
आमा र मेरा सबै विचार मिल्दैनन्
वरुण ज्ञवाली
तिलोत्तमा-१ ।
लेख्न त लेख्ने तर के लेख्ने ? कसरी लेख्ने ? प्रश्न चिन्ह खडा हुन्छन् । त्यत्तिकैमा कलम चल्यो अनि दिमागले सोच्यो, लेखौ न आफ्नो अस्तित्वसँग प्रत्यक्ष प्रभाव पार्ने व्यक्ति आमाबारे ।
आमा शब्द त्यसरी आएको होला, जब बच्चाले जन्मनेबित्तिकै मुखबाट उच्चारण गर्दा निस्कने रुहावट आँ … व्वा … आमा ।
संसारमा सबैभन्दा बढी नजिक श्रीमतीश्रीमान, प्रेमीप्रेमिका, साथीसंगी, दाइदिदी जोसँग छु भने तापनि वास्तवमा आमाभन्दा नजिकको कोहि छैन । किनकि, कुनै बेला ती दुई शरीर दुई थिएन । एक थियो । आमाको बारेमा धेरै लेख, कविता, कथाहरु लेखिए । सबैले तारिफ गरे । तर, म अलिकति फरक प्रसँगमा पनि कुरा गर्न चाहन्छु ।
सबै आमाहरु तारिफयोग्य पनि छैनन् । यो संसारमा खराब आमाहरु पनि छन् । आफैले जन्माएको सन्तानलाई निमोठेर खोलामा मिल्काउने, सडकमा छोडेर अर्कैसँग जाने, आफ्नो खुसीको लागि सन्तानको खुसीलाई निचोर्ने, पैसा कमाएका छोराछोरीलाई बढी माया गर्ने यावत उदाहरणहरु छन् । यति पढ्दै गर्दा कस्तो मान्छे रहेछ, नकारात्मक टिप्पणी गर्ने भन्ने पनि कुरा आउला । तर, जे देख्यो त्यो, जस्तो घटेको छ, त्यस्तै लेख्न र भन्नको लागि नकारात्मक भए पनि पछाडि पर्नुचाहिँ हुदैन । गहिराईसम्म पुगौं भन्ने मेरो ठम्याई हो ।
लेख्दालेख्दै मेरी आमाको कुरा पनि गरौं । मेरो बुवाको बिहे गर्ने उमेर भएछ । सरकारी स्कुलको जागिरे बुवालाई केटी भेट्टाउन त खासै गाह्रो थिएन । तर, पनि त्यो समयमा लमीले बुवाको लागि केटी हेर्नको लागि ‘गौतमको खलक राम्रो हुन्छ बाबु’ भन्दै मेरी आमासम्म पु-याएछन् । बकेर्नो भैसीको दुध हालेको चिया लिएर आमा (दो अन्जान अज्नवी भन्ने टिकटक भिडियो जस्तै) आउनुभएछ । बुवाले आमालाई हेर्नुभएछ । अनि बुवालाई लमीले ‘के छ बाबु, केटी कस्तो लाग्यो’ भन्ने प्रश्नमा मुन्टो हल्लाएपछि बिहे तय भएछ ।
बिहेको पहिलो १५ दिनसम्म त एकआपसमा कुरा नै भएको थिएन रे । त्यसपछि बल्ल बुवाले कुरा गर्न शुरु भएको रे । हाम्रो समाज बिहे भएको एक बर्षमा त नतिजाको प्रतिक्षामा हुन्छ, त्यो हो बच्चा । बुवाआमाको गर्भबाट पहिलो सन्तानको रुपमा मेरो जेठी दिदी जन्मनुभयो ।
नेपालको सन्दर्भमा अधिकाँश समुदायमा छोरी पाउँदा नाक खुम्चाउनेहरु छन् । मलाई अझ यो कुरामा हाँसो उठ्छ कि नाक खुम्चाउनेहरु अधिकतम त तिनै हुन्छन्, जो आफै महिला हुन्छन् । अपवाद त छँदैछ । मलाई यो कुरामा चित्त नै बुझ्दैन, जो छोरा जन्माउँन भन्दै छोरीहरु जन्मिँदा पनि सन्तान उत्पादन गरिरहन्छन् । हुन त यो भनिरहदा म पनि जेठी, माइली, साँइली, काँइली, कान्छी अनि एउटा दाईमुनिको कान्छो सन्तानको रुपमा जन्मिएर यो सुन्दर संसार देख्न पाएको छु । मलाई यो सुन्दर संसारमा जन्म दिनुभएकोमा आमाबुवालाई धन्यवादसहितको नमन गर्न चाहन्छु ।
यदि छोरा नभई वंश चल्दैन भनेर बस्नुभएको छ भने कृपया त्यो सोच जरैदेखि उखेलिदिनुहोला अनि दंगल फिल्म हेर्नुहोला ।
हामी पृथ्वीमा जति पनि मानवजाति छौ, सबै एकै वंशका छौ । फरक त केवल संस्कृति, धर्म, भेषभुषा, चालचलन र रितिरिवाज नै हो । हुन त हामी स्कुल पढ्दा यस्ता नैतिक शिक्षा धेरैले पढेकै हो तर ब्यवहारमा कति ल्याईयो ? यस्तै हो, चल्छ चलिरहन्छ । आमाको कुरा गर्दै थिएँ, नैतिक शिक्षातिर पुगेछु ।
संसारमा प्रत्येक आमाहरु महान हुनुहुन्छ किनकि रजस्वलाको पिडा, प्रशव पिडा र अनेकानेक पिडाहरु आमा बन्नकै लागि खेप्नुपर्ने हुन्छ । मेरी आमा पनि महान हुनुहुन्छ किनकि ७-७ जना सन्तान जन्माउँदाको पिडा खप्नुपर्यो । तर, जति गफ लाए पनि मेरी आमा र मेरो सबै विचारहरु मिल्दैनन् । हुन त आमाको मात्र होइन, संसारका प्रत्येक मान्छेको विचार दोश्रो ब्यक्तिसँग मिल्दैनन् किनकि प्रत्येक व्यक्तिले संसारलाई हेर्ने नजर, विश्वास, अनुभव, धारणा, व्याख्या र सिकाई फरकफरक हुन्छन् ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)