
अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति डोनाल्ड ट्रम्प
अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति डोनाल्ड ट्रम्प बनेका छन् । उनलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको हो ।
उनी विरुद्धको महाभियोगको प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्बाट पारित पनि भएको बताइएको छ । अघिल्लो हप्ताको बुधवार अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरुले आक्रमण गरेपछि उनका विरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए ।
महाभियोगको मत परिणामअनुसार प्रस्तावको पक्षमा २३२ मत परेको थियो । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो । हाउस अफ रिपे्रजेन्टेटिभ्स्मा डेमोक्र्याट पार्टीका २२२ जना सदस्य रहेका छन् । राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा नै मतदान गरेको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन् । महाभियोगको प्रस्तावको विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सन् २०१९ मा पनि उनीविरुद्ध महाभियोग पारित गरेको थियो ।
अमेरिकी संसदको तल्लो सदनले पारित गरेको सो महाभियोग प्रस्ताव माथिल्लो सदन (सिनेट)बाट पनि पारित हुनुपर्नेछ । प्रस्ताव पारित हुनका लागि सिनेटको दुई तिहाइ मत आवश्यक हुन्छ ।
यस प्रयोजनका लागि सिनेटमा कम्तीमा पनि १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्षमा अर्थात् महाभियोगको पक्षमा उभिनु पर्नेछ । तर यो सम्भावना भने निकै कम देखिन्छ ।