‘कंगारूको देश’बाट ह्याप्पी न्यू इयर वि. सं. २०७८ !
कोम खत्री /अस्ट्रेलिया
संसारलाई कोरोना कहरले थला पारेको पनि वर्षदिन नाघिसक्यो । नयाँ वर्षमा कंगारूको देशतिर केही राहत पाइन्छ कि भन्ने महसुस बल्ल हुँदैछ । सरकारको कडा नीतिले यत्तिको सम्भव बनाए पनि भ्याक्सिन कहिलेसम्म लगाउन पाइन्छ यत्तिकै भन्न सकिने अवस्था भने छैन । आशैआशमा बाँचेको जिन्दगीमा एक त्यान्द्रो यो आशा थपिँदा के नै बिग्रेला र ? तथापि नववर्ष वि.सं. २०७८ को आगमनलाई प्रवासी नेपालीले दिलोज्यानले स्वागत गर्न तत्पर भने अवश्य देखिन्छन् ।
आखिर नहुन् पनि त कसरी ? कोरोना कहरको बिगबिगीसँगै कहिले लकडाउन त कहिले सामाजिक दूरी कायम गर्नुपर्ने कडा नीति अनि कहिले घुम्न निस्क्यो कि क्वारेन्टिनमा दिन बिताउनुपर्ने बाध्यता त कहिले कोरोनाग्रस्त मानिसको संसर्गमा आइयो कि भन्ने डरले आफै कोरोना जाँच गर्नुपर्ने बाध्यताले गर्दा प्रायः धरासायी बनेको सामाजिक जीवनलाई नववर्षको आगमनले केही सञ्चोको अनुभूतिचाहिँ पक्कै दिएकै हुनुपर्छ ।
त्यसैले त कोही पार्कतिर भेला हुँदै बारबिक्यू गर्ने सुर गर्दैछन् भने कोही साधारण चियापान मात्रै गरेर भए पनि नयाँ वर्षलाई स्वागत गर्न तत्पर छन् । कोहीले यही मेसोमा दुई चारजना छरछिमेकका कलाकारलाई जम्मा पारेर एक साँझ भए पनि सबैलाई छमछमी नचाउने सुरसार कस्ने मेसोमा छन् भने कोही समुद्री लहरमा क्रुजजहाजमाथि एक मेलो शयर गराउँदै टिकट र प्रायोजकमार्फत् केही अर्थोपार्जन पनि गर्दै नयाँ वर्षलाई स्वागत गरेर दुवै हातमा लड्डु पाउने दाउमा समेत देखिन्छन् । जसले जे जसरी नववर्षलाई स्वागत गर्ने सुर कसे पनि नेपाली संस्कृतिको यो मोहका लागि भने तिनीहरू धन्यवादका पात्र अवश्य छन् । त्यसमाथि प्रधानमन्त्री स्कट मोरिसनले किटेरै नेपालीलाई नववर्षको शुभकामना दिनुलाई पनि सकारात्मक कदम मान्नैपर्दछ ।
फलस्वरूप पार्टीका झोलेदेखि लिएर जीवनबाट विरक्तिएर भगवान् भोलेको शरणमा पुगेकासम्म, हरदिन रेल छुट्ने समय हेर्दै कुदाकुद गर्नेहरूदेखि लिएर घरबारको सुतीथाती मिलाएर घाम ताप्दै रिटायर्ड जिन्दगी बिताउनेहरूसम्म, आफ्नै बलबुतामा व्यवसाय खडा गर्नेहरूदेखि लिएर हरेक क्षेत्रमा बिचौलियाका रूपमा काम गर्ने दलेहरूसम्म, प्रवासी जीवनमा एडजस्ट हुन सिकिरहेका नयाँ विद्यार्थीदेखि दशकौं यही भूमिमा जीवनयापन गरेका पुराना पुस्तासम्म अनि नेपालबाट भर्खर जोडा बनेर आएका नवप्रेमीप्रेमिकादेखि लिएर प्रवासको धपेडी जीवनका कारण तनाव भएर पारपाचुके गरेपछि राहतको सास फेर्दै जीवनयापन गर्दै आएकासम्म सबै प्रवासी नेपालीहरू नयाँ वर्षलाई स्वागत गर्न तम्तयार छन् ।
जसले जहाँबाट जसरी नववर्षलाई स्वागत गरे पनि सप्पैलाई शुभकामना ।
विद्यार्थी भर्ना गरेर भिसा लागेपश्चात् फूलमाला लगाएर बधाई दिन भ्याउने तर कोही विद्यार्थीलाई भवितव्य भएर बाकसमा फिर्ता पठाउने वेलामा मुन्टो लुकाउने शैक्षिक दले दाइहरूलाई पनि शुभकामना ! नयाँ वर्षमा भिसामाथि भिसा थप्ने तिम्रो मनोकामना पूरा होस् ।
घर बेच्दा चार किल्ला मिले पनि नमिले पनि वा बलियो भए वा चुहिने भए पनि कमिशनको लोभमा अर्काको जिन्दगीभरिको कमाइमाथि खेलवाड गर्ने दले दाइलाई पनि शुभकामना ! नववर्षमा नवधनाढ्यको सूचीमा नाम लेखाउने तिम्रो इच्छा पनि पूरा होस् ।
समाजसेवा गर्न मैदानमा खट्ने वेलामा छुमन्तर हुने तर फोटो खिच्ने वेलामा अगेनोमा सालनाल गाडेझैँ टुप्टुप्क क्यामेराअगाडि आइपुग्ने समाजसेवीलाई पनि शुभकामना ! नयाँ वर्षमा तिमीलाई हरेक फोटोमा देखिन सफल भई विशिष्ट समाजसेवी बन्ने मौका मिलोस् ।
विद्यार्थीका शुल्क लिने वेलामा अस्ट्रेलियन डलरमा अग्रिम भुक्तानी लिने तर आफ्नो एउटा सानो काम गर्न पनि संसारको कुन मुलुकमा सस्तोमा गर्न पाइन्छ भनेर बोलकबोल गर्दै पैसा बचाउने शुरमा काम जति सबै आउटसोर्स गर्ने दले दाइलाई पनि धेरै शुभकामना ! तपाईंलाई नयाँ वर्षमा यसैगरी पैसा बचाएर त्यो पैसा आफ्नै विज्ञापनमा खर्च गरेर उत्कृष्ट समाजसेवी ठहरिन पुगोस् ।
आफ्ना प्रायोजकका हाकिमले कट्टुको ब्राण्ड परिवर्तन गरे भने पनि हाकिमलाई खुशी बनाउन समाचार लेखेर अर्थ सङ्कन गर्न पल्केका वरिष्ठ पत्रकारहरूलाई पनि शुभकामना ! नववर्षमा अझ बढी अर्थ सङ्कलन गर्न नयाँनयाँ हाकिमहरू प्राप्त होस् ।
अन्त्यमा, सप्पैलाई
नववर्ष वि.सं. २०७८ को हार्दिक मङ्गलमय शुभकामना ! कोही छुटेमा निसंकोच भन्नुहोला ! म शुभकामना दिन आतुर छु ।