागि जागिरे जीवन शुरु गरेसँगै लेख्ने पढ्ने काममा निरन्तरता दिइएन, या भ्याइएन पनि कति कतिबेला । तर पनि डायरीमा आफ्ना मनमा लागेका कुरा, समाजमा देखे भोगेका कुरा भने टिपेर राख्ने गरिन्थ्यो । बुवाले नयाँ प्रकाश साप्ताहिक सञ्चालन गर्नु भएपछि भने कहिले कविता त कहिले लेख लेख्ने काम गरियो । अहिलेसम्म केही लेख कान्तिपुरमा प्रकासित भएका छन् । केही नागरिक दैनिक र केही नयाँ पत्रिकामा । नयाँ प्रकाश साप्ताहिक भने विगत २ वर्षदेखि प्रकासित हुन सकिरहेको छैन ।
झन्डै २० वर्षसम्म विभिन्न संघसंस्थामा जागिरे जीवन विताएपछि हाल १८ महिनादेखि भने म पुराना साथीहरु भेटघाट गर्ने, आफ्ना रहरहरु कविता लेख्ने, लेख लेख्ने, पढ्नको लागि कितावहरु जुटाउने, प्रगतिशिल जीवन जिइरहेका विभिन्न व्यक्तित्वहरुसँग साक्षात्कार गर्ने भनेर लागेको छु । स्वास्थ्यमा आएका केही परिवर्तनले गर्दा एकदम जोडतोडका साथ, उमंगका साथ भने खट्न सकिरहेको छैन ।
यसैक्रममा फेबु्रअरी १९, २०२० का दिन साथी (पूर्व महिला आयोग सदस्य तथा लेखक) धनकुमारी सुनारलगायत, कवि–कथाकार अभय श्रेष्ठ, कवि प्रमोद धिताल, कवि रजनीमिलाको साथ लागेर भारतको राजस्थानस्थित जयपुरमा भएको प्रगतिशिल लेखक संघले आयोजना गरेको साहित्य सम्मेलनमा सहभागी हुन भनेर त्यसतर्फ लाग्यौं । त्यो मेरो लागि एकदम नयाँ र अलि फरक पनि हुने भयो किनकि मबाहेक समुहमा सबैजना आ–आफ्नो परिचय बनिसकेको व्यक्तित्व हुनुहुन्थ्यो । कता कता भित्र खल्लो महसुस भए पनि केही त सिकिन्छ नि भनेर मन बुझाएको थिएँ । मैले पनि मेरा ५ वटा कवितालाई हिन्दी भाषामा अनुवाद (बुवालाई अनुवाद गर्न लगाएर) लगेको थिएँ । यात्रा अवधिभर सँगै बस्दा हामी ५ जनामा पनि पाँचै थरी स्वभाव भएका मान्छे रहेछौं ।

यात्राको पहिलो ३ दिन बस, रेल, फेरि बसको यात्रा गर्दै हामी जयपुर पुग्यौं । साथीहरुबीच नेपालको राजनैतिक परिवेश विचार र दार्शनिकताको बहस भईरहे जसमा आहुतीका विचार, अध्ययन अनि साहित्य लेखनबारे पनि निकै बहस भए । अहिलेको नेपाली सामाजिक परिवेशमा आहुतीका यथार्थपरक विचार अनि लेखहरुले साँच्चै नै बौद्धिक वर्गमा सकारात्मक छाप छोडिरहेको भन्ने छलफल पनि भए । यात्रामा महिलाबारे पनि बहस भइरहे । बेला बेला क्लारा जेटिकन, रोजा लग्जेम्बर्ग, नेपालकी प्रसिद्ध साहित्यकार पारिजात, अहिलेकी जल्दोबल्दो साहित्यकार अरुन्धती रोयको नाम पनि आइरहेको थियो ।
यात्राभरी रजनीजीले बोक्नुभएको चिउरा, साँधेको गुन्द्रुक, सुकुटी मिसाएर खाँदाको मिठास पनि अविस्मरणीय नै छ । अनावश्यक खर्च नगर्ने, जे पायो त्यही किनेर नखाने, स्वास्थ्यको ख्याल गर्र्ने, योगा ध्यान गर्ने, हल्का भएर हिँड्ने जस्ता कुराहरु यात्राभर नै सिक्दै र मनन गर्दैरहियो, जुन अबका दिनहरुलाई शिक्षाजस्तै भएका छन् ।
यात्रामा एक इन्डियन अमेरिकन पनि साथै थिए । उनी आफू अमेरिकाको रिटायर्ड प्रोफेसर भएको बताउँथे । समुहका एक सदस्य प्रमोद धितालजीको साथ लागेर हामीसँगै दिल्लीसम्म यात्रामा थिए । उनीसँगको कुराकानी पनि यस यात्राको विशेष सम्झना रह्यो । ६१ वर्षीय आफूलाई अविवाहित बताउने उनी सारमा एकदमै व्यक्तिवादी भनेर हामीले अनुमान मात्रै गर्यौ । उनीमा अथाह सूचनाचाहिँ रहेको पाउन सकिन्थ्यो तर हरेक वार्तामा सवाल गर्ने उनी हामीमध्ये कसैको कुरामा पनि विश्वस्त हुन नसक्ने र यो संसारमा उनले मात्रै सबै कुरा जानेको जस्तो गर्थे । उनीसंँग जो बोल्यो, कम्तीमा उनको कुरा सुन्न पर्ने बाध्यता बनाउँथे ।

जे होस्, जयपुरबाट फर्केपछिको २ रात उनले हाम्रो समुहलार्ई आफ्नो फ्ल्याटमा बास दिए, अनेक सवालजवाफ गरेर भए पनि । खान भने दिएनन्, पछि छुट्ने बेलामा पनि ‘मैले तातो पानी त खुवाएँ नि तिमीहरुलाई’ भन्दै थिए । बीचबीचमा ‘तिमेरुको देश यस्तो उस्तो, त्यो समस्या समाधान गर्न के गर्छौ, तिमेरु असलमा माक्र्सवादी होइनौ’ भन्थे । अब उनी नेपालीहरुले बोलाएमा आएर सामाजिक चेतनामूलक कार्यको लागि बहस गर्ने, सहयोग गर्ने मन भएको कुरा पनि गरिरहेथे । मनमा उनीप्रति एउटा कुरा भने खेलिरह्यो, उनीसँग पैसा त होला, अझै केही वर्ष उनी सक्रिय जीवन पनि बिताउन सक्ने नै देखिन्छन, तर उनको परिवार, आफ्नै समाजप्रतिको वैरभावले भने जीवनको उत्तराद्र्धमा के गर्ने होला भन्ने पनि लाग्यो ।
हामीलाई थुप्रै किताबहरुको संकलन पनि फिजाएर देखाए उनले । उनी एक पठित मान्छेचाँहि रहेछन् । यसो अनुहार हेर्दा उनीप्रति दया पनि लागेर आउँथ्यो, निरिहजस्तो । तैपनि उनको पुरै पारिवारिक इतिहास उनले नि भनेनन्, हामीले पनि सोधेनौ ।
दिल्लीको कुनै एक चोकमा अल्मलिएको हाम्रो टिमलाई पश्चिम नेपालबाट जीविकोपार्जनको लागि दिल्ली पुगेका एक भाई नुमेश घर्ती मगर (जो साहित्यकार पनि हुन्) ले हार्दिकतापूर्वक हामीलाई स्वागत गरेर हाम्रा बोझहरु बोक्दै बाटो देखाउँदै सौहाद्र्धपूर्ण हाँसोका साथ दुईदिनसम्म हामीलाई साथ दिए । ओहो ! यस्तो खालको स्नेह, सम्मान जिन्दगीमा ती इन्डियन अमेरिकनजस्ता पनि मान्छे, अनि ती नुमेश घर्ती मगरजस्ता पनि मान्छे । नुमेश प्रिय र आदरणीय बनेर हाम्रो मनमस्तिष्कमा रहनेछन् । उनको जीवन सधैं प्रगति पथमा लम्किरहोस् भन्ने कामना पनि छ ।
यस समानान्तर साहित्य सम्मेलनको उद्घाटनको प्रमुख आकर्षणको केन्द्र थिइन अरुन्धती राय । एकदम फुर्तिली लाग्ने उनलाई देख्ने वितिक्कै हामीलाई भने उनीसँग एउटा फोटो खिचाईहाल्न पाए पनि हुन्थ्यो भन्ने लागिरह्यो । तर, भीडले घेरिरह्यो हामीले उनीसँग बसेर फोटो खिच्न पाएनौं । अरुन्धतीले उद्घाटन सत्रमा दुईचार शब्द बेजोड बोलेर आफ्ना भनाई प्रस्तुत गरेकी थिइन्, ‘पूँजीवाद र साम्प्रदायिकता प्रेमी–प्रेमिका हुन् । त्यसैले सँगसँगै नाच्छन् । काश्मिरको बारेमा सबैले सोच्नुपर्छ । इनक्लाव जिन्दावाद !’
कार्यक्रमको शुरुमै आयोजकले यो कार्यक्रमको लागि ३ वर्षदेखि कर्पोरेट कम्पनी, धार्मिक संस्थान, मल्टीनेशनल कम्पनीबाट अनुदान नलिएको र नलिने घोषणा पनि गरेका थिए ।
जयपुरको कार्यक्रमस्थलमा हामी नेपालीहरुले आफूलाई छुट्याईदिएको समूहमा गएर कविता वाचन गर्यौं । सबैका कविताहरु एकदमै समयसापेक्ष लागेको थियो । मेरो लागि माइक समातेर मानिसहरुका अगाडि केही भनेको थोरै घटनामध्येको यो पनि एक हो । मैले माईकमा राम्रोसँग बोलेको नसुनिएको भन्दै हुनुहुन्थ्यो साथी धन । एक पटकको सेसनमा नेपालको प्रगतिशिल साहित्यिक अभियानमा सानो वहस पनि समावेश गरिएको थियो । नेपालमा अहिले सक्रिय कवि साहित्यकारहरुको नाममा आहुती, सरिता तिवारी, अभय श्रेष्ठ, सक्रिय रहेको र पुराना साहित्यकारहरुमा पारिजात, गोपाल प्र रिमाल, युद्धप्रसाद मिश्र्र, केवलपुरे किसान आदिका नाम पनि समुहका साथीहरुले उल्लेख गर्नुभएको थियो । केन्द्रदेखि बाहिर या केन्द्रमै रहेर पनि प्रगतिवादी साहित्य सिर्जनामार्फत समाज परिवर्तनमा सहयोग पुर्याउनुहुने साहित्यकार श्यामप्रसाद शर्मा, जनकप्रसाद हुमागाई, शान्तदाश मानन्धर, विनय कसजुलगायत थुप्रै कवि, लेखकबारे पनि यस्ता साहित्कि कार्यक्रममा चर्चा तथा पहिचान हुनुपर्ने रहेछ भन्ने पनि लाग्यो यस वहसमा । कार्यक्रमस्थलमा भिन्न भिन्न स्थानबाट आएका विभिन्न दिग्गज व्यक्तित्वहरुले साहित्य, कला, शिक्षा, संगित, ईतिहास, महिला, बालबालिक, विज्ञान आदि विषयमा भरपूर बहस गरेको देख्न सकिन्थ्यो ।
कार्यक्रमको तेश्रो दिन हामी टिम नै जयपुरमा नेपाल भारत सांस्कृतिक केन्द्रकी कोसिला गुरुङको निवासमा गयौं । नेपाली भाषा ,साहित्यलाई माया गर्ने उनी र उनको परिवार अनि नेपाली मुलका मानिसहरुको बारेमा उनले दिएको राजस्थानी नास्ता खाँदै छलफल गर्यौ , उनी आफ्नो श्रिमानको प्रतिकूल स्वास्थ्य अवस्थाको बावजुद पनि हामीसँग खुलेर छलफल गरिरहेकी थिइन् । उनका श्रीमान अनि सासु छोराछोरीले पनि हाम्रो हार्दिक स्वागत गरिरहेका थिए । नेपालीहरुमा भएको हार्दिकता कोसिला गुरुङको परिवारमा पनि छर्लङ्ग देखिन्थ्यो ।
कार्यक्रममा सहभागी पत्रकार, साहित्यकार व्यक्तित्वहरु निकै जोशिला र सक्रिय देखिइरहेका थिए । उनीहरुले नेपालीहरुलाई पनि हार्दिकतापूर्वक स्वागत गरिरहेका थिए । भन्नैपर्दा, उद्घाटन सत्रमा महिला संख्या एकदम न्यून जस्तै थियो, जसलाई अरुन्धती रायले पनि अवलोकन गरिरहेकी थिइन् र आयोजकलाई सुनाई पनि हालिन् ।
कार्यक्रमको अन्तिम दिनको साँझसम्म पनि सेड्युलमा उल्लेख गरेअनुसार कार्यक्रम भइरहे । हामी केही साथीहरुलाई चाँहि समापन भइसकेपछि कि आयोजकले कि हामी आफैंले भए पनि धन्यवाद आदानप्रदान गर्न पाएको भए हुन्थ्यो भन्ने लागि रहेको थियो । तर, पनि फोनबाट भए पनि आयोजकसँग विदावादी भएर हामी जयपुरबाट दिल्लीतर्फ प्रस्थान गर्यौ । हाम्रो दिल्लीमा एकदिन घुम्ने योजना अनुसार त्यहीको पर्यटक बसमा एक एक गर्दै चर्चित मानिएका स्थानहरुको अवलोकन पनि गरियो । कुटुवमिनार, गान्धी समाधिस्थल, इन्दिरा गान्धी मेमोरियल, लक्ष्मीनारायण मन्दिर, लोटस टेम्पल आदि स्थानहरु गाईडले उपलब्ध गराएको समय अनुसार भ्रमण गरियो । समग्रमा मेमोरियलहरुलाई जीवन्त राख्न भारतले राम्रो प्रयास गरेको देख्न सकिन्छ । शहरलाई हरियाली बनाउनमा पनि दिल्ली अगाडि नै रहेछ ।
जयपुरको त झन कुरै नगरौं, फूूलैफूलले स्वच्छ बनाइएको । सरर हेर्दै अनुमान गर्न सकिने भारतका पढेलेखेका युवा तथा प्रौढ नै पनि आफ्नो अध्ययन र इतिहासबारे सख्त ज्ञान र सूचना राख्दारहेछन् । धार्मिक कट्टरता प्रसस्तै छ । त्यसैले नै पनि कतिपय सामाजिक समस्याहरु निम्त्याइरहेछ । टेक्नोलोजीमा पनि धेरै अगाडि छन् । साहित्यलाई पनि संसारभर चिनाउँदैछन् ।
गोरखपुरको जनचेतना पुस्तकालयमा हामी सहभागी सबैले धेरथोर पुस्तक किन्यौ । मैले म्याक्सिम गोर्की र कवि पास आदिका किताबहरु पनि किनेँ । अबका दिनहरुमा मैले आफूलाई तिखार्न या ज्ञान हाँसिल गर्न कुनै बहाना नबनाइकन पढ्न पर्ने महसुस भएको छ र शुरु गर्दैछु । कार्यक्रमस्थलको स्टलमा पनि मैले अरुन्धती रोयको दुईवटा किताव किनेँ । उनको एक–दुईवटा लेखबाहेक अहिलेसम्म मन लगाएर कुनै किताब पढेकी पनि छैन ।
ज्ञान, प्रतिभा, सैद्धान्तिक चेतले भरिएका मानिसहरुको संगतमा रहन पाइरहेको झै लागिरहेछ । यस्तै खालका मित्रहरुको सामिप्यमा रहिरहन पाउँ । यस यात्राको लागि मलाई पनि सहभागी गराउन सहयोग गर्नुहुने साथी धनलगायत सम्पूर्णमा धन्यवाद ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

