
खडेरी
कविता
सुशीला शर्मा
पहिले पहिले सोच्दथेँ
मात्र पानी नपरेर
खेत बारी
रुख्खा, सुख्खा हुन्छ,
बालीनाली लाउन
नपाई गरीब किसान झन गरीब हुन्छन्
प्रकृतिको खडेरी बचाउन
माया गरेर माटोको
गोरेटो अनि बाटोको
रुख बिरुवा वातावरणको ।
खडेरी
अहिले सोच्दछु
यो त प्रकृतिले बाहिरबाट खेतबारीलाई मात्र
कहाँ दिने हो रहेछ र ?
यो त भित्रभित्रै
रुख्खा, सुख्खा मनलाई पनि त बनाउने रहेछ
आरिसे, लोभी, पापी, जाली, झेली
खै के के जटिल, कुटिल
घुमाउने, लुकाउने ढाँट्ने, छल्ने
यी सब, मान्छेभित्रका उब्जाउ
हुन नसकेका अप्ठ्यारा खडेरीहरु
कतै प्रकृतिसँग सामिप्यता छोड्दाका
परिणाम त हैनन ?