चराको चित्कार, बचेराको वियोग

चरा चर्चा-२
जय भण्डारी (तस्विर पनि)

‘पंक्षीका जोडी मिली मिली गुँड लगाई हुर्काउँदैथे बचेराहरु
देख्न सकेन कसले यो प्रलय गरी हरी लग्यो ती प्राणपखेरु ।’

यो चराहरुको लागि गुँड लगाई ओथारो बसेर बचेरा हुर्काउने ऋतु हो ।

अचेल कतिपय रैथाने र आगन्तुक चराहरुलाई गुँड लगाउन हतार छ त कसैलाई ओथारो बस्न । ओथारोबाट निस्केका कतिलाई गुँडबाट बाहिर निस्कन र उड्र्न सिकाउने चटारो छ । कतिपय फिष्टाहरुले त गुँडबाट बचेराहरु पनि छुटाइसके । चाँचरहरु ओथारो बस्दैछन् भने केही अर्जुनकहरु गुँड लगाउँदै छन् ।

कसैको गुँड नै भत्केका होलान् । कतिका गुँड हावाहुरीले उठाइदिएका होलान् । खसालिदिएका होलान् । र, फेरि उनीहरु अर्को गुँड बनाउदै होलान् । कतिपय बचेराहरुचाहिँ हुर्केर अलि ठुला भए होलान् र कतिपयचाहिँ भर्खर बैंस टेक्दै पनि होलान् । उचित स्थानको छनोटमा व्यस्त रहँदै वा नयाँ श्रृजनाको उभार चढाउँदै एउटा रमाइलो र आनन्दको क्षण वा जीवनकालमा छन् ती ।

तर, यही आनन्द र सुखानुभूतिमाथि चरम विपत्तिको बज्रपात पनि हुने गर्छ । कोही बेला हावाहुरीले र कोही बेला घना बर्षा अनि असिनाले गुँड क्षतविक्षत बनाइदिन्छ । र, कलिला बचेराहरु गुँडबाट खसेर, पानीले भिजेर, हावाले उडाएर अनि असिनाले चुटेर पनि मर्न सक्छन् ।

शिकारी वा शिकारी प्रजातिका चराहरुले आमाबालाई बचराको लागि खाना खोज्न जाँदा त्यतै मारिदिन पनि सक्छन् र बचेराहरु खान नपाएर भोकले पनि मर्न सक्छन् । आमाबा गुँडमै भएको बेला पनि त्यो विपत्ति आइलाग्दा सबैको प्राण पखेरु जान पनि सक्छ । मानिसहरुको आवतजावत बढ्दा पनि माउचराहरुले असुरक्षित महसुस गरी ओथारै बस्न छोडेर गुँड र बचेरा अलपत्रपारी अन्यत्रै गइदिन पनि सक्छन् । कुनै पनि बेला सुरक्षाको सवालमा चराहरु स्वयम अनि उनीहरुका गुँड र बचेरालाई यस्तै यस्तै विपत्ति आइलाग्छन् ।

यसपाली त्यस्तै बज्रपात परेछ, स्वर्ग चरी र फुस्रे चाँचरलाई । बज्रबाराहीनजिकै चापागाउँको एउटा बारीको रुखहरुमा उनीहरु लगभग दुई हप्तादेखि ओथारो बस्दै आइरहेका थिए । ओथारो सकेर बच्चा निकाल्न नपाउँदै पहिला स्वर्गचरीलाई आक्रमणगरीले गुँडसमेत धुजाधुजा पारको भोलिपल्ट फुस्रे चाँचरको त्यसरी नै उठिबास बनाएको देखियो । चराहरुमाथि यस्ता विपत्तिपूर्ण घटना धेरै ठाउँहरुमा हुने गरेका पनि छन् ।

पंक्षीहरुलाई यस्ता चुनौती तथा विपत्तीहरु दुई कारण आइपर्न सक्छन्, पहिलो, प्राकृतिक र दोश्रो मानवीय कारण । पहिलो कारणको चुनौती टार्न वा न्यून गर्न उहि प्रकृतिको आशा र भरोसा नै गर्नु पर्छ । मानविय चुनौति अवश्य पनि न्यून गर्न वा नियन्त्रण गर्न असम्भव भने छैन ।

चराहरुको शिकार गर्ने, गुँडको नजिक जाने र होहल्ला गरेर बचेरालाई गुँडबाट निकाल्ने वा माउलाई मारिदिने दुष्टता पनि देखिन्छ । कतिपय केटाकेटीहरुले जानेर जा अन्जानमा गुलेलीले हानेर तर्साउने गर्छन् । खेतबारी, घरको छेउछाउ सफा गर्दा गुँडसहित हागाबिँगा वा रुखै काटिदिन्छन् । फोटोग्राफी र संरक्षण सक्रियताकै सिलसिलामा आचारसंहिता पालना नगर्नु पनि चरा संरक्षणमा देखिएका मानविय चुनौतीका कारण हुन् ।

के सम्झिनु पर्छ भने, दुध चुस्दै गरको नाबालकको आमा वा बच्चाको निधनपछि मानिस र उसको परिवारमा जस्तो वह र वेदना पर्छ, चरा मर्दा वा मार्दा पनि त्यस्तै उनीहरुमा त्यस्तै वेदना पर्छ भन्ने चेतना हुन आवश्यक छ ।

शिकारीले चरा मार्न छाडौं । केटाकेटीले गुलेली नचलाउँ । खेतबारी वा घरछेउको रुखमा चराले बचेरा हुर्काइसकेपछि मात्र रुख व्यवस्थापन वा रुखसम्बन्धि काम गरौं । संरक्षणकर्मी र फोटोग्राफरले पंक्षी संरक्षण आचारसंहिता पालना गरौं । यी सबका लागि चेतनायुक्त उत्प्रेरणा र जागरण प्रवाह गरौं अनि चराहरुलाई आफ्नै परिवारको सदस्यका रुपमा माया गरौं ।

संसार सुन्दर किन छ भने संसारमा चराहरु पनि छन् । चरा संरक्षण गरौं ।

भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button