परदेशबाट बाँचेर आएँ मुनाको काखमा

कोरोना समयको एउटा अति मार्मिक र अति मानवीय कथा

शिल्पा लोचन

‘बाटोभरी तिमीहरुको बारेमा सोचेँ । तिमीहरुबाहेक मेरो यस दुनियाँमा अरु को छ र ?’, आँखामा भरिएको आँशु लुकाउदै बोल्यो शिव ।

‘मुना ! साँच्चै सपना देख्ने यी आँखाहरु नभएको भए हुन्थ्यो । खुशी सोच्ने दिमाग नभएको भए हुन्थ्यो । साला ! यति पीडा कहिल्यै हुन्थेन होला, दुख्ने मन नभएको भए । आवश्यकताहरुको लामो लिस्टमा पैसाको ताँती नलाग्ने भए मान्छे कति खुशी हुन सक्थ्यो होला ? आफ्नाहरुको काखमा पैसा नचाहिने भए जँगलमा पनि सायद साथै बस्न सकिन्थ्यो । आतकिंत भएर पनि जीवनबाहेक अरु नचाहिने भए ? अहो ! पैसाले नोकर र भगौडा बनेको जीवनलाई आफ्नाहरु नचाहिने भए ?’

मनमा निस्केको प्रतिप्रश्नहरुमा आफै नै जवाफहिन छ ऊ । बोलोस् पनि कसरी ? आफ्ना गुमाउने र आफ्नै मृत्यु हेरेर आएको ऊसँग गुनासोबाहेक के नै थियो र ? भारी मन बिसाए जस्तै गरी पोखिएको थियो ऊ । मन पोख्दा कहाँ मन मात्र पोखिन्छ र ? उसको आँखाहरुबाट आँशु खसिरहेको थियो । नरोऊ भन्न पनि कहाँ सक्छन् र आईमाइका जातले । तर, जमुनाको आँखमा आँशु आएको देखेपछि मौन आँशुहरु खसालिरह्यो ।

श्रीमतीको भिजेको परेला पुछिदियो । अनि दलानतिर हेरेर आँशु लुकाउन खोज्यो शिवले । आफ्नाहरुका अगाडि जतिसु्कै कठोर होस् मन, आखिरमा पग्लिन केहि बेर लाग्दैन । बलिनधारा आँशुहरु उसका आँखाबाट बगिरहे । न उसले आँशु रोक्न प्रयत्न ग-यो, न उसका आँशुहरु रोकिए ।

आँशु र औंलाका सम्बन्ध निकै प्रगाढ ! आँखाका डिलबाट आँशुहरु झर्न नपाउदै हतपत हातहरु समाल्न पुग्छन् । उसले आँशु बग्न दियो । तर, उसले यमुनाको आँखामा आँशु रहन दिएन, पुछिरहयो । उनीहरु मुुटु जोडिएकाहरु हुन् । आँशुहरु पनि एकले अर्काको पुछिदिए ।

हो, शिवको आँशु उसकै पत्नी जमुनाले पुछ्दै भनी, ‘भो भो ! अब रुन पर्दैन ।’ तर, आँखाहरु भने खहरे बनेको थियो । प्रेम शायदै यहि हो, आफ्ना पीडा बढी भए पनि लुकाएर दोस्रोको पीडा महशुस गर्ने, आफ्नाहरुका अगाडि आफ्ना पीडाहरु सहिदिने, सकिनसकि पिडा लुकाउने अनि हाँसेको छु भनेर देखाउने । सकस भएर पनि सहज छु भन्न त माया गर्नेहरुले मात्र सक्छन् । शिवले जमुनालाई बाहुमा कस्दै बिस्तारै भन्यो, ‘धन्न बाँचियो । अनि तिमी … ।’

आज जमुना मख्ख छे । नहोस् पनि कसरी ? घर आउने हो कि होइन मनभरिको डरले ननिदाएका रातहरु अनि भयंकर कल्पनाको आतंकको मलम बनेको छ पतिको आगमन । आज मन हलुका भएको छ उसको । शरीर फूलजस्तै चङ्गा । हातहरु हल्का भएको छ । शरीर त्यसै त्यसै पुलकित भएको थियो उसको । आँखाका पुतलीहरु सबै चिजलाई छलेर उही प्राणनाथका अनुहारमा हामफाल्थे । लाजले अनुहार निहुरिन्थ्यो । ओठहरु खुशीले लम्बिएका थिए ।

हो, परदेशको विरानो सहरमा थियो शिव । अनि आतंक, महामारीको भुमरी । काल कोठरीजस्तै क्वारेन्टाइन हाउस । कोराना पोजिटिभि भएर आइसोलेसनको छटपटिबाट आजै मात्र घर आएको हो शिव । विदेशको भुमिमा जताततै डरले जमाएको डेराले उसको मन खाएको थियो । भर्नाको दिनदेखि कोरोनाले मर्ने हो कि भन्ने आतंक र मृत्यूको भयमा कटेका हर सेकण्डमा नसम्झेको केहि पनि थिएन । छोराछोरीको भविष्य, आफ्नो देश, ‘सिउँदो उजाडिएको श्रीमतीको रुखो जीवनको कल्पना’ले मुर्छा पथ्र्यो बेला बेला अनि लाखौलाख डरले डेरा जमाएर बैचन रहन्थ्यो । सायद जीवन रहँदैन ! यो डरले मुर्छित परेको हुन्थ्यो ।

‘अहो ! प्रदेशको जीवन, अनि डरको आतंक, कति भयावह थियो मुना !’, उसले जमुनालाई मायाले मुना भन्थ्यो ।

‘यदि धैर्य र साहस तैले नदिएको भए कसरी म आउँथे र ? मैले हार मानेको थिएँ मुना । साँच्चै खुवै डराएको थिएँ, तेरै मायाले म बाँचेँ मुना । तँ नभएको भए, जीवनको माया नै थिएन हेर । तँ यति माया गर्छेस्, मृत्यू पनि मलाई जिस्काएर गयो । तँ मेरो सबै चिज हो ।’

डर, पतिको प्रेम र चिन्ताले हर रात ननिदाएकी प्यासी मन । बाटोभरि आशा र निराशाका आँखाहरु बिछ्याएकी प्रेमी जमुना । रात–रातभर भगवानको नाममा आरती गर्दै आँशुले हाडछाला मात्र भएकी छे । सायद कोरोना पोजिटिभ भएको सुन्ने दिनदेखि राम्रोसँग खाएकी छैन । आज प्यारो मान्छेको अगाडि ती छट्पटीलाई भुलेर रमाइरहेकी छे ।

जमुनाको काखमा टाउको धल्काउदै लामो सास फेर्यो उसले ।

‘ए मुना तँ त मेरो आमा होस्, आमाको काख पनि तेरो जस्तै थियो होला’, ऊ आमाको काखमा जस्तै पल्टियो । अनि बिस्तारै आँखाको आँशु पुछ्दै भन्यो, ‘तँ कति दुब्लाइस हँ ? खाना पनि खाइनस् होली मेरो पीरले । रोएर बसेकी थिइस् होली ? तँलाई खुशी दिन सकिनँ मैले ।’

जमुनाको हात हातमा खेलाउदै भन्यो, ‘मलाई पाप लाग्छ, तलाई खुब दुख्ख दिएँ । मलाई गाली नगरेस् है मुना । आखिर जे भए पनि म तेरै हो ।’

गन्थन गरिरहे । एक अर्काको पीडा खुशी महशुस गरिरहे ।

जीवन रहे पो हाम्रा खुशीहरु रहन्छन् नत्र त के छ र दुइ दिनको चोलामा ।

शिवले जमुनाको हात तान्यो र छातीमा टाँस्यो । कहिले खुशी हुन्थ्यो उतपातै केटाकेटीजस्तैै, कहिले निराश हुन्थ्यो ।

‘ओइ, थाहा छ तँलाई ! घर फर्केर आउँला भन्ने सोचेकै थिइनँ । तँ नभएको भए हिम्मत–हौसला आउँथेन । डरले खान नि मनै लाग्थेन । मेरो क्वाटरमा बसेको साथी मरेपछि त मलाई बाँचौला जस्तै लाग्दै लागेन यार । तेरो मायाले, तेरो चिन्ताले …’, ऊ भक्कानियो ।

घरि हातको मोवाइलमा समय हेथ्र्यो, घरि जमुनाका गलामा चिउँडोमा हात पुग्थे ।

‘धन्न बचेर आएँ’, बारम्बार यहि भनिरहेको थियो । परदेशको मृत्यु शैयामा पल्टिँदा भएको एैठनले निदाउन दिँदैन्थ्यो अनि प्यारो मान्छेको समिप्यता विश्वास लागेको थिएन उसलाई ।

‘ओई आज नसुतौं है ! मलाई त्यहाँका कुरा सुनाउने मन छैन’, उसले जमुनालाई हेथ्र्यो । अनि मायाले छाती फुक्थ्यो । ढुक्क भएर नि चञ्चल भएको थियो शिव । कोरोना पोजिटिभ भएदेखि पैतालिस दिनसम्म हरेक हप्ता पोजेटिभ हुने डर अनि घरको याद उफ ! कति लामो थियो समय । घडि पनि रोकिएर हिँडेजस्तै । कोलाहल ! मर्नेहरु र मरेकाहरुको अपवाह समाचार । भुल्छ भनेर पनि उसले सकेको थिएन । कहाँ भुल्छ र मान्छेले मृत्युले घेरेका दिन, यदि मृत्युबाट बाँच्यो भने पनि ।

बल्ल बल्ल सरकारले प्लेन सेवा दिएपछि कम्पनीले पठाएर आएको हो । नेपालको क्वारेन्टाइनमा एक्काइस दिन बसेपछि घर आएको हो ऊ ।

अहो ! आफ्नै कक्षमा बसेकाहरुको लाशलाई प्लास्टिकले बेरेर विदेशी मुलुकमा जल्दा उसले मृत्युको भयावह दृश्यलाई आँखामा कैद गरेको थियो । त्यसले निदाउन नै कहाँ दिएको थियो र उसलाई ? ‘सबैभन्दा डर लाग्दोरहेछ काली मृत्युको । अहो कति डर…? मरेर लाश नेपालसम्म नआउला भन्ने डर । तिमीहरु …।’

जमुनाले शिवको ओठमा चोर औंला राखी र चुप भनी । शिव पनि चुप लाग्यो ।

शिवले मोवाइलको उज्यालोबाट जमुनालाई नियाल्यो अनि दरोसँग अँगाल्यो ।

जमुना पनि शिवलाई हेरिरही । कति ठाउँमा भाकल गरेकी थिइ जमुनाले शिवको सकुशलताको लागि । सत्तरी दिनमा । उसको लोग्ने सकुशल घर आएर उसलाई अँगालोस् भनेर ।

हो, मृ्त्यु आउँछ । तर, समयभन्दा पहिला मृत्यु कसैले चाहँदोरहेनछ । घाटसम्म पनि आफ्नाहरु चाहँदोरहेछ मान्छे । आफ्नाहरुलाई सिरानी बनाएर मर्नु पनि स्वार्गीय खुशी रहेछ ।

आँखा झिमिक्क नगरी रात सकियो ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button