राम-राम !

ब्राह्मणपुत्रको लकडाउन डायरी–४२
भरत शर्मा

‘शिक्षाले व्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ ।’ ऋग्वेद ।

आजको लकडाउन डायरीमा वेदको कुरा गर्न खोजिएको छैन ।

‘बुर्जुआ शिक्षाको काम छैन । शिक्षा माफियाको हातमा पुग्यो’, यो नेपालकै कम्युनिस्ट नेताको भनाई हो । ज्ञानलाई बुर्जुआ भन्ने र देख्ने नेताका कुरा सुनेर राजनीतिक र शिक्षाका बारेमा बहस गर्न खोजिएको पनि होइन ।

सिद्वान्तविनाको राजनीति
कार्यविनाको धन–सम्पत्ति
विवेकविनाको आनन्द
चरित्रविनाको ज्ञान
नैतिकताविनाको व्यवसाय
मानवताविनाको विज्ञान
त्यागविनाको आराधना
सत्य र निष्ठाविनाको जीवन

माथि जे लेखिए, त्यसविरुद्ध थिए शान्तिवादी महात्मा गान्धी । तर, यहाँ गान्धीको विचारहरुमात्र पनि लेख्न खोजिएको होइन । गान्धीका जीवनी धेरै पढिएको र सुनिएकै विषय हो ।

खसोखास आजको डायरीको विषय के हो त ?

‘माक्र्सवाद और रामराज्य’

र, यो पुस्तकको नाम हो । श्रीस्वामी करपात्रीजी महाराजले काशीमा बसेर लेखेको, सन् १९५७ (वि.स.२०१४) मा प्रकाशित भएको थियो ।

सभ्यता, धर्म, संस्कृति, साहित्य र राजनीतिको विषयमा लेखिएको पुस्तकको नाम सुनेको २० बर्ष र पढ्न थालेको १५ बर्ष भयो । गृहपुस्तकालयमा वेद, पुराण, धर्मशास्त्र, ज्योतिषी र कर्मकाण्डका पुस्तकको बीचमा यो पुस्तकलाई सजाएर राख्ने गरेको छु । हरेक बर्ष एकपटक पल्टाएर मुख्य–मुख्य सन्दर्भ र विषयमाथि अध्ययन र चिन्तन गर्दै आएको छु ।

गतबर्षको लकडाउनमा यो पुस्तकलाई अद्योपान्त छिचोल्ने वाचा गरेको थिएँ र यसपटकको लकडाउनमा पुरा गरेँ । ८ सय ४५ पृष्ठको यो पुस्तकभित्र पाश्चात्य दर्शन, राजनीति, विकासवाद, व्यक्तिवाद, उपभोगितावाद, आदर्शवाद, विकासवाद, वर्ग सङ्घर्ष, भौतिकवाद, आत्मा, परमात्मा, ईश्वर, ज्ञान, अर्थव्यवस्था, रामराज्यदेखि जनवादी राजसत्तासम्मका व्याख्यान छन् ।

सनातनशास्त्र, भौतिकशास्त्र र पत्रकारिता, भाषा, साहित्य, कला, संस्कृति, भूगोल र इतिहास, चार वेद, अठार पुराण, उपनिषद्, महाभारत श्रीमद्भगवत गीता आदि अनेक शास्त्रहरुको अध्ययन गरेको सबै विद्वतजनहरुसँग मेरो विनम्र अनुरोध छ, समय निकालेर एक पटक ‘माक्र्सवाद और रामराज्य’ पढ्नु होला ।

‘जनवादी राज्यसत्ता’ शीर्षकको च्याप्टरचाहिँ धेरै पटक पढेँ । पढ्नुको कारण छ, २०५४ सालतिर काशीबाट फर्केपछि नेपाली सेनामा भर्ना हुने सोच बनाएर फारम भरेर दौड्ने प्रतियोगतामा सामेल भएँ । त्यसपछि आफ्नो गाउँ धादिङको सल्यानटार जाँदा जनसत्ता ल्याउने भन्दै तत्कालीन माओवादीले आयोजना गरेको प्रशिक्षणमा सहभागी हुन पर्ने भयो । दुई दिने प्रशिक्षणमा सहभागी हुँदा माक्र्सवाद र जनवादी सत्ताको कुरा सुनेँ । त्यो अल्पज्ञानम् भयकरम् जस्तो प्रशिक्षण थियो । केही प्रश्न राख्न खोजेँ तर नियम कडा रहेछ । तिनै कमाण्डरको निर्देशन मात्र सुनेँ ।

मैले त्यतिबेला माओवादीका कमाण्डर (नाम उपनामले चिनिने) विकल्प, सिकल्प यस्तै के थियो । प्रशिणक्षामा शिक्षालाई बुर्जुवा भन्दै खुब विरोध गरे, उनी उनीहरुको तारो थियो, प्रहरी र सेना । प्रशिक्षणका क्रममा नेपाली सेना र प्रहरीचाहिँ नेपाली नै होइनन् बरु बर्ग दुस्मन हो भन्ने शैलीमा भने । दुस्मनको विरुद्व लडेर राज्यसत्ता ल्याउने लक्ष्यमा हिँडेको तर्क गरेका थिए ति बुहलठ्ठी कमाण्डरले ।

सोही प्रशिक्षणबाट फर्केपछि म सिघै भारत (काशी) फर्किएँ । सेनामा जागिर हुने अवसर त्यागेँ । मेरो सेनामा भर्ना हुने, देशको सेवा गर्ने चाहनाको बाधक भयो त्यो प्रशिक्षण ।

अहिले यसो विगत सम्झन्छु, साथै पढेका गाउँका दौतरीहरु अहिले नेपाली सेना सेवापछि पट्टा बनाएर पेन्सन खाएर घरमा बस्दैछन् । मजस्तै हजारौं व्यक्तिको सेना–प्रहरी हुने चाहना जनसत्ताधारीहरुले चकनाचुर बनाए । त्यस्ताको के कुरा गर्नु ?

काशीमा पुगेपछि मैले मेरा गुरु देवराज पौडेल र नेपाली, भुटानी र भारतीय सहपाठीहरुलाई नेपालको तत्कालीन अवस्था हालचाल बताएँ । नेपालमा जनयुद्व शुरु भएको कुरा सुनाएपछि गुरुले एकदिनको कक्षामा ‘माक्र्सवाद और रामराज्य’ पुस्तकबारे साराशं पढाउनुभयो । गुरुले पढाउनु भएको कक्षा सुनेपछि माओवादीको प्रशिक्षणमा सुनेका कुरा सबै भुलेँ ।

गुरुले भन्नुभएको थियो, ‘नेपालका नक्सलवादी (कम्युनिष्टहरु) भारतमा लुकेर बसेका छन् रे । कतै बनारसमा त आएका छैनन् । कोही नेपाली नेताहरुले बोलाए भने नजानु नि ।’ उहाँले त्यसो भनेर सचेत गराउनु भएको थियो । केही समयपछि माओवादी नेताहरु काशीमा होइन, उत्तरप्रदेशको राजधानी लखनउमा छन् भन्ने समाचार काशीबाट प्रकाशित हुने दैनिक पत्रिकामा छापिएको थियो ।

‘जनसत्ता भनेको जनतालाई दुःख दिने, लुट्ने, र जनता–जनता बीच द्वन्द्व र युद्व गराउनेबाहेक केही होइन, पुस्तकमा यस्तो छ’, गुरुले भन्नुभएको थियो ।

त्यसपछि नेपाल फर्कने बेला सो पुस्तक काशीबाट बोकेर ल्याएको थिएँ । काठमाडौं आएर मामाको घरमा आश्रय लिएर बस्दा एकजना पर्वततिर घर भएका मामाका मित्र कम्युनिष्ट शिक्षक–नेताले पढ्न लगेको त्यो पुस्तक फिर्ता गरेनन् ।

त्यसपछि २०६९ सालमा भारत जाँदा बनारसबाट फेरि खरिद गरेर ल्याएँ । गीता प्रेसले प्रकाशित गरेको पुस्तक निकै सस्तो छ, भारु ७५ रुपैयाँ मात्र ।

अहिले देशकोे राजनीतिक तस्वीर हेर्दा, नेताहरुको चरित्र देख्दा र बोली सुन्दा मजस्ता लाखौं नागरिकलाई दिक्क लागेर आउँछ होला ।

माक्र्सवादका अनुसार, पूँजीवादी सभ्यता र संस्कृतिका आधार भनेको एकमात्र अर्थवाद हो । पुरानो सभ्यता र सम्बन्धको अन्त र केवल अर्थमूलक सम्बन्धमा यसले जोड दिन्छ । अहिलेका माक्र्सवादी सबै दल र गुटको नेताका ध्येय भनेको अर्थवाद नै भएको छ । महङ्गो मोटर, विलासिताका घर, टलक्क टल्कने पहिरनमा सजिएका माक्र्सवादीहरुको जीवनशैली देखेपछि काशीमा गुरुले भन्नुभएको कुरा ठ्याक्कै मिलेको ठान्दछु ।

जनसत्ताका लागि लडेका माओवादी जनयुद्वले भनेको जातीय, क्षेत्रीय, वर्गिय, लिङ्गीय आदि इत्यादी सत्ता भनेको भनेको यही हो त ?

पुस्तकमा लेखिएको छ, ‘माक्र्सवादीहरुले जनतालाई एउटा कुरा र सत्ताधारीबीच अर्को कुरा गर्छन् ।’ सत्ता र शक्तिको लागि होडबाजी गर्ने, फुट्ने, टुट्ने र फेरि एक हुने नाटकहरु मञ्चन गरिरहन्छन्, माक्र्सवादीहरुले ।

जनतालाई काम, दाम, आराम दिन्छौं. भनेर कुरा गर्छन् तर काम गर्दैनन् । कति भविष्यवेत्ता रहेछन्, स्वामी करपात्री महाराज । करिव आधा शताब्दीअगाडि लेखिएको पुस्तकका कुरा अहिले आएर कसरी जस्ताको तस्तै भएको होला । अचम्मै लाग्छ, पुस्तक पढ्दा नेपाली राजनीति पढेजस्तो लाग्यो भन्या ।

राम्रो सवारी साधन, सुन्दर घर, मिठो भोजन र सुन्दर वस्त्र लगाउने जनताको चाहनालाई माक्र्सवादीहरुले त्यति चासो दिँदैनन् । केवल आफनो र आफनै सत्ता मोहका लागि काम गर्छन् । नेपालको राजनीतिक दृश्य देख्दा यस्तै लाग्छ ।

राम–राम !

‘माक्र्सवादीहरुले शासन गरेको बेलामा शासक (राजा), प्रशासक (कर्मचारी), कोष (अर्थ), सुरक्षा (सेना) र न्यायलाई समेत माक्र्सवादीहरु कब्जा गर्न खोज्छन् ।’

तपाईहरुले के हो कुरा भनेर भन्नुहोला, मैले यो कुनै कपलोकल्पित र मेरो मनको कुरा गरेको होइन, ‘माक्र्सवाद और रामराज्य’ पुस्तकमा जे लेखिएको छ, त्यही मात्र लेखेको हुँ ।

अयोग्य र मनमा आस्था नभएका (नास्तिक) राजनीतिक नेताको हातमा सत्ताको साँचो पुगेपछि देशमा भएका विद्वानहरुको पनि मुख बन्द हुन्छ । पूर्वीयशास्त्रको उदाहरण दिदै द्वापर युगमा गुरु शुक्राचार्यका पुत्र शण्डकर्म जस्तो विद्वान पनि हिरण्यकस्यपु जस्ता राजालाई देवता भन्न बाध्य भएका थिए ।

माक्र्सवादमा लागेका विद्वानहरु पनि यस्तै आस्था नभएका नेताका पछि–पछि लागेर एकोहोरो दौडन्छन् । केवल नेता र नेताले सुनाएको माक्र्सवाद रटेर हिँड्छन् ।

माक्र्सवादी सत्ताधारीले सभ्यता, संस्कृति, परम्परा, सनातन सत्य, न्याय, विवेक र शास्त्र लुप्त बनाउन खोज्छन् । लौ, तपाईं नैं भन्नुहोस्, अहिले हाम्रो देशको हालत के हुँदैछ ?

मलाई पटक–पटक तपाईं राजनीति विषयमा नलेख्नु भन्छन्, नेपालनाम्चाका सम्पादक अशोक सिलवाल । मैले भनेको छु, ‘राजनीतिको विषय मलाई लेख्न पनि आउँदैन र लेख्दिन पनि ।’

के आज मैले राजनीतिक विषयमा लेखेको हो र ? माक्र्सवाद सिद्वान्तधारीहरुको सत्य कुरा के हो भनेर खुलाउन खोजेको मात्र हो ।

माक्सवादीहरु आफू एक हुँदैनन्, आफना मित्र गुट–उपगुट बनाएर हिड्छन्, पुस्तकमा लेखेको कुरा भनेको हुँ । नेपालमा सबै दल माक्र्सवादी जस्तो लाग्छ । सत्ता र प्रतिपक्ष दुवै शक्ति माक्र्सवादी हुन् । आज यहाँ काङ्ग्रेस–कम्युनिष्टको कुरा गरेको होइन ।

राणा शासन, प्रजातन्त्र, बहुदल, लोकतन्त्र, गणतन्त्रविरुद्धका अनेक आन्दोलन र जनआन्दोलन भाग–१–२ आदि इत्यादि सबै नेपाली जनताले केका लागि लडेका थिए ? कसैलाई पनि थाहा छैन ।

अब फेरि तेस्रो जनआन्दोलनको कुरा हुँदैछ । ‘अब पनि आन्दोलनको कुरा गर्नेको मुखमा चाहिँ किरा परोस्’, यो मैले भनेको होइन, जनबोली हो ।

विश्व अब विकासवादको सिद्वान्तमा अघि बढेको छ । यसको एउटा नमुना उदाहरण भनेको चीन हो । चीनमा कम्युनिस्ट शासन छ तर त्यहाँ विकासवाद छ । चीनमा पछिल्लो चरणमा जनताका लागि अचम्भित हुने गरी सरकारले गरेको शुरु गरेको विकास अभियान ।

अमेरिका मानवअधिकार र शान्तिको कुरा गर्छ । तर, सबैभन्दा बढी हातहतियार बनाएर विश्वमा व्यापार गर्छ । चीन विआरआईमार्फत विकासको कुरा गर्दैं विश्वका साना ठूला देशमा सहकार्य गर्न खोज्दैछ ।

माक्र्सवाद अब सिद्वान्तको इतिहास मात्र जस्तो लाग्छ । विश्वका सात अर्ब मानिसले खोजेको चाहिँ विकास नै हो । जनताले आधारभूत अधिकार छाना, नाना, खाना नै हो ।

देश सम्पन्न भयो भने जनता (हामी) खुसी हुन्छौं भन्ने विकासवादीको अगाडि माक्र्सवाद पछाडि परिसकेको छ ।

ल, यदि तपाईले यो लेख पढ्नु भयो, लेखेको कुरामा चित्त बुझेन भने एकपटक ‘माक्र्सवाद और रामराज्य’ पुस्तक पढ्नु होला ।

पढेपछि मनमा आएको विचार साझा गरौं ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button