नयाँ मानव अर्थात ‘डिजिटल होमो सापियेन्स’

तयार हुने बेला भयो है

डा. अवनि भूषण उपाध्याय

पढ्ने र पढाउनेबारे पनि केहि कुरा गर्नु पर्ला जस्तो छ । हामीले पढ्दा र अहिले खोलामा पानि धेरै बगिसक्यो । पढ्ने र पढाउनेको बीचमा अहिले धेरै नै फरक भैसकेको छ ।

किताब पढेर किताबै पढाउने हाम्रो समय हो भने अहिले किताबबाट मात्र सम्पूर्ण ज्ञान दिन सम्भव हुँदैन । डिजिटलको जमाना हो यो । मान्छेको दिमागको संरचना नै परिवर्तन भइ सकेको छ। कालो सिलौटमा खरिले लेखेर पढ्याजस्तो अब इन्टरनेटको जवानाको पढाइ कहाँ हुन्छ ? हरेक मान्छेको हातको औंलाको टुप्पोमा संसार भरिका उपलब्ध जानकारीबारे अध्ययन गर्न सक्ने क्षमता हुन्छ । केवल सिक्न खोज्ने रहर हुन पर्छ ।

मार्क प्रेंस्किले आफ्नो अध्ययनबाट दुई प्रकारका मान्छेलाई विभाजित गरेका छन् । एउटा डिजिटल इमिग्रान्ट र अर्को डिजिटल नेटिव । डिजिटल नेटिव त्यो हो जसले पढाईको सुरु नै डिजिटल तरिकाबाट गरे । डिजिटल इमिग्रांत भन्नाले पछि सिक्न थालेकाहरु हुन् । सबै आप्रवासीजस्तै कोहि राम्ररी सिक्न सक्छन् भने कोहीलाइ अलि समय लाग्न सक्छ । नेटिव या देशीले सुरुबाट नै कम्प्युटर, विभिन्न कम्प्युटर गेम इत्यादीबाट डिजिटलको ज्ञान पाइसकेको हुन्छ भने इमिग्रान्टले पछि सिक्न थालेका कारण अलि पछि नै परेका हुन्छन् ।

अब अहिलेको समस्या भनेको नै शिक्षक र छात्रबीचको दुरी हो । सिक्ने मान्छे सिकाउने भन्दा ज्यादा अगाडि देखिन्छ । यो दुरी कहिलेसम्म रहन्छ त, तबसम्म रहन्छ, जबसम्म सिकाउने पनि नेटिव डिजिटल समूहबाट आउँदैन । समयको कुरा हो, जब यो दुरी मेटिन्छ अनि डिजिटल विज्डमको जन्म हुन्छ ।

अहिले विभिन्न अध्ययनबाट यो कुरा पनि देखिसकेको छ कि कम्पुटर गेम खेल्दा पनि मानिसको दिमागको अवस्था राम्रो विकसित हुन सक्छ । जब कम्पुटर विज्डमको समय आउँछ, त्यसपछि मानिसमा हुने बौद्धिक क्षमताको परिभाषामा पनि परिवर्तन आउँछ । अहिले उपलब्ध मापदण्डहरु परिवर्तित हुन थाल्दछन् ।

यो शिक्षा प्रणालीमा पहिला तयार पारेर राखिएका सामग्री र पढ्न आउने विद्यार्थीको क्षमतामा ठुलो भिन्नता देखिन थाल्दछ । अहिलेका विद्यार्थीमा लुगाफाटा रहनसहन बोलिचालीमा मात्र परिवर्तन भएको हुँदैन, उसको दिमागको विकास नै नयाँ किसिमबाट भएको हुन्छ । उसले पाउने जानकारीको श्रोत नै पहिलेको भन्दा धेरै फरक र विकसित हुन्छ ।

जहिले पनि हाम्रो इतिहासमा केहि नयाँ कुरा, केहि नयाँ विचार देखा पर्यो भने त्यसको सुरुसुरुमा विरोध त हुन्छ नै । ठुला ठुला दार्शनिकहरुको पनि विरोध नभएका होइनन् । कसैले त ज्यानसम्म गुमाउनु परेको छ । पश्चिमतिर हेरेम भने सोक्रेतिस, प्लेटो, एरिस्टोतल र अरु अन्य कैयौं पुर्विया दार्शनिकहरुले पनि विरोधको सामना गरेकै हो ।

मार्कले आफ्नो लेखमा भनेका छन्, डिजिटल विज्डम याने कि शक्ति बढाएको मानसिक क्षमता दुईतिरबाट सृजित हुन्छ, एउटा आफ्नो कम्पुटरहरु चलाउने क्षमता र अर्को कम्प्युटर र इत्यादीबाट सिकेको ज्ञानको शक्ति । यो उत्तम हुने नै भयो । समस्या के छ भने पुराना धाराणाका गुरुहरुले मान्छेको आफ्नै दिमाग नै उत्तम हुन्छ, यो डिजिटलवालाले केहि नाप्दैन भन्छन् तर यो गलत सावित भैसकेको छ । आफ्नो मानसिक क्षमता हुनु जरुरी छैन कसैले भनेको नि छैन, यो त छँदैछ, त्यसलाई अरु उपकरणहरुले झन विकसित गर्ने मात्रै हो ।

यो सब कुराहरु ध्यानमा राखेर पाठ्यक्रम बनाउनु जरुरी छ ।

मानिसमा आइपर्ने कठिनभन्दा कठिन समस्याको व्यवहारिक, सकारात्मक, ठिक, चुस्त दुरुस्त र चित्तबुझ्दो समाधान निकाल्न सक्ने क्षमतालाई नै मानसिक क्षमता याने बुद्धि मानिन्छ ।

हरेक समस्याको समाधान पनि आएका हुन्छन् । जस्तै, कायरता र आतुरताको बीचमा साहस, आलश्य र लालचको बीचमा महत्वाकाँक्षा, नम्रता र अभिमानको बीचमा विनय, गोपनियता र शिथिलताको बीचमा इमान्दारिता, कलह र चाप्लुसीको बीचमा मित्रता ।

युबल नोह हरारीले आफ्नो पुस्तक स्यपियेन्समा मानव जातीको बारेमा विस्तारमा लेखिसकेका छन्, एउटा पढ्न पर्ने किताब हो त्यो । अब मार्कलगायतका विद्वानहरुले होमो सापियेन्स डिजिटल भन्नु पर्ने आवश्यकता आइसकेको बताएका छन् । हाम्रो सामु नयाँ किसिमको मानव तयार भैसकेको छ, डिजिटल होमो सापियेन्स ।

सायद अब हाम्रा मान्यतामा र बुझाईमा परिवर्तन लेराउनु पर्ने हुनसक्दछ । हामीले पढ्ने बेलाका कुराहरुमा कति कुराहरु थिए, जे गर्दा मानिसको दिमागलाई बढी क्षमतावान बनाउन विभिन्न मेडिसिन खाने, अनेक थरिका उपायहरु अपनाउने, हुँदाहुँदा हामीले उपन्यासमा पढेका कुराहरु जस्तै टाउकोमा चिप्स हालेर मानिसको दिमागलाई कन्ट्रोल गर्ने, यस्ता धेरै रमाइला कुरा अहिलेको वास्तविकता भैसकेको छ ।

भगवानलाई धन्यवाद छ कि आजसम्म मानिसको दिमागलार्ई मेसिनले उछिनेको छैन तर अब धेरै दिन बाँकी छैन होला किनकि मानिसको दिमाग र मेसिन– कम्पुटरको अन्तरक्रिया हुने अवस्था आइसकेको छ । मेसिनले सिक्न थालेपछि हाम्रो दिमागको धाक लगाउने दिन जान्छन्, त्यसकारण अबको पुस्तालाई डिजिटल पुस्ता हुनु अति आवश्यक छ । नत्र जुन हाम्रो सोच्ने क्षमता छ, त्यसको पनि जरुरत नै नपर्न सक्छ ।

हामीले याद गर्या होला, यदि कसैले इन्टरनेटमा जुत्ता खोजेको छ भने उसको कम्युटरटमा जे काम गर्दा पनि जुत्ताकै विज्ञापन आउँन थाल्दछ । खानेकुरा खोज्नोस्, त्यसैको विज्ञापन आउँन थाल्दछ। स्क्रिन टच, कि बोर्ड, इन्टरनेटमा ब्राउज गर्नु, मोबाइलको प्रयोग जस्ता उदाहरण धेरै छन् । यच सी आइ (हुमन कम्पुटर इण्टेर्रियक्सोन)को अलग पढाइ हुन थालेको पनि निकै नै भैसकेको छ । यो विद्या धेरै अगाडि बढिरहेको छ । यसमा युजर, टास्क, टूल्स, इण्टरफेस, कनटेस्ट हुने गर्दछन् ।

सजिलोसँग सिक्न र सजिलोसँग काम गर्न भनेर एच सी आई को जन्म भएको हो । आज मानिसको हरेक पाइलामा यसले सहयोग गरिरहेको छ । खास अध्ययन गर्न नपाएकाहरुलाई पनि मोबाइल, कम्प्युटर चलाउन, अनलाइन किनमेल गर्न, बिजुलीको पैसा तिर्न, सिनेमाको टिकट किन्न सजिलो बनाएको छ ।

अब आउने पुस्ता डिजिटल हुनु अनिवार्य भैसकेको छ । व्यक्तिलाई मात्र नभएर देश र समाजलाई यसले फाइदा पुराएको छ । कति देशहरुले त फाइदा लिरहेकै छन् । अब हामीले हरेक क्षेत्र डिजिटल बनाउन जरुरी छ ।

धेरै बर्ष पहिले अल्बर्ट आइन्स्टाइनले भनेका रहेछन्, The problem that exist in the world today can not be solved by the level of thinking that created them.


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button