
उनको फ्रक भिजेको थियो, बेञ्चभरि रगत लागेको थियो
महिनावारी
शिल्पा लोचन
जब बालिका किशोरावस्थामा प्रवेश गर्छन् अनि महिनावारी हुने गर्छ । महिनावारी हुनु आमा बन्न तयार हुनु पनि हो । अर्थात, किशोर अवस्थामा प्रवेश गरेदेखि गर्भवती नहुँदासम्म हरेक महिना योनीबाट पाँच दिनसम्म रगत बग्छ, यसलाई महिनावारी भनिन्छ । महिनावारी हुनु महिलाको विशेष्ता हो । महिनावारी भएपछि महिला शारीरिक रुपमा परिपक्व हुन्छन् ।
त्यसो त महिनावारीलाई पूर्वजन्मको श्राप हो भनेर हामीलाई बारम्बार बताइन्छ । विज्ञान कहाँबाट कहाँसम्म पुग्यो तर पनि हामी कुसँस्कारको रखवाली गरिरहेका छौ । पुर्वजन्ममा महिलाहरुले पाप गरेको भएर हरेक महिना सजाय दिएको हो भनी पितृसत्ताले पढाएको छ । हामी पनि पढिदिन्छौ । हामीले त अझ बढी लागु गरिदिन्छौं ? वास्तवमा हामी महिला पुरुषको अर्धा∙िनीको उपमा बोकेर बाँचेका छौ ।
महिनावारीलाई ‘म मैला हुँ’ भनेर ‘धर्मशास्त्र’ले सिकाएको छ । महिनावारी हुँदा मानौ पृथ्वी नै मैलो भएको जस्तै मानिदिन्छन् । ‘के खान हुने ? के खान नहुने ? कहाँ जान हुने ? कहाँ जान नहुने ? के लगाउन हुने ? के लगाउन नहुने ?’, महिनावारी हुँदा यी यावत कुराहरु आउछन् । कसलाई छुन हुने ? कसलाई छुन नहुने ? कति दिनसम्म छुन हुने ? कति दिनसम्म छुन नहुने ? छँुदा के हुने ? महिनावारी हुँदा घर बाहिर बस्न मिल्ने कि नमिल्ने ? महिनावारी हुँदा सधै सुत्ने बिस्तरा प्रयोग गर्ने कि नगर्ने ? भान्सामा जाने नजाने ? यी प्रश्नहरु महिनाको हरेक सात दिनसम्म दोहोरिएर आउने प्रश्नहरु हुन् ।
महिनावारी भएको पहिलो अनुभव सुनाउने जोकोही किशोरी होस्, उसलाई रमाइलो भयो भनेर कसैले सेयर गर्न सक्दैन । ११ बर्षमा महिनावारी भएकी एक किशोरीलाई आफूलाई के भएको हो भन्ने थाहा नहुँदा पनि उसले सामाजिक रितिरिवाज मान्न पर्छ । एक शरीरमा भएको रक्त श्रापको कारण दिमागमा केही हुन्न । डरले शरीर कमजोर हुन्छ । कपडामा लागेको रगतको टाटोले निमोठेको हुन्छ अर्को के भएको हो भन्ने थाहा नै हुदैन ।
त्यसो त अहिले महिनावारी के हो भनेर पढाइन्छ । सिकाइन्छ । तर आजभन्दा बिस बर्ष अगाडी महिनावारी हुनुलाई अपराध लाग्थ्यो । महिनावारी नियमित धर्म हो भनेर न कक्षामा पढाइन्थ्यो न त यसलाई कसरी ब्यवस्थापन गर्ने भनेर सिकाइन्थ्यो । महिनावारीको बारेमा खुलेर कुरा गरेको त मैले म महिनावारी हुँदा पनि थाहा पाइँन । तँ महिनावारी भएकी होस है भनेर त अरुले भनेको थिए । महिनावारी भएको के हो भन्ने थाहा नहुँदा पनि अर्काको गोठमा लगेर सातदिन सम्म लुकाइन्थ्यो । छोरा मान्छेहरुलाई देख्न हुन्न । घामलाई हेर्न हुन्न भनेर अर्काको घरमा लुकाइन्थ्यो । मेरो हकमा पनि त्यस्तै भयो ।
तिहारको लक्ष्मी पुजाको दिन महिनावारी शुरु भएको थियो । पाहुना बोलाउन भनेर पठाएको बेला मेरो सेतो जामामा रगतको टाटा देखाउदै एक जना दिदीले यता आइज त भनेर भनेकी थिइन् । अघिल्लो दिनदेखि बिरामी जस्तै गराएको थियो । म महिनावारी भएको हो, रगत देखाउदै भनेकी थिइन । म खुब रोएको थिएँ । घरमा पर्वको माहोल, भर्खर जन्मेको भाई अनि घरमा पाकेको रोटी, मामाहरुको आगमन । दश बर्ष हुँदासम्म भाई नभएको भनेर अरुले सुनाएको ताना त्यसमाथि भाईलाई पहिलो बर्ष टिका लगाउन नहुने कुराले म बिछिप्त भएको थिएँ । पर्वमा मासिक धर्म शुरु हुनेहरुलाई त कति मुस्किल हुन्छ । न रोटी खान भयो न मिठा मिठा फलफूल । स्याउ केरा जस्ता फलहरु भगवानले चढ्ने प्रसाद रे । खान निषेध थियो । गाईको महि, दही दुध खान भएन । तिहारमा त सबै चिज प्रसाद हुँदो रहेछ । मैले यो सजाय हो भनेर मानिदिएँ ।
स्कुलमा हामी तीस पच्चिस जना केटीहरु थियौं । प्याड कुन चराको नाम हो थाहा नै थिएन । स्कुल जाँदा कपडाहरु प्रयोग गर्ने पनि थाहा थिएन । प्राय स्कुलमा हरेक हप्ता कोही न कोहीको महिनावारीको पालो पर्ने । मलाई अझै ज्ञात छ, कक्षा पाँचमा पहिलो बेञ्चमा बस्ने एक जना दिदीको महिनावारी चलेको थियो । सरले प्रश्न सोध्नु भएको थियो । उनी उठिन् । सरले कानमा तानेर उठाउनु भयो । उनले लगाएको फ्रक रगतले भिजेको थियो । बेञ्चभरि लागेको थियो ।
महिनावारी हुँदा फ्रकमा लागेको रगत पखाल्दा हामी दिउँसोभर भिजेको हु्न्थ्यौं । हामीलाई यो नर्मल कुरा हो भनेर सिकाएको भए, कपडा पनि प्रयोग गर्न सकिन्छ भनेर सिकाएको भए महिनावारी हुँदा पाप हो भनेर महशुस हुँदैनथ्यो । हामीले सहज हुने कपडा फ्रक नै लगाउन पर्ने नियम थियो । त्यति बेला पाइन्ट लगाएको भए हामीले प्रयोग गर्ने कपडाहरु भुइमा खस्ने थिएन । त्यो त भयो पहिलेको कुरा ।
अहिले पनि महिनावारी हुँदा डर लाग्छ । निकै कमजोर महशुस हुन्छ । हामीले त यसरी बाँचेका छौ । सहरमा छौ र पनि बार्ने गछौ । बार्ने काम नराम्रो त होइन । महिनावारीको बेलामा शरीर थकित भएको हुन्छ । बिश्राम होस् भन्ने मान्यताले यसलाई सस्कार निर्माण भएको हो । तर, यसलाई अन्धविश्वासको रुपमा कुसंस्कारका साथ मान्नु चाहि गलत हो ।
महिनावारी हुनु नियम हो । मानव विकासको लागि यो जरुरी छ । तर, पनि यसलाई जटिल बनाइनु हुदैन । यदि तपाई चिसो कपडा लगाएर तिन घण्टा त टिक्न सक्नु हुन्न भने महिलाले ४८ घण्टासम्म कसरी सहन्छे ? महिलाको मासिक धर्ममा श्रीमान, दाई, भाई, काका सबैले यो नियम केही होइन भनेर सिकाउनु । मासिक धर्म पनि पुन्य हो भनेर मानिदिउन् । सबै महिलाले गर्व गरुन् र भन्न सकुन्, ‘अँ म महिनावारी भएकी छु ।’
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)