
सोचनीयः कर्म ठुलो कि भाग्य ?
रितु शाक्य
अक्सर हामीले देख्ने गरेका छौँ मानिसहरु धेरै मेहनत गर्छन्, दिनरात आफ्नो जीवनलाई उकास्नको लागि, सम्वृद्धिको लागि । तैपनि सम्वृद्धि उनीहरुको पोल्टामा पर्दैन ।
फेरि हामी यस्ता मान्छेहरु पनि देख्छौं जो बिना मेहनत पनि धेरै कमाइ गरिरहेका हुन्छन्, सुखसयलमा दिन गुजारिरहेका हुन्छन् । कोहि धेरै धर्मकर्म गर्छन्, पूजा पाठ गर्छन् तैपनि दुखी छन् । कोहि केहि गर्दैनन् तैपनि सुखी देखिन्छन् । जति मेहनत एउटा भरियाले गरिरहेको हुन्छ, त्यति एउटा धनाढ्यले नगर्दा पनि उसले धेरै पैसा कमाइरहेकै हुन्छ ।
महाभारतमा नै हेरौं न, दुर्योधनले कति मेहनत गरेको छ तैपनि उसको हार हुन्छ जबकि सब परिस्थिति उसको अनुकुल छ र पाण्डवहरु चाहिं जित्छन् मेहनत नगर्दा पनि परिस्थिति प्रतिकुल हुँदा पनि । आखिर के हो त यसको रहस्य ? के यो भाग्यको नै खेल हो त ? यो सब देख्दा त लाग्छ, कर्मभन्दा त भाग्य नै धेरै ठुलो कुरो रहेछ ।

अब कुरोको चुरो बुझ्नेतर्फ लागौं ।
एकपल्ट भगवान शिव र उनकी अर्धांगिनी पार्वती कैलाश छोडेर पृथ्वी घुम्न निस्किए । घुम्दै जाँदा बाटैमा रात परेछ । भेष बदलेर गएका दुवै एउटा घरमा बास माग्न पुगेछन् । त्यो घर एउटा धनी मान्छेको रहेछ । राति बास माग्न आएको देखेर झर्किदै त्यो धनी मान्छेले घरमा बस्न नदिकन गोठमा बस्न भनेछन् । भेष बदलेका महादेव–पार्वतीले त्यही रात बिताए । त्यही रात त्यो धनीको घरको भित्ता चर्किन थालेछ । त्यो देखेर महादेवले आफ्नो शक्तिले त्यो भित्तोलाई माटोले प्लास्टर गरेर भत्कनबाट बचाए । पार्वती छक्क परिन् ।
भोलिपल्ट फेरि घुमघामपश्चात रात परेपछि फेरि बास बस्न एउटा घरमा पसेछन् । त्यो घर एउटा गरिब मान्छेको रहेछ । उसले भेषधारी महादेव र पार्वतीलाई आफ्नो कोठामा लगेर सुताउँछ्न् । त्यही रात काल आएर त्यो गरिब मान्छेको गाई मरेछ । यो दृश्य देखृर पार्वतीलाई असह्य भएछ । पछि कैलाश फर्किएपछि पार्वतीले महादेवलाई यस्तो किन भयो भनेर प्रश्न सोधिन् । शिवले सम्झाउदै भनेछन् कि त्यो धनी व्यक्तिले आफ्नो गलत कर्मको फलस्वरूप उसका पुर्खाले लुकाइराखेको धन उसले नभेटोस् भनेर त्यो पर्खाल बनाइएको हो र त्यो गरिब मान्छेले राम्रो कर्म गरेको भएर उसलाई आएको काल उसको गाईलाई पारिदिएको हो ताकी उसको परिवारले दुखः नपाओस् । यो यथार्थ बुझिसकेपछि बल्ल पार्वती शान्त भईन् ।
यो कथाबाट के थाहा हुन्छ भने हामीले जे भोगिरहेका छौं, त्यसको पछाडि हाम्रो प्रारब्धको भूमिका रहन्छ । जे कर्म हामी गर्छौं, त्यस्तै भाग्य हाम्रो बन्छ । यसबाट यो प्रस्ट हुन्छ कि भाग्यभन्दा कर्म नै ठुलो हो ।
यस्तै अर्को कथाबाट पनि यो कुरालाई प्रस्ट गर्न सकिन्छ ।
एउटा गाउँमा भगवान बुद्ध आफ्ना भिक्षुगणका साथ बसेका थिए । त्यो बेला त्यहाँका शासकहरुले त्यो गाउँका सबैलाई त्यो गाउँ छोड्न दवाब दिइरहेका थिए । जो गाउँलेहरु मानेनन्, उनीहरुको हत्या भैरहेको थियो । गाउँलेहरुले भगवान बुद्धसँग सहयोग मागिरहेका थिए । त्यो बेला स्वयं गौतम बुद्ध पनि टाउको दुख्ने रोगले ग्रसित थिए । उनले पनि त्यो सैनिकहरुलाई रोक्न सकेका थिएनन् । उनले ध्यान दृष्टिले हेर्दा थाहा भयो कि पहिलेको जन्ममा त्यही गाउँमा एउटा ठुलो तलाउ थियो, त्यहाँ धेरै माछाहरु थिए। त्यहाँका बासिन्दाहरुले ती माछाहरुलाई निर्ममतापुर्वक मार्दै खान्थे । हुँदा हुँदा त्यो तलाउमा माछा धेरै कम भयो । अन्त्यमा एउटा माछा मात्र बाँकी बस्यो । त्यो माछालाई पनि एउटा बालकले समातेर ढुंगाले टाउकोमा हिर्काएर मारे । त्यही पापको फलले त्यो समयमा त्यही माछाहरु सैनिक बनेर ती गाउँका मान्छेहरुलाई मारेका रहेछन् । र, त्यो बालक जसले माछालाई टाउकोमा हानेर मार्यो त्यो बालक बुद्धको रुपमा जन्म भए पनि त्यो पापको कारण उनको टाउको दुखेको रहेछ ।
यो कथा बाट के प्रस्ट हुन्छ भने कर्मको भोग सबैले गर्नु नै पर्छ, चाहे त्यो भगवान नै किन नहोस् । कर्मले नै भाग्य र कर्मले नै दुर्भाग्य बनाउँदो रहेछ। त्यसैले भाग्यभन्दा कर्म ठुलो हुन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
जति तार्किक छ त्यो भन्दा प्रस्तुति अझ सुन्दर लाग्यो।यसरिनै सदा गुरू कृपा पाई रहनुहोस। शुभकामना ।