
क्यानडामा ‘नेपालसिक’ क्यानेडियन
ग्लोबल
प्रतिभा सुवेदी
सन् १९९५ को फेब्रुअरी । उत्तरी ध्रुवको चिसोको अनुभव अनौठो किसिमको थियो । जताततै सेताम्मे देखेर म त छक्क ! अनिमलाई सोध्दै थिइन्, ‘तिमी त हिमालको देशबाट आएको होइन ?’ उनीहरुलाई के थाहा ! हिमालको देश भए पनि नेपालमा सबैतिर त हिउँ हुन्न ।
विभिन्न ५ देशका महिलाहरुलाई निम्ताइएको रहेछ, अनुभव आदानप्रदानका लागि । क्यानडाको राजधानी अटावालगायत मानटोवा, वीनीपेग, थन्डर वे, व्रान्डन र सस्काचुएनका विभिन्न संस्था र विश्वविद्यालयका समुहरुसँग हाम्रो विचार आदानप्रदानको कार्यक्रम थियो ।
विभिन्न समूहहरु र विश्वविद्यालयका विद्यार्थीहरु सामु बोल्न पर्ने हुँदा तयारी पनि गर्नुपर्ने थियो, अंग्रेजी भाषा आफ्नो भाषा थिएन । तर, लेखनको क्षेत्रमा चाख भएको कारण अध्ययन अविरल थियो र त्यसले गर्दा अनुभव बताउन पनि सहयोग भयो ।
म क्यानडा पुग्नुको संयोग दोलखासँग गाँसिएको छ । फ्रेडरीकानावे नामक यूएसी क्यानडाकी अफिसर नेपाल आउँदा निरीक्षणका लागि दोलखाको तत्कालिन डाँडाखर्क गाविस गएकी रहिछन् ।सन् १९९४ मा त्यो गाउ‘मा पुगेर ग्रामीण महिला समूहहरुसँग भेटघाट गरेकी रहिछन् । २ वर्षपछि उनी तिनै महिलाहरुको प्रगति हेर्न गईछन् । र, महिलाहरुमा जागरण र आत्मविश्वास पाईछन् । साथै नयॉ व्यक्तिहरुसँग निर्धक्क बोल्न सकेका देखेर प्रभावित भईछन् ।
हामीले त्यही गाउँमा पुगेर हामीले महिला र विकास विषयक तालीम दिएका थियौं । राम्रो लागेको बताएछन् । अनि ती अफिसर काठमाडौं फर्केपछि मसँग भेट्न ईच्छुक भईछन् ।
त्यही बीचमा उनले पुस्तक पसलमा नेपाली वुमन राईजिड. पुस्तक खरीद गरी पढ्दै रहिछन् । उनको अनुरोधमा मसँग नेपालको यूएससि क्यानडा अफिसले मिटिङ राखे । मलाई भेटेपछि उनले सोधिन्, ‘कितावकी लेखिका पनि तिमी नै हौ ?’
किताब लेखनको महत्व र मान्यता पनि पश्चिमी जगतमा हामीहरुभन्दा बढी हुँदोरहेछ । त्यसपछि मेरो अनुभव बाँड्न क्यानडामा यी महिलाले मेरो नाम सिफारिस गरेकी रहिछिन् । र, मलाई निम्ता आयो ।
हिउँद्मा क्यानडाको मौसम अत्यन्त चिसो र सिमसिम पानी परेकोजस्तो । नेपालजस्तो भूपरीवेष्टित देशको मान्छे म । पृथ्वीको अर्को भागमा पुग्दा सबैकुरा नौलो र सबै व्यवस्थापन नौलो लाग्नु स्वभाविक हो ।
एयरपोर्ट अनि सडकमा पनि हामीले भान्सामा प्रयोग गर्ने नुन हालेर हिउँ पन्छ्याउन र सफा गर्नपर्ने रहेछ । हिउँद् र बर्षामा मौसम अनुकुल घर–घरको मूल ढोकाको खापा पनि फेर्न पर्ने रहेछ । मोटरको टायर पनि हिउँद् र वर्षाको समयमा फरक फरक किसिमको प्रयोग हुँदो रहेछ । हिउँ पर्ने समयमा बाटोमा हिउँमा नचिप्लने खालको टायर राख्नपर्ने कुरा थाहा पाउँदा अनौठो लाग्यो ।
मनमा लाग्यो, ‘यो देशका धेरैजसो मानिस धनी छन् । तसर्थ यो सब सुविधाहरु सम्भव छ र यस्तो हिउँ पर्ने ठाउँमा पनि जीवन सुविधायुक्त रहेछ ।’
विशाल भौगोलिक क्षेत्रफल, खनिज सम्पदामा पनि धनी देश भएता पनि जनघनत्वचाहिँ कम । उत्तरी भाग ज्यादै ठण्डा भएको कारण बसोवास लायक छैन । बस्नलायक शहरहरुमा पनि ठूला ठूला अन्टारियो नामक तलाउ हिउँद्मा आईसमा परिवर्तन हुँदा रहेछन् । चिसोका कारण नदीको पानी जमेको हुन्छ र जमेको बरफमाथि स्केटिड.खेल्दछन् । वर्षामा पानीको तलाउ हुन्छ, हिउँद्मा टेकेर हिँड्न मिल्छ भनेपछि कति ठन्डा होला त ?
टोरन्टोबाट नायग्राफल्स देखाउन साथीहरुले लगे । हरियो नीलो–नीलो देखिने पानीको बहावसँगै टेकेको जमीन पनि बगेको जस्तो । सिमसिम पानीले भिजाउँदो रहेछ । मार्च महिना भए पनि लामो कोट त लगाईरहन नै पर्ने । नायग्राफल्स विश्वको सातौ आश्चर्यमध्ये पर्दछ ।
कहाँ नेपालका ग्रामीण महिलाहरुसँगको भेटघाटमा देखेका समस्या, कहाँ क्यानडाका महिलाहरुका दैनिकी । यहाँ स्वास्थ्य सुविधा, शिक्षा सुविधा, बेरोजगारी भत्ता, वुढेसकाल भत्ता सबै व्यवस्था सरकारले गरेको छ । भौतिक विकासका विषय र सरसुविधा देख्दा त म छक्क नै परेँ ।
हरेक समय म मेरो देश सम्झँन्थे । नक्सा हेर्दै मेरो बोल्ने कार्यक्रम कुन कक्षामा छ भनेर जान पथ्र्यो, जसका लागि मलाई गाइड आवश्यक हुन्थ्यो । अनि म क्लाससमा पुगेपछि भन्ने गर्थें, मलाई त मेरो देशमा देशको एक भागबाट अर्को भागमा जान र हिड्न पनि नक्सा चाहिँदैन । यहाँ भने जुन भवनभित्र जान पनि नक्शा हेर्न पर्छ । यो भवनभित्र कक्षा कोठा पत्ता लगाउन नक्सा हेन पर्ने कुरा मलाई अनौठो लागेको विषय ती विद्यार्थीहरुलाई बताउँदा विद्यार्थीहरु छक्क परेर मलाई हेर्थे ।
धेरै समुह भेट भए । त्यसमा नेपाल आएका र नेपालबारे थाहा पाएकाहरु पनि रहेछन् । नेपाली आएर बोल्दैछन् भन्ने थाहा पाएपछि आफ्नै चाखले पनि आउने गर्दा रहेछन् । एक जना क्यानडेली महिलाले भनिन्, ‘म नेपाल सम्झेर होमसिक भएकी छु नेपालको सम्झना ज्यादै आउँछ ।’
अरुको देश सम्झेर किन यस्तो होमसिक भएको होला !
‘म क्यानडेली तर नेपाल बस्दा मेरो जीवन सुखमय थियो । मानिसको जीवन मेसिनको जस्तो थिएन । घरमा काम गर्ने मानिस राख्न पाइन्थ्यो । थाकेर बाहिरबाट आउँदा मिठो चिया बनाएर दिन्थे । सत्कार गर्ने नेपालीको बानी खुब सम्झना आउँछ । यहा ँत सबै काम हामी आफैले गर्नुपर्छ ।’
हामीलाई बस्ने व्यवस्था मिलाइएको घरको परिवारकी महिला नेपाल आएकी रहिछिन् । उनी पाहुनालाई स्वागत गर्ने नेपाली तरिकाबाट प्रभावित रहिछन् । उनले भनिन्, ‘नेपालीहरु पैसाको हिसाबमा धनी छैनन् तर अत्यन्त सौहार्द् छन् र व्यक्तिवादी छैनन्, जुन हामी पश्चिमाहरुले सिक्न पर्दछ ।’
उन्ीले हामीलाई हाम्रो केही नेपाली गाउँमा पुग्दाको सत्कार जस्तै वेडरुम खाली गरिदिएर पाहुना मान्न बोलाए । हामी छक्क पनि पर्यौं । यो पाहुना सत्कारका कुरा पश्चिमाहरुले हामीबाट सिकेछन् । हामी खुसी पनि भएम किनकि यिनीहरु हामीबाट पनि प्रभावित रहेछन् ।
नेलशन ब्रान्डन शहरबाट विभिन्न समुहहरुसँग भेटघाट र अनुभवको आदानप्रदानपछि पुराउन आउने व्यक्तिले हामी चढ्ने कारमा मैनबत्ती, सलाई र कम्बल राखेको देखे । तर, त्यसको अर्थ थाहा थिएन । बाहिर निक्लँदा अन्धाधुन्ध पानी परिरहेको चिसो बताससगैं हिउँ परिरहेको थियो । हतारहतार मैनबत्ती र कम्वल अनि सलाई बटुलेर कारमा राखेको कारण पछि मात्र थाहा पाएँ । क्रिश्चियन धर्मालम्बीहरु आपतकालमा यात्रा गर्दा कम्बल र मैनबत्ती लिएर यात्रा गर्दा रहेछन् ।
यसरी यात्रा गर्दा ईशुले रक्षा गर्ने किंवदन्ती सुनाए ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

