
कोरोना क्यानभासमा अनटोल्ड फ्ल्यासव्याक
मनको कुरा
सविना सापकोटा
आज एक महिनापछिको रिर्पोट्मा पनि पोजेटिभ आएको छ । मनमा कता कता नराम्रो महसुस भएको छ । भाइरसले के विधि माया गरेको होला ? मरिसकेको भए पनि नछोड्ने, आफुलाई भने भाइरसका लाशहरु बोकेर हिँड्न असजिलो भइरहेको छ । मरेकै भए पनि अब ती भाइरसहरु मसँग नरहुन् भन्ने चाहन्छु तर मैले चाहेर मात्र पनि नहुने, चाहेर हुने भएको भए त त्यो भाइरस वरिपरि नै आउने थिएन नि ।
आइसोलेशन
जब रातिदेखि ज्यान दुख्न थाल्यो, शुरुमा त दिउँसोको घरको कामले होला भन्ने सोचिरहेँ । टाउको एकदम दुखिरह्यो । बिहानसम्म त्यस्तै विचारहरु खेलाउँदै पल्टिरहेँ । बिहान दाइसँग रातभरिका कुरा सुनाएँ । दाइले पनि मेरो दिमागमा जुन कुरा खेलिरहेका थिए, तिनै कुराहरुलाई जाड्दै थप दुई–चार गाली दियो अनि तातोपानी र सिटामोल पनि ल्याइदियो । दाइ त्यस्तै छ ।
एक घण्टासम्म पनि उठेर तल जान नसकेपछि मनमा शंका जाग्यो, कतै कोरोनाले त भेटेन ? फेरि दाइलाइ त्यो कुरा सुनाएँ । दाइले ‘ज्यानको गति हेरेर काम गर्नु छैन अनि अनेक थरी सोचेर बस, आज दिनभरि टन्न खादै सुत अनि निको हुन्छ’ भन्दै मेरो लागि नास्ता छोडेर तल गयो ।
मलाई हल्का ज्वरो आएको जस्तो पनि भइरहेको थियो । सिटामोल खाएकाले एक छिन निद्रा लाग्यो । सुतिराखेँ । अलिबेर पछि दाइ र सरु थर्ममिटर लिएर कोठामा आए । मलाई साँच्चिकै ज्वरो आएको थियो । १०० थियो तापक्रम । सबैजनालाई शंका लाग्यो । जिउ दुखेर पुरै थिलोथिलो भएको थियो । तैपनि बल्लतल्ल खाना खान तल गएँ । भर्याङ्ग भर्न पनि निकै कठिन भयो । नुहाएपछि कम होला कि भनेर नुहाएँ ।
बाथरुममा सास नै राकिएला जस्तो भयो । कसैलाइ भनिनँ । भर्खरै त केही नहोला नि बेकारमा किन अत्याउनु जस्तो लाग्यो । जेनतेन खाना खाएर फेरि माथि गएर सुतिरहेँ । भाइ डाक्टर छ, फोन गरेँ । उसले ‘लक्षण त कोरोनाको हो’ भन्दै आइसोलेशनमा बसिहाल्ने सल्लाह दियो । फेरि मनमा अर्को डर आयो । यदि हो भने त सबैजनामा सङक्रमण हुने भयो । तर पनि घरमा सल्लाह भयो आइसोलेशनमा बस्ने र आजै स्वाव टेष्टका लागि पठाउने । धन्न ल्यावको भाइ घरमा आएर स्वाव लिएर गयो । अनि मेरो एकान्तबास शुरु भथो ।
एक बर्षभन्दा अगाडिदेखि सुन्दै आएको कोरोनासँग त्यति धेरै डर लागेको थिएन जति संक्रमण अवधिभरि महसुस भयो । सम्झदा पनि झसङ्ग हुन्छ ।
ज्वरो आइरहेको थियो । खुट्टाहरु बेस्मारी दुखेका थिए । खाना रुचेको थिएन । उठ्न सकिरहेको थिइनँ । कोठामै खाना, पानी औषधी आउँथ्यो । मन नलागी नलागी खायो, सुत्यो । बुवा पनि अर्को कोठामा एक्लै बस्न शुरु गर्नुभएको थियो । उहाँलाई सुक्खा खोकी लागिरहेको थियो । त्यसैले स्वाव टेष्टका लागि दुवैजनाको पठाएको थियो । दुइ दिनपछि रिपोर्ट आयो, दुवै पोजेटिभ ।
एकान्तवासका चार दिन कटिसकेका थिए । ज्वरो कम नभएर औषधी फेरिएका थिए । घाँटी दुखेर बोल्न, खान मात्र होइन, सास फेर्दा पनि रुन मन लाग्ने भएको थियो । त्यसको लागि पनि दाइले डाक्टरहरुसँग सल्लाह गरेर औषधी ल्याइदिएको थियो । आफुलाइ दुखेर हैरान ! औषधीले विस्तारै काम गर्ने । एकान्तबासलाई अलि सजिलो बनाएको थियो मोवाइलले । थाह पाउने आफन्तहरुबाट र साथीहरुबाट नियमित फोन आउँथे । घाँटी दुखेको हुदा दश÷पन्ध्र सेकेण्डभन्दा बढी कसैसँग बोलिन होला । सायद बोल्ले पनि शक्ति थिएन । शरिर उठ्न सक्ने अवस्थामा पनि थिएन । सुतिमात्र रहन मनलाग्ने । आफ्नै शरिरलाई यताउता गर्न नसक्दाको पिडाले मन यसै कमजोर बनाइरहेको थियो । त्यसमाथि समाजिक सञ्जालमा आउने श्रद्धाञ्जलीहरुले त झन मन् विचलित बनाइरहेको थियो ।
विचलित मनको गाथा
पाचौं दिनसम्म पुग्दा शरिर त पुरै कमजोर भइसकेको थियो । त्यो भन्दा पनि कमजोर मन भएको थियो । फेसबुक, ट्विटर हेरेर नै खाली समथ बित्थे । धेरै समय त म सुतिरहन्थेँ । बिहान उठेदखि बेलुकासम्म कम्तीमा पनि दश पटक त खानाको लागि ढोकासम्म पुग्नुपर्ने । त्यसमाथि पनि घरी दाइले घरी सरुले थर्ममिटर र अक्सोमिटरले जाँज गरिरहने । यतिकैले मेरो शरिर पुरै शिथिल हुन्थ्यो । बाकी रहेको समय सुत्न अल्छी लाग्दाको साथी बनेको थियो मोवाइल र त्यसभित्रका सामाजिक सञ्जालका घरहरु ।
विस्तारै समाजिक सञ्जाल (फेसबुक) मा भावपुर्ण श्रद्धाञ्जलीका पोष्टहरु बढ्न थाले । मेरा मनका खम्बाहरु पनि हल्लिन थालेको महसुस गर्न थालेकी थिएँ । मनमा अनेक तर्कनाहरु आउन थाले । अब यतिकै मरिने हो कि भन्ने हुन थाल्यो, छातीको दुखाइले निकै पिडा दिएको थियो । त्यसमाथि सुत्दाखेरी सास फेर्न अफ्ठेरो भएर रातभरि उठिराख्नु पथ्र्यो । यसबीचमा अक्सिजनको मात्रा सामान्य देखाइरहन्थ्यो, डक्टरहरुसँग सल्लाह गर्दा अक्सिजनको मात्रा धेरै नै कम भए मात्र अस्पताल जाने कुरा भएको थियो । तर पनि मन न हो अनेक साचिरहने !
मान्छेहरुका आफ्ना फेसबुकवालमा मृतकसँग भएका अन्तिम च्याटलाई स्क्रिनसट गर्दै अनेक दुखपुर्ण भावका वाक्यहरु देख्दा आफु पनि कसैको वालमा यसरी झुण्डिनुपर्ने होला भन्ने ‘खयाल’हरु आउन थालेका थिए । लाग्यो, ‘बाँचुञ्चेल के छ ? कस्तो छ ? पनि नभन्नेहरुले ‘अब सम्झनामा मात्र’ भन्दै लेख्नेछन् अथवा नलेख्न पनि सक्छन्’ भन्ने कल्पनाहरु आउन थालेका थिए । आफ्नो मृत्युलाई कल्पनामा हेरिरहेको थिएँ भन्दा पनि हुन्छ । यो पढ्दै गर्दा कसैले पागल रैछ पनि भन्न सक्छ तर केही छैन, मेरो मानसिकता त्यस्तो खालको बनेको थियो त्यतिबेला । कल्पनामा म मेरो मृत्युसँग कत्ति पनि डराएकी थिइनँ । एकजना दाइले आफ्नी आफन्त पर्नेलाइ सम्झेर स्टाटस् लेखेका थिए, ‘हिजोसम्म राम्रो हुँदैछ भनेर भनेकी थियौ, आजै छोडेर गयौ ?’ अनि मैले सोचेँ, ‘मैले पनि राम्रो हुदैछ, निको भइरहेको छ भनि त रहेकी छु । जबकी घाँटी र ज्यान दुखेर हैरान छ । पाँच दिनसम्म पनि ज्वरो आइरहेको छ । के थाहा, भोलि मेरो लागि पनि कसैले त्यस्तै केही लेख्नेछ । र, अनेकले अनेक कमेन्ट गर्नेछन् । राम्रो भएछ भनेर कमेन्ट लेख्ने हिम्मत कसैले गर्नेछैन ।’ यस्तै यस्तै कल्पना गरेर दिन बित्न थाल्यो ।
छैठौ दिनसम्म आइपुन्दा मृत्युलाई स्विकारी सकेकी थिएँ । यतिका दिन त बाँचियो, धेरै रमाइलो गरियो, सुखदुख सबैको अनुभव गरियो । अब खासै बाँचेर यो गर्ने मन छ भन्नको लागि केही विशेष लक्ष्यहरु भेटिएका थिएनन् । दिन आएपछि सबैजना मर्नुपर्छ भनेर चित्त बुझेको थियो । तर मर्न पाए हुन्थ्यो भन्ने त लागेको थिएन । तर पनि मनमा उब्जेका डराउने खालका कल्पनाहरुलाई शान्त बनाउन पनि यो सब सोच्न बाध्य भएको हुनुपर्छ ।
जीवनलाई अंकगणितय शैलीमा हिसाब गर्न शुरु गर्यो मनले । आफुले थाहा पाउने समयदेखि हालसम्मका सम्पुर्ण गतिविधिका जोड घटाउहरु सरर आउन थाले । जोड घटाउ यस अर्थमा कि बाँचुञ्जेल कतिका चित्त दुखाइयो कि ? कतिलाइ नराम्रो पो गरियो कि ? भनेर जान्न मन लाग्यो किनकी अरु बेलामा भन्दा मर्ने बेलाका सोचाई अथवा निर्णय बढी निश्पक्ष हुन्छन् भन्ने लागेर । धेरै घटनाहरु फेरि ताजा भए । रमाइला पलहरुले मन आनन्दित बनाउँथ्यो त घरी दुखका क्षणहरुले आँखा भरिएर आउँथे । कतिपय अवस्थामा चुप लागेर बसेकोमा पछुतो पनि हुन्थ्यो । तर जानीजानी अरुलाई ठूलो धक्का पुग्ने गरी केही नगरेको निष्कर्शले आनन्द मिल्थ्यो ।
तिनै क्षणहरुसँग दौडिँदादोडिँदै एउटा भनाइमा आएर टक्क अडियो मन, जसरी उसले मलाइ सोध्दा एकछिनको लागि सास रोकिएको थियो । २०१० तिरको यस्तै गर्मीको मौसम थियो । एउटा बिहे भोजमा गएका थियौं, हामी (निहारिका र म) साथीको घरमा । बिहेको भोजमा दिनभरी बस्नुपर्ने । निहारिकाले भनि ‘सबु, मेरो एउटा साथी आउँदै छ । तिमी पनि जाने ?’
मलाई पनि के गरुम के भैरहेको थियो । मैले ‘हुन्छ’ भनिहालेँ । उसले पन्ध्र मिनेटपछि बोलाएकी रहिछ । हाम्रो भेन्यु लाजिम्पाटमा थियो । अहिले ठ्याक्कै याद छैन । ऊ त्यहाँ नजिकैको एउटा रेष्टुरेन्टमा आएको खबर पाएपछि हामी पनि पुगिहाल्यौ । गर्मीले आत्तिएर बाटोबाटै कोल्ड कफी खाने योजनासहित मुख मिठ्याएर मभित्र गएकी थिएँ । मलाई अझ पनि ऊ को हो भन्ने थाहा थिएन । नाम त थाहा थियो तर मेरो तर्फबाट ऊ पहिल्यै चिनिएको छ भन्ने थाहा थिएन । अथवा मैले ख्याल गरिनँ । तर मैले देखेको थिइनँ । अझ भनुम् फोटो पनि हेरेको थिइनँ । हेर्नु त पथ्र्यौ, किन हेरिन याद भएन । सायद त्यति जरुरी लागेन । म त निहारिकाको नजिकको साथीको हिसाबले भेट्न चाहन्थेँ । अझ त्यो दिन त कोल्ड कफी खाने इच्छा ठूलो थियो ।
कोल्ड कफी पनि आयो । उनीहरु गफ गरिरहेका थिए । म भने त्यो रेष्टुरेन्टका भित्तामा टासिएका चित्रहरु हेर्दै रमाउँदै कफीको मज्जा लिदै थिएँ । चित्रहरु विचित्रका थिए– पौराणिक, ऐतिहासिक, प्रकृतिक, सबै खालका । अनि तापक्रम चिसो बनाइएको शान्त कोठा । म अर्कै दुनियाँमा रमाइरहेकी थिएँ । उनीहरु के कुरा गरिरहेका थिए, केही पत्तो थिएन ।
‘तपाइलाई मेरो कुन लेख मन परेन त ? मैले लेखाइमा के के सुधार गर्नुपर्छ भन्दिनुस त ?’, भन्ने मतर्फ तेर्सिएको प्रश्नले एकछिन त मेरो सास नै रोकिएजस्तो भएको थियो । अघिको चिसो कफी निकै तातो भएर पोलिरहेको जस्तै लागेको थियो । मलाई अघि रमाइलो लागिरहेको र उठ्न मन नलागेको ठाउँबाट भागीहालुम् जस्तो भयो । तर, पनि उठ्न सकिनँ । एकछिन त म वाल्ल परेर उसको अनुहारमा हेरिराखेँ । कति समय हेरेँ, त्यो पनि याद भएन ।
त्यतिबेला मात्र उसको अनुहार मैले याद गरेकी थिएँ । सानो काँटीको मान्छे, हँसिलो अनुहार, पातला दाह्री जुगाँ, हल्का सेतो रङ लगाएको जस्तो सुन्तला रङको हाफ स्लिप सर्ट र क्रिम कलरको पाइन्ट लगाएर उभिएको । उसले ‘ल अब जाम’ भनेपछि पो म फेरि झस्किएँ ।
हामी त्यहाँबाट उठेर पार्टी भइरहेको ठाउँमा पुग्यौ । मैले उसको प्रश्नमा के जवाफ दिएँ भन्ने पनि थाह थिएन । निहारिकालाई सोध्न मन थियो, थर सोधिनँ । सायद मलाई लाज लाग्यो होला । मैले सोचेकी थिइनँ, मलाई कसैले त्यस्तो प्रश्न सोध्ला भनेर । सायद निहारिकालाई थाहा थियो । अथवा त्यो भेट नै त्यही प्रश्नको उत्तर पाउने उद्देश्यले गराइएको थियौ । थाहा छैन । अहिले सम्झिँदा उठेका प्रश्न हुन् ।
ऊसँग भेट हुनुभन्दा लगभग चार महिना वा त्यो भन्दा केही महिनाअगाडि महिना याद भएन । तर जाडो याम थियो । हामी ल क्याम्पसको चौरमा भलिबल खेलिरहँदा निहारिकाले एकदिन सोधेकी थिई, ‘सबु तिमीले मेरो साथीलाइ के के भनेको रे त । विचरा चित्त दुखाइराथ्यो ।’
त्यतिबेला हामी भर्खर एमए प्रथम वर्षको शुरुवाती दिनहरुमा सँगै रमाइरहेका थियौ । आरआर क्याम्पस पढ्ने भए पनि खाली समयमा हामी पनि सँगै जोडिएको ल क्याम्पसमा बस्थ्यौं ।
‘ए हो र ! अनि तिमलिे के भन्यौ त ?’, मैले त्यतिबेला पनि को साथी, के कुरा केही सोधिनँ, सायद म नयाँ कक्षाको धुनमा हतारदै थिएँ होला ।
अनि फेरि मैले सोधेँ, ‘तिमीले के भन्यौ त ?’
‘हो र ? होइन होला, सबुले त कसैलाइ केही नराम्रो भनेको सुनेको छैन मैले’ उसले भनी रे । मैले उसको प्रश्नको कुनै जवाफ नदिई हाँस्दै एक दिन भेट्नुपर्छ है कफी खाने गरी भन्दै कक्षा कोठाभित्र गएकी थिएँ । र, त्यसपछि त्यो विषयमा हाम्रो कुनै कुरा भएको थिएन ।
त्यो एक दिन त्यसरी आउला भन्ने कल्पना कसरी गर्थें र मैले । जिन्दगीमा नसोचेकै हुन्छ भनेको यस्तै होला ।
सन्दर्भले पनि यस्तै भनेको थियो नि । तिम्रो ऊसँग भेट हुने छैन । केही हुँदैन भनेर र मैले उसलाई विश्वास गरेकी थिएँ ।
सन्दर्भ मेरो मिल्ने साथी । हामी प्राय सँगै हुन्थ्यौ । कहिले हाम्रो घरमा त कहिले उसकोमा । हामी एकै घरका सदस्य जस्तै थियो । एक अर्कालाइ निकै माया गर्ने । धेरैलाई जलन हुन्थ्यो हाम्रो मित्रतामा । मेरा हरेक चिजहरुमा उसको लागि कुनै रोक थिएन । सन् २००९ तिरको पुस महिना थियो । त्यतिबेला मैले भर्खर फेसबुकमा खाता खोलेकी थिएँ । राम्रोसँग त्यसमा कसरी काम गर्ने भन्ने पनि थाहा थिएन । सिकारु नै थिएँ । उसले मभन्दा अगाडिदेखि नै फेसबुक चलाउने गथ्र्यो । मैले खाता खोले पनि खाता चलाउने गरेको थिएन । हाम्रो घरमा आएको बेलामा उसैले भनिरहन्थो, ‘किन हो तिमी फेसबुक नचलाउने ?’ फोन गर्दा मेसेन्जरबाट गर्दा पनि हुन्छ नि भन्दै मेरो कम्प्युटर खोलेर के के गरिरहेको हुन्थ्यो । मैले ख्याल गरिन कहिल्यै ।
जाडोमा घाम तापेर हामी हाम्रो घरको छतमा बसिरहेका थियौं । । म मोवाइलमा क्याण्डी क्रस खेल्न रुचाउथे । अझै पनि एक्लै हुँदा खेल्छु । साथीहरु जिस्काउँछन्, जमाना कहाँ पुगिसक्यो ऊ भने क्याण्डी क्रसमै भनेर । उसले सोध्यो, ‘तिम्रो फेसबुक बाट एउटालाई जिस्काइदिउँ ?’
‘हुन्छ, तर को हो ? फेरि मलाई मार्ला नि फेरि’, मैले भनेकी थिएँ ।
उसले त्यो मान्छेसँग कुरा गर्दै (सायद ऊ कम्प्युटरमा औला दौडिरहेको थियो) भन्यो, ‘कोही होइन । केही हुँदैन, तिम्रो उसँग भेट हुँदैन । पोखराको मान्छे हो । एउटा चित्रकारको छोरो । भर्खरै खोलेको एउटा दैनिकी अखबारको अंग्रेजी संस्करणमा काम गर्न आको छ । खासै राम्रो त लेख्दैन तर उसको अंग्रेजी राम्रो छ रे । त्यही भएर उसलाई काम गर्न राखेको रे ।’
मैले ‘ए’ मात्र भने ।
‘विचरा ! हल्का जिस्काइदिएँ’, भन्दै ऊ हाँस्न थाल्यो । म पनि सँगै हाँसिदिएँ । नढाँटी भन्दा एकछिन हाँस्न पाउँदा मलाई पनि रमाइलो नै लागेको थियो ।
उसले के लेख्यो, मैले केही सोधिन । यसबारेमा हाम्रो त्यसपछि कहिल्यै कुरा पनि भएन । एक हिसाबले याद पनि थिएन । एक वर्षपछि निहारिकाले सोध्दा मात्र थाहा भयो कि ‘ए, मैले मात्र रहेछ, उसलाई नचिनेको ।’ हाम्रो साथीहरुमाझ ऊ चर्चित रहेछ । अझ निहारिकाको त एकदम नजिकको साथी ।
त्यसपछि त लाग्यो, ऊसँग मेरो भेट कुनै न कुनै दिन हुनेभयो । अलिअलि लाज लाग्यो । तर, पनि भन्न सकिनँ ‘यो काम सन्दर्भले गरेको’ भनेर ।
तैपनि भेट भयो भने के भन्ने ? केही सोचिनँ । या त मलाई लागेन, ऊसँग विना कुनै योजना भेट होला । अनि उसले सिधै यस्तो प्रश्न तेर्साउला र म नाजवाफ टुलुटुलु हरेर बस्नुपर्ला भनेर । जे भयो, त्यो मेरो कल्पना भन्दा बाहिरको कुरा थियो ।
आज कोरोना संक्रमण भएर विस्तारामा सुतिरहँदा सम्भावित मृत्युभन्दा अगाडि अथवा मृत्युको कल्पना गरिसकेपछि आत्मविश्लेषण गर्दा, सामान्य रुपमा गरिएका हाँसोमजाकले पनि कति गहिरो असर गर्ने रहेछ भन्ने महसुस भयो ।
अहिले लाग्छ, किन म बोल्न नसकेको होला ? बोलिहालेको भए पनि के भन्नु ? मैले होइन, मेरो साथीले हो कसरी भन्नु ? मेरै आइडीबाट कुरा भएको छ । सायद दोस्रो पटक ऊ बोल्न आएको भए, उसलाई थाह हुनेथियो होला । फेरि मलाई तिनीहरुबीच के कुरा भएको थियो ? थाहा पनि थिएन ।
त्यो दिन उसँग भेटेर फर्केपछि दिन कसरी बित्यो केही याद छैन । पार्टी छिटो सकेर घरमा गएर उनीहरु बीच खासमा के कुरा भएको रहेछ भनेर मेसेन्जरमा खोज्छु त त्यहा केही थिएन । सायद उसले कुरा गरेपछि हटाइदियो होला । त्यो रातभरि निद्रा लागेन ।
भोलिपल्ट चितवन जानु थियो, बिहानै गएँ । बाटोभरी सोचाइहरु अलिअलि आइरहे तर चितवन पुगिसकेपछि म मामाको छोरीको विहेमा जानुपर्ने भएकाले ती कुराहरु विस्तारै छायाँमा पर्न थाले ।
कहिल्यै भेट हुँदैन भनेको मान्छे बेला बेलामा देखादेख हुनथाल्यो । मैले नदेखे पनि उसले के छ भन्दा म नमस्कार भनेर भागिहाल्थेँ ।
अचम्मको कुरा त के भने सन्दर्भ र ऊ त राम्रो साथी भइसकेका थिए । उनीहरु बेला बेलामा भेट्ने, कफी खाने गर्न थालेको मलाई थाहा थियो । सन्दर्भले नै सुनाउँथ्यो यी सबै कुराहरु । तर, मेरो आइडीबाट उसलाई जिस्काउने पनि आफु हुँ भनेर भनेनौ सन्दर्भ ? भनेर सोध्न पनि सकिनँ । सायद मेरो मनमा यी सब कुरा चलिरहेको छ, वा उसले मलाई भेटेर त्यस्तो प्रश्न गरेको भन्ने थाहा पाएको भए पनि सन्दर्भले ऊसँग कुरा गथ्र्यो होला । विचरा उसलाई के थाहा !
खासमा गल्ती त मेरै थियो नि । मैले आफ्ना चिजहरुमा थोरै भए पनि कन्ट्रोल गरेको भए हुन्थ्यो नि । होइन भने सन्दर्भलाइ आफ्ना मनका द्धिविधामात्र भन्न सकेको भए पनि हुन्थ्यो नि !
आफै बुद्धु भएको निष्कर्ष निस्किएपछि फिस्स हासेँ । केटाकेटीपन त्यस्तै हो भन्ने लाग्यो र बाँकी रहेको उकुसमुकुसलाइ पनि शान्त पारेँ । मृत्युको लागि ढोका खुकुलो पारिदिएँ ।
मलाई कोरोना लागेको सात दिन हुँदा घरमा सबैजनालाई कोरोना संक्रमण भइसकेको थियो । सात दिनमा घाँटीको दुखाइ पनि कम भएपछि नजिक आएको मृत्यु टाढा भागेजस्तो महसुस भएको थियो । सबैजना संक्रमित भइसकेपछि अब कोठामा थुनिएर बस्नुपर्ने भएन । घाँटीको दुखाइ र ज्वरो पनि कम हुन थालेपछि हात खुट्टाको दुखाइ पनि कम भइरहेको थियो । बेलुकीपख कोठाबाट बाहिर निस्केर खुल्ला हावामा बस्न पाउँदा यस्तो लागिरहेको थियो कि म भर्खर कालो चश्मा फालेर सेतो चश्मा लगाउँदै छु । शितल हावा सिधै शरिरका कुना कुनामा पसेर सिञ्चित गरिरहेको थियो ।
त्यति आनन्द र रमाइलो त एसएलसी पास भएको दिन पनि लागेको थिएन ।
सबैलाई संक्रमण भइसकेपछि अब कसरी काम गर्ने भन्ने सल्लाह भयो । दाइलाई हल्का ज्वरो आइरहेको थियो । बुवालाई ज्वरो खासै थिएन । सरुलाई पनि ज्वरो थिएन । घरमा खाना पकाउने खाने र भाडा माँझ्ने काम सबैले मिलेर गर्ने भयौं । मलाई खाना खान बल्लबल्ल तल आउन सक्ने भएकोमा निकै खुशी लागेको थियो । अब त बाँचियौ है भनेर भन्न मन लागेको थियो ।
त्यसपछि हो, जिन्दगीले नयाँ काचुली फेरेको छ । नयाँ आशाहरु जागेका छन् । खाना खान तल झर्ने, सबैजना सँगै बसेर गफ गर्ने, तापक्रम र अक्सिजनको मात्रा जाँच गर्दै रमाउँदै गर्दा विस्तारै कोरोनाका भाइरसहरु कमजोर भइरहेका महसुस भइरहेको थियो । शरिरमा शक्तिको पुनआगमन भइरहेको थियो ।
दिनहरु बिस्तारै बढ्दै थिए र शरिरमा शक्ति पनि । एघार दिनपछि घरायसी काम हल्का हल्का गर्न थालेकी थिएँ । सरुलाई धेरै लक्षण देखिएको नभए पनि कमजोरी थियो । दाइलाइ निकै ज्वरो आएको थियो । अक्सिजनको मात्रा ठिक भएकाले अस्पताल लगिएको थिएन । तर सबैजना आँत्तिरहेका थिए । घरमा आफुभन्दा कमजोर कोही छ भने शरिरमा आफै बल आउँदो रहेछ । लक्षण देखिएको सात दिनपछि दाइलाइ पनि निको भइरहेको थियो ।
अलिकति काम गर्दा पनि निकै थकाई लाग्ने भएको थियो र अझै पनि थकान बाँकी छ । हिजो फेरि टेष्ट गर्दा पनि पोजिटिभ देखियो । थाहा छ, अब ती भाइरसहरु मरिसकेका छन् । भाइरसले अरुलाई असर पनि गर्दैन । तर, पनि मन परेको छैन । तर, के गर्नु एउटै उपाय धेरै पोषिला चिजहरु खायो भने भाइरसका लासहरु पनि नासिनेछन् भनेर डाक्टरहरुले नआँत्तिन सुझाव दिएका छन् । अब त्यसै गर्दै बस्ने निर्णय गरेकी छु ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

