बाइडेनलाई ‘विश्व’ बधाई

संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले शपथ लिएसँगै विश्वका नेताहरुले उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिनेक्रम छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्, ‘संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिको शपथ लिनु भएकामा आफ्ना तर्फबाट बाइडेनलाई न्यानो बधाई ।’

जापानका प्रधानमन्त्री योशिहिदे सुगा र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले पनि राष्ट्रपति बाइडेनलाई कार्यकाल सफलताको बधाई दिँदै आ–आफ्ना मुलुकसँग अमेरिकाले पुरानो मित्रता यथावत रहने र थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई ट्वीटमार्फत बधाई दिँदै भनेका छन्, ‘युरोपेली युनियन र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुनेछ ।’

“नयाँ बिहानी, नयाँ शुरुआतका लागि युरोप तयार छ”, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियेनले भनेकी छिन् ।
‘गत चार वर्षमा इरानमाथि गरिएका अपराधलाई हटाउन मद्दत गर्ने विश्वास लिएका छौं । इरानसँग भएको आणविक सम्झौतामा अमेरिका पुनः फर्किने हामीले आशा गरेका छौं’, इरानका राष्ट्रपति हस्सन रौहानीले भनेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दुई देशबीच लामो समयदेखि जारी मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति बाइडेनसमक्ष आग्रह गरेका छन् ।

रसियाली राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले संयुक्तराज्य अमेरिकासँग साँचो अर्थमा मित्रवत सम्बन्ध स्थापना गर्न रसिया तयार रहेको बताएका छन् ।

जर्मनीकी चान्सलर एन्जेला मर्केलले जर्मन–अमेरिकी मित्रता र सहयोगमा नयाँ अध्याय शुरु हुने अपेक्षा गरिएको भन्दै बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकी जनताका लागि यो विशेष अवसरका लागि बधाई र उत्तरोत्तर प्रगतिको कामना ।’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि कोरोनाभाइरस, जलवायू परिवर्तन र आर्थिक पुनरुत्थानजस्ता मुद्दामा राष्ट्रपति बाइडेनसँग मिलेर कार्य गर्न आफू तयार रहेको बताएका छन् ।

कुवेत, कतार, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरुले पनि बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई सन्देशहरु पठाएका छन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button