पुरस्कार प्राथमिकतामा चाकडी, चाप्लुसी र ‘हो मा हो’वालाहरू

पुरस्कारको गरीमा !

कोम खत्री

नेपालमा आज ६ सय ३३ र आगामी बुधबार ५ सय ९४ जनालाई विभूषण प्रदान गर्ने कार्यक्रम रहेछ, त्यो पनि सुनदेखि हिरासम्म जडान भएका तक्मा र विभूषणहरू । गत वर्ष मात्र त्यसका लागि ८ करोड र यो वर्ष १२ करोड रुपैयाँ खर्च हुने विवरण सञ्चारमाध्यममा सार्वजनिक भएका छन् ।

नेपालमा पुरस्कार प्रदान गरिने विधि, पद्दति र नियमहरू पनि स्पष्ट छन् ।

चाकडी, चाप्लुसी र सत्ताको क्रियाकलापमा ‘हो मा हो’ मिलाउनेहरू यसको प्राथमिकतामा पर्दछन् । अझ आफन्त, नातेदार अनि आफ्ना पार्टीका र गुटका मानिसहरूलाई सधैँ सूचीको अघिल्तिर पारिन्छ । कहिलेकाहीँ देखाउनका लागि अपवादका रूपमा राम्रा मान्छेहरूलाई पनि पुरस्कृत गरिने चलन नेपालमा रहिआएको छ । नत्र, कसैले पुरस्कारको औचित्यमाथि प्रश्न सोधिहाले भने तिनै व्यक्तिलाई चोर औंला देखाएर ‘देखिस् त्यसले पाएन त पुरस्कार’ भनेर भन्न पाइँदैन ।

कहिलेकाहीँ कोटा पु-याउन महिला, पीडित, दलित जनजाति आदिमा सूचिकृतहरूलाई पनि पुरस्कार पाउनेहरूको लिष्टमा घुसाउने चलन हाम्रोमा व्याप्त छ ।

स्पष्ट छ यस्ताखाले पुरस्कारको गरीमा दिन दुईगुना रात चौगुना कताको दिशातिर गइरहेको होला ।

अस्ट्रेलियामा पनि प्रत्येक वर्ष जनवरी २६ तारिख अर्थात् ‘अस्ट्रेलिया डे’ को अवसरमा चार जनालाई प्रतिष्ठित राष्ट्रिय पुरस्कार प्रदान गरिन्छ । यहाँ प्रत्येक वर्ष
–अस्ट्रेलियन अफ द इयर
–सिनियर अस्ट्रेलियन अफ द इयर (६५ वर्ष माथि) –
– योङ अस्ट्रेलियन अफ द इयर (१६ देखि ३० वर्ष) र
– लोकल हिरो
गरेर चारवटा प्रतिष्ठित राष्ट्रिय पुरस्कार प्रदान गरिन्छ ।

यहाँका आठवटा राज्य र टेरिटोरीमा बनेका समितिले आआफ्ना राज्य र क्षेत्रमा अवार्डका लागि चारजना नोमिनेट गर्दछन् । ती चार जनामध्येबाट एकलाई सो अवार्ड प्रदान गरिन्छ । अनि राष्ट्रिय अवार्ड समितिले ती ३२ जनामध्येबाट चार जनालाई राष्ट्रिय अवार्ड प्रदान गर्दछन् ।

अवार्डका लागि प्रत्येक नागरिकले योग्य व्यक्तिलाई वेबसाइटमार्फत् नोमिनेट गर्न सक्छन् । प्रक्रिया पारदर्शी होस् र सही व्यक्तिले अवार्ड पाउन् भनेर मनग्य ध्यान दिइएको हुन्छ ।

पुरस्कार नोमिनेसन गर्ने धेरै मापदण्डमध्ये केही यस्ता पनि छन्—
– आफैले आफैलाई नोमिनेसन गर्न पाइँदैन ।
– मरणोपरान्त पुरस्कार दिइँदैन ।
– राज्य तथा फेडेरल सांसदहरू पुरस्कारका लागि योग्य हुँदैनन् ।
– रिटायर्ड राजनीतिज्ञहरूलाई यो पुरस्कार आफ्नो अफिसियल कामभन्दा बाहेकको कामका लागि मात्र प्रदान गर्न सकिनेछ ।
– अस्ट्रेलियन नागरिकलाई मात्र पुरस्कारका लागि नोमिनेसन गर्न सकिनेछ ।
आदि ।

स्थानीय स्तरमा मानिसहरूको हौसला प्रदान गर्नका लागि मन्त्री, सांसदहरूले विभिन्न प्रमाण–पत्र र प्रशंसा पत्रहरू पनि दिने चलन यहाँ छ ।

मलाई लाग्छ यदि विधिसङ्गत, नियमसङ्गत र प्रक्रिया पु-याएर अनि पारदर्शी तरिकाले पुरस्कार दिइयो भने मात्रै त्यो पुरस्कारको गरीमा कायम रहन्छ । धेरै मानिसलाई पुरस्कृत गर्दैमा पुरस्कारको महत्व बढ्ने पक्कै होइन । त्यसको विपरीत यसको महत्व झन्झन् गिर्दै जान्छ ।

कोम खत्री

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button