‘बाबु ! यति राम्रो पद, प्रतिष्ठा छाडेर किन जानुपर्‍यो विदेश ?’

गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौं

‘बाबु ! यति राम्रो पद, प्रतिष्ठा भएको जागिर छाडेर किन जानुपर्‍यो विदेश ?’, सरिताले एक्लो छोराको अस्ट्रेलिया जाने निर्णय परिवर्तन गराउने हेतुले भनिन् ।

‘मेरो नि विदेश जाने उद्धेश्य त थिएन ममी तर कहिलेकाहीँ लक्ष्य पूरा नहुने देखिएपछि बाटो बदल्नुपर्ने रहेछ’, छोराको यो कुराको अर्थ उनले बुझ्न सकिनन् । केवल पीडालाई मनभित्रै दबाएर ङिच्च हाँसिन् ।

उनको दिनहुुँको प्रयास जङ्गलको रुवाइजस्तै भयो । आखिर छोरो विदेश उडेरै छाड्यो । छोरो कतिबेला पुगेर फोन गर्ला भन्दै उनी रातभरि अनिदो बसिन् ।

भोलिपल्ट छोराले आफू अस्ट्रेलियाको भूमिमा अवतरण गरिसकेको खबरसँगै सरिताको मनमा अत्यन्तै ठूलो झड्का लाग्ने गरी भन्यो, ‘ममी ! मलाई माफ गरिदिनुहोला । मेरा लागि हजुरले कति सपना देख्नुभएको थियो होला । तर मैले हजुरको सपना फुलाउनको लागि मेरो मायाको सपना तुहाउन सकिनँ । कुनै दिन हजुरले मेरो अन्तर्जातीय प्रेमलाई स्वीकार्ने गरी समाज र इज्जतको भयले खडा गरेको पर्खाल तोड्न सक्नुभएछ भने अवश्य आउने छु ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button