
चीनमा भरत जंगमको चर्चा
ब्राह्मणपुत्रको लकडाउन डायरी–४५
भरत शर्मा
दुई बर्षअघिको कुरा हो । मेरा चिनियाँ छात्रले एकदिन प्रश्न गरे, ‘नेपालमा तपाईको नाम भएको एकजना उपन्यासकार जंगमलाई तपाई चिन्नुहुन्छ ? उहाँले लेख्नुभएको उपन्यास ‘कालो सूर्य’ चिनियाँ भाषामा अनुवाद भएको ‘हाई थयाङ्ग’ पढ्नु भएको छ ?’
‘हामीलाई भरत जंगम र उनको उपन्यासकारिताबारे जानकारी दिनुहोस् न’, एकदिन कक्षामा चिनियाँ छात्रहरु (चन्द्र–मदन, उनीहरुको नेपाली नाम) ले विनित आग्रह गरे । यी दुई मेधावी छात्र हाल स्नातकोत्तर (एम.ए) अध्ययरत छन् ।
‘उपन्यासकार जंगम मेरो मित्र हुन् । उनीसँग पछिल्लो १५ बर्षदेखि परिचित छु । हामी दुवैबीच घनिष्ट सम्बन्ध छ । उनको यो पुस्तक धेरै बर्ष पहिले पढेको थिएँ । उनीसाहित्यकार, पत्रकार, समाजसेवी र भ्रष्ट्राचारविरोधी अभियन्ता हुन् । अन्यायविरुद्व न्याय खोज्न न्यायलय दौड्ने अधिवक्ता पनि हुन् ।’
चन्द्र–मदनले भने, ‘हामीले त ‘कालो सूर्य’ चिनियाँ भाषामा अनुवाद भएको पढेका थियौं, पछि नेपाली भाषा लेखिएको पनि एकपटक पढेका थियौं, उपन्यास पढेपछि तर नबुझेका धेरै कुरा छन् ? अर्को हप्ताको कक्षामा हामी उपन्यास र भरत जङ्गमको बारेमा पढने इच्छा छ ।’
मैले भनेँ, ‘ठीक छ, कालो सूर्य र भरत जङ्गमको बारेमा राम्रोसँग जानकारी दिने मेरो जिम्मेवारी भयो ।’
छात्रद्वयमध्ये मदनले हात जोड्दै भने, ‘नमस्कार गुरुजी ।’ मदनको कुनै कुरामा खुसी हुँदा ‘नमस्कार’ भन्ने बानी छ ।
काले सूर्यबारे पढाउन पर्ने भयो । एक पटक फेरि आफैले पढ्नु प¥यो भन्दै विश्वविद्यालयको पुस्तकालयतिर लागेँ । ‘कालो सूर्य’ लिएर निवास फर्कें र भरत जंगमलाई पढ्न थालेँ ।
पुस्तक पढ्नु भन्दा पहिले जंगमलाई भेट भएको दिन कहिले होला भनेर सम्झनँ थालेँ । २०६० सालमा राष्ट्रिय समाचार समितिमा समाचारदाता भएपछि कुनै पुस्तक विमोचन समारोहमा जंगमसँग परिचय भएको जस्तो लाग्छ ।
त्यसपछि उनले बानेश्वरको कुनै कार्यालयमा बोलाएर आफूले लेखेको पुस्तक दिएको पनि याद गरेँ । त्यसपछि २०६४ सालमा राजधानी दैनिकमा काम गर्न थालेपछि धर्म–संस्कृतिका बारेमा लेख्न थालेपछि उनीसँग भेटघाट बाक्लो हुन थालेको थियो ।
उनी पशुपतिनाथका दर्शनार्थी शिवभक्त हुन् । आक्कलझुक्कल पशुपतिनाथ मन्दिरमा भेट हुने गरेको थियो । उनले आफ्नो एउटा लेखमा आफू हरेक दिन बिहान ५ बजेभन्दा अगाडि पशुपतिनाथ दर्शन गर्न जाने दैनिक दर्शनार्थी हुँ भनेर लेखेको पढेको थिएँ ।
मचाहिँ सोमबार र विहीबार बिहान वा साँझको समयमा पशुपतिनाथ मन्दिर पुग्ने हप्ते दर्शनार्थी भएकाले उनीसँग अलि कम भेट भएको होला । बेलाबखत धार्मिक र साहित्यिक कार्यक्रममा भेट हुँदा जङ्गम भन्ने गर्थे, ‘धर्म÷संस्कृति र साहित्यका कुरा गरौं, तपाईं एक पटक मेरो अफिसमा आउनु न ।’
पटकपटक हुन्छ हजुर भने पनि भेट्न नजाँदा धार्मिक साहित्यिक कार्यक्रमहरुमा भेट हुँदा ‘खै त खै तपाई मेरोमा आउनु भएन’ भनेर सम्झाउँथे ।
उनी राजनीतिमा चाँसो राख्ने, भ्रष्टाचारविरोधी र साहित्य र पत्रकारिता बुझेका समाजसेवी भएर होला, सबैजसो पत्रकारलाई साथी बनाउन खोज्ने उनको बानी थियो ।
राष्ट्रिय समाचार समिति र राजधानी दैनिकमा काम गर्दा धेरैजसो प्रा.डा माधव भट्टराईको साथमा हिँड्ने देखेपछि जंगमले सायद मलाई अलि नजिक बनाउन खोजेका थिए । मैले धर्म–संस्कृतिका विभिन्न विषयमा लेखेका समाचार विषय पढेपछि एकदिन जंगमले हत्ते गरेर कार्यालयमा बोलाए र केही पुस्तक दिएर पठाएको याद छ । त्यसबेला सायद उनले ‘रातो घाम’, ‘व्यूहचक्र’, ‘पचास प्रसंग’ आदि पुस्तक दिएको जस्तो लाग्छ ।
‘यो किताब पढ्नुस् तपाईको पत्रकारिता र लेखकका लागि निकै उपयोगी हुनेछ’, आफनो लेखनको तारिफ गर्न पछि नपर्ने उनको बानी नैं छ । स्वभाविक पनि हो, आफूले लेखेका कृति सबैलाई राम्रो लाग्छ, र लाग्नु पनि पर्छ । जंगमले १३ बर्ष पहिले भनेका थिए, ‘पत्रकारितामा सफल हुने हो भने पढ्न छोडनु हुँदैन, मेरो पुस्तक पढ्नु । धेरै जानकारी पाउनुहुन्छ ।’
हुन्छ, दाजु म तपाईका सबै पुस्तक पढ्छु अनि भेटौला भनेर छुट्टिएको थिएँ ।
‘तपाईले सबै पुस्तक पढ्नु भयो ?’, पुस्तक दिएको एकाध महिनामा धार्मिक कार्यक्रममा भेट्दा पहिलो प्रश्न नैं यही गर्ने भरत जंगमलाई पुस्तकभित्रको कुनै एक प्रसङ्गको बारेमा बताउँदा उनी दंङ्ग परेर मुस्कुराएको यादगार दिनहरु सम्झना छ ।
यति मिठो हाँसो हाँस्ने जंगमभित्रको उत्साह र सक्रियता देखेर म आफै दंग पर्थें ।
‘तपाईले लेखेका धर्म÷संस्कृतिका समाचारहरु पढ्ने गरेको छु, ‘माधव दाई’ (उनी प्रा.डा माधव भट्टराईलाई ‘माधव दाई’ भनेर बोलाउँछन्)को संगत गर्नुभएको छ । दाई त विद्वान हुनुहुन्छ, उहाँको संगतबाट धर्म÷संस्कृतिका बारेमा उहाँमा भएका अथाह ज्ञानलाई पत्रकारितामा ल्याउनु पछ्र्र । त्यो काम तपाईले गर्नसक्नु हुन्छ’, भेट भएका बेला जंगम मलाई उत्साह भरिदिने काम गरिरहन्थे ।
२०६५ साल पुस महिनामा तत्कालीन प्रचण्ड सरकारले श्री पशुपतिनाथको परम्पराविरुद्व मन्दिर भत्रको ढुकुटी खोल्ने, मन्दिरको अर्चक (पुजारी) परिवर्तन गर्ने निर्णयको विरुद्वमा हामी दुई भरत–भरत बीचको सम्बन्ध प्रगाढ भयो ।
सो निर्णयको विरुद्वमा भरत जङ्गम अदालततिर लागे । म भने हरेक दिन पशुपतिनाथ मन्दिरमा पुगेर दैनिक समाचार संकलन गर्ने काममा खटिएँ । बिहानै मन्दिर जाने, दिनभर पशुपतिनाथमा बसेर साँझ मात्र कार्यालय फर्केर दिनभरका गतिविधिलाई विस्तृतमा लेख्ने मेरो त्यतिबेलाको समाचार संकलन र लेखनबाट जंगम खुसी भएका थिए ।
त्यसबेला उनीसँग एकै दिनमा पटक–पटक कुरा हुन थालेपछि सम्बन्ध झन् गाढा भयो । त्यसबेला जंगम हरेक दिन साँझ पशुपतिनाथ पुग्थे ।
पशुपतिनाथमा पूजा रोकिएको थियो । हरेक दिन बिहादेखि नैं स्थानीय भण्डारीहरु विरोधमा उत्रिएका थिए । मन्दिरमा नियुक्त गरेका एकजना पुजारीले पूजा गर्न नसक्दा मन्दिरभित्रको गर्भगृहमा पूजा हुन सकेको थिएन ।
दर्शनार्थीहरु निकै कम थिए । दैनिक दर्शनार्थी जान छाडेका थिए । सुरक्षाकर्मीको घेराभित्र रहेको पशुपति क्षेत्रमा स्वदेशी र केही भारतीय पत्रकारहरु समाचार संकलनका लागि आउन थालेका थिए ।
जंगम साँझ पशुपतिनाथ पुगेर विरोधमा अन्तर्वार्ता दिनै भने पनि पुग्थे । सनातन धर्म रक्षाको लागि अदालतमा निवेदन दिएको छु भन्दै पत्रकारलाई जानकारी दिन्थे ।
‘म पशुपतिनाथको भक्त हुँ । श्रीको पूजा रोकिएको छ’, आँखाबाट आँशु खसाल्दै जंगमले पशुपतिनाथ प्राङ्गणमा पत्रकारलाई अन्तर्वार्ता दिएका थिए ।
त्यतिबेला पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरुले ‘हाम्राविरुद्व बोल्ने र हामीले गरेको निर्णय गलत हो भन्ने आशयमा लेख्ने दुई जना भरत छन्’ भनेर हामीलाई दुर्वाच्य प्रयोग गरेका थिए ।
कोषले गरेको निर्णय सनातन पराम्पराविरुद्व हो भनेर पत्रकारको हैसियतमा मैले भारतीय सञ्चारमाध्यम आजतकलाई अन्तर्वार्ता दिएपछि कोषका पदाधिकारीले ममाथि गलत नजर राखेका थिए ।
एक सातासम्म चलेको पशुपतिनाथ काण्ड सर्वोच्च अदालतले सरकारले गरेको निर्णय गलत भएको भनेपछि रोकियो । नियमानुसार पुरानै चलन अनुसार पूजा शुरु हुने भयो ।
सर्वोच्चको आदेशपछि पशुपतिनाथमा जंगमको चुरीफूरी एक्कासी बढ्यो । भण्डारी र स्नाथीय बासिन्दाले जंगमलाई स्वागत गरेका थिए ।
‘भण्डारी र स्थानीय जनतालाई कसैले पशुपतिनाथको सनातन परम्पराविरुद्व काम गर्दा भरत जंगम सधै न्यायको पक्षमा लड्न तयार छ’ भनेर भाषण गर्दा एक मिनेटसम्म ताली बजेको थियो ।
त्यतिबेला तत्कालीन सरकार प्रमुख प्रचण्डले संसदमा पशुपतिनाथबारे गरेको निर्णय गलत भयो भन्दै माफी मागेका थिए ।
सनातन परम्परा अनुसार सात दिनपछि क्षमापूजा गर्दा अर्चक भट्टको निवासबाट निस्कँदा जंगम अघि–अघि लागेर मन्दिर परिक्रमा गरेका थिए । पशुपतिनाथ घटनापछि जंगमसँग मेरो सम्बन्ध बाक्लो भएको हो ।
पशुपतिनाथ काण्ड भएको एक महिनापछि पशुपतिनाथका मुल भट्ट महावलेश्वरलाई भेट्न जानु पर्ला भनेर सोच्दै थिएँ । भट्टले पत्रकार भनेपछि भेट नदिन पनि सक्छन् भन्ने डर मानेर बिहीबार साँझको समयमा पशुपतिनाथ दर्शन गरेपछि भट्ट निवास गएँ । नाम, पेशा सबै लेखेर निजी सहयोगीमार्फत पठाएको थिएँ । पाँच मिनेटपछि माथिबाट बोलावट भयो ।
महाबलेश्वरले भने, ‘तपाई पत्रकार हो । तपाई के लेख्नुहुन्छ भन्दै राजधानी दैनिकमा मैले पशुपतिनाथबारे लेखेको सबै समाचार देखाउनुभयो । मनमनै डर पनि लाग्यो । तर मैले जे देखे, त्यही लेखेको छु । किन डराउनु ?’ भनेर अलि हर्षित अनुहार बनाएँ ।
‘तपाईंलाई मैले बोलाउनु पर्ला भनेर सम्झिरहेको थिएँ । आज पशुपतिनाथले बोलाइदिनु भयो’, उनले भने, ‘तपाईकोे जन्मपत्रिका बताउनुस् । घर कहाँ हो, कहाँ पढेको ?’
‘म काशीमा पढेको, हजुरबा पंण्डित हुनुहुन्थ्यो । हजुरबाले पंण्डित हुनुपर्छ भन्नु भएको थियो तर म पत्रकार भएँ ।’
‘पण्डित बन्न छोडेर पत्रकार किन ?’
‘खै हजुर ! मलाई पत्रकारिता विषय निकै राम्रो लाग्यो । पण्डित बन्ने इच्छाभन्दा पत्रकार बनेर धर्म÷संस्कृतिको सेवा गर्ने इच्छा भयो ।’
‘राम्रो, राम्रो, तिमीअगाडि बढ । तिमीलाई पशुपतिनाथको आशिर्वाद छ । धर्म, संस्कृति विषयमा लेखिरहनु तर ब्राह्मणले गर्ने षडकर्म नछोडनु । अध्ययन, अध्यापन, यज्ञ, अनुष्ठान, दान दिने र लिने काम जारी राख्नु । पत्रकारिता तिम्रो लागि यज्ञ, अनुष्ठान हो ।’
मुलभट्टले एक्कासी सोधे, ‘के तिमी भरत जंगमलाई पनि चिन्छौं ?’
‘पाँच बर्षदखि चिनेको छु हजुर ।’
‘ल ठीक छ, आज धेरै कुरा भयो । समय मिलाएर आउँदै गर्नु । मैले आजसम्म कुनै पत्रकारसँग भेटेर केही कुरा गरेको छैन । हाम्रो काम पशुपतिनाथको पूजा मात्र गर्ने हो । तिमीलाई विश्वास लागेर मात्र पहिलो पटक पत्रकारसँग यति धेरै कुरा गरेँ । हामी बीच भएको कुरा त केही नलेख्नु नि ।’
‘पत्रकारितामा ‘अफ द रेकर्ड’ भन्ने मान्यता हुन्छ हजुर । हजुरसँग र हजुरले भनेका कुरा अहिले होइन, पछि कुनै बेला लेख्ने गरी डायरीमा टिपेर राख्छु ।’
पत्रकार चतुर हुन्छ भन्ने सुनेको थिएँ । तिमी पनि ‘चलाख’ रहेछौं’, भट्टले श्री पशुपतिनाथको चन्दन र प्रसाद र दिँदै भने, ‘तिमी अब सधैजसो पशुपतिनाथ आउँदा यो घरमा आउनु, तिम्रो लागि यो ढोका आजबाट सधै खुल्ला भयो ।’
‘भरत जंगम पशुपतिनाथका भक्त हुन् । उनलाई म धेरै पहिलेदेखि चिन्छु । अब अर्को पशुपतिनाथका भक्त भरत थपियौ । तिमीहरुले सनातन परम्परा र पशुपतिनाथ मन्दिरको महिमा, यस क्षेत्रको उन्नतीको लागि काम गरिरहनु । मेरो यही आशीर्वाद छ’, महावलेश्वरले भनेका कुरा डायरीमा लेखेर राखेको थिएँ ।
उनी २०७१ सालमा पशुपतिनाथ छोडेर दक्षिणभारत फर्के ।
२०७४ सालमा चीनमा पढाउन जाने अवसर पाएको खबर भारतमा रहेका महावलेश्वरलाई फोन गरेर भनेँ, ‘म चीनमा पढाउनका लागि जाने भएँ ।’
खुसी हुँदै उनले उही पुरानो शब्द भने, ‘तिमी चलाख छौं’, षडकर्म छोडेका छैनौं नि ? तिम्रो लागि अध्यापन पहिलो कर्म हो, मेरो आशीर्वाद छ । पढाउने काममा अल्छी नगर्नु, मेहनत गरेर पढ्नु र पढाउनु ।’
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

